कुनै समय राष्ट्रवादी नेताका रूपमा जनताबाट वाहवाही पाएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय निरन्तर आलोचना र अपमानको सिकार भइरहेका छन् ।
वसन्तपुरको कार्यक्रममा भएको चर्को नाराबाजी, दरबारमार्गमा देखिएको सार्वजनिक अपमान र राजधानीबाहिर पनि हुने गरेका फाट्टफुट्ट विरोधका गतिविधिले उनीप्रतिको विश्वास घट्दै गएको बुझ्न सकिन्छ । गृहजिल्ला दमकमा आयोजित भ्यु टावर उद्घाटन समारोहमा समेत उनले अपेक्षित सम्मान नपाउनु र नेपालभित्रै विद्यार्थीको कठोर प्रश्नको सामना गर्नु ओलीको कमजोर हुँदै गएको छविको झलक हो । एनपीएलजस्तो मुलुककै महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पनि उनी अनुपस्थित रहे । आफ्नो उपस्थितिमा हुने सम्भावित आलोचना र अपमान टार्न उनी एक प्रकारले भागिरहेको बुझ्न सकिन्छ ।
ओलीको नेतृत्व कहिल्यै विवादरहित थिएन, तर उनीमाथि रहेको राष्ट्रवादी छवि र जनताको विश्वास उनको बलियो पक्ष थियो । अहिले यही विश्वास बिस्तारै गुम्न थालेपछि उनीमाथि आलोचना झनै कडा हुँदै गएको छ । आफ्नो कार्यकालमा गरेका केही विवादास्पद निर्णय र अभिव्यक्तिको प्रभाव अहिले देखा पर्दैछ । कुनै समय गर्वसाथ बोली र अडानले जनतालाई प्रेरित गर्ने ओली आज प्रश्नहरूको घेरामा मात्र सीमित भएका छन् । यो क्रम ओलीको राजनीतिक भविष्यका लागि गम्भीर संकेत हो । जनताको विश्वास गुमाउनु नेतृत्वका लागि सबैभन्दा ठूलो संकट हो र ओली यसको प्रत्यक्ष उदाहरण बनेका छन् । अबको समय आत्मविश्लेषणको हो । विगतका गल्ती स्विकार्दै सुधारको बाटो रोजे मात्र उनले आफ्नो छवि र प्रभाव केही हदसम्म पुनः स्थापित गर्न सक्छन् । अन्यथा, उनीमाथिको यो खस्किँदो विश्वास राजनीतिक इतिहासमा समय सधैं सबैको पक्षमा हुँदैन भन्ने पाठका रूपमा मात्र रहन्छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
