नेता स्वार्थमा, जनता लोभमा

पुस १७, २०८१

पाठक पत्र

Leaders in selfishness, people in greed

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी गराउन दुई लिटर पेट्रोल वितरण गरिएको समाचारले नेपाली राजनीति र समाजको दयनीय अवस्था उजागर गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उक्त कार्यक्रमका लागि कार्यकर्तालाई पेट्रोल कुपन बाँडिएको घटनाले हाम्रो सामाजिक चेतना र राजनीतिक संस्कारमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

यस्तो अभ्यासले नेताहरूको असफल नेतृत्व देखाउँछ भने जनताको चेतनास्तर कत्तिको खस्किएको छ भन्ने स्पष्ट पार्छ । नेताभन्दा पहिले जनता सुध्रिनुपर्छ भन्ने भनाइलाई यो घटनाले फेरि पुष्टि गरेको छ । दुई लिटर पेट्रोलको लोभमा आत्मा बेच्ने, गला सुक्ने गरी भाषणको तारिफ गर्ने र ताली पड्काउने प्रवृत्तिले हाम्रो समाज कति कमजोर छ भन्ने देखाएको छ । जब जनता यति सस्तोमा बिक्न तयार हुन्छन्, तब नेताहरूले आफ्नो स्वार्थसिद्ध गर्न समाजको गरिमालाई अझै सस्तो बनाउँछन् ।

दुई लिटर पेट्रोल त एउटा उदाहरण मात्र हो । सस्तो स्वार्थपूर्तिका लागि बिक्ने यस्ता प्रवृत्तिले देशको राजनीतिक स्थिति झन् कमजोर बनाएको छ । जब जनताले आफ्नो गरिमा नै बुझ्न छाड्छन्, तब नेतालाई आफ्नो शक्ति र स्रोतको दुरुपयोग गर्न सजिलो हुन्छ । जनताकै कमजोरीले नेताहरूको गलत अभ्यासलाई वैधता दिन्छ । चुनावमा हुने व्यापक धाँधली, मतदाताको सस्तो बिक्री र प्रभावमा परेर गरिएको मतदानले देशलाई सही नेतृत्वबाट वञ्चित गराएको छ । जब जनता सस्तो लोभमा बिक्छन्, तब उनीहरूले सही नेतृत्व चयन गर्न सक्दैनन् । नतिजा, देशको राजनीति अस्थिर र भ्रष्ट नै रहन्छ । यस्तो प्रवृत्तिले देशलाई दासत्वबाट कहिल्यै मुक्त हुन दिने छैन ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully