सामान्य अर्थमा ‘शैक्षिक भ्रमण’ भनेको शिक्षा प्राप्त गर्ने भ्रमण हो । यसअन्तर्गत विद्यार्थीलाई ऐतिहासिक, भौगोलिक, सांस्कृतिक आदि विषयको अध्ययन अवलोकन गराउन सम्बन्धित ठाउँको भ्रमणमा लगिन्छ ।
तर आजकल शैक्षिक भ्रमण सिर्फ मनोरञ्जनका माध्यमजस्ता मात्र हुन थालेका छन् । चञ्चल उमेरका सहरिया विद्यार्थी उत्ताउला खालका गीत सुन्दै, गफिँदै, बसमा नाच्दै, गाउँदै एउटा सहरबाट अर्को सहरमा जान्छन् । उनीहरूमध्ये कसैलाई पनि बसबाहिरको प्राकृतिक कुरामा कुनै चासो र वास्तै हुँदैन । सबैको हातहातमा मोबाइल, त्यसैमा व्यस्त ! बानी नभएको हुँदा बसबाट ओर्लेर एकाध घण्टा त के दस–पन्ध्र मिनेट हिँड्नुपर्यो भने पनि उनीहरूलाई गाह्रो ! खानाभन्दा जंक फुड प्यारो । जसोतसो दिन बिताएपछि रात्रिविश्रामका लागि सुविधासम्पन्न होटल हुन्छ । यात्रा अवधिभरि फोटो खिच्छन् । फेसबुकमा पोस्ट गर्छन् । टिकटक बनाउँछन् । रमाउँछन् । फर्कन्छन् । यस्तो भ्रमणलाई कसरी शैक्षिक भ्रमण मान्ने ?
पाठ्यपुस्तकमा विद्यार्थीले सिद्धान्त पढ्छन् । हिसाब गर्छन् । कल्पना गर्छन् । कुनै कुराको वर्णन बुझ्ने प्रयास गर्छन् । विभिन्न तथ्य याद गर्छन् । आवश्यक तथ्यांक घोक्छन् । तिनै कुरा चाहे भने गुगल, युटुबमा हेर्न पनि पाउँछन् । तर शैक्षिक भ्रमणमा भने त्यस्ता कतिपय कुरा खुट्टाले अनुभव गरेर मनले देख्न सक्नुपर्ने हो । यही कुरा महसुस गर्न सके शैक्षिक भ्रमण मनोरञ्जनले भरिपूर्ण हुनुका साथै महत्त्वपूर्ण पनि बन्ने थियो । तर आजकलका बालबालिकाको चाहना बिग्रिएको हुँदा शैक्षिक भ्रमण ‘स्वैच्छिक भ्रमण’ बन्न थालेको देखिन्छ ।
हाम्रो देश बहुभाषीय, बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक भएको कुरा विद्यार्थीले पढेर बुझेका छन् । यहाँको भौगोलिक विविधताका बारेमा पनि उनीहरूलाई किताबी जानकारी छ । तर उपत्यकाका कतिपय विद्यार्थी चार भन्ज्याङ काटेर बाहिर नगएका पनि हुन सक्छन् । त्यसैले उनीहरूलाई कोदो, कागुनो, जौ, जुनेलो, गहत, फापर जस्ता अन्नबारे थाहा छैन । ‘खला’, ‘दाइँ’, ‘मियो’, ‘गोठ’, ‘हलो’, ‘जुवा’ ‘अनौ’ जस्ता शब्दबारे जानकारी नै छैन ।
पाठ्यपुस्तकमा भएका त्यस्ता शब्दको अर्थ बुझ्न उनीहरूलाई धेरै गाह्रो छ । नबुझ्नु उनीहरूको गल्ती होइन । बुझ्ने अवसर नपाउनु उनीहरूको बाध्यता हो । यसमा मातृभाषा पनि थप कारण बन्न सक्छ । शैक्षिक भ्रमणबाट हाम्रा विद्यार्थीले त्यस्ता शब्दको अर्थ, प्रयोगकर्ता र प्रत्यक्ष वस्तुका साथ बुझ्ने अवसर पाउनुपर्छ ।
आजकल गाउँगाउँमा बाटा पुगेका छन् । हाम्रो देशको भौगोलिक विशेषता नै यस्तो छ कि, उपत्यकाबाट पहाडी क्षेत्र, पहाडी क्षेत्रबाट हिमाली तथा तराई क्षेत्र, तराईबाट भित्री मधेश, कुनै पनि ठाउँ टाढा छैनन् । ती एकापसमा जोडिएका छन् । शैक्षिक भ्रमणबाट विद्यार्थीले, एक झलक भए पनि आफू बसोबास गरेभन्दा फरक क्षेत्रका भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक विशेषता थाहा पाउने अवसर पाउनुपर्छ । वास्तविक नेपालको चित्र भनेकै गाउँबाट सहर आएर होइन, सहरबाट गाउँ गएर हेर्दा देखिन्छ । धेरै विद्यार्थीमा ‘नेपालमा बसेर कामै छैन’ भन्ने सोचाइ हाबी भएको पाइन्छ । शैक्षिक भ्रमणका माध्यमबाट बुझाउन सकियो भने उनीहरूको सोचाइमा परिवर्तन आउन पनि सक्छ । गाउँबस्तीको कठिन जीवन तथा उनीहरूको सहकार्य र सहयोगी भावनाले सकारात्मक भावना जगाउन सक्छ । रित्ता घर, विद्यार्थीविहीन विद्यालय, बाँझा उर्वर भूमिले यो देशप्रति माया, ममता पलाउन सक्छ । त्यसैले पनि हाम्रा शैक्षिक भ्रमणलाई ‘नेपाल परिचय’ को उद्देश्यका साथ अनिवार्य रूपमा परियोजना कार्य र प्रयोगात्मक बनाउनुपर्ने देखिन्छ ।
– इन्द्रकुमार श्रेष्ठ,
बागीश्वरी मावि, च्याह्मासिंह, भक्तपुर
