सचिन गुमाएपछिको पाठ

पुस २१, २०८१

पाठक पत्र

Lessons after losing Sachin

मिठो बोली, निश्चल हाँसो र अद्भुत क्षमताले नेपालीको मन जितेका बाल गायक सचिन परियार आज हामीसँग छैनन् । सचिनले बाल्यकालको रमाइलो अनुभूति गर्न पाएनन् ।

गरिबी, कमजोर शारीरिक अवस्था र पारिवारिक लापरबाहीले उनलाई सधैं असुरक्षित बनायो । आफ्नै बुबाले सहानुभूतिका नाममा उठाएको सहयोगलाई दुर्व्यवहार गरेर सचिनको जीवनको उज्यालोलाई मेटाए । एउटा अबोध बालकलाई सहारा दिनुपर्ने परिवार र समाज नै उनका लागि भार बन्दा, उनले समयमै उपचार पाउने अवसरसमेत गुमाए ।

भाइरल हुने नाममा सामाजिक सञ्जालले सचिनलाई व्यापारको साधन बनायो । उनका पीडा, आँसु र भिन्नतालाई मनोरञ्जनको सामग्री बनाइयो । युट्युबरहरूले आफ्नो भ्युज र आम्दानीको स्रोत बढाउन उनको दुःखलाई बिक्रीयोग्य सामग्रीमा रूपान्तरण गरे । हरेक दिन गीत गाउन, नाच्न लगाउँदा र विभिन्न कार्यक्रममा घुमाइँदा सचिनको बालसुलभ मनमस्तिष्कले आफूलाई बुझ्नै पाएन । समाजको यो स्वार्थी व्यवहारले केवल सचिनको जीवनलाई सुकाएन, हाम्रो नैतिकतामाथि पनि गम्भीर प्रश्न खडा गर्‍यो ।

यो घटनाले राज्य, समाज र अभिभावकको विफलतालाई छर्लंग पारेको छ । बालबालिकाको अधिकार संरक्षणमा हाम्रो असफलता देखिएको छ । गरिबीले थिचिएका र अभिभावकत्व गुमाएका बालबालिकाका लागि न त राज्यले कुनै भरपर्दो व्यवस्था गर्न सक्यो, न त समाजले नै संवेदनशीलता देखायो । सचिन जस्ता प्रतिभावान् बालकलाई सही मार्गदर्शन र संरक्षण दिन सकेको भए उनको जीवन अझै धेरै उज्यालो बन्न सक्थ्यो । सचिन, तिमीले सामना गरेका पीडा अब हाम्रा लागि गम्भीर पाठ बनून् । तिमीले देखाएको प्रतिभा र मुस्कान कहिल्यै बिर्सन सकिँदैन । तिम्रो दुःखान्तले अब अरू बालबालिकाका सपनालाई चुँडिनबाट रोक्न प्रेरणा बनोस् । यो समाजले तिमीलाई जोगाउन सकेन, तर तिम्रो कथा हाम्रा मनमा सधैं जिउँदै रहन्छ ।

सन्तोष सिम्खडा, जापान टोकियो

पाठक पत्र

Link copied successfully