कुन उमेरसम्म सवारी चलाउन पाइन्छ ?

जेष्ठ ३१, २०८१

पाठक पत्र

Up to what age can you drive?

नेपालमा कति वर्षको उमेरसम्म सवारी साधन चलाउन पाइन्छ ? कति उमेरसम्म नयाँ लाइसेन्स पाइन्छ ? अनि कति वर्षसम्म नवीकरण गर्न सकिन्छ ? यसबारे नेपाल सरकारको भौतिक तथा यातायात मन्त्रालय, यातायात विभागको वेबसाइटमा कतै पनि लेखेको छैन । न्यूनतम उमेरहद मात्र उल्लेख छ ।

गुगल सर्च गरेर हेर्दा धेरैजसो देशमा ७० वर्ष, कहींकहीं ७५ वर्ष र छिमेकी मुलुक भारतमा ७० वर्ष उमेरसम्म व्यावसायिक सवारी चलाउन पाइने लेखिएको छ । विकसित मुलुकमा ७० वर्ष उमेर पुगेपछि ३–३ वर्षमा आँखा लगायतको स्वास्थ्य परीक्षण अनिवार्य रहेछ ।

अमेरिकामा वृद्धवृद्धाका लागि सिटी एरियामा चलाउन पाउने तर राजमार्गहरूमा चलाउन नपाउने नियम छ । तर नेपालमा माथिल्लो उमेरहदबारे न मन्त्रालय न त विभागका अधिकारीहरू नै स्पष्ट रहेछन् ।

यातायात विभागअन्तर्गत रहेको चाबहिलस्थित यातायात कार्यालयको सूचना अधिकृत मखमली गिरीसँग यसबारे जिज्ञासा राख्दा कुनै ठोस उमेरहद नभएको, साना सवारीहरूको हकमा उमेरलाई विचार गर्ने नगरिएको तर व्यावसायिक रूपमा सञ्चालन हुने ठूलो सवारी साधनको चालक अनुमतिको हकमा ६० वर्ष तोकिएको जानकारी पाइयो ।

गिरीले ठूला व्यावसायिक सवारीबाहेक अरूका हकमा माथिल्लो उमेरहद नतोकिँदा नयाँ र पुरानो नवीकरणको विषयमा सधैं गलफत्ती हुने गरेको पनि सुनाइन् ।

तल्लो उमेरहदझैं माथिल्लो उमेरहद पनि तोकिनु उत्तिकै अपरिहार्य छ । नेपाल सरकारले अहिलेसम्म यस्तो संवेदनशील विषयमा मापदण्ड नबनाउनु ताज्जुबको कुरा हो । यस्तो मापदण्ड समयअनुसार परिवर्तन भइरहन जरुरी छ ।

पहिले पहिले नेपालीको सरदर उमेर ५२ वर्ष थियो । पछि बढेर ६२, ६८ हुँदै अहिले आएर ७१.९७ वर्ष पुगेको छ । ५२ वर्षको सरदर उमेर भएका बेला बनाएको मापदण्ड ७२ वर्षमा पनि उही अवस्थामा कायम गर्नु उचित हुँदैन ।

अतः नेपाल सरकारले पनि सवारी साधन चलाउन पाउने माथिल्लो उमेरहद भारतमा झै ७० वर्ष गर्नु उचित हुन्छ । अझ मिल्छ भने सरदर उमेरअनुसार ७२ वर्ष बनाउँदा राम्रो हुन्छ ।

यसका साथै नेपालभरिको कुनै पनि ठाउँको कुनै पनि सवारी चालक अनुमति पत्र नवीकरण र सवारी साधनको राजस्व लिने कार्य नेपालभरिको कुनै पनि यातायात कार्यालयमा गर्न सकिने व्यवस्था मिलाउनुपर्छ ।

मैले ५ वर्षअघि चाबहिल कार्यालयमा गरेको नवीकरण यसपालि चाबहिलले गर्न मानेन र एकान्तकुना जान मलाई बाध्य गरियो । कहिलेसम्म आम नागरिकले यसरी नै दुःख पाइरहने हो सरकार ?
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

पाठक

Link copied successfully