राष्ट्रवादको नयाँ ठेगाना

आफ्नै देश बस्नुभन्दा विदेशिनु बढी तर्कसंगत निर्णय बन्न थाल्छ भने त्यो युवाको असफलता होइन, राज्यको हो । देश–प्रेम छोटामीठा भाषणले उत्पन्न हुँदैन– त्यसलाई न्यायपूर्ण संस्था, विश्वसनीय शासन, सम्मानजनक रोजगारी र भविष्यप्रतिको आशाले टिकाइराख्छ ।

श्रावण १, २०८३

सीपी अर्याल

The new address of nationalism

What you should know

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरमा हरेक दिन एउटै कथा नयाँ पात्रसहित दोहोरिन्छ । छोराछोरीलाई छोड्न गएका बाआमा वा आफन्त हात हल्लाउँदै बोल्छन्, ‘छिट्टै फर्किनू ।’ तर, त्यो ‘छिट्टै’ कहिलेकाहीँ वर्षौं लामो प्रतीक्षा बन्नेछ भन्ने सबैलाई थाहा छ । 

जहाज उड्छ, डाँडाहरू बादलमा बिलाउँछन्, हिमालहरू साना हुँदै जान्छन् र झ्यालबाट हेर्दा नेपाल बिस्तारै एउटा थोप्लोमा सीमित हुन्छ । जहाजसँगै परदेशीको मनबाट नेपाल टाढिँदैन, बरु मनभित्र अझ गहिरोसँग बस्न थाल्छ । दूरीको आफ्नै समाजशास्त्र हुन्छ, त्यसले भूगोललाई साँघुरो बनाउँछ । तर, सम्बन्ध, स्मृति र अपनत्वलाई अझ विशाल बनाइदिन्छ र राष्ट्रवाद फरक ठेगानामा झुल्किन्छ । यस लेखमा राष्ट्रवादले ल्याइरहेको नयाँ ठेगानामाथि विमर्श गरिनेछ ।

राष्ट्रवादको पुरानो भूगोल

वर्षौंदेखि हामीले डिपार्चर कक्षको दृश्यलाई मुख्यतः आर्थिक र राजनीतिक भाषामार्फत बुझ्ने प्रयास गरेका छौं । अर्थशास्त्रीहरूले यसलाई ‘श्रम आप्रवासन’ भने, सरकारले ‘ब्रेन ड्रेन’ को चिन्ता गर्‍यो, पत्रपत्रिकाले ‘युवा पलायन’ को संकट देखे र विकासविद्हरूले ‘रेमिट्यान्स, जनसांख्यिकीय परिवर्तन तथा दक्ष जनशक्तिको क्षय’ बारे बहस गरे । यी सबैले देख्ने विषय मुख्यतः मानिसको आवतजावत हो, समाजको रूपान्तरण होइन । आज नेपालमा बदलिएको विषय केवल मानिस कहाँ बस्छन् भन्ने होइन, उनीहरू आफ्नो भविष्य कहाँ देख्छन्, आफ्नो पहिचान कहाँबाट निर्माण गर्छन् र ‘राष्ट्र’ सँगको सम्बन्धलाई कहाँबाट अर्थ दिन्छन् भन्ने हो । यस अर्थमा, आप्रवासनसँग जोडिएको राष्ट्रवादको परिभाषा केवल जनसंख्याको स्थानान्तरण होइन, यो राष्ट्रलाई कल्पना गर्ने तरिकाको पुनःसंरचना पनि हो ।

आधुनिक राष्ट्रवाद बुझ्न बेनेडिक्ट एन्डरसनको ‘इम्याजिन्ड कम्युनिटिज’ एउटा आधारभूत कृति मानिन्छ । एन्डरसनका अनुसार, राष्ट्र कुनै प्राकृतिक वा जैविक समुदाय होइन– साझा कल्पना, साझा स्मृति र साझा राजनीतिक सम्बन्धद्वारा निर्मित ‘कल्पित समुदाय’ हो । पछि पार्थ चटर्जीले यही अवधारणामाथि प्रश्न उठाउँदै ‘हुज् इम्याजिन्ड कम्युनिटिज ?’ भन्ने बहस अघि सारे र उपनिवेशोत्तर समाजमा राष्ट्रको कल्पना युरोपेली अनुभवभन्दा भिन्न ऐतिहासिक प्रक्रियाबाट निर्माण हुने तर्क गरे । तर, समकालीन नेपालको अनुभवले यी बहसमा अर्को प्रश्न थप्न आग्रह गरिरहेको छ । प्रश्न अब केवल ‘राष्ट्र कसले कल्पना गर्छ ?’ भन्ने होइन, ‘राष्ट्र कहाँबाट कल्पना गरिन्छ ?’ भन्ने पनि हो । किनभने आज लाखौं नेपालीले राष्ट्रलाई नेपालको भूगोलभित्र बसेर मात्रै होइन– सिड्नी, टोकियो, दोहा, टोरन्टो वा लन्डनबाट पनि उत्तिकै गहिरोसँग कल्पना, अनुभूति र जीवन्त बनाइरहेका छन् । यस अर्थमा, नेपालको वर्तमान अनुभवले राष्ट्रवादको बदलिँदो ठेगानाबारे नयाँ ढंगले सोच्न बाध्य बनाउँछ ।

नेपालको मूल प्रश्न केवल लाखौं युवा किन विदेशिए भन्ने होइन । वास्तविक प्रश्न हो– जब राष्ट्रका सपना, आकांक्षा, लगानी र भावनात्मक सम्बन्ध आफ्नै सीमाभन्दा बाहिर निर्माण हुन थाल्छन् भने त्यो राष्ट्रलाई कसरी बुझ्ने ? राष्ट्रवादको केन्द्र आखिर कहाँ रहन्छ ?राष्ट्रवादको परम्परागत अवधारणाले लामो समयदेखि एउटा आधारभूत मान्यतालाई स्वाभाविक सत्यझैं स्वीकार गर्दै आएको छ– राष्ट्रको केन्द्र आफ्नै भूगोलभित्र हुन्छ । आधुनिक राष्ट्र–राज्यको निर्माणसँगै राष्ट्रलाई निश्चित सिमाना, साझा भूभाग र एउटै राजनीतिक समुदायका रूपमा कल्पना गरियो । नागरिकहरू त्यहीँ बस्छन्, त्यहीँका संस्थामा सहभागी हुन्छन्, त्यहीँको अर्थतन्त्र निर्माण गर्छन् र त्यहीँ बसेर साझा भविष्यको कल्पना गर्छन् भन्ने धारणा आधुनिक राष्ट्रवादको मेरुदण्ड बन्यो । त्यसैले देशप्रेमलाई पनि भूगोलसँग जोडियो । आफ्नो राष्ट्रलाई माया गर्नु भनेको त्यहीँ बस्नु, त्यहीँ श्रम गर्नु, त्यहीँ भविष्य निर्माण गर्नु र आवश्यक परे त्यहीँको रक्षा गर्नु हो भन्ने विश्वास स्थापित भयो । राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय इतिहास, राष्ट्रिय दिवस र राज्यका अनेक सार्वजनिक प्रतीकले यही सन्देश दोहोर्‍याइरहे– राष्ट्रको वास्तविक जीवन सीमाभित्रै हुन्छ र नागरिकको राष्ट्रसँगको सम्बन्ध पनि उसको भौतिक उपस्थितिले नै परिभाषित गर्छ ।

नेपालले पनि आधुनिक राष्ट्रवादको यही भूगोलकेन्द्रित कल्पनालाई लगभग निर्विवाद रूपमा स्विकार्‍यो । धेरै दशकसम्म देशप्रेमको सबैभन्दा स्वाभाविक अभिव्यक्ति आफ्नै भूमिमा बस्नु, आफ्नै समाजमा श्रम गर्नु र आफ्नै देशको भविष्य निर्माण गर्नु मानियो । आदर्श नागरिक त्यो थियो– जसले नेपालमै पढोस्, नेपालमै आफ्नो जीविका बनाओस्, यहीँ परिवार बसालोस् र यहीँ बसेर राष्ट्र निर्माणमा योगदान गरोस् । विदेश जानु सफलताको प्रतीक होइन– गरिबी, द्वन्द्व वा सीमित अवसरले थोपरेको बाध्यता ठानिन्थ्यो । त्यसैले आप्रवासनलाई स्थायी बसाइँ होइन, केही समयका लागि गरिएको यात्रा मात्रै मानिन्थ्यो । अन्ततः फर्किने घर नेपाल नै हो भन्ने विश्वास समाजमा गहिरो थियो । विदेश पुगेकाबाट पनि एक दिन फर्केर ज्ञान, सीप, अनुभव र पुँजी देशकै विकासमा लगाउने अपेक्षा गरिन्थ्यो । राष्ट्रसँगको सम्बन्धको आधार भौगोलिक उपस्थितिलाई नै मानिने भएकाले देशभन्दा बाहिर बसेर पनि राष्ट्रसँग उस्तै गहिरो सम्बन्ध कायम रहन सक्छ भन्ने कल्पना त्यतिबेला लगभग अकल्पनीय थियो ।

राष्ट्रवादको नयाँ भूगोल

तर, आजको नेपालले राष्ट्रवादको यही भूगोलकेन्द्रित अवधारणालाई बिस्तारै र निर्णायक रूपमा चुनौती दिइरहेको छ । गाउँका रित्ता चिया पसलमा अब खेतीपाती, स्थानीय विकास वा गाउँको राजनीतिभन्दा बढी चर्चा हुने विषय विदेश हो । ‘फलानो अस्ट्रेलिया गयो’, ‘फलानो जापान पुग्यो’, ‘फलानो क्यानडा लाग्यो’, ‘छोरो कोरिया जाने तयारीमा छ’, ‘छोरीको भिसा आयो रे’– यस्ता वाक्य अहिले नेपाली गाउँ–जीवनको सबैभन्दा सामान्य सामाजिक भाषा बनिसकेका छन् । एक समय परदेश अपवाद थियो, आज आकांक्षाको नयाँ भूगोल बनेको छ । विदेश अब केवल गन्तव्य होइन, भविष्यको पर्यायजस्तै बन्न थालेको छ ।

धेरै अघिसम्म आमाबुबाले छोराछोरीलाई सोध्ने प्रश्न थियो, ‘ठूलो भएर के बन्छौ ?’ यो प्रश्नले भविष्यलाई कुनै पेसामार्फत कल्पना गर्थ्यो– शिक्षक, इन्जिनियर, डाक्टर, अनुसन्धानकर्ता, उद्यमी वा निजामती कर्मचारी । तर, आज त्यो प्रश्न बिस्तारै फेरिएको छ । अहिले धेरै घरमा पहिलो प्रश्न हुन्छ, ‘कुन देश जाने सोच छ ?’ सतहमा हेर्दा यो केवल शब्द फेरिएको जस्तो लाग्न सक्छ । तर, वास्तवमा यो नेपाली समाजको आकांक्षा परिवर्तन भएको संकेत हो । पहिले भविष्यको परिचय पेसाले दिन्थ्यो, आज गन्तव्यले दिन थालेको छ । एक समय ‘के बन्ने ?’ प्रश्नले जीवनको दिशा तय गर्थ्यो, आज ‘कहाँ जाने ?’ प्रश्नले त्यसलाई प्रतिस्थापन गरिरहेको छ । फलतः धेरै नेपाली युवाले आफ्नो परिचय के हुने भन्ने निर्णय गर्नुभन्दा पहिले जीवन कहाँ बिताउने भन्ने निर्णय गर्न बाध्य हुन थालेका छन् ।

सानो देखिने यो परिवर्तनले वास्तवमा समकालीन नेपाली समाजको सबैभन्दा गहिरो रूपान्तरणलाई संकेत गर्छ । विदेश जानु अब बेरोजगारी, न्यून आम्दानी वा सीमित अवसरबाट उम्किने आर्थिक रणनीति मात्रै रहेन– नेपाली समाजको एउटा शक्तिशाली सामाजिक संस्था बनिसकेको छ । यसले युवाका आकांक्षा, शैक्षिक रोजाइ, पारिवारिक लगानी, विवाहका निर्णय, सामाजिक प्रतिष्ठा र सफलताको मापदण्डसम्मलाई पुनःपरिभाषित गरिरहेको छ । 

आज हजारौं युवा श्रम बजारमा प्रवेश गर्नुभन्दा धेरै अघि नै भाषा कक्षा, आईईएलटीएस वा जापानी–कोरियन भाषा परीक्षा, शिक्षा परामर्श संस्था, भिसा प्रक्रिया र अन्तर्वार्ताको तयारीमