कक्रोच जनता पार्टी आफ्नै किसिमको र आफ्नै समयको एक अद्वितीय उत्पादन हो । यो एउटा निर्दयी र प्रतिशोधपूर्ण सरकारको सामना गरिरहेका कमजोर युवाहरूको विद्रोह हो । सरकारले भने आफ्नो विरोध गर्नेहरूप्रति कतिसम्म निर्मम हुन सकिन्छ भन्ने देखाइसकेको छ ।
What you should know
वर्षौंपछि पहिलो पटक, भारतीय भएकामा गर्व महसुस भइरहेको छ । आशा हराइसकेका बेला उनीहरू आए । एउटा न्यायाधीश र एक मजाकबीचको मिलनबाट भारतभर ‘कक्रोच’ जन्मिए ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवा भारतीयहरूलाई ‘कक्रोच’ (साङ्लो) भन्दै अपमानजनक र अहंकारी टिप्पणी गरेका थिए । जवाफमा, बोस्टनमा बस्ने एक विद्यार्थी अभिजित दीपकेले इन्स्टाग्राममा लेखे, ‘यदि सबै तिलचट्टा (कक्रोच) एकै ठाउँमा जम्मा भए भने के हुन्छ ?’
लाखौं मानिसले यसमा प्रतिक्रिया जनाए । यसरी ‘कक्रोच जनता पार्टी’ (सीजेपी ) जन्मियो । दीपके कक्रोचहरूका ‘पाइड पाइपर’ बने । यसको पहिलो माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा थियो । उनी भ्रष्ट र सडेको मन्त्रालयमा गर्वका साथ बसेका छन् (प्रधानले शनिबार राजीनामा दिएका छन्) । यही मन्त्रालयबाट सार्वजनिक परीक्षाका प्रश्नपत्रहरू नियमित रूपमा चुहिएका छन् । विपक्षी दलहरूका अनुसार सन् २०१४ यता करिब १५२ वटा प्रश्नपत्र लिक भइसकेका छन् । परीक्षाको तयारीमा वर्षौं बिताएका लाखौं युवाहरूको जीवन यी प्रश्नपत्र लिकले बर्बाद पारेको छ । राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (निट) प्रश्नपत्र हालै लिक भएपछि, १२ जना पीडित तथा निराश विद्यार्थीहरूले आत्महत्या गरे ।
‘कक्रोच’ को आक्रोश अनलाइनमा बढ्दा दीपके जुन ६ मा बोस्टनबाट फर्किए र विमानस्थलबाट सिधै दिल्लीको प्रसिद्ध प्रदर्शनस्थल जन्तरमन्तर पुगे । लद्दाखका चर्चित अभियन्ता तथा शिक्षा सुधारक सोनम वाङचुक पनि उनीसँगै जोडिए र अनिश्चितकालीन आमरण अनशनको घोषणा गरे । कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी) लिबरेसनको विद्यार्थी संगठन ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ का ६ जना विश्वविद्यालयका विद्यार्थीहरू (नेहा बोरा, मनीष कुमार, आमिन अमितोष, दानिश अली, ऋषिकेश र दीपक) ले पनि आफूहरूले अनशन बस्ने घोषणा गरे र मञ्चको छेउमा आफ्नो स्थान लिए । अन्य सहरहरूमा पनि प्रदर्शन सुरु भयो । अनशन बसेकाहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि, इन्टरनेटमा छाइरहेका युवा वास्तविक रूपमै जन्तर मन्तरमा उपस्थित हुन थाले । ‘कक्रोच जनता पार्टी’ ले संसद्को बर्खे