कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेडक्रसको स्टिकर टाँसेर एनसेलको सामान

विमानस्थल भन्सारले रोक्यो
कृष्ण आचार्य

काठमाडौ — चीनबाट रेडक्रसको स्टिकर लगाएर ल्याइएका एनसेलको दूरसञ्चारसम्बन्धी उपकरणलाई भन्सार विभागले रोकिदिएको छ । चिनियाँ रेडक्रसका राहत सामाग्रीसँगै ल्याइएका एनसेलका दूरसञ्चारसँग सम्बन्धित उपकरणहरुको कागजातसमेत नभएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारले रोकेको हो ।


'रेडक्रसले पठाएका उद्दार सामाग्रीमा एनसेलको सामानसमेत भेटियो भन्ने सुनेको छु,' राजस्व सचिव नवराज भण्डारीले भने, 'उनीहरुको राहत सामाग्री हो, भन्सार छुट पाउँ भन्न पनि आएका छैनन् । सामान पनि लगेका छैनन् भन्ने जानकारी छ ।'
भन्सार विभागका एक अधिकारीका अनुसार रोकिएका ती सामानमा कार्टुनभन्दा केही ठूला करिब १३ वटा प्याकेट छन् । 'ती सबैमा रेडक्रसको स्टिकर लगाइएका छन्,' उनले बताए ।
एनसेलका ती सामाग्री चाइना साउदन विमानबाट शनिबार ल्याइएका हुन् । सामानसँग आवश्यक कागजात पनि नभएको भन्सारका अधिकारीको दाबी छ ।
सरकारले भूकम्प आएलगत्तै राहत सामाग्रीमा भन्सार शुल्क नलाग्ने व्यवस्था गरेको छ । उक्त समयमा ती सामाग्री छुटेको भए भन्सार रकम छलिने थियो । 'ती सामाग्री बारे विमानस्थल भन्सारका अधिकारीले एनसेललाई टेलिफोनबाट जानकारी समेत गराइसकेका छन्,' उनले भने, 'तर ३ दिन बित्यो, सामान बुझ्न एनसेल आएको छैन ।'
एनसेलले भने उक्त सामाग्रीहरु दूरसञ्चारसँग सम्बन्धित सामाग्रीहरु रहेको जनाएको छ । एनसेलले भूकम्प पीडितका लागि १ अर्ब १० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव सरकार समक्ष गरेको छ ।
सरकारका एक मन्त्रीका अनुसार उक्त सहयोग लिने नलिने भन्ने विषयमा भन्सार प्रकरणका कारण मन्त्रीहरु बीच समेत विवाद भएको थियो ।
एनसेलका कर्पोरेट कम्युनिकेसन अधिकृत मिलनमणि शर्माले ३ दिनअघि ती सामान आइपुगेको भन्दै जाँचपासको प्रक्रिया अघि बढाइसकेको बताए । 'रेडक्रसको स्टिकर कसरी लाग्यो, हामी नै छक्क परेका छौं,' उनले भने, 'नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति विना कुनै पनि सामाग्री ल्याउन मिल्दैन । ती सामाग्री अनुमति लिएरै ल्याइएको हो ।'
उनले विपतको समयमा 'फास्टट्रयाक' मा ती सामाग्रीहरु झिकाइएको बताए । 'भन्सार नतिर्ने नियत होइन,' उनले भने । दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले शुक्रबार बिटिएस टावर मर्मतका लागि आवश्यक सामान ल्याउने बारे एनसेलले अनुमति लिएको बताए । उनका अनुसार चीनको हुवेई र जेटिई कम्पनीबाट सामान ल्याउन अनुमति मागिएको हो ।
'मलाई आइतबार जानकारी भएअनुसार जेटिईको सामान रोकिएको भन्ने छ,' उनले भने, 'हामीले अनुमति दिएको र ल्याएको सामान एकै भए समस्या हुँदैन ।' उनले रेडक्रसको स्टिकर टाँसिएको भन्ने बारे चाहिँ आफूलाई जानकरी नभएको बताए ।



प्रकाशित : वैशाख २३, २०७२ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?