खेलाडीलाई राज्यले चिनोस्

पुस ५, २०८१

पाठक पत्र

Let the state recognize the players

काठमाडौँ — कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनकै कारण हालै नेपालले पाकिस्तानजस्तो देशलाई पराजित गर्‍यो, यो सबै नेपालीका लागि गर्वको विषय हो । नेताले देश बनाउन नसके पनि खेलाडीले विश्वसामु नेपालको शिर उँचो राख्ने कार्य गरिरहेका छन् ।

पुरुष क्रिकेट खेलाडीले विश्वकपमा आफ्नो स्थान बनाउन सफल भए भने महिला खेलाडीले पाकिस्तानजस्तो टेस्ट मान्यता प्राप्त देशलाई पराजित गर्‍यो । सबभन्दा गर्वको विषय त महिला क्रिकेटको कुनै पनि समूहमा टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो । 

विश्व चिनाउने खेलकुदतर्फ खासै सरकारले ध्यान दिएको पाइँदैन । पछिल्लो समय नेपालमा क्रिकेटले राम्रो छवि बनाउँदै गएको छ, यसमा सारा नेपाली खुसी नहुने कुरै भएन । दुःखलाग्दो कुराचाहिँ, महिला र पुरुष खेलाडीमा राज्यले नै विभेद गरेको छ । क्रिकेटमा मात्र होइन, भलिबल, फुटबलका खेलाडीमा पनि त्यस्तै देखिन्छ । आखिर खेलाडी भनेको खेलाडी हो, त्यसलाई लिंगका आधारमा किन विभेद गरिन्छ ? पुरुषलाई भन्दा बढी सुविधा त महिला खेलाडीलाई दिनुपर्ने हो । किनभने महिलालाई खेलकुदमा लाग्न घर–समाजबाट निकै चुनौती छ ।

उनीहरू आफ्नै बलबुतामा अन्तर्राष्ट्रियस्तरमा पुग्नु सानोतिनो कुरा होइन । सबै मिलेर महिला खेलाडीलाई सम्मान गर्नुपर्छ । नेपालमा क्रिकेट खेल्न राम्रो मैदानको अभाव छ । खेलाडीका लागि उचित तलबभत्ता छैन । खेल खेल्न नसकेको भोलिपल्ट के गर्ने भन्ने अन्योल छ । यस्तो नाजुक अवस्थामा पनि खेलाडीले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उँचो राख्नु चानचुने कुरा होइन । खेलमै लागेर बाँच्न सकिने अवस्था कहिले आउला ? सेवा सुविधा सबै नेता र तिनका आफन्तलाई मात्रै हुने हो कि देशको शिर उँचो पार्ने खेलाडीलाई पनि ?

– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully