काठमाडौँ — नेपालमा राजनीति भन्नासाथ समाज सेवा, नेतृत्व र दिगो विकासजस्ता आदर्श कल्पनाको सट्टा स्वार्थ, पद र धनप्राप्तिको औजारका रूपमा बुझ्न थालिएको छ ।
शिक्षादेखि स्वास्थ्य, न्यायालयदेखि पत्रकारिता, खेलकुददेखि व्यवसायसम्म हरेक क्षेत्रमा राजनीतिले आफ्नो प्रभाव जमाउँदै गएको छ । यस्तो अवस्थामा समाजका मेरुदण्ड मानिने पेसागत समूहहरूले आफ्नो भूमिकालाई बिर्सेर राजनीतिक स्वार्थमा लिप्त हुनु डरलाग्दो प्रवृत्ति हो । सबैभन्दा डरलाग्दो पक्ष शिक्षादेखि कर्मचारी प्रशासनसम्मको राजनीतीकरण हो ।
शिक्षक र कर्मचारी, जो राष्ट्र निर्माणका प्रमुख आधारस्तम्भ हुन्, जब दलगत स्वार्थमा अल्झिन्छन्, तब समाजले सही दिशा पाउन सक्दैन । जब शिक्षाले राजनीति छोडेर शुद्ध ज्ञान र मानव सिर्जनामा केन्द्रित हुन्छ र कर्मचारी प्रशासनले दलगत स्वार्थ त्यागेर जनसेवा मात्र गर्छ, त्यसै दिनबाट देशले दिगो समृद्धिको यात्रा सुरु गर्नेछ ।
नेपालमा हरेक विषय राजनीतिक चस्माले मात्र हेरिन्छ । एउटा राम्रो शिक्षक, कलाकार वा समाजसेवीले समेत आफ्नो सफलता सुनिश्चित गर्न राजनीतिक समर्थन खोज्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । राजनीतिलाई तलबी पेसा र व्यक्तिगत स्वार्थको माध्यम बनाउने सोचले यो क्षेत्रको गरिमा घटाएको छ । राजनीतिले समाजलाई दिशा देखाउने काम गर्नुपर्नेमा आज यो आर्थिक र व्यक्तिगत लाभ आर्जनको खेल भएको छ । राजनीतिलाई समाज सेवाको मार्गतर्फ पुनः परिभाषित गर्न आवश्यक छ ।
यसका लागि हरेक पेसागत समूहले आफ्नो जिम्मेवारी र भूमिकामा विश्वास राख्दै काम गर्नुपर्छ । शिक्षक र कर्मचारी प्रशासनले राजनीतिमा संलग्नता त्यागेर इमानदार र निष्पक्ष भएर काम गर्ने हो भने नेपालले सही अर्थमा विकास र समृद्धिको नयाँ युगको सुरुवात गर्न सक्छ । राजनीतिलाई केवल नेतृत्व र सेवाको साधन बनाउने हो भने मात्र समाजले सही दिशा पाउनेछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
