रास्वपाले निर्माण गर्न खोजेको राजनीतिक संस्कृति उन्नत लोकतन्त्र हो, तीमध्ये एउटा संस्कार तोड्दा अर्को किन तोड्न नहुने भन्ने विचारले पार्टीभित्रै विकार बढ्दै गयो भने के हुन्छ ?
What you should know
भुइँमा नीलो कार्पेट, कार्पेटमाथि नीला कुर्सीहरू, हलको भित्तामा नीलो पर्दा र मञ्चमा टाँगेको ब्यानर पनि नीलै थियो । यस्तो एकरूपताबीच शीर्ष नेताहरू विराजमान मञ्चका सबै सोफा भने सेतो रङले आकर्षक थिए ।
माथिको छोटो वर्णन राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन बन्दसत्रको हो ।
म रास्वपा हुनुमा गर्व लाग्ने थुप्रै विषय थिए/छन् । विशेषगरी पार्टीले निर्माण गर्न खोजेको नयाँ संस्कार र यसलाई पालना गर्ने सदस्यहरू मनपर्दा थिए ।
कुनै पनि कार्यक्रममा उपस्थित आधा मानिसलाई मञ्चमा विशेष कुर्सी वा सोफा राखेर अतिथि, विशेष अतिथि, प्रमुख अतिथिको विशेषण जोड्दै आसन ग्रहण गराउने, मञ्चका सबैलाई भाषण गर्न दिने, भाषण गर्नेले नामै लिएर मञ्चमा बसेका सबैलाई सम्बोधन गर्ने, लामो भाषण गर्ने आसन–भासन–रासनको यस्तो विकृत अभ्यासलाई रास्वपाले तोडेको थियो ।
पार्टीका वडादेखि केन्द्रसम्मका जुनसुकै आन्तरिक कार्यक्रममा केन्द्रीय सभापति नै उपस्थित किन नहुन् मञ्चमा, आसन ग्रहण गराइँदैनथ्यो । आमसदस्यसरह अग्रभागमा उपस्थित वा परिचित गराइन्थ्यो । कुनै कार्यक्रममा कसैलाई अतिथि, विशेष अतिथि, प्रमुख अतिथि भनिँदैन वा मानिँदैनथ्यो । वक्ता वा प्रमुख वक्ता भनिन्थ्यो ।
कार्यक्रममा कसैलाई अग्लो मञ्चमा विशेष ठानेर राखिनु र अरू धैरैलाई अगाडि तल राखिनु सामन्ती संस्कार र वर्ग विभाजनको निरन्तरता हो भन्ने बुझाइ थियो ।
आन्तरिक अधिवेशनमा निर्वाचित कसैलाई पनि अबिर, खादा र माला लगाइँदैनथ्यो । कुनै पनि नेतालाई कहीं पनि खादा, माला लगाएर स्वागत नगर्ने निर्देशन थियो । त्यो अभ्यास पनि गरिएन । नेताहरू कतै राजनीतिक वा अन्य भ्रमणमा जाँदा एयरपोर्टमा हूल बाँधेर स्वागत गर्न निषेध गरिएको थियो ।
करिब ४ वर्षको राजनीतिक विगतमा साह्रै कम मान्छे मात्रै यो त्यागी संस्कारको विपक्षमा देखिएका थिए । मन नपर्ने साह्रै थोरैले खुलेरै बोले भने कतिले मनभित्रै अस्वीकार गरे पनि बाहिर अभिव्यक्त गर्दैनथे ।
नेताहरू आफ्नै हाराहारीमा बसेको पाउँदा भुइँतहसम्म सबैले रुचाएको हुनाले यसलाई अस्वीकार गर्ने आँट कसैले गरेन ।
मलाई ताजा सम्झना छ, २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनताका सभापति रवि लामिछाने झापा आउने र केही स्थानमा मतदातालाई सम्बोधन गर्ने भए । हामीले भन्यौं, ‘भुइँमा उभिएर बोल्दा भीडका मानिसले टाढाबाट नदेख्न सक्छन्, आठ हजार रुपैयाँमा सानो मञ्च बन्ने रहेछ, हामी आफैं खर्च गर्छौं ।’
‘सभापति आफू चढेको गाडीमा उभिएर मतदातालाई सम्बोधन गर्नुहुन्छ, अनावश्यक खर्च नगर्नू’, केन्द्रको जवाफ थियो ।
तर, जब ०८३ साल जेठ २३ गते जिल्ला अधिवेशन भए, केही जिल्ला अधिवेशनमा मञ्चमा सोफा र सोफामा नेता र सांसदहरू उपरखुट्टी लगाएर बसेका देखिए । कोशी प्रदेश समितिको अधिवेशनमा हलको ठूलो मञ्चमा दर्जनौं नीला कुर्सीमा दर्जनौं नेतालाई आसन ग्रहण गराइयो । सबै आफ्ना अग्रभागका मानिसभन्दा विशेष भएर बसे ।
सायद अन्य प्रदेशमा पनि यस्तै भयो कि ख्याल गरिएन ।
महाधिवेशनको उद्घाटन सत्र असार ७ गते रास्वपाबाहेक अरू दलका अतिथि उपस्थित भएकाले प्रचलनअनुसार गर्नु बाध्यता थियो ।
असार ९ गते जब महाधिवेशनको बन्दसत्र सुरु भयो । तल दर्शकदीर्घामा मन्त्री, सांसद र केन्द्रीय सदस्यलाई अगाडि र अरूलाई क्रमशः पछाडि स्थान छुट्याइएको थियो । माथि पहिलो अनुच्छेदमा वर्णन गरिएको सेतो र विशेष सोफामा सभापति र प्रधानमन्त्रीसहित केन्द्रीय पदाधिकारीहरूलाई आसन ग्रहण नै गराइयो ।
एयरपोर्टमा खादा र माला लिएर नआउनू भनेर स्टाटस लेख्ने नेताले जिल्ला र प्रदेश अधिवेशनमा प्रयोग भएको मञ्च, कुर्सी र नेताको आसन ग्रहणलाई स्वीकार मात्र गरेनन्, महाधिवेशनमा आफैंले प्रयोग गरे । यो हामीले भत्काएको विकृत संस्कार हो । हामीले बनाएको संस्कार अर्कै छ त्यसलाई पालना गरौं कसैले भनेन ?
गृहमन्त्री भएर विभिन्न कार्यक्रममा जाँदा आफ्ना लागि छुट्याइएको विशेष आसन हटाउन लगाउने सभापति रवि लामिछानेले पनि स्वाभाविक ढंगले मञ्चको सेतो सोफामा आसन ग्रहण गरे ।
रास्वपाले निर्माण गर्न खोजेको राजनीतिक संस्कृति उन्नत लोकतन्त्र हो । चित्त नबुझे आफ्नै नेताको आलोचना गर्नु पनि हो । नातावाद र कृपावादविरुद्धको आचरण प्रदर्शन गर्नु हो । जान्नेलाई छान्नु हो । र, मेरिटका आधारमा जिम्मेवारी दिनु हो । गरिबको पार्टी एमाले सत्तारोहणपछि स्खलित हुँदै आजको पतनसम्म पुग्यो । माओवादीको मादक पदार्थ र तास–जुवाविरुद्धको अभियानसहितको रक्त क्रान्ति सरकारी रजगजपछि स्खलित भयो । र, बाँकी दिनमा पार्टीको नाम नै बोक्न नसक्ने लागेर इतिहासको खोपीमा थन्क्याइदिए । र, बीपी कोइरालाको किसानको प्रेम अनि एक मुठी माटोको आदर्श गुटको राजनीतिले किमा बनाइदिएको हामी सबैलाई थाहै छ ।
यो राजनीतिक विगत त्याग्न लायक छ अनुकरण गर्न होइन । झिल्काबाटै डढेलो बन्ने हो, त्यसैले झिल्कोजस्तो देखिने सुरुवातसँग यो लेखक मात्रै होइन, सिंगै देशको भाग्य र भरोसा डराएको हो ।
रास्वपाले निर्माण गर्न खोजेको राजनीतिक संस्कृति उन्नत लोकतन्त्र हो । चित्त नबुझे आफ्नै नेताको आलोचना गर्नु पनि हो । नातावाद र कृपावादविरुद्धको आचरण प्रदर्शन गर्नु हो । जान्नेलाई छान्नु हो । र, मेरिटका आधारमा जिम्मेवारी दिनु हो ।
यसमध्ये एउटा संस्कार तोड्दा अर्को किन तोड्न नहुने ? यस्तै विचारले विकार बढ्दै गयो भने ?
आफैंले आफ्नो संस्कार तोड्नु भनेको आफ्नै सन्तानको गला थिचेर हत्या गर्नुभन्दा फरक होला त ? के ती अनुकरणीय संस्कारहरू सत्ताप्राप्तिसम्मका लागि मात्र थिए त ?
यो प्रश्नको सही जवाफ के हुन सक्छ ?
आफूलाई विशेष ठान्ने, विलासी बन्ने, शासकजस्तो देखिन खोज्ने रहरहरूको त्याग नै सर्वोत्तम जवाफ हुन सक्छ । सदाचारी र त्यागी संस्कृति निर्माण विकासका लागि गम्भीर बन्नु आवश्यक छ ।
जसले कुशलतापूर्वक पार्टी–संगठन चलाउँछ, उसले मात्रै कुशलतापूर्वक देश चलाउँछ । जिम्मेवारी लिँदा र दिँदा हमेसा यो सत्य साथमा राख्नुपर्छ ।
राजनीतिशास्त्रको अध्ययनका लागि थपिएको रास्वपाको २०७९ को सफलता, २०८३ को दुईतिहाइसँगै सादगी संस्कार पनि महत्त्वपूर्ण सिकाइ बन्नेमा दुईमत रहँदैन ।
तर, एकाएक किन भत्कियो आफैंले निर्माण गरेको आफ्नै संस्कार ? राजनीतिमा विकार र विकृतिलाई तोडेर वा आवश्यकताअनुसार थपेर नयाँ संस्कार र संस्कृति निर्माण गर्न आएको हो रास्वपा । करिब ५२ लाख मतको विश्वास यही थियो । भोट पाउन प्रदर्शन गरेको आदर्श सत्ताप्राप्तिपछि सबैले त्याग्ने नै रहेछन् भनेर आममान्छेले बुझे भने जनडिप्रेसनको तह कहाँ पुग्ला ?
