विद्यार्थी आन्दोलनबाट बन्ला नयाँ नेपाल ?

माघ ११, २०८१

पाठक पत्र

Will a new Nepal be made from the student movement?

श्याम रोकाको ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक लेखभित्र शैक्षिक उद्योगले समाज थला परिरहेको अवस्थामा युवा क्रान्तिकारी विद्यार्थी संगठनले त्यसको अन्त्य गरी समाजवादी शिक्षा लागू गर्नुपर्ने विषय समेटिएको छ ।

यतिबेला सरकारी शिक्षा नीति फितलो भएको र निजी शिक्षण संस्थाहरूबाट राम्रो अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूले पनि मुलुकभित्र अवसर नपाएर विदेश पलायन हुनुपरेको तीतो यथार्थ नकार्न सकिँदैन । लेखकले विद्यार्थीको जोस, सरकारविरोधी आन्दोलनका कारण बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सफल भएको, प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य बनेको, त्यस्तै श्रीलंकामा विद्यार्थीको नेतागिरी सम्हाल्दै उठेका अनुरा कुमार दिशानायकेले यसै वर्ष राष्ट्रपतिको शपथ लिएको उदाहरण दिएर विद्यार्थी आन्दोलनमाथि पृष्ठपोषण गरेका छन् ।

मात्र ५४ वर्षअघि स्थापना भएको बंगलादेश ४ दशकसम्म दक्षिण एसियामा सबैभन्दा गरिब मुलुक थियो भने शेख हसिनाले सत्ता सम्हालेपछि विश्वको ठूलो अर्थतन्त्रमध्येमा स्थापित भयो । एउटा आन्तरिक मामिलाका कारण अपदस्थ भएकी हसिनाको कुर्सीमा कुनै युवा विद्यार्थी नेता बसेपछि अर्थतन्त्र फेरि चलायमान होला ? उता सुविधायुक्त श्रीलंकालाई युवा राष्ट्रपति दिशानायकेले समृद्ध बनाउन सक्लान् ?

नेपालमा भने केही आशा बोकेका विद्यार्थीकेन्द्रित आन्दोलन सुस्ताउँदै गएको, देश र समाजको हितभन्दा स्वार्थसिद्धिका लागि लड्नेहरूको बिगबिगी बढेको भन्न सकिन्छ । केही वर्षदेखि राजनीतिमा युवा नेतृत्वको आवश्यकतामाथि जोड दिन थालिएको छ । विद्यार्थी संगठनको कुरा गर्दा अखिल नेतृत्वका लागि ३२ वर्षको उमेरहद कायम भएको बेला त्रिभुवन विश्वविद्यालयले आफ्ना ६२ वटा आंगिक क्याम्पस र १५० वटा सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि २८ वर्षको उमेरहद लगाएर नयाँ अभ्यास थालेको छ । तथापि राजनीतिमा लागेका युवाले सबै काम राम्रो गर्छन् भन्ने कुरा स्विकार्न सकिँदैन । ठूला दलभित्रका र रास्वपाका युवा नेताहरूले विकासको नाममा माखो मार्न सकेका छैनन्, न त दीर्घकालीन नीति नै बनाएका छन् । नीतिको बहुआयामिक महत्त्वलाई बिर्सेर एउटा विषयमा जतिसुकै विज्ञता हासिल गरे पनि त्यस्ताबाट राजनीति चल्न सक्दैन । पाका उमेरका नेताको उपादेयताबारे कुरा गर्दा विश्वका ५ ठूला अर्थतन्त्र अमेरिका, चीन, जर्मनी, जापान र भारतका राजनीतिज्ञले शिक्षालाई उच्च प्राथमिकता दिँदै विश्व अर्थतन्त्रमा जरा गाडेका छैनन् र ?

भुवनेश्वर शर्मा, बोस्टन, अमेरिका

पाठक

Link copied successfully