प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देशका नागरिकको वास्तविक आवश्यकता र समस्या सम्बोधन गर्नुभन्दा आफ्नै पार्टीभित्रको शक्तिसंघर्षमा समय बिताइरहनुभएको छ ।
सरकारको ध्यान शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार निर्माण र आर्थिक सुधारजस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित हुनुको सट्टा, आफ्ना आलोचकलाई पार्टीबाट हटाउने र आफ्नो शक्ति जोगाउने प्रयासमा उहाँको ध्यान देखियो । प्रधानमन्त्रीको यस्तो व्यवहारले आफ्नै पार्टी र देशलाई ठूलो क्षति पुर्याइरहेको छ । विकासका काम थाती रहेका छन्, जनताका समस्यालाई प्राथमिकता दिइएको छैन र सरकारप्रति जनतामा भरोसा घट्दै गएको छ । दुःखद् कुरा त, ओलीको यो प्रवृत्ति अब अन्य नेताले पनि पछ्याउने सम्भावना प्रबल छ । उनीहरूको ध्यान राष्ट्र निर्माण र जनताका समस्या समाधान गर्नुभन्दा सत्ताको राजनीति र आन्तरिक विवादमा सीमित हुने जोखिम देखिएको छ । नेपाललाई अहिले जिम्मेवार र दूरदर्शी नेताको आवश्यकता छ, जसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको दीर्घकालीन हितलाई प्राथमिकता दिन सक्छन् । देशको नेतृत्वले आफैंलाई सत्तामा जोगाउनतर्फ होइन, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक विकासजस्ता क्षेत्रमा ठोस उपलब्धि दिनतर्फ ध्यान दिनुपर्छ । हामी नागरिकले पनि यसबारे गम्भीर रूपमा सोच्नुपर्छ । देशको भविष्य सुरक्षित राख्न परिवर्तनको माग गर्नुपर्छ र नेतृत्वलाई सही दिशामा लाग्न बाध्य पार्नुपर्छ । नेपालको समृद्धि र एकता हाम्रो हातमा छ । हामीले यो सुनिश्चित गर्नुपर्नेछ कि कुनै पनि नेता आफ्नो सत्ताका लागि मात्रै होइन, देश र जनताका लागि काम गर्न प्रतिबद्ध होस् ।
– जयराम चापागाई, नागार्जुन–५, सीतापाइला, काठमाडौं
