काठमाडौँ — केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ सालमा शिलान्यास गरेको झापाको दमकस्थित भ्यु टावरको आइतबार उनै ओलीले प्रधानमन्त्रीको हैसियतमा उद्घाटन गरेका छन् । नक्सा पासबिना बनेको संरचनाको प्रधानमन्त्रीले उद्घाटन गर्नु कानुनसम्मत हुन्छ कि हुँदैन यसमा पनि प्रश्न गर्ने ठाउँ देखिन्छ ।
यदि नक्सा पास भएरै बनेको भए पनि अहिलेकै अवस्थामा हेर्दा उक्त भ्यु टावरमा भएको लगानी बालुवामा पानी खन्याएसरह देखिन्छ । दमक बजारबाट करिब तीन किलोमिटर दूरीमा पाँच बिघामा झन्डै डेढ अर्ब लागतमा ठडिएको टावरसम्म सडक सुविधालगायतका अन्य पूर्वाधारको पहुँच पुर्याउनकै लागि अनुमानित ५० करोड रुपैयाँ लागत लाग्नेछ । यस्तो ठाउँमा निर्माण गरिएको उक्त टावरमा राज्यकोषको दुरुपयोग भएको बुझ्न सकिन्छ ।
प्रधानमन्त्रीले उद्घाटन गर्दैमा त्यस्ता संरचनाले चर्चा पाउने र त्यसको उचित सदुपयोग हुने पनि होइन । ओली नै प्रधानमन्त्री भएका बेला २०७५ फागुनमा उनले जसरी पानीजहाज कार्यालयको उद्घाटन गरे र त्यो उद्घाटनसँगै ओझेलमा पर्यो । बन्दै नबनेको धरहराको उद्घाटन, बन्नै नसक्ने ६ सय ५७ स्थानीय तहमा एकैपटक अस्पतालको शिलान्यास जस्ता कार्य ओलीकै पालामा भएका छन् ।
यी सबै गर्नकै लागि गरेको भन्दा पनि आफू चर्चामा आउनका लागि गर्न लगाइएको जस्तो देखिन्छ । ओलीले पटकपटक प्रधानमन्त्री हुँदाका बखत उद्घाटन गरेका त्यस्ता भौतिक संरचना सबै प्रयोगविहीन छन् भने शिलान्यास गरेका अधिकांश संरचना अलपत्र छन् । दमक भ्यु टावर पनि तत्कालै प्रयोगमा आउने देखिँदैन । त्यतिमात्रै होइन उद्घाटन गर्दा स्थानीय सरकारसँग समन्वय भएको पाइँदैन ।
उक्त ठाउँमा न कुनै विकासको पूर्वाधार प्रशस्तै छन्, न त जनताको उपस्थिति नै पर्याप्त छ । ओलीले ‘खेतको बीचमा बिजनेस कम्लेक्स चल्दैन भन्नेहरूले पछि आश्चर्य मान्नुपर्ने’ बताएछन् । टावरमा लागेको लागतले जनताले प्रत्यक्ष र तत्कालै लाभ लिन सक्ने धेरै ठाउँमा लगानी गर्न सकिन्थ्यो । ओलीकै शब्दमा भन्ने हो भने ‘झापाको दमक व्यापारिक कम्प्लेक्स’ मा लगाएको लगानी बालुवामा पानीसरह नै हो भनेर बुझ्न सकिन्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
