पछिल्लो समय पोखराको फेवाताल अतिक्रमणमा परेको छ । फेवाताल पोखराको मात्र होइन राष्ट्रकै सान हो । विदेशी पर्यटक हुन् या स्वदेशी, पोखरा जाने भनेको फेवाताल हेर्न र त्यहाँ डुंगा चढ्न हो ।
यदि फेवाताल नै रहेन भने त्यहाँको प्राकृतिक सुन्दरता नष्ट भएर जानेछ । आज लेकसाइडमा पर्यटक भरिने भनेको त्यही फेवातालले गर्दा हो । फेवाताल संरक्षणमा स्थानीय सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । फेवाताल संरक्षण गर्न समिति बनेको छ, त्यो समितिको काम के हो भन्ने प्रश्न उब्जेको छ ।
२०३० मै फेवाताललाई संरक्षित क्षेत्रमा राखेर तालको किनाराबाट कम्तीमा २०० फिटसम्म कुनै प्रकारका निर्माण गर्न नपाउने उल्लेख गरिएको थियो । त्यो निर्णय आउनुअघि नै बसोबास गर्नेहरूका लागि उचित क्षतिपूर्ति दिएर त्यो जग्गा फेवातालमै ल्याउने योजना आजसम्म कार्यान्वयन किन भएन ? सर्वोच्च अदालतले समेत फेवातालको जग्गा सुरक्षित गर्न परमादेश दिएको छ, त्यो पनि कार्यान्वयनमा आएको छैन । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा छानबिन आयोग बनेको थियो । त्यो आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा आएको छैन । जति सरकार फेरिए पनि, जसको नेतृत्वमा सरकार बने पनि सरकारी जग्गा संरक्षण गर्नुपर्ने होइन र ? वर्षाको भेलले फेवाताल पुरिँदै गएको छ । अर्कातर्फ अतिक्रमण जारी छ । यस्तो अवस्थामा अब कसले बचाउने फेवाताल ?
– पुरूषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