मास डिप्रेसनले अरूलाई सक्छ जसरी २०८२ भदौ २३ र २४ घट्यो । एकल डिप्रेसनले आफूलाई सक्छ जो प्रेम आचार्य हुन् वा गणेश नेपाली बनेर अगाडि देखिनेछन् ।
रास्वपाका केही नेताहरूले विगत र अरूबाट सिक्न नसकेको पाठ के हो भने–आफू बलियो बन्न आफ्नो छुट्टै टिम चाहिन्छ भन्ने भ्रम ।
समानुपातिक उम्मेदवार छनोटका लागि भएको डिजिटल भोटिङमा निःसर्त पार्टीमा समायोजित अर्को दलबाट आएका नेताहरूलाई भोट हालेर जिताए । त्यसमा कसैले निर्देशन वा सर्कुलर गरेको थिएन, पार्टी सदस्यको विवेकको प्रयोग थियो । यस्तो निकट तथ्य हुँदाहुँदै प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छनोट विधि निलम्बन गरियो । अनि तेरो र मेरो, यति र उति गरियो ।
चुनावअघि मात्रै पार्टीमा जोडिएका थुप्रै नेता, सांसद र मन्त्रीलाई महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा जिताइदिए । कतिपयले यही भ्रमका कारण हारिन्छ भनेर उम्मेदवारी नै नदिएका हुन सक्छन् ।
रवि लामिछाने र बालेन शाह एक ठाउँ आउनुपर्छ भन्ने आमचाहनाका कारण जनताले दुईतिहाइ दिए । रवि र बालेनको मिलन चाहने पार्टी सदस्यले कहिल्यै दुई नेतालाई तेरो–मेरो गर्ने छैनन् । समानुपातिक उम्मेदवार छनोट र महाधिवेशनको सन्देश यही थियो । तर, पनि किन आउँछ ५१ जना केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयनमा भागबन्डाको समाचार ?
यो ऐतिहासिक राजनीतिक विकल्पलाई चिरा पारेर खेल्न चाहने र देशको भलो नचाहनेको मात्रै खेल हो ? वा हाम्रा शीर्ष नेतालाई आफ्ना मान्छे चुन्ने पुरानो दीर्घरोगले संक्रमण गरेको हो ?
गुट नबनोस् भनेर अधिवेशनमा प्यानल बनाउन रोक्ने विधि र दुवै नेताको निर्देशन मिथ्या हो ? यो प्रश्नको जवाफ सभापतिले मनोनयन गर्ने ५१ सदस्य र पदाधिकारीमा देखियोस् ।
देश बन्न नसक्नुको एउटा प्रमुख राजनीतिक कारण गुट नै हो । त्यसैको विकृत उर्वर धरातलमा रास्वपा जन्मेको र भदौ २३ र २४ घटेको हो । रास्वपा उस्तै विकृत उर्वर बनेर त्यसको मलमा अरू कोही जन्मिनु नपरोस् जनकामना हो यो ।
आफूले देखेका, लेखेका र बोलेका कुरा र भर्खरै हिँड्दै गरेको यात्राको लयसँग मिल्दो छ कि छैन ? आँखा बन्द गरेर मनन गरौं । लय मिल्दो छ भने सबैलाई जानकारी दिएर रफ्तार बढाऔं । छैन भने लयमा फर्कौं ।
लामो इतिहास, संघर्ष, त्याग र लामो यात्राबीच कटिबद्ध र प्रतिबद्ध लाखौं सदस्य भएका दलहरू समेत कोही नभएजस्ता भए, जनताले एकसाथ मरीचझैं खुम्च्याइदिए ।
त्यही कथा दोहोरियो भने भदौ २३ र २४ का बगेको बालबालिकाको रगतको पाप पखालिनै नसक्ने गरी उताबाट यता सर्नेछ । नेपाली राजनीतिको सबैभन्दा ठूलो धोकेबाज र अपराधी साबित हुनेछ रास्वपा ।
रास्वपालाई आएको करिब ५२ लाख मतमा सदाचारी, त्यागी, इमानी, चरित्रवान्, नैतिकवान्, एकताबद्ध राजनीतिका लागि विश्वास मिसिएको हो । त्यसैले यो अक्षम्य अपराध गर्ने छुट रास्वपालाई छैन ।
रास्वपालाई भोट दिने र नदिने सबैको मतैक्य छ कि राजनीतिक दलको संस्कार र संस्कृतिको मानक निर्माण अहिले नभए कहिल्यै हुँदैन । अहिले जनताको आत्मविश्वास बढाउन सकिएन भने कहिल्यै सकिन्न ।