अधिवेशन सुरु हुने दिन अर्थात् जुलाई २० का दिन ‘संसद् मार्च’ गर्ने घोषणा गर्यो । मार्चको निर्धारित मितिभन्दा दुई दिनअघि सोनम वाङचुकलाई मञ्चबाटै प्रहरीले उठाएर लगे । सुरुमा सरकारी अस्पतालमा र पछि उनकी पत्नीको आग्रहमा निजी अस्पतालमा नजरबन्दमा राखियो । सरकारले आन्दोलनरत विद्यार्थीका दुईवटा माग (निट प्रश्नपत्र सार्वजनिकपछि आत्महत्या गरेकाहरूलाई क्षतिपूर्ति र आन्दोलनमा पक्राउ परेकाहरूलाई कारबाही नगर्ने) आश्वासन दिएपछि उनले गत बिहीबार २६ औं दिनमा अनशन तोडेका छन् ।
गत सोमबार राजधानी सहरलाई ‘कक्रोच’ हरूले आँधीबेहरीझैं कब्जा गरे । उनीहरू रेल, बस, हवाईजहाज तथा मेट्रोबाट आए । उनीहरूको संख्या प्रत्येक घण्टा बढ्दै गयो । दिल्लीको वर्षायामको आकाश उज्यालो हुनुभन्दा घण्टौंअघि, दसौं हजारको संख्यामा जन्तर मन्तरमा जम्मा हुन थाले । सूर्योदयसम्म स्पष्ट भइसकेको थियो– आफ्नो आँखाअगाडि नै भविष्य नष्ट भएको देख्ने निराश र क्रुद्ध युवाको एक पुस्ता आफ्ना आमाबुबा र बाजेबजैको पुस्ताले गुमाएका कुरा फिर्ता लिन आउँदै छ । उनीहरू एक जनता र देशका रूपमा हाम्रो मर्यादा राख्न चाहन्छन् । प्रदर्शनकारीहरूले उनीहरूको अपार साहस, शालीनता र हास्यबोधमार्फत हामी सबैमा दोस्रो स्वभाव बनिसकेको सरकारको डरलाई भगाइदिए । दिनको अन्त्यसम्म यो स्पष्ट भइसकेको थियो कि प्रदर्शनकारीहरू वा उनीहरूका नेताहरूले माग गरेको विषयभन्दा यो प्रदर्शन धेरै ठूलो विषय बनिसकेको थियो । अब मुद्दा केवल धर्मेन्द्र प्रधानको राजीनामामा मात्रै सीमित थिएन । शीर्षदेखि तल्लो तहसम्मको सम्पूर्ण शासन प्रणालीको कुसंस्कार स्पष्ट रूपमा देखिएको छ र कुहिँदै गएको लासजस्तै गन्हाउन थालेको छ ।
तर प्रहरी र गृह मन्त्रालय दुवैले सोमबार दिल्लीलाई घेर्ने भीडको क्षमतालाई पूर्ण रूपमा गलत आकलन गरे । उनीहरूले सबै उपाय अपनाए । उनीहरूले बस, सडक र मेट्रो स्टेसनहरू रोके । त्यसले कुनै मद्दत गरेन । उनीहरूले इन्टरनेट जाम गर्ने प्रयास गरे । तर ती युवाहरूले इन्टरनेटमा मिम्स र भिडियोको बाढी ल्याएर यसलाई पनि असफल बनाइदिए । संसारका सबै ठाउँहरूमध्ये दिल्लीमा, प्रदर्शनमा भाग लिने युवतीहरूले भीडभाडमा सुरक्षित महसुस गरेको बताए । यद्यपि केहीले प्रहरीबाट दुर्व्यवहार भएको गुनासो गरे । हामीले मुस्लिम, हिन्दु, ईसाई, शिख, बौद्ध, हरेक जात र वर्गका मानिसहरूलाई एकसाथ आएको, एकअर्कालाई मद्दत गरेको, प्रहरीको सामना गर्दा एकअर्कालाई बचाएको देख्यौं । हामीलाई उपदेश दिनु वा ठूला भाषण दिनुको सट्टा, उनीहरूले हाम्रो सपनाहरूको सुन्दर भारतको प्रदर्शन गरेर देखाए ।
यसलाई खतरा ठानेको प्रहरीले आफ्ना ब्यारिकेटहरूलाई एकसाथ वेल्डिङ गरेर जोड्यो र पहिल्यै परीक्षण गरिएका तरिकाहरू अपनायो । ढुंगाले भरिएका ट्रकहरू र पहिल्यै क्षति पुर्याइएका सवारीसाधनहरू ल्यायो, ताकि युवाहरूले हिंसा गरेका हुन् र प्रहरीले आत्मरक्षामा काम गरिरहेको हो भनेर देखाउन सकियोस् । प्रहरीले लाठी र मुंग्रो बोकेका सादा पोसाकका गुन्डाको एक फौज ल्यायो । कारबाहीका लागि तयार हुनअघि र्यापिड एक्सन फोर्स (आरएएफ) ले आफ्ना युनिफर्मबाट नाम ट्यागहरू हटाए । बफादार मुख्यधाराका टीभी च्यानलहरूलाई झूट रिपोर्ट गर्नका लागि तयार पारेर लाइनमा राखिएको थियो । केहीले त हतार गरेर हुँदै नभएका घटनाहरू पनि रिपोर्ट गर्न थाले । (भारतमा समाचार वर्तमानको भन्दा भविष्यको आकलन बारेमा हुने गर्छ) । तर यी कुनै पनि तरिकाले काम गरेन ।
प्रहरी र आरएएफले अन्धाधुन्द लाठी प्रहार गरे, बालबालिकाका टाउको फुटाए र अंगहरू भाँचे । उनीहरूले अश्रुग्यास प्रहार गरे । तर युवाहरू सरासर संसद्तर्फ हिँडिरहे । उनीहरू संसद्तर्फ नजिकिँदै जाँदा सुरक्षाकर्मीहरूले आफ्ना एके–४७ ताकेर पोजिसन लिए । तैपनि, ‘कक्रोच’ हरू अगाडि बढिरहे । र, जब उनीहरू मार्च गर्दै अगाडि बढे, उनीहरूले यस सरकारको वास्तविकतालाई पनि उदांगो पारेर देखाइदिए । आफूले शासन गर्ने देशको इतिहास र विविधता बुझ्ने क्षमता नभएका क्रूरहरूको एक समूह नै यहाँ सत्तामा छ । जसलाई केवल घृणा गर्न मात्र आउँछ, तर प्रेम गर्न वा सोच्न जान्दैन ।
मार्च गर्नेहरू नजिकिँदै गर्दा, ठूला कुरा गर्ने प्रधानमन्त्रीलाई सुरक्षित स्थानमा लगियो । संसद् भवनबाट बाहिर निस्कन सांसदहरूलाई रोक लगाइयो । जसको मुख्य उद्देश्य नै दैनिक रूपमा संविधानलाई कमजोर पार्नुजस्तो देखिन्छ ।
साँझसम्म प्रहरीले प्रदर्शन स्थलको मुख्य मञ्च भत्काइसकेको थियो । रात पर्दा युवाहरूले त्यसलाई फेरि एक पटक कब्जामा लिए । रातको समयमा प्रहरी पछि हट्दै गर्दा ‘कक्रोच’ हरूले उनीहरूलाई बालबालिकामाथि डण्डा चलाएबापत व्यङ्ग्यात्मक रूपमा उभिएर ताली बजाउँदै सम्मान दिए । वाह मोदी जी π वाह π
यसबाट ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गर्नु मूर्खतापूर्ण हुन्छ । तर यसलाई केवल एक नशालु क्षण मात्र भनेर खारेज गर्नु पनि मूर्खता हुनेछ । प्रत्यक्ष प्रसारण गर्ने टीभी च्यानलहरूले एकपछि अर्का षड्यन्त्रका सिद्धान्त र विदेशी सहायतमा आन्दोलन चलिरहेको गफ दिइरहेका छन् । भारतमा यो कुनै आश्चर्यको विषय होइन । एक गर्विलो ‘आन्दोलनजीवी’ (मजस्तै मानिसहरूलाई मोदीले दिएको उपहासपूर्ण नाम) को रूपमा बोल्दा मलाई यो आन्दोलन सुरु भएदेखि नै केही चिन्ता थियो । कतै हामी अर्को अन्ना हजारेको क्षणतिर जाँदै त छैनौं भनेर मलाई चिन्ता थियो । अन्ना हजारेको सन् २०११ को तथाकथित भ्रष्टाचारविरोधी जनआन्दोलनले (यसको प्रारम्भिक आशय जस्तोसुकै भए पनि) परिणामतः देशका प्रत्येक संस्थालाई नष्ट गर्ने एक राजनीतिक दललाई तीन कार्यकाल सत्ता उपहार दियो । यस दलले न त देशको सम्मान गर्छ, न त नागरिकहरूको । यसले हामीलाई अन्तर्राष्ट्रियस्तरमा लज्जित पारेको छ र भारतलाई घुँडा टेकाएको छ ।
तर कक्रोच जनता पार्टी (सीजेपी) प्रति मेरा शंकाहरू तब मेटिए, जब मैले उनीहरूप्रति मूलधारका मिडियाको शत्रुता देखें । यसका संस्थापक अभिजित दीपके दलित समुदायबाट हुन् । र त्योभन्दा पनि बढी खुसी म यो कुरामा भएँ कि कसैले पनि जातको विषयलाई प्रमुख बनाएन ।
मैले केही समयअघि मात्रै उनले बोलेको सुनें । जहाँ उनी भन्दै थिए, ‘यदि मेरो नाम खालिद भएको भए वा म मुसलमान भएको भए, म अहिलेसम्म जेलमा भइसकेको हुने थिएँ ।’ उनले भारतको भद्दापनलाई बाहिर ल्याउने साहस गरे । हाम्रो देशमा सबै विषय (विशेषगरी कानुनलगायत) सबैका लागि समान रूपमा लागू हुँदैन । सबै विषय पूर्णतया तपाईंको धर्म, जात, वर्ग, जाति र लिंगमा निर्भर गर्छ । यो एक गहिरो अवलोकन थियो, जुन सरल ढंगले राखिएको थियो ।
मलाई यो पनि थाहा थियो कि जब दीपकेले ‘खालिद’ नाम छाने, तब उनी उमर खालिदको बारेमा कुरा गरिरहेका हुन सक्छन् । उमेर खालिद जेएनयूका विद्वान् हुन् । उनी शरजिल इमाम र अन्य धेरैजसोसँगै करिब छ वर्षदेखि कुनै मुद्दाबिना नै जेलमा छन् । उमरको अपराध के थियो ? नागरिकता संशोधन ऐनविरुद्धको २०२० को प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूलाई अहिंसात्मक रहन आग्रह गर्नु । उनको जमानतका लागि गरिएका एकपछि अर्का अपिलहरू न्यायाधीशहरूद्वारा खारेज गरिएका छन् । ती न्यायाधीशहरूले सही/ गलत बुझ्ने साहस गुमाइसकेको देखिन्छ ।
‘कक्रोच’ हरू मार्च गर्दैगर्दा र उनीहरूको संख्या बढ्दै जाँदा, म आफैंसँग सोच्न पुगें– भगवान्को कृपा छ कि उनीहरू धेरैजसो मुस्लिम वा शिख वा क्रिश्चियन वा आदिवासी छैनन् । अन्यथा उनीहरूलाई गोली हान्ने र जेलमा हालिसकिएको हुने थियो । भगवान्को कृपा हो कि उनीहरू कश्मीरी होइनन् । उनीहरू दृष्टिविहीन बनाइएका हुन सक्थे (यद्यपि केहीको शरीरमा छर्रा लागेको छ) । धन्य छ कि उनीहरू धेरैजसो हिन्दु छन् । भारतमा यो क्षण कति दुःखद् छ भन्ने यस विषयले देखाउँछ । यद्यपि, सन्दर्भ एक मिनेटमा परिवर्तन हुन सक्छन् ।
हामी ‘विकासशील परिस्थिति’ मा छौं भन्ने गर्छौं । अन्य राज्यहरूबाट हजारौं अर्धसैनिक बलहरू हवाईमार्गबाट ल्याइँदै गरेका रिपोर्ट आउँदै छन् । आगामी दिनमा के हुनेछ, हामीलाई थाहा छैन । यो सबैले हामीलाई कहाँ छोड्छ ? हप्तासम्म चलेका आन्दोलनलाई चौबीसै घण्टा चल्ने टीभीहरूले प्राथमिकतामा राखेका छैनन् । कक्रोच जनता पार्टीसँग भर पर्नका लागि आफैं र इन्टरनेट मात्र छ । राष्ट्रिय स्वयंसेवक संघद्वारा घुसपैठ र कब्जा गरिएको, मोदीको नेतृत्वमा बीजेपी गेटमा जम्मा भएको, टीभीद्वारा उत्पन्न उन्मादमा चुनावी रूपमा पुँजीकरण गर्न पूर्ण रूपमा तयार रहेको अन्ना हजारे आन्दोलनको विपरीत ‘कक्रोच’ हरू संगठित पनि छैनन् ।
‘कक्रोच’ को यो विद्रोह भारतभर भइरहेका धेरै वटा प्रदर्शनमध्ये एक हो । मध्यप्रदेशका आदिवासीहरू केन–बेतवा नदी जोड्ने परियोजनाको विरोध गरिरहेका छन् । उत्तराखण्डका गाउँलेहरू रूखहरूको सामूहिक फँडानीको विरोध गरिरहेका छन् । केही जनताले ग्रेट निकोबार टापुहरूको पर्यावरणीय विनाशको विरोध गरिरहेका छन् । मणिपुर उम्लिरहेको छ । रोजगारीहरू हराउँदै छन् । मूल्यहरू आकाशिएका छन् । आक्रोश बढिरहेको छ । र, बीजेपी–आरएसएसको ‘भगवान्’ को खेल उदांगो हुँदै छ, यो एउटा ढोङ, एक गुन्डा–सञ्चालित सुनको दौड हो । अयोध्यामा राम मन्दिरको लुटपाटले हामीलाई एउटा खराब चलचित्रको कथा दिएको छ । यो कथा हाम्रा आँखै अगाडि चलमलाइरहेको छ– चम्किला बाबा र भ्रष्ट राजनेताहरूले होटलहरू बनाइरहेका छन्, घरजग्गा जोड्दै छन्, एसयूभी गाडीमा हुइँकिएका छन् र गरिब तथा सोझासाझा जनताको आस्थामा प्रहार गरेका छन् । भ्रष्टाचार र दिउँसै हुने लुटका अंग–प्रत्यंग शीर्ष तहसम्मै फैलिएका छन् ।
के ‘कक्रोच’ को ऊर्जाले हामीलाई यो खाडलबाट बाहिर निकाल्न सक्छ ? यो सजिलो छैन । भारतमा जनआन्दोलनहरूको परिणाम उत्साहजनक छैन ।
१९६० र १९७० को दशकमा नक्सलवादीहरूको सशस्त्र विद्रोहसहितका विभिन्न आन्दोलनहरूले सम्पत्ति र जमिन जोत्नेलाई नै पुनर्वितरण गरिनुपर्ने माग गरेका थिए । तर तिनीहरूलाई दमन गरियो । १९८० र १९९० को दशकमा चलेका सामाजिक आन्दोलनहरू (जसमध्ये नर्मदा बचाओ आन्दोलन र पछि आन्ध्र प्रदेश, छत्तीसगढ र झारखण्डका माओवादीहरूको संघर्ष) ले किसान र आदिवासी जनजातिहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कार्यविरुद्ध लडे । अर्को शब्दमा भन्नुपर्दा, उनीहरू गरिबसँग भएको कुरा नखोसिओस् भन्ने चाहन्थे । तर तिनीहरूलाई पनि दमन गरियो ।
