नेकपा एमाले र केपी शर्मा ओली पर्यायजस्तै बन्न थालेको उनी पार्टीको नेतृत्वमा आएदेखि नै हो । २०७८ भदौमा एमालेका पूर्व नेतृत्वकर्ताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले एमाले परित्याग गरेपछि ओलीलाई घाँटीमा अड्केको हड्डी निकालेर फालेजस्तै सन्चो भयो र पार्टीमा आफ्नो एकल वर्चस्व जमाउन सहज भयो ।
आफूलाई पूर्णरूपमा समर्थन गर्छौ भने गर होइन भने जो आफ्नाविरुद्ध उभिन्छ उसलाई पार्टीमा स्थान छैन भन्ने भाष्य ओलीले पार्टीमा स्थापित गराउँदै लगे । पार्टीमा जो आफूलाई फिटिक्कै मन पर्दैन, जसले आफ्नो विरोध गर्छ त्यस्तालाई गलहत्याइहाल्ने नीति अवलम्बन गर्दै आए । त्यसले पार्टीमा बहुपदीय अभ्यास भए पनि व्यवहारमा पार्टी सञ्चालन एकल निर्णयबाट हुँदै आएको छ । एमालेभित्र कतिपय कुरामा असन्तुष्टि हुँदाहुँदै पनि नेतृत्वको हैकमवादी शैलीकै कारण चुप बस्नुभन्दा अन्य विकल्प कसैले देखेका छैनन् ।
भीम रावलजस्ता नेतामाथि ओलीले अहिले आएर जुन डन्डा प्रहार गरेका छन्, यो निकै ढिलो भएको हो । किनकि तत्कालीन एमालेभित्र रहेका माधव नेपाल र झलनाथ खनालहरूलाई ओलीका विरुद्ध लाग्न उचाल्ने नेतामध्येका एक हुन् रावल । भित्रभित्रै उचाल्ने र पार्टी अलग हुँदा त्यसमा साथ नदिई ओलीकै छायामा लाचार बनेर बसिरहे । तत्कालीन अवस्थामा नेपाल, खनालहरूले पार्टी छाडेर गएपछि एमाले नेतृत्वमा आफूले बाजी मार्ने सोच रावलमा पलाएको हुन सक्छ । तर पार्टीको १० औं महाधिवेशनमा नेतृत्व लिन त परको कुरा, अध्यक्ष पदका लागि उम्मेदवारी दिनसमेत उनलाई निकै पापड पेल्नुपर्ने अवस्थाको सिर्जना भयो । ओलीले पार्टीमा जतिजति एकल शासन बढाउँदै लगेका छन्, पार्टीमा त्यति नै क्षयीकरण हुँदै गएको पनि प्रमाणित भएको छ ।
नेतृत्वकै कारण एमालेमा गुम्सिएर बस्न बाध्य भएकाहरूका लागि बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाजस्ता पात्र उदाहरण बन्न पुगेका छन् । पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले जग्गा दानसहित कार्यालय नै उनैले बनाइदिने विषयमा पार्टीभित्र र बाहिरबाट पनि चर्को आवाज उठेपछि उक्त विषय सर्वोच्चसम्म पुगेको थियो । अन्ततः उक्त विषयमा सर्वोच्चले एमाले पार्टीकै पक्षमा फैसला गरिदिएपछि ओलीले पार्टीमा झनै एकाधिकार जमाउन थालेका छन् । आखिर आफूलाई पञ्चायतका विरुद्ध लडेको नेताको रूपमा अर्थ्याउने ओलीले अहिले त्यही पञ्चायती शासनजस्तै शासन पार्टीमा लाद्नुले भोलिका दिनमा यसको नतिजा कस्तो आउला ?
