काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा बनेको छ । पहिलो संस्करणमै एनपीएलले अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटलाई चिनाउने उल्लेखनीय काम गर्यो ।
विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय ब्रोडकास्ट र नेपालभित्रका प्रतिभा पहिचानले यो प्रतियोगितालाई नेपाली खेलकुदको गौरवमय क्षणमा रूपान्तरण गराएको छ । प्रतियोगितामा जनकपुर बोल्ट्सले उपाधि जितेको छ, साँचो अर्थमा यो जित समग्र नेपाली क्रिकेटको हो । एनपीएलको सफलतामा सबैभन्दा ठूलो हात नेपाली क्रिकेट फ्यानहरूको रहेको छ ।
उनीहरूको माया, समर्थन र खेलप्रतिको उत्साहले प्रतियोगिता सम्भव मात्र बनाएको होइन, यसलाई ऐतिहासिक र उल्लेखनीय बनाएको छ । नेपाली क्रिकेटले कुनै पनि जात, समुदाय वा क्षेत्रीय पहिचानभन्दा माथि उठेर सबै नेपालीलाई एउटै भावनामा बाँध्ने काम गरेको छ ।
ब्रायन लारा, शिखर धवनजस्ता विश्वविख्यात खेलाडीको उपस्थिति, स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण र घरेलु क्रिकेटमा नयाँ सम्भावनाका ढोका यो प्रतियोगिताले खुलाएको छ । नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले देशभित्रको खेल प्रतिभालाई उजागर गरेको छ ।
घरेलु प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि योग्य खेलाडी उत्पादन हुनु यो प्रतियोगिताको ठूला उपलब्धिमध्ये एक हो । क्रिकेटले नेपाली समाजमा एकता र भाइचाराको भावना जगाएको छ । यसैबीच, केहीले क्षेत्रीय र जातीय आधारमा विभाजनको प्रयास गरेका घटना पनि देखिए । यस्ता प्रयासको पराजय नै एनपीएलको मुख्य सन्देश हो ।
क्रिकेटको यो सफलता निरन्तर राख्न बलियो घरेलु संरचना र आधुनिक पूर्वाधारको विकासमा ध्यान दिनु आवश्यक छ । फ्रेन्चाइज टिम, खेलाडीको आकर्षक पारिश्रमिक र ठूला प्रतियोगिता आयोजना गरेर मात्र नेपाली क्रिकेटलाई अझ सशक्त बनाउन सकिनेछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
२२ दिनसम्म त्रिवि क्रिकेट मैदानमा चलेको क्रिकेट कुम्भ मेलामा पूरै देश रम्न पुग्यो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सकेकामा नेपाल क्रिकेट संघ र विशेषगरी यसका सचिव पारस खड्कालाई धेरै धन्यवाद, जसले खेलको महत्त्व बुझेर पदाधिकारीमा आएको छोटो समयमै क्रिकेटलाई नेपाली जनस्तरमा भिजाउन अग्रणी भूमिका निर्वाह गरे ।
यो आयोजनाको महत्त्वपूर्ण तीन पक्ष देखिएका छन् । क्रिकेटको लोकप्रियता अझै बढायो, खेलाडीमा उत्साह र नवोदित खेलाडीलाई चिनाउने काम गर्यो भने नीति निर्मातालाई नेपालमा क्रिकेटको प्रचुर सम्भावना भएकाले देशमा थप एक–दुईवटा अन्तर्राष्ट्रियस्तरको सुविधाजनक रंगशाला बनाउनुपर्छ भनेर सोच्न बाध्य बनायो । त्यसका अतिरिक्त नेपाललाई विश्वमा चिनाउने काम गर्यो भने देशको अर्थतन्त्रमा गतिशीलता ल्याउने काम पनि यो प्रतियोगिताले गरेको छ ।
यो प्रतियोगिता बहुआयामिक सिद्ध त भएको छ । तर, केही सोच्नुपर्ने पक्ष पनि छन् । मुख्य प्रश्न, खेलकुद प्रतियोगितालाई निरन्तरता दिन कस्तो रंगशाला चाहिने, कुन स्थानमा आयोजना गर्ने भन्ने नै हो । र, कुन सिजनमा गराउने भन्नेमा आयोजकले गम्भीर भएर सोच्नुपर्छ ।
अर्को, विश्वविद्यालय परिसरमा शैक्षिक वातावरण बिथोल्ने गरी ठूलो होहल्लाबीच खेलकुद प्रतियोगिता गराउनु कति न्यायपूर्ण होला ? शैक्षिक थलो भनेका शान्ति क्षेत्र हुन् । यसर्थ त्रिविको खेलमैदानको विकल्पमा नजिकैको मूलपानी क्रिकेट रंगशाला हुन सक्छ । यसलाई सुविधा सम्पन्न बनाएर अर्को सिजनको एनपीएल मूलपानीमा सञ्चालन गर्न सकिन्छ ।
गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
