काठमाडौँ — २०७९ को निर्वाचन हुनुअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भन्ने गर्थे– प्रचण्ड जुन क्षेत्रबाट चुनाव लड्छन्, त्यहींबाट चुनाव लडेर उनलाई लखेट्नेछु । नभन्दै उनले प्रचण्डलाई चितवनबाट लखेटिछाडे र बाबुराम भट्टराईको हात समातेर गोरखा पुगेर उनैको सहयोगमा प्रचण्डले चुनाव जिते ।
चुनाव जितेर प्रचण्ड प्रधानमन्त्री भएसँगै चुनाव अगाडिको रवि प्रचण्डको दुस्मनी सत्ताकै लागि सुमधुरतामा परिणत भयो भने बाबुराम प्रचण्डको बिग्रेको सम्बन्धमा बसेको खाटो पुनः छालै जाने गरी उप्कियो । लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्रीको पदमा बहाल रहँदारहँदै उनीमाथि सहकारीको रकम अपचलन गरेको आरोप लाग्न थाल्यो ।
तत्कालीन अवस्थामा एमाले, माओवादी र रास्वपा सँगै सत्ता गठबन्धनमा रहेकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले रविको पक्षमा एकस्वर मिलाएर उनी निर्दोष छन् भन्ने गर्थे । प्रचण्डले त संसद्को रोस्ट्रममा उभिएरै रवि निर्दोष रहेको फेहरिस्त प्रस्तुत गरे ।
त्यतिबेला प्रचण्डकै शैलीमा रविको बचाउमा उत्रने ओली हिजोआज रविको मुख्य दुश्मनी बनेका छन् भने प्रचण्ड रविका अभिभावकजस्ता देखिँदै आएका छन् । त्यतिबेला रविको पक्षमा खुलेर वकालत गर्ने ओली र अहिले उनैको खुलेर आलोचना गर्ने ओलीको शैली अनौठो छ ।
सत्ता जोगाउनका लागि कुनै व्यक्ति वा उसको नेतृत्वको दलको सहयोग अपरिहार्य छ भने त्यस्ता व्यक्तिलाई दूधले नुहाउनका लागि कुनै कसर बाँकी नराख्ने राजनीतिक संस्कार देखिनु दुःखद् हो । जब सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा आएको रकम अपचलन गरेको प्रकरणमा गत कात्तिक २ गते रवि पक्राउ परे, त्यसपछि ओली र प्रचण्डको कित्ता रविको पक्षमा स्पष्ट रूपमा बाहिरै देखिन थाल्यो ।
रवि पक्राउ परेका सुरुवाती दिनमा खासै मुख नखोलेका प्रचण्ड रवि आफ्नै पार्टीको नेता हो जसरी उनको पक्षमा आवाज बुलन्द पार्न थालेका छन् । प्रचण्ड मात्रै होइन माओवादीका जुनसुकै तहका नेता वा कार्यकर्ता जस्तोसुकै कार्यक्रममा सहभागी हुन पुगुन्, त्यहाँ रविका बारेमा चर्को कुरा गर्छन् । सरकारले रविमाथि अन्याय गरेको भनेर जनतामा सकेसम्म सरकारप्रति नकारात्मक भ्रम छर्न बढी समय खर्चन्छन् ।
रविका पक्षमा आखिर माओवादी किन यसरी खम्बा बनेर उभिएको छ ? यसको एउटै कारण हुन सक्छ, आगामी २०८४ मा यसअघिका चुनावमा माओवादीसँग गठबन्धन गर्दै आएका कांग्रेस–एमालेले त्यो ढोका बन्द गरिदिएपछि उनको एकमात्र विकल्प बनेको रास्वपाको सहयोग । यो घटनाक्रम हेर्दा आगामी निर्वाचनसम्म या त माओवादी र रास्वपाबीच पार्टी एकता हुन सक्छ, त्यति नभए पनि चुनावी गठबन्धन भने पक्कै हुन सक्ने देखिन्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
