काठमाडौँ — पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई सहकारी भ्रष्टाचार अभियोगमा गिरफ्तार गरिएको छ । पीडितले दिएको उजुरीका आधारमा हरेक जिल्लामा लगेर उनलाई बयान लिने काम सकिएको छैन । उनी दोषी छन् या निर्दोष, भोलि अदालतको निर्णयले बताउला ।
रविको रिहाइको माग राख्दै समर्थकले अराजक गतिविधि गरेको देख्दाचाहिँ अचम्म लाग्छ । कानुनीराजको पालना गर्छु, अदालतलाई सहयोग गर्छु भन्ने सभापति, कार्यकर्ता भने पत्रकारमाथि नै कुटपिट गर्ने ?
चितवनमा रविमाथि बयान चल्दै गर्दा बुधबार कार्यकर्ताले बाहिर प्रदर्शन गर्दै पत्रकारमाथि हातपात गर्नु निन्दनीय छ । शान्तिपूर्ण प्रदर्शनको अधिकार सबैमा निहित छ तर हिंसात्मक गतिविधिमा उत्रन कसैलाई छुट छैन ।
अदालत या प्रहरीमा कसैमाथि उजुरी परेपछि छानबिन गर्नु स्वाभाविक हो । छानबिन नै गर्न पाइँदैन भन्नु सरासर गलत होइन ? त्यसो त रवि भ्रष्टाचार अभियोग लागेका एक व्यक्ति होइनन्, अन्य भ्रष्टाचारीमाथि पनि छानबिन होस् । अनेक लाञ्छना लगाएर निर्दोषलाई दोषी बनाउने काम नहोस् । तथ्यका आधारमा दोषी पत्ता लगाइयोस् ।
नेपालमा कानुनीराज छ भने दोषीले उन्मुक्ति पाउनु हुन्न । तर, रास्वपाको आन्दोलन केका लागि ? के रविविरुद्ध परेको उजुरीमा छानबिन गर्न नपाउने हो ? रास्वपाले भने छानबिनमै प्रभावित पार्ने गरी आन्दोलन गरिरहेको छ, यो कदापि न्यायोचित होइन ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