सन् २००० को दशकसम्म आइपुग्दा जनताहरू राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐनमै चित्त बुझाउन बाध्य भए । यस ऐनले न्यूनतम ज्यालामा तीन महिनाको रोजगारीको अधिकार दिएको थियो । यसबाट प्राप्त हुने रकम सहरको महँगो रेस्टुरेन्टमा एक छाक खानाको मूल्य बराबर हुन्छ । त्यस ऐनलाई पनि यो सत्ताले पन्छाएको छ । र, त्यसको सट्टा बाँच्न मात्र पुग्ने रासन (मोदीको अनुहार भएका खाद्यान्नका झोलाहरू) मानिसलाई हिँडिरहेका कारहरूबाट घृणापूर्वक फ्याँकिएको छ । भिकारीलाई दान दिएझैं, कृतज्ञता र भोटबापत दिएझैं ।
अर्थव्यवस्था खस्किँदै जाँदा, यो सामान्य राहत पनि खतरामा परेको छ ।
आज, सन् २०२६ मा, हामी आफ्नो भोट हाल्ने अधिकार र नागरिकताका लागि लड्न बाध्य पारिएका छौं । नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) नाजी जर्मनीको सन् १९३५ को नुरेम्बर्ग कानुनको ‘हिन्दु राष्ट्र’ संस्करण हो । जसअनुसार जर्मन नागरिकहरूलाई ‘थर्ड रिच’ द्वारा उनीहरूको ‘पुर्ख्यौली कागजात’ का आधारमा नागरिकता प्रदान गरिएको थियो ।
प्रदर्शनकारीहरूको हत्या र कार्यकर्ताहरूको कैद निम्त्याएपछि सीएए–एनआरसी विरोधी आन्दोलन केही शिथिल भयो, सँगै आन्दोलनको दबाबले सरकारलाई ती नयाँ कानुनको कार्यान्वयन सुस्त बनाउन पनि बाध्य तुल्यायो । तर अब, मतदाता नामावलीको ‘विशेष गहन पुनरावलोकन’ (एसआईआर) को रूपमा सीएए–एनआरसी फर्किएको छ, जसलाई धेरैले मुस्लिमहरूलाई लक्षित गरिएको भनेर बुझेका छन् ।
हामीलाई हाम्रा राहदानीहरू पनि नागरिकताको प्रमाण होइनन् भन्ने जानकारी दिइएको छ । लाखौं मानिसहरूलाई मतदाता नामावलीबाट हटाइँदै छ र सारा देश ‘पुर्ख्यौली कागजात’ को खोजीमा भौंतारिरहेको छ । हामीलाई थाहा छैन, हामी कहाँ उभिएका छौं ? हामी वैध हौं वा अवैध ? के हाम्रा कुनै अधिकार छन् ? ‘शंकास्पद नागरिक’ हरूका लागि बनाइएका ती ठूला नजरबन्द शिविरहरूमा हामीमध्ये कसले बस्नुपर्नेछ ? के हामी हाम्रा दिनहरू ट्रिब्युनल धाउँदैमा बिताउनेछौं ? किनकि फासिस्टहरूलाई अस्तव्यस्तता र अन्योल सधैं प्यारो हुन्छ ।
हाम्रो त्रास र पीडाले हामीलाई ‘कक्रोच’ विद्रोहप्रति धेरै नै आशावादी बनाउन सक्छ । केहीले यसको तुलना बंगलादेश, नेपाल र श्रीलंकामा सत्ता परिवर्तन गराउने युवाको विद्रोहसँग गरिसकेका छन् । कतिपयले यसको तुलना जयप्रकाश नारायणको नेतृत्वमा भएको त्यो आन्दोलनसँग गरेका छन्, जसले सन् १९७७ मा इन्दिरा गान्धीलाई पतन गराएको थियो । तर यी तुलनाहरू सान्दर्भिक छैनन् । कक्रोच जनता पार्टी आफ्नै किसिमको र आफ्नै समयको एक अद्वितीय उत्पादन हो । यो एउटा निर्दयी र प्रतिशोधपूर्ण सरकारको सामना गरिरहेका कमजोर युवाहरूको विद्रोह हो । सरकारले भने आफ्नो विरोध गर्नेहरूप्रति कतिसम्म निर्मम हुन सकिन्छ भन्ने देखाइसकेको छ ।
लोकप्रियता गुमाउँदै गएको एउटा शासकसँग आफूलाई भोट दिने जनतालाई कुनै पनि छुट नदिने यस्तो आत्मविश्वास कहाँबाट आउँछ ? सायद उसलाई लाग्छ कि उसले चुनावी व्यापारलाई सफलतापूर्वक आफ्नो पक्षमा पारिसकेको छ । उसले मेसिनहरू नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगको गठन प्रक्रियामै त्रुटि छ र अब यो निष्पक्ष होला भनेर भरोसा गर्न सकिँदैन । विद्युतीय मतदान मेसिनहरूलाई व्यवस्थित गरिएको छ । मतदाता नामावलीबाट अहिले लाखौं वास्तविक मानिसलाई हटाइएको छ र लाखौं फर्जी नाम समावेश गरिएका छन् । चुनावको रेखदेख गर्ने कर्मचारीहरू पूर्ण रूपमा मिलेमतोमा उत्रेका छन् । अदालतहरूले गम्भीर अनियमिततामा ढिलाइ गर्ने वा आँखा चिम्लने काम गर्न सक्छन् । प्रहरीलाई निष्पक्षता भनेको के हो थाहा छैन । अर्कोतर्फ, शक्तिमा बस्ने कसैले औंला उठाउनेबित्तिकै सञ्चारमाध्यमले शिर झुकाउँछ ।
सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लाई नै फाइदा हुने गरी निर्वाचन क्षेत्रहरूको पुनःसंरचना गरिँदै छ । त्यसो भए सत्ताधारीलाई के को डर ? यसले कसैको कुरा किन सुन्ने ? यो पृथ्वीको सबैभन्दा धनी राजनीतिक दल हो, जसलाई संसारका सबैभन्दा धनी उद्योगपतिहरूको समर्थन छ । यसले जे पनि किन्न सक्छ र जोकोहीलाई पनि किन्न सक्छ ।
तर के यो खेल सदाका लागि चलिरहन सक्छ ? के सबै मानिसलाई सधैंभरि मूर्ख बनाइरहन सकिन्छ ? डेढ अर्ब जनसंख्या भएको देशलाई सधैंभर एउटा लासजस्तै घिसार्न सकिन्छ ? सकिँदैन । ‘कक्रोच’ हरू बाहिर निस्किसकेका छन् । किसानहरू फेरि एक पटक दिल्लीतर्फ मार्च गर्न थालेका छन् । यस पटक उनीहरूले अमेरिका–भारत सम्झौताको विरोध गरेका छन् ।
सहरका सिमानाहरू ‘सिल’ गरिएका छन्, तर त्यसले उनीहरूलाई रोक्ने सम्भावना कम छ । युवाहरूले हामीलाई एउटा उपहार दिएका छन्, र उनीहरूले गरेका कामलाई अर्थपूर्ण बनाउनु हामी प्रत्येकको जिम्मेवारी हो ।
एक पटक प्रधानमन्त्री भौतिक रूपमा भागेपछि, राजनीतिक रूपमा पनि भाग्ने दिन टाढा हुँदैन । तर यो शासन सहज रूपमा जाने छैन । राजधानीको सहरमा अपमानित हुन यो सत्ता तयार छैन । हामीले रगत बगेको देख्ने सम्भावना प्रचुर छ । युवाहरूको धैर्य टुट्दै छ । त्यो युवा र उत्तेजित भीडमा कसैले आफ्नो संयमता गुमाएर प्रहरीलाई गोली चलाउने बहाना दिन कति समय लाग्ला ? उनीहरूले हामीलाई तोड्न गर्नुपर्ने सबै कुरा गर्नेछन्, त्यसैले उनीहरूलाई रोक्न हामीले पनि गर्नुपर्ने सबै कुरा गर्नैपर्छ ।
