ऊर्जामन्त्रीको कस्तो सन्देश ?

मंसिर २७, २०८१

पाठक पत्र

What kind of message from the Minister of Energy?

काठमाडौँ — आफ्नो हैसियत थाहा नपाउने मन्त्री देशमा भएपछि जनताले राहत महसुस कसरी गर्ने ? केही दिनअघिदेखि ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्ष नै खडा गरी बस्न थालेका छन् ।

उनले नेपाली जनमानसमा के सन्देश दिन खोजेका हुन्, उनैलाई थाहा होला । अहिलेसम्म कुनै पनि मन्त्रीले त्यतिसम्म गरेका थिएनन्, उनले आफ्नो हैसियत जनतालाई देखाए । मन्त्री क्वार्टरमा असुविधा भएर प्राधिकरणमा अफिस राखेर बसेका हुन् या विद्युत् बक्यौता नबुझाउने उद्योगीलाई प्रोत्साहन दिन ?

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विरुद्ध सरकार लागेको देख्दा अचम्म लाग्छ । करोडौं घाटामा गएको प्राधिकरणलाई घिसिङले फाइदामा पुर्‍याए । सरकार मातहतका संघसंस्था घाटामा किन गए भन्ने कुरा अहिले सरकारले गरेको कार्यले प्रस्ट देखाएको छ । सरकारले हरेक ठाउँमा हस्तक्षेप गर्नु राम्रो होइन ।

काम गर्नेलाई अवसर नदिने, भ्रष्टाचारीलाई मलजल गर्ने काम सरकारबाटै भएकाले संस्थानहरू घाटामा जानु स्वाभाविक हो । लामो समयदेखिको महसुल विवाद अहिलेसम्म हल भएको छैन । विद्युत् लाइन काटेर भए पनि महसुल उठाउनुपर्छ भनेर घिसिङ लागेका छन् तर ऊर्जामन्त्री खड्का भने अवरोधमा उत्रिएका छन् । सर्वसाधारणले समयमा महसुल नबुझाउँदा जरिवाना लिने, लाइन काट्ने तर उद्योगीले करोडौं नबुझाउँदा पनि लाइन काट्न नमिल्ने कस्तो नीति हो ?

– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully