उपनिर्वाचनले दिएको सन्देश

मंसिर २३, २०८१

पाठक पत्र

The message given by the by-election

भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचन २०८१ को मतपरिणामले पुराना शक्ति कांग्रेस, एमाले र माओवादीप्रति जनताको विश्वास कायमै रहेको संकेत गरेको छ ।

पुराना दलप्रति आमनिराशा र आक्रोश बढ्दै गएको भाष्यबीच उपनिर्वाचनले पुराना दललाई थोरै भए पनि राहत दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१६ मा वडाध्यक्ष जिते पनि अन्य क्षेत्रमा उसको प्रदर्शन निराशाजनक रह्यो । ग्रामीण क्षेत्रका जनता रास्वपालाई अझै विकल्प मान्न तयार छैनन् भन्ने यस परिणामले देखाउँछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको पार्टी रास्वपाले आफ्नो राजनीति कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने यो परिणामले देखाउँछ । जनताले अनुहारको विकल्पभन्दा पनि विचार र कार्यशैलीमा नयाँ विकल्प खोजेको स्पष्ट देखिन्छ ।

निर्वाचनले सत्तारूढ कांग्रेस र एमालेलाई पनि सुध्रिन संकेत गरेको छ । कांग्रेस र एमालेले पहिले जितेका पालिका र वडा पनि गुमाउनुले अहिले सरकारको कामको तौरतरिका सन्तोषजनक नभएको सन्देश पनि जनताले सरकारलाई दिएका छन् । कुनै उपयुक्त र भरपर्दो विकल्प पाएमा जनताले कांग्रेस र एमालेको साथ जुनसुकै बेला छोड्न सक्नेछन् । पहिला अनेक गठबन्धनमार्फत चुनाव लड्दै आएका कांग्रेस र एमालेलाई अहिले एक्लाएक्लै लड्दा आफ्नो वास्तविक स्थितिको पहिचान पनि जनताले परिणाममार्फत गराएका छन् । यो वा त्यो गठबन्धन गर्दै जनमतलाई प्रभावित गर्ने विगतका खेल पनि जनताले नरुचाएको स्पष्ट देखियो । त्यसैले विचार नमिल्ने पार्टी सत्ताकै लागि गठबन्धन गर्ने भन्दा पनि आ–
आफ्नो मुद्दा लिएर एक्लाएक्लै चुनाव लड्नु उपयुक्त हुने सन्देश जनताले ठूला दललाई दिएका छन् ।

निर्वाचनले माओवादीलाई केही उत्साह दिए पनि त्यो माओवादीको आफ्नै कारणले हो या सत्तारूढ दलप्रतिको असन्तुष्टिको कारण उसको प्रदर्शन सुध्रिएको हो, स्पष्ट ठोकुवा गर्न सक्ने अवस्था छैन । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले गरेका केही भ्रष्टचारविरुद्धको कार्यलगायतका अन्य सुधारका कामको पनि सकारात्मक असर जनतामा परेको हुन सक्छ । रवि लामिछाने प्रकरणमा देश नै दुई खेमामा विभाजित हुँदा सत्ताबाहिर रहेकाले पनि माओवादीलाई कम क्षति भएको अनुमान गर्न सकिन्छ । प्रचण्ड सरकार ढालेर कांग्रेस र एमालेले सरकार निर्माण गरेपछि एक किसिमको सहानुभूति प्रचण्डप्रति देखिएको थियो । निर्वाचन भएका ठाउँमा रास्वपालगायतका अन्य नयाँ दलको कमजोर उपस्थितिका कारण पनि न्युटल भोट माओवादीको पोल्टामा गएको देखिन्छ । सधैं गठबन्धन बनाएर चुनाव लडेको माओवादीले यस पटक एक्लै लड्दा राम्रो प्रदर्शन गरेको छ । एक्लाएक्लै लडे माओवादी सकिन्छ भन्ने भाष्य पनि यो चुनावले गलत सावित गरेको छ । जनताको मुद्दा निरन्तर उठाउँदै गए माओवादीले पुरानो विरासत फर्काउन सक्छ भन्ने सन्देश चुनावले दिएको छ ।

राप्रपालगायतका अन्य राजावादी पार्टीको कमजोर प्रदर्शनले राजतन्त्रलगायतका हिन्दु राष्ट्रको मुद्दामा जनताको मनमा कुनै सहानुभूति नरहेको संकेत गर्छ । जनता अहिले यो संविधानको विकल्पमा सोच्ने अवस्थामा नपुगेको परिणामले देखाउँछ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका यस संविधानको आधारभूत प्रावधानप्रति जनताको रुचि नघटेको यो स्पष्ट संकेत हो । समग्रमा, यो उपनिर्वाचनमार्फत जनताले पुराना राजनीतिक दललाई सुध्रिएर जनताको पक्षमा काम गर्न, नयाँ वैकल्पिक भनिएका पार्टीलाई राजनीतिक कार्यशैली परिवर्तन गरी सोच र प्रवृत्तिमा पनि विकल्प दिने गरी काम गर्न स्पष्ट सन्देश दिएका छन् । पश्चगमनको प्रत्येक सम्भावनालाई भने जरैदेखि नकारेका छन् ।

मनोज लम्साल, देवचुली–३, नवलपुर

पाठक

Link copied successfully