‘हिमालयले पोखराबाट चीनको ल्हासा उडान गर्ने’ विषयक समाचार कान्तिपुरमा पढेपछि अलपत्र परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अपेक्षा राख्न सकिन्छ ।
२५ अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण भएको विमानस्थल २०७९ पुसमा उद्घाटन भएको थियो । २०८० भदौमा भुटानको ड्रुक एयरले एउटा उडान भरेको र चीनको सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको बाहेक त्यहाँ अरू अन्तर्राष्ट्रिय उडान भएको छैन । पोखरा–ल्हासा रुटमा पर्यटक, यात्रुको संख्या उल्लेख्य हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उडानको तयारी थाल्नु सकारात्मक हो । गत वर्ष डिसेम्बरमा हिमालयले यो रुटमा हप्तामा एक दिन काठमाडौंबाट उडान थालेको भए पनि यात्रु कम हुँदा बन्द हुन पुग्यो । चीनका अन्य सहरमा गरिँदै आएका उडानमा पनि यात्रुको संख्या न्यून हुँदा नियमित रूपमा विमान चल्न सकेका छैनन् । आँट, अठोट लिएर सरकारका पदाधिकारी लाग्ने हो भने पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुने आशा राख्न सकिन्छ ।
– भुवनेश्वर शर्मा, बोस्टन, अमेरिका
