लगानीका अवसरको दुरुपयोग नगरौं

मंसिर २०, २०८१

पाठक पत्र

Don't miss the investment opportunity

काठमाडौँ — नेपालमा हरेक विदेशी सहयोग र लगानीलाई राष्ट्रघातको नारा लगाएर विरोध गर्ने प्रवृत्ति हाम्रो देशको सबभन्दा ठूलो समस्या बन्दै गएको छ । बिप्पा र एमसीसीलाई राष्ट्रघाती भन्दै सडक तताउनेहरू आज बीआरआईका विषयमा पनि उही नकारात्मक सोचलाई समर्थन गर्दै छन् ।

यसले हाम्रो वैदेशिक नीति र आर्थिक विकासलाई गम्भीर क्षति पुर्‍याइरहेको छ । देशको हितमा आवश्यक लगानी भित्र्याउन सक्ने सहमति भइरहँदा पनि दलहरूको अदूरदर्शी सोच, नाफा–नोक्सानको सही विश्लेषण गर्न नसक्ने क्षमता र जनता भ्रमित बनाउने आदतले हामीलाई पछाडि धकेलिरहेको छ ।

बिप्पा र एमसीसीमाथिको बहसजस्तै बीआरआईलाई पनि विवादास्पद बनाउने प्रयास भए, भइरहेको छ । ऋण वा अनुदानको अस्पष्टताबीच पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर भएको छ । कुनै पनि ठूला परियोजनामा सम्झौता गर्दा त्यसमा लाभ–हानिको विश्लेषण समयमै हुनुपर्छ ।

यो जिम्मेवारी हाम्रो नेताहरूले कहिल्यै गम्भीरतापूर्वक लिएनन् । सडकमा नारा लगाएर राष्ट्रघातको गफ छाँट्ने होइन, रणनीतिक सोचको आवश्यकता छ । श्रीलंका र पाकिस्तानजस्ता देश बीआरआईमार्फत ऋणको दलदलमा फसेका छन्, तर नेपालले त्यस्तो गलत बाटो नचालेर सही सोच अपनाउनुपर्छ ।

लगानीका अवसरहरूको दुरुपयोग नगरी, यसलाई देशको हितमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर सरकार, जनता र नीति निर्माता सबैले सोच्न जरुरी छ । तर, हरेक विदेशी सहयोगलाई षड्यन्त्रका रूपमा चित्रण गर्ने प्रवृत्ति रोकिएन भने नेपालको भविष्य केबल गरिबी र परनिर्भरता बन्नेछ ।

अब प्रश्न जनताले सरकारलाई सोध्नुपर्ने हो— किन हरेक विदेशी सहयोग विवादास्पद बन्छन् ? के नेताहरूलाई देशको वास्तविक आवश्यकता थाहा छैन, कि उनीहरू आफ्ना स्वार्थमा अल्झिरहेका छन् ? नेपाललाई आत्मनिर्भर बनाउनका लागि विदेशी लगानी अपरिहार्य छ । बीआरआई होस् वा अन्य परियोजना, राष्ट्रिय स्वार्थमा नाफाको सुनिश्चितता गर्दै लगानी भित्र्याउन सरकारले प्रस्ट दृष्टिकोण र रणनीति बनाउनुपर्छ । 

– सन्तोष सिम्खडा, टोकियो, जापान 

पाठक

Link copied successfully