दलभित्र लोकतन्त्रको संकट

पुस १८, २०८१

पाठक पत्र

Crisis of democracy within the party

कुनै पनि पार्टीभित्र असमझदारी, असमति हुन सक्छन् । विचार र मत राख्ने अधिकार सबै नेता कार्यकर्ताको हुन्छ । त्यसैलाई त प्रजातन्त्र भनिएको हो ।

एउटा संवैधानिक दायरामा बसेर बोल्न लेख्ने स्वतन्त्र रूपले नपाउने हो भने प्रजातन्त्र आयो भनेर किन भन्नु ? जनताले विश्वास गरेको पार्टी एमालेभित्र किन लोकतन्त्रको संकट देखिँदै छ ? एमालेले भीम रावल, माधव नेपाल, घनश्याम भुसालहरूलाई पार्टीबाट निष्कासन गर्‍यो भन्ने ठूलो कुरा होइन, यसले देशको राजनीतिक अवस्थालाई कस्तो असर पार्छ भन्ने महत्त्वपूर्ण हो । अमेरिकाजस्तो देशमा दुई मुख्य पार्टी छन्, हाम्रो देशमा भने निर्वाचन आयोगमा दर्ता भएका १२१ दल छन् । यसरी दल खोल्ने होडबाजी किन चल्यो ? जसको कारकमा एमाले अध्यक्ष देखाएको कार्यशैली नै देखिन्छ । माधव नेपाल, झलनाथ खनाल असन्तुष्ट भएका एकीकृत समाजवादी पार्टी खोले । भीम रावललाई कारबाही गरेपछि उनी अर्को पार्टी खोल्ने तयारीमा लागिसकेका छन् ।

एमालेमा नेतृत्वले जे निर्णय गर्‍यो, त्यसमा कसैले बोल्न नपाउने भन्ने हो भने तानाशाह भइहाल्यो नि । के अब जनताले एमालेभित्र एकतन्त्रीय शासन चलेको भन्ने बुझ्नुपर्ने हो ? कांग्रेसका शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेरबहादुर देउवासँग सभापतिका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । खोइ त उनीहरूलाई देउवाले कारबाही गरेनन् । उनीहरूको स्थान पार्टीमा अहिले पनि सम्मानजनक नै छ । तर, एमालेमा नेतृत्वको कार्यशैली बढी नै निरंकुश देखिन्छ । हिजो माधव नेपाल, घनश्याम भुसाललगायतलाई
पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरियो । अहिले ओलीको कोपभाजनमा भीम रावल परेका छन् । तीन दशक राजनीतिमा लागेका व्यक्तिको सारा राजनीतिक भविष्य नै सखाप पार्न खोज्नु गलत हो । उनले पार्टीका लागि गरेको योगदान नेतृत्वले बुझ्न सकेन । एमालेका पार्टी अध्यक्षले कतिको कहिलेसम्म मुख बन्द गर्ने ? क–कसलाई कहिलेसम्म कारबाही गर्ने ? यसले त पार्टीलाई नै कमजोर बनाउँछ । एमाले भनेको केपी ओलीको मात्र पार्टी हो कि भन्ने भान जनमानसमा परेको छ ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully