आफूलाई बोलीमा मात्र क्रान्तिकारी बताइरहने र व्यवहारमा परम्परागत संसदीय राजनीतिमा चुर्लुम्मै डुब्न थालेका कम्युनिस्ट र क्रान्तिकारी दलको बीचमा एक सच्चा क्रान्तिकारी नेताका रूपमा अडिग छन्, मोहन वैद्य ‘किरण’ ।
उनी आफूलाई कसैले कुनै जिम्मेवार पद दिँदा पनि स्वीकार गर्दैनन्, अरूले उनकै योजनामा गरेको काममा पनि उनी सन्तोष हुन सक्दैनन् र आफू पनि गर्दैनन् । तैपनि उनी आफ्नो सिद्धान्तमा अविरल अडिग छन् । कम्युनिस्ट पार्टीको नेतृत्व परिवर्तन हुन निकै कठिन छ भन्ने सिद्धान्त उनै वैद्यले नेतृत्व गरेको कम्युनिस्ट क्रान्तिकारी पार्टीको भर्खरै सम्पन्न महाधिवेशनले पनि प्रस्ट पारेको छ । उमेरले नेटो काट्दै गरेका वैद्यले आगामी पाँच वर्षका लागि पार्टीको एकल नेतृत्वमा रहेर नेतृत्व गर्नेछन् । त्यो पनि अरू पार्टीको जस्तो सत्ता या प्रतिपक्षीको कुर्सीमा बसेर होइन विद्रोही क्रान्तिकारी नेताका रूपमा ।
माओवादीको मूल नेतृत्वका रूपमा चिनिने वैद्यको बुझाइमा आफूले राजनीतिको थालनी गर्दा रोपेको विद्रोहको बिउ अझै उम्रिएको छैन । प्रचण्ड–बाबुरामसँगै दसवर्षे युद्धमा होमिएका वैद्यले आफू भारतको जेलमा हुँदा प्रचण्डले तत्कालीन सरकारसँग गरेको विस्तृत शान्ति सम्झौतालाई नै आत्मसमर्पण भन्दै आएका छन् । त्यसैले उनी त्यही युद्धलाई नै निरन्तरता दिने बाटोमै छन् । तर अबको अवस्थामा उनले नेतृत्व गरेको पार्टीको अवस्था र उमेरका कारण गन्तव्यमा पुग्न सक्ने देखिँदैन । यद्यपि उनले अझै पनि हरेस खाएका भने छैनन् । पार्टीको आकार जत्रोसुकै होस्, आफूले लिएको अडानबाट टसको मस नहुनुलाई उनी एक सच्चा क्रान्तिकारी नेता हुन् भनेर भन्नचाहिँ सकिन्छ । अर्को कुरा, आफूले जनयुद्धको बिउ रोप्दाको देशको अवस्था र यहाँसम्म आउँदाको अवस्थालाई उस्तै देखिरहनु र उतिबेलाकै आफ्नो अडानलाई अहिलेको अवस्थामा पनि लागू गर्न खोज्नु उनको कमजोर पक्ष हो । यसको मतलब समयक्रमअनुसार परिवर्तन हुन पनि सिक्नुपर्छ भन्ने हो । वैद्यले अझै पनि आफूलाई नै सक्कली माओवादीको रूपमा चित्रित गर्छन् । उनको अडानले त्यसलाई नकार्न पनि सकिँदैन । तथापि उनको पार्टीको हैसियत, उनको स्वास्थ्य अवस्था, उमेर आदि कारण उनले रोपेको क्रान्तिको बिउले अझै पनि बिरुवाको आकार लिने अवस्था भने देखिँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
