काठमाडौँ — नेपालको अर्थतन्त्र अहिले मन्दीउन्मुख छ । बैंकमा तरलता बढेको अनुपातमा ऋण विस्तार हुन सकेको छैन । त्यसैले नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता व्यवस्थापन गर्न हरेक हप्ताजसो बजारबाट पैसा उठाइरहेको छ । हाम्रो देशको आयात, निर्यात बढ्न सकेको छैन, घरजग्गा कारोबार सुस्ताएको छ, निर्माण क्षेत्र धर्मराएको छ ।
उद्योग, व्यवसाय बन्द हुने क्रम बढ्न थालेको छ भने सञ्चालनमा भएका पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । देशको आर्थिक अवस्था दिनानुदिन यस्तो नाजुक बन्दै गएको बेलामा पनि राज्य सञ्चालनको स्थानमा भएकाहरूलाई कुनै चिन्ता भएको देखिँदैन ।
अहिलेको समयमा अर्थतन्त्रको सबैभन्दा धेरै चिन्ता र चासो देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हुनुपर्ने हो । तर प्रधानमन्त्री ओली संकटउन्मुख अर्थतन्त्रको सुधार गर्न, आर्थिक क्षेत्रका ज्ञातासँग छलफल र परामर्श गर्न भन्दा आफ्ना आडम्बर पूरा गर्न देशको अर्बौं खर्चेर बनाइएका भ्यु टावर उद्घाटनमै रमाइरहेका छन् । कुनै दीर्घकालीन लाभ नहुने संरचनाको उद्घाटन गर्न, विपक्षी पार्टी तथा नेतालाई व्यंग्य गर्नमै अमूल्य समय बर्बाद गरिरहेका छन् ।
अझै पनि देशको अर्थतन्त्रको समस्या समाधानमा ध्यान नदिने हो भने रेमिट्यान्सले भरथेग गरिरहेको अर्थतन्त्र उठ्नै नसक्ने गरी थला नपर्ला भन्न सकिन्न । देशका शासकलाई त खासै धेरै गाह्रो नपर्ला तर सर्वसाधारण जनताले निकै सास्ती बेहोर्नुपर्ने देखिन्छ ।
– मिलन श्रेष्ठ, गोठाटार, काठमाडौं
