विद्यार्थीलाई दण्ड: बहसमा शैक्षिक प्रणाली

माघ ९, २०८१

पाठक पत्र

Punishing the student: The educational system in debate

माघ ७ गते कान्तिपुरमा प्रकाशित ‘खोइ दण्डरहित विद्यालय ?’ शीर्षकको अमृता अनमोलको लेखले हाम्रो वर्तमान शैक्षिक प्रणालीमाथि गम्भीर सवाल उठाउँछ ।

विद्यालयमा शारीरिक दण्डको प्रचलन पुरानो भए तापनि यसका नकारात्मक प्रभाव अब स्पष्ट रूपमा देखिएका छन् । विद्यार्थीलाई दण्ड दिने परिपाटीले केवल शारीरिक पीडा मात्र होइन, मानसिक पीडासमेत उत्पन्न गर्छ । यसले उनीहरूको आत्मसम्मान घटाउँछ, सिकाइमा नकारात्मक असर पुर्‍याउँछ । दण्डरहित विद्यालयले विद्यार्थीलाई सकारात्मक वातावरणमा राखेर उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन्छ । यसले विद्यार्थीलाई थप खुला, शान्त र सिर्जनात्मक बनाउँछ । दण्डको सट्टा विद्यार्थीलाई राम्रो व्यवहार र कार्यक्षमता प्रदर्शन गर्नका लागि मार्गदर्शन, समझ र सहानुभूति जगाउँछ । जसले गर्दा उनीहरूको सर्वांगीण विकासमा टेवा पुग्छ ।

दण्डको प्रणालीले विद्यार्थीलाई गल्तीको शिक्षा कम र डरको भावना बढी दिन्छ, जसले भविष्यमा उनीहरूको सामाजिक र मानसिक विकासलाई प्रतिकूल असर पुर्‍याउन सक्छ । यसको सट्टा, सकारात्मक प्रतिक्रिया र प्रोत्साहनको माध्यमबाट विद्यार्थीलाई प्रोत्साहित गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । यसले विद्यार्थीलाई आफैंबाट सुधार गर्ने र आफूलाई आत्मनिर्भर बनाउने अवसर दिन्छ । विद्यालयको उद्देश्य केवल पाठ्यक्रम मात्र पूरा गर्नु होइन, बरु विद्यार्थीलाई राम्रो मानव बन्नका लागि आवश्यक मूल्य र संस्कार सिकाउनु हो । यदि हामी दण्डरहित वातावरणको निर्माण गर्छौं भने त्यसले विद्यार्थीलाई डरको सट्टा विश्वास र आत्मसम्मानको वातावरण दिन्छ । उनीहरूलाई मानसिक, शारीरिक र सामाजिक रूपमा बलियो बनाउँछ । यसरी हामी दण्डरहित विद्यालयको माध्यमबाट भविष्यमा सक्षम र समर्पित नागरिक तयार गर्न सक्छौं ।

जयराम चापागाईं, इलेन मेमोरियल स्कुल, नागार्जुन–५, सीतापाइला, काठमाडौं

पाठक पत्र

Link copied successfully