धेरै वर्षपछि हाम्रो पीडा बुझेर कान्तिपुर दैनिकले ‘बिर्ताको व्यथा’ सुनाइदिएकामा अति नै खुसी छौं । शनिबारको अंकमा महिला आन्दोलनकर्मीहरूको सङ्घर्षलाई मसिनोसँग केलाइएको रहेछ ।
यो पीडा राज्यले सुनोस्, उचित कदम चालोस् र किसानले थप पीडा भोग्नु नपरोस् । हाम्रो यो समस्या आज सिर्जना भएको होइन । बिर्ता समस्या नुवाकोटमा पृथ्वीनारायण शाहले राज्य शासन सञ्चालन गरेदेखि सुरु भएको हो । न हामी बिर्तावाल चिन्छौं, न हामीलाई उनीहरूले चिन्छन् । न त उनीहरूसँग भएको लालपुर्जाको जग्गा कहाँ छ भनेर उनीहरूलाई नै थाहा छ । तैपनि आफ्नो जग्गा भनेर लालपुर्जा लिएर बसेका छन्, हामी यहाँ पुर्खौंदेखि रगत र पसिना बगाएर बसेका छौं । यस्तो समस्यामा रहेका हामीलाई राज्यले नै एउटा क्रान्तिकारी निर्णय गरेर टुङ्गो लगाइदिनुपर्नेछ । हामी किसानलाई न्याय दिने गरी राज्यको ध्यानाकर्षण गराउन कान्तिपुर मिडियाले अझै दबाब देओस् ।
– चूडामणि गजुरेल,
पूर्वअध्यक्ष, जिल्ला भूमि अधिकार मञ्च, नुवाकोट
बिर्ताको पीडा यहाँका एक हजारभन्दा बढी घरधुरीका महिला, पुरुष, युवायुवती र सबैको समस्या हो । यो समस्याले हामी वर्षौंदेखि, पुस्तौंदेखि पीडित भएर बस्नुपरेको छ । यहाँका किसानले रगत र पसिना बगाएर खेती गरे, घर बनाए तर यो स्वामित्व मेरो हो भनेर ढुक्कले भन्न सकिने अवस्था छैन । भोलि हाम्रा सन्ततिलाई सम्पत्तिका रूपमा के हस्तान्तरण गर्ने भन्ने चिन्ताले पिरोलेको छ । हामीले पुर्खादेखि स्याहार र संरक्षण गरेको जग्गाको लालपुर्जा माग्नुपर्ने नै होइन । हिजोका शासकहरूले नै कमजोरी गरेका रहेछन् । किसानलाई नै जग्गा दिन्छौं भनेर यहाँ आएर नापी गरेर दिनुपर्ने थियो । तर, त्यस्तो भइरहेको छैन । अझै पनि हजारौं किसानको समस्या समाधान गर्न राज्य र यसका प्रतिनिधिहरू किन चाहँदैनन् ? उनीहरू हामीमाथि सधैं राजनीति मात्रै गर्न चाहन्छन् । के नेताहरूले हामीलाई भोट बैंक मात्रै बनाइरहेका छन् ?
– खड्गमाया न्यौपाने,
सदस्य, जिल्ला भूमि अधिकार मञ्च, रसुवा
कान्तिपुर दैनिकले भूमि अधिकार अभियानमा अथक महिला योद्धाको दर्दनाक सङ्घर्षको कथा लेखी प्रकाशन गरेकामा हामी भूमि अधिकारको अभियानमा १५/१६ वर्षदेखि लागेका महिला अधिकारकर्मीलाई थप हौसला र आँट बढेको छ । हाम्रा दुःख, व्यथा र कथालाई राज्यले सुन्ने गरी कान्तिपुरले स्थान दिएको छ । राज्यमा बस्ने, शक्तिमा बस्ने मन्त्री, प्रधानमन्त्री र सांसदहरूले पक्कै सुने होलान् भन्ने हामीलाई विश्वास लागेको छ ।
– श्याममाया घलेनी,
उत्तरगया–४, पैरेवेशी रसुवा
