जमिनदारले कमैया–कमलरीलाई मात्रै होइन, अन्य थारूमाथि समेत अत्याचार गर्थे । धेरै ठाउँमा थारूलाई जमिनदारकोमा बेगारी (बिनापारिश्रमिक काम गर्न) का लागि बाध्य पारिन्थ्यो (जस्तै खेतमा धान रोप्न र काट्न) ।
What you should know
मेरी हजुरआमा बेलाबेला जमिनदारका कथा सुनाउनुहुन्छ । ती सामान्य कथा होइनन् । ती त पीडा र आक्रोशले भरिएका कथा हुन् ।
धान रोप्न सक्ने भएपछि सायद आठ–नौ वर्षकी छँदा कैलालीको लालपुर गाउँका एक जमिनदारको खेतमा मजदुरी गर्न जानुभयो हजुरआमा । उहाँ आफ्नो उमेर ठ्याक्कै भन्न सक्नुहुन्न किनभने उहाँलाई आफू जन्मेको साल थाहा छैन । नागरिकतामा भने १९९७ साल उल्लेख छ । गाउँका अन्य महिला र केटी मजदुरी गर्न गएको देखेर उहाँ पनि केही पैसा कमाउने आशामा जानुभएको थियो ।
जमिनदारले कामको निश्चित दर तोकेका थिएनन् । दिनैभर धान रोपेपछि उनले केटीहरूको छाती हेरेर पारिश्रमिक निर्धारण गर्थे । जसको छाती ठूलो थियो, उसलाई अलि बढी पैसा । जसका सानो, उसलाई कम । हजुरआमा आज पनि हाँस्दै सुनाउनुहुन्छ, ‘मै छोट रहु, महिन टे इट्रीचे डेहल ।’ (अर्थात ‘म सानो थिएँ, मलाई त एकदमै थोरै (पैसा) दियो’ ।)
उहाँ बेलाबेला देशरज्वा, गुरुंगवा, चौधरीयाजस्ता त्यसबेला नाम चलेका जमिनदारका कथा सुनाइरहनुहुन्छ । आज यो कथा सुन्दा मात्रै पनि आक्रोश र अपमानले मथिंगल हल्लाउँछ । सम्पत्तिको उन्मादमा एक शोषकले एउटी बालिकाको शरीरमाथि गरेको शक्ति प्रदर्शनले आज पनि मन अस्थिर बनाउँछ ।
हजुरआमा कमलरी हुनुहुन्थेन । उहाँ केवल मजदुरी गर्न जानुभएको थियो । दैनिक ज्याला गर्ने बालिकाले त यस्तो अपमान सहनुपर्थ्यो भने वर्षौंसम्म कमैया र कमलरी जीवन बिताएका मानिसले कति हिंसा, अपमान र आघात भोगे होलान् ? ती आघात आज पनि मुक्त कमैया र मुक्त कमलरीको शरीर र स्मृतिमा जीवित छन् ।
आज पनि हजारौं मुक्त कमैया र मुक्त कमलरी हाम्रै समाजमा छन् । ती खोला किनारमा, जंगल छेउमा, बगरका छाप्रामा जीवन बिताइरहेका छन् । उनीहरू विगतका आघात भुलेर मुस्कुराउने प्रयास गर्छन्, तर परिस्थितिले दिँदैन । झरी पर्दा उनीहरूको छाप्रो चुहिन्छ । कुनै दिन काम नपाउँदा भोकै सुत्नुपर्छ । कागजमा उनीहरू मुक्त भइसकेका छन्, तर जीवनका आघातबाट मुक्त हुन सकेका छैनन् । थारू भाषामा काम गर्ने वा कमाउने पुरुषलाई ‘कमुइया’ भनिन्छ, महिलालाई ‘कमलरिया’ । पछि यी शब्द नेपालीकरण भए । ‘कमुइया’ ‘कमैया’ बन्यो र ‘कमलरिया’ ‘कमलरी’ । गैरसरकारी संस्थाहरू, राज्यका दस्ताबेजहरू र सञ्चारमाध्यमले ‘कमैया’, ‘कमलरी’ शब्द स्थापित गरे । यसरी स्थापित गरियो कि आज थारू गाउँमै पनि मूल शब्द ‘कमुइया’ र ‘कमलरिया’ हराउँदै गएका छन् ।
सबै कमैया एउटै थिएनन्
कमैया राख्ने चलन थारू गाउँमा प्रचलित थियो । तर, सबै कमैयाको अनुभव एकैनासको थिएन । ठूला जमिनदारहरू (जसका सयौं बिघा जमिन थिए) धेरै कमैया र कमलरी राख्थे । कमैयाहरू कोही हलो जोत्थे, कोही गोरु–भैंसी हेर्थे, कोही भेडाबाख्रा । कमलरीहरू कोही गोबर फाल्थे, कोही भाँडा माझ्थे । कतिपय जमिनदारका घरमा त पशु यति धेरै हुन्थे कि एक जना महिला कामदारले गोबर फाल्ने काम मात्रै गर्नुपर्थ्यो ।
जमिनदारबाहेक थारू किसानहरू पनि कमैया राख्थे । जमिनदारलाई गाउँलेहरू ‘जिम्डरवा’ भन्थे । कमैया–कमलरीहरू अरूका अगाडि जमिनदारलाई प्रायः ‘मलिक्वा’ र जमिनदारकै अघि ‘मलिक्वा हजुर’ भनी सम्बोधन गर्थे । थारू किसानलाई अरूका अगाडि प्रायः ‘किसन्वा’ भनिन्थ्यो । किसानका घरमा काम गर्ने कमैया–कमलरीले घरका सबैलाई केही न केही साइनोले बोलाउँथे– जस्तो ‘डाडा भउजी’, ‘काकाकाकी’ । यस्तो सम्बोधन ‘मलिक्वा’ को घरमा कल्पनासम्म गरिँदैनथ्यो ।
थारू किसानका घरमा बस्ने कमैयाको जीवन जमिनदारका घरमा बस्ने कमैयाभन्दा धेरै फरक हुन्थ्यो । थारू किसानले कमैया–कमलरीलाई घरको सदस्यसरह व्यवहार गर्थे । अपवादबाहेक, किसान घरका सदस्यहरू आफ्ना कमैया र कमलरी सँगै बराबरी काम गर्थे । परिवार र कमैया–कमलरी सबैका लागि एकै प्रकारको खाना पाक्थ्यो ।
थारू किसानको घरमा रहेका कमैयाले आफूले खाएको थालसमेत धुनु पर्दैनथ्यो । किनभने भाँडा माझ्ने काम महिलाको जिम्मेवारी मानिन्थ्यो । त्यसैले कमैयाको जुठो थाल घरकी महिलाले नै धुन्थिन् ।
किसान र कमैया सँगै हलो जोत्थे । सँगै खेतमा पसिना बगाउँथे । किसान घरकी महिला र कमलरी सँगै धान रोप्थे । घरको काम बाँडेर गर्थे । वर्षैभरि काम गरेपछि पूर्वसहमतिअनुसार कमैया र कमलरीलाई धान वा अन्न पारिश्रमिक दिइन्थ्यो । अर्को वर्ष त्यही घरमा काम गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता कमैयासँग हुन्थ्यो ।
तर, जमिनदारको घरमा बस्ने कमैयाको जीवन बिल्कुलै फरक थियो । उनीहरू काम गर्न राखिएकाभन्दा बढी मालिकका दास थिए । अधिकांश कमैयामाथि ‘सौंकी’ अर्थात् बढ्दै जाने ऋणको बोझ थियो । त्यो ऋण कहिल्यै सकिँदैनथ्यो, बरु उल्टै बढ्दै जान्थ्यो । ‘सौंकी’ बढेर बुबा, छोरा, नातिसम्मका कैयौं पुस्ताले एउटै जमिनदारको दास भएर जीवन व्यतीत गर्नुपर्थ्यो । कमैयाले मात्रै होइन, उसका श्रीमती र बच्चासमेतले जमिनदारकोमा काम गर्नुपर्थ्यो । त्यसपछि पनि ऋण चुक्ता हुँदैनथ्यो ।
कमलरी : श्रम शोषणदेखि यौनहिंसासम्म
सम्पन्न परिवारले साना केटीहरूलाई घर र खेतको काममा कामदारका रूपमा राख्थे । खान–लाउन नपुग्ने गरिब परिवारका आमाबुबा आफ्ना छोरीहरूलाई बाध्यतावश जमिनदारका घरमा वा हुनेखानेको घरमा काम गर्न पठाउँथे ।
अलिअलि काम गर्न सक्ने सात–आठ वर्षका बालिकालाई समेत कमलरी राख्ने चलन थियो । ती बालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा धेरै कठिन काम गराइन्थ्यो । तिनको शोषण श्रममा मात्रै सीमित थिएन । धेरै बालिका शारीरिक, मानसिक र यौनहिंसाका सिकार हुन्थे ।
विवश आमाबुबाले आफ्नी छोरीलाई हुनेखानेको घरमा काम गर्न पठाएका थिए, बेचेका थिएनन् । उनीहरूको आशा थियो– छोरीले काम गरोस् र कम्तीमा पेटभरि खान पाओस् । तर, अधिकांश पूर्वकमलरीको अनुभव छ–काम गरे पनि पेटभरि खान पाइएन । मालिक–मालिक्नीले विवश कमलरीमाथि आफ्नो अधिकार जमाए । साना बच्चीहरूलाई कठोर काम गराउनु, निर्दयतापूर्वक कुट्नु र यौनहिंसा गर्नुलाई आफ्नो अधिकार सम्झे ।
कतिपय घटनामा कमलरीको मृत्यु भएपछि आत्महत्या भनी सार्वजनिक गरियो । उदाहरणका लागि, २०७५ जेठ २९ मा बासगढी नगरपालिका– २ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी कमलरी बसेको मालिकको घरमा झुन्डिएको अवस्थामा भेटिइन् । कमलरी अधिकारका लागि काम गर्ने अभियन्ता र संस्थाहरूले त्यो ‘आत्महत्या नभई हत्या भएको’ दाबी गर्दै निष्पक्ष छानबिनको मागसहित आन्दोलन गरेका थिए ।
सबैभन्दा अदृश्य बुकरही
थारू समुदायमा चरम श्रम शोषणको चर्चा हुँदा सबैभन्दा ओझेलमा परे बुकरहीहरू । बुकरही भनेको कमैयाकी श्रीमती ।
कमैयाले जहाँ काम गर्थे, बुकरहीले पनि त्यहीं काम गर्नुपर्थ्यो । तर, उनको श्रमको कुनै मूल्य तोकिँदैनथ्यो । कमैयाको वर्षभरिको पारिश्रमिक तय हुँदा बुकरहीको श्रम त्यसैभित्रै समेटिएको मानिन्थ्यो । बुकरहीहरूले छुट्टै ज्याला पाउँदैनथे ।
थारू किसानका घरका बुकरहीलाई धान रोप्ने बेला, धान काट्ने बेला, चाडपर्व वा पाहुना धेरै आएका बेला काममा सघाउन बोलाइन्थ्यो । साथै उनका छोराछोरीलाई पनि सक्ने काम गर्न लगाइन्थ्यो । यदि कमैयाका धान रोप्ने उमेरका छोराछोरी भए, तिनले पनि बिनाज्याला काम गर्नुपर्थ्यो । कमैयाका साना उमेरका छोरीहरू विशेष गरी ‘छेग्रिन्ह्या’ (बाख्रा) चराउँथे र छोराहरू ‘गयर्वा’ वा ‘भैसर्वा’ (गाईभैंसी) चराउँथे ।
बुकरहीले किसानको घरमा काम गरेको दिन ‘कलुवा’, ‘मिझ्नी’ र ‘बेरी’ अर्थात् दिनको तीन पटक खाइने खाना किसानकै घरमा सपरिवार खान पाउँथे । जसरी जमिनदार र थारू किसानका घरमा कमैयाको जीवन फरक थियो, त्यसैगरी बुकरहीको जीवन पनि फरक थियो । किसानको घरमा बुकरहीको श्रमको मूल्य थिएन, तर जमिनदारको घरमा उनको शरीर नै असुरक्षित थियो । जमिनदारकोमा रहेका धेरै बुकरही बलात्कारका सिकार हुनुपर्थ्यो । मालिकले उनीहरूमाथि मनमौजी गर्न सक्थ्यो । न बुकरही बोल्न सक्थिन्, न कमैयाले प्रतिवाद गर्न सक्थ्यो । बोले लाठी बर्सिन्थ्यो वा झन् ठूलो हिंसा हुन्थ्यो ।
थारू गाउँगाउँमा रहेका जमिनदारले कमैया–कमलरीलाई मात्रै होइन, अन्य थारूमाथि समेत अत्याचार गर्थे । धेरै ठाउँमा थारूलाई जमिनदारकोमा बेगारी (बिनापारिश्रमिक काम गर्न) का लागि बाध्य पारिन्थ्यो (जस्तै खेतमा धान रोप्न र काट्न) । कसैले आदेशको अवज्ञा गर्न सक्ने अवस्था थिएन । किनभने प्रहरी, अदालत, वकिल र स्थानीय प्रशासनका प्रभावशाली व्यक्तिसँग जमिनदारहरूको मिलेमतो र पहुँच बलियो थियो । जमिनदारविरुद्ध बोल्नु आफ्नो जीवन जोखिममा पार्नु थियो ।
यही सामाजिक–राजनीतिक सन्दर्भमा तत्कालीन नेकपा (माओवादी) कैलाली र अछाम जिल्ला संगठन समितिले २०५५ साउन १६ देखि २५ गतेसम्म ‘सामन्तहरूको हतियार कब्जा अभियान’ चलाएको थियो । यस अवधिमा १७ जना शोषक–सामन्तलाई कारबाही गरी १४ वटा हतियार कब्जा गरिएको कुरा लेखक जोखन रत्गैंयाले आफ्नो डायरीमा उल्लेख गरेका छन् ।
त्यस अभियानपछि जमिनदारहरू गाउँ छाडेर सहर सर्न थाले । उनीहरूमाथिको कारबाहीले वर्षौंदेखि उत्पीडन भोग्दै आएका थारूमा प्र्रतिरोध गर्ने साहस पनि जगायो । त्यसअघि जस्तोसुकै अत्याचार भए पनि कमैया र कमलरीलाई मौन बस्न बाध्य बनाइएको थियो । अर्कोतर्फ, राज्यका धेरैजसो संयन्त्र पनि अत्याचारी जमिनदारका संरक्षणमै उभिएका थिए । कठिन संघर्ष र आन्दोलनको दबाबपछि नेपाल सरकारले २०५७ सालमा कमैया मुक्ति घोषणा गर्यो । तर, कमलरी मुक्तिको विषय कमैया आन्दोलनको विषय बन्न नसकेकाले उनीहरूको मुक्तिका लागि अझै १२ वर्ष कुर्नुपर्यो । अन्ततः २०६९ सालमा सरकारले कमलरी प्रथा अन्त्य भएको घोषणा गर्यो ।
कमैया, कमलरी र बुकरहीहरूमाथि बर्साइएको बर्बरता आज पनि मानसपटलमा ताजै छन् । कोही आफैं दास जीवन बिताएका घाउहरू बोकेर बाँचिरहेका छन् । तिनका बच्चाहरू आफ्ना आमाबुबा र हजुरआमा–हजुरबुबाले भोगेका अपमानका कथा सुन्दै हुर्किरहेका छन् ।
ती आँसुका कथा मात्रै होइनन्, नेपाली समाजको संरचनागत उत्पीडनमा जातीय विभेद, वर्गीय वर्चस्व र महिलामाथिका हिंसाका इतिहास हुन् । मौखिक स्मृतिमा कैद यी कथा नलेखिए कमैया, कमलरी र बुकरही पुस्ताले भोगेको अपमान, संघर्ष र प्रतिरोधको एउटा महत्त्वपूर्ण अध्याय इतिहासबाटै हराउनेछ ।
