काठमाडौँ — कान्तिपुरमा पुस २ गते स्नेहा झाको ‘शौचालयको मर्यादित प्रयोग’ शीर्षकको लेखले शौचालय प्रयोग र सफाइबारे गम्भीर बहसको उठान गरेको छ । शौचालयको सही प्रयोगले व्यक्तिगत स्वास्थ्य, सामुदायिक सरसफाइ र वातावरणीय संरक्षणमा धेरै महत्त्वपूर्ण योगदान दिन्छ ।
शौचालय प्रयोगमा सही विधि अपनाउनु आवश्यक छ, जसले स्वास्थ्य समस्याबाट जोगाउन मद्दत गर्छ । शौचालय प्रयोगपछि सफा गर्ने, फ्लस गर्ने र हात साबुन–पानीले राम्ररी धोइराख्नुपर्छ । जसले हैजा, झाडापखला, टाइफाइड तथा अन्य जलजन्य रोगको जोखिमलाई कम गर्छ ।
शौचालयमा कागज, प्लास्टिक वा अन्य अनावश्यक वस्तु फाल्नु हुँदैन किनभने यसले पाइप बन्द हुने वा प्रणाली बिग्रने समस्या निम्त्याउन सक्छ । शौचालय सफा र व्यवस्थित राख्न नियमित सफाइ गर्नुपर्छ र बिग्रिएका भागको मर्मत समयमै गर्नुपर्छ ।
सामुदायिकस्तरमा सबैलाई शौचालय प्रयोगको महत्त्व बुझाउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालय, कार्यालय र सार्वजनिक स्थानमा सरसफाइको उचित प्रबन्ध गरेर शौचालय पहुँचयोग्य बनाउनु जरुरी छ । साथै, दुर्गम क्षेत्रमा जहाँ पानीको अभाव छ, त्यहाँ कम्पोस्टिङ शौचालय वा ‘इकोफ्रेन्ड्ली’ प्रणालीको उपयोग गर्न सकिन्छ ।
शौचालयको सही प्रयोगले स्वास्थ्यमा सकारात्मक प्रभाव त पार्छ नै, वातावरण संरक्षणमा पनि ठूलो योगदान पुर्याउँछ । यसले जमिन तथा पानीका स्रोत प्रदूषित हुनबाट जोगाउँछ र समुदायमा स्वच्छता तथा सभ्यताको उदाहरण प्रस्तुत गर्छ । त्यसैले, शौचालयको सही प्रयोग र यसको नियमित मर्मत तथा सरसफाइ गर्नु सबैको जिम्मेवारी हो । जसरी मुख र मलद्वारको सफाइ जरुरी छ, त्यसैगरी भान्सा कोठा र शौचालयको पनि त्यत्तिकै सफाइ आवश्यक छ ।
– जयराम चापागाईं, रामपुर–१, पाल्पा