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
भीम रावलजस्ता प्रखर राष्ट्रवादी र इमानदार छवि बोकेका नेतालाई समेत एमालेले ठाउँ भएन । रावलको निष्कासन, बिन्दा पाण्डेहरूको निलम्बन प्रकरणले केपी ओली रहेसम्म एमालेभित्र स्वथ्य आलोचनाको कुनै ठाउँ छैन भन्ने सन्देश गएको छ । विगतमा भीम रावल, घनश्याम भुसाललगायत ‘१० भाइ’ ले ओलीको कार्यशैलीको विरोध गरेका थिए, उनीहरूलाई त्यही बेलादेखि पाखा लगाउन थालिसकिएको थियो । ओलीको यो शैलीले एमालेभित्र आन्तरिक लोकतन्त्र पटक्कै छैन भन्ने देखाउँछ । ओली एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीको मोडलमा लान चाहन्छन् भन्ने कुरा प्रस्ट गरेको छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
एमालेले भीम रावलजस्ता नेतालाई साधारण सदस्यबाट निष्कासित गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रको हत्या गरेको छ । यो घटनाले एमाले अब विचार र सिद्धान्तमा होइन, व्यक्तिवादी, गुटबन्दी र अधिनायकवादका आधारमा चल्ने पार्टी भएको स्पष्ट पार्छ । भीम रावलजस्तो दक्ष, राष्ट्रवादी र संघर्षशील नेतालाई निष्कासन गर्नु ओली प्रवृत्तिको नांगो रूप हो, जसले आलोचना, प्रतिस्पर्धा र सत्यको सामना गर्न सक्दैन । पार्टीभित्र विरोधी आवाजलाई दबाउने यो शैलीले एमालेलाई क्रान्तिकारी पार्टीबाट अधिनायकवादी जत्थामा परिणत गरेको छ । भीम रावल कुनै साधारण नेता होइनन्, जनताको पक्षमा संघर्ष गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा अडान लिने र कम्युनिस्ट आन्दोलनलाई शुद्ध बनाउने प्रयास गर्ने नेता हुन् । तर ओली प्रवृत्तिले उनको यो क्षमतालाई खतरा ठानेर पार्टीबाट निष्कासन गरिदियो । यो कदम रावलमाथि मात्रै होइन, सम्पूर्ण राष्ट्रवादी नेतृत्व र विचारमाथिको प्रहार हो । ओली नेतृत्वको स्वार्थी राजनीति र अधिनायकवादी प्रवृत्तिले अहिले पार्टीभित्र आलोचनात्मक र प्रतिस्पर्धात्मक वातावरणलाई पूर्णतः नष्ट गरेको छ । ओली नेतृत्वको अधिनायकवादी शैलीले पार्टीलाई विचार र सिद्धान्तमा आधारित लोकतान्त्रिक संरचनाबाट टाढा पुर्याएको छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
भीम रावल खासमा त्यति उपयुक्त पात्र होइनन्, जति चर्चामा छन् । यथार्थवादी कम र स्टन्टबाज ज्यादा लाग्छन् । उरन्ठेउलो कुरा गर्नमा ओलीलाई पनि माथ दिन्छन्, उनले । यसो भनिरहँदा उनलाई गरेको कारबाही उचित भन्न खोजेको होइन । आफू स्वयं ठीक बाटोमा हिँड्नका लागि पनि ओलीलाई रावलको खबरदारी आवश्यक थियो । आफूबाट कहीँकतै गल्ती नभएको र गल्ती गर्ने ल्याकत नै आफ्नो नभएको मात्रै होइन कि आफू ब्रह्मज्ञानी भएको भ्रम छ ओलीमा । उनको यो सोच पार्टी उन्नतिका लागि सर्वथा बाधक छ । भलै उनको पार्टीको उत्थान वा अवसानले मुलुकलाई पार्ने असर समयकै गर्भमा रहन दिऊँ । कुरा यतिमा मात्रै सीमित छैन । तत्कालीन प्रधानमन्त्री ओली र विदेशमन्त्री प्रदीप ज्ञवाली एमसीसी परियोजना पारित गर्ने पक्षमा थिए र त्यो नितान्त जायज थियो । तर हावादारी तर्कका आधारमा आफू समान राष्ट्रवादी कोही नभएको भ्रममा उचालिएर झलनाथ खनालसमेतको साथमा एमसीसी परियोजना कुनै पनि मूल्यमा पारित गर्न दिनुहुँदैन भन्ने लाइन पारित गराउन भूमिका खेले रावलले । ओलीलाई कमजोर बनाउने उद्देश्यले प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसँग जुन भूमिका खेले, खासगरी एमसीसीलाई तारो बनाएर, त्यही नै प्रमुख कारण बन्यो एकता भत्किन र सरकार ढल्नमा ।
– रत्नप्रसाद लुइँटेल, पाँचखाल– १०, काभ्रे
एमाले भनेको केपी ओलीको मात्र पार्टी होइन । पार्टीभित्र फरक मत राख्न नपाउने भनेको पार्टीमा तानासाह लाद्नु हो । ओलीले पार्टीमा एकतन्त्रीय शासन लागू गर्न खोजेको आरोप लागेको छ । यसअघि नै माधव नेपाल, घनश्याम भुसाललगायतका नेतालाई कारबाही गरेका थिए । नेपालले अर्का पार्टी खोले । ओलीको कार्यशैली हेर्दा पार्टीमा उनले बाहेक अरूले बोल्न पाउने अधिकार छैन भन्ने प्रस्ट देखिएको छ । उनका विरुद्ध कसैले आवाज उठायो भने त्यसलाई कारबाही गर्ने कस्तो प्रजातान्त्रिक सिद्धान्त होला ओलीको ? अधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका रावललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । देश र जनताका लागि गर्छु भनेर आएका ओली पाँचौं पटक प्रधानमन्त्री बन्दासमेत आन्तरिक कलहमै व्यस्त छन् । निर्वाचन जित्नु र सरकारमा जानुबाहेक उनले जनताका लागि के गरे ? ओलीको पक्षमा बोल्नेलाई संरक्षण गर्ने र कार्यशैलीको विरोध गर्नेलाई तत्काल कारबाही गर्ने नीति उनले अवलम्बन गरेका छन्, जुन गलत हो । अनेक दिवासपना बाँडेर जनता भुलाउने काम ओलीले गरेको देख्दा अचम्म लाग्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं
