वैकल्पिक राजनीतिको अलमल

मंसिर २५, २०८१

पाठक पत्र

The confusion of alternative politics

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माणपश्चात् नयाँ शक्ति निर्माण गरेसँगै नेपालमा वैकल्पिक राजनीतिको औपचारिक सुरुवात भएको मान्न सकिन्छ । त्यस अगाडि पनि विवेकशील नेपालीलगायतका संगठनले राजधानी केन्द्रित केही अभ्यास गर्दै आएका थिए ।

पुराना र स्थापित राजनीतिक दलले डेलिभरी दिन नसकेपछि उनीहरूको विकल्प खोज्ने प्रयासस्वरूप नयाँ वैकल्पिक राजनीतिको बहसले सार्थकता पाउँदै गयो । पुराना दलबाट वाक्क बनेका जनतामा एक किसिमको आशा र विश्वासको वातावरण बन्दै गयो । अहिले त वैकल्पिक स्थानीय निकायमा काठमाडौं, धनगढी, धरानमा स्वतन्त्र मेयर छन् । प्रतिनिधिसभामा मुलुककै चौथो शक्तिका रूपमा रास्वपाको प्रवेश भएको छ ।

पुराना दल र त्यसमा पनि केही स्थापित अनुहारले पालैपालो सत्तामा गरेको हालीमुहालीले राजनीति दूषित बनाएको र यसले मुलुकको चौतर्फी हित गर्न नसक्ने विषयलाई वैकल्पिक शक्तिले जोडतोडका साथ उठाएका थिए । तर, पुराना दलको कार्यशैली र विचारको आलोचना गर्दै नयाँ वैचारिक बहसको सुरुवात गर्नमा वैकल्पिक राजनीतिक शक्तिले चासो दिएनन् ।

कुनै समय मुलुकको राजनीतिक परिवर्तनमा दिलोज्यान दिएर लागेका पुराना दलका नेताहरू कालान्तरमा मुलुक र जनताको हित प्रतिकूल निर्णय गर्ने खलपात्रमा कसरी परावर्तन हुन पुगे ? यो विशुद्ध राजनीतिक पात्रको प्रवृत्ति हो कि उनीहरूको विचारमा समस्या हो भन्ने प्रश्न वैकल्पिक राजनीतिले गर्नुपर्ने आधारभूत प्रश्न थियो । पुराना पात्र फेरेर नयाँ आउनु नै वैकल्पिक राजनीतिको सिद्धान्त जस्तो बन्न पुग्यो ।

विगतमा जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई आत्मसात् गर्दै भविष्यको बाटो तय गर्नुपर्नेमा वैकल्पिक राजनीतिक शक्तिले यस्ता उपलब्धिलाई दुत्कार्ने, परिवर्तनका संवाहकलाई खिसिट्युरी गर्ने र कतिपय अवस्थामा सामन्तवादका अवशेषसँग मिल्दै जानु उनीहरूमा रहेको वैचारिक अन्योलकै उपज हो । अहिलेको संविधानको कमजोरी पक्कै छन्, तर यसले केही अग्रगामी मुद्दालाई सम्बोधन गरेको छ । कमजोरी पहिचान गरी संविधानलाई थप समावेशी र सार्थक बनाउन वैकल्पिक शक्तिहरूले भूमिका खेल्न जरुरी छ ।

अहिले समाजमा स्थापित विधि र पद्धतिलाई नमान्ने, कानुनलाई चुनौती दिने, निर्वाचित लोकतान्त्रिक संस्थालाई अराजक शैलीमा गाली गर्ने र प्राप्त उपलब्धिलाई माइनस गर्न खोज्ने प्रवृत्ति बढ्दो छ । यस्ता नकारात्मक पात्र र प्रवृत्तिलाई सबैभन्दा बढी चुनौती वैकल्पिक शक्तिले दिनुपर्नेमा उनीहरू झन् यस्ता पात्र र प्रवृत्तिलाई प्रयोग गर्दै आफ्नो राजनीतिको रोटी सेक्ने ध्याउन्नमा लागेको देखिन्छ ।

रास्वपा ‘नो नट अगेन’ भन्दै पुराना पार्टीको विकल्प खोज्दै चुनावमा होमिएको थियो । जनताले उसलाई प्रतिपक्षमा बस्ने जनादेश दिए, तर सत्ता नै राजनीतिको अन्तिम विकल्प बनाएका पुराना पार्टी जस्तै रास्वपा पनि सत्तालिप्सामा देखियो ।

पार्टी सभापतिमाथि लागेको सहकारी ठगीको मुद्दाको निरूपणमा कानुनलाई सहयोग गरेर जानुको सट्टा कानुनी प्रक्रियालाई प्रभावित गर्ने तवरले सडकमा होहल्ला गर्ने कार्य पुरानै राजनीतिक संस्कारकै निरन्तरता हो ।
– मनोज लम्साल, देवचुली–३, नवलपुर

पाठक

Link copied successfully