स्वास्थ्य विषय पठनपाठनको अनिवार्यता

माघ ६, २०८१

पाठक पत्र

Essentials of health education

शिक्षा मन्त्रालयले विद्यालय तहमा स्वास्थ्य विषयलाई पुनः अनिवार्य विषय बनाउने तयारी थालेको सुनिएको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लागू भएसँगै कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा’ हटाइएको थियो । अहिले नयाँनयाँ संक्रामक रोग आइरहेका छन् । प्रजनन स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग, अर्बुददेखि लिएर स्वास्थ्यका विभिन्न विषयमा समाजमा चासो हुनुपर्छ । स्वास्थ्य विषयलाई ऐच्छिक होइन, अनिवार्य नै बनाउनुपर्छ भन्ने बहस सुरु भएकामा खुसी लागेको छ । सबैभन्दा पहिला संस्थागत उच्च माध्यमिक विद्यालयलाई मानविकी र शिक्षा संकायमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय पढाउनैपर्ने अनिवार्य र बाध्यात्मक प्रावधान गरियोस् । स्वास्थ्य विषयलाई सम्मानित विषय मानेर विद्यालय, समुदाय, व्यक्तिगत स्वास्थ्य प्रवर्द्धनमा यसको महत्त्वपूर्ण भूमिका भएकाले निर्देशनात्मक प्रावधान तयार पारियोस् ।

शिक्षा संकायमा उच्च शिक्षा पढ्नेले शिक्षण विधि लिएमा स्वास्थ्य विषय लिन नपाउने र स्वास्थ्य लिएर शिक्षा संकाय पढेको भए शिक्षक लाइसेन्सको परीक्षामा सामेल हुन नपाउने प्रावधानबारे शिक्षामन्त्रीको ध्यानाकर्षण हुन जरुरी छ । कक्षा ११ र १२ गरेर २०० पूर्णांक स्वास्थ्य विषय पढिए तापनि अंकभार १०० मात्र पूरा गरेको भनेर शिक्षक स्थायी अनुमति परीक्षामा सामेल हुन दिइँदैन । स्वास्थ्य तथा शारीरिक शिक्षा विषय कक्षा १२ मा २०० प्र्णूांकको बनाइनु जरुरी छ, या ११ को १०० पूर्णांकको अध्ययन आन्तरिक भए पनि त्यसलाई गणना गरियोस् वा शिक्षक अनुमति परीक्षा मापदण्ड परिमार्जन गरियोस् । स्वास्थ्यजस्तो संवेदनशील विषयको अध्यापनमा विषय विज्ञता, अनुभव र परिपक्वता आवश्यक छ । तीन वर्षअगाडि परिवर्तन भएको स्वास्थ्यको पाठ्यक्रम त्यो भन्दा पहिले पढाइ हुनेभन्दा फितलो छ । आधारभूत तहमा पढिएका क्लिनिकल र सामुदायिक स्वास्थ्यको पाटो यसमा कम नै छन् । झारो टार्ने गरी त स्वास्थ्य विषयको व्यवस्था गर्न सकिएला तर व्यावहारिक बनाउन बेलैमा सबैतिरबाट अध्ययन गरियोस् ।

सुरेश खतिवडा, झापा

पाठक पत्र

Link copied successfully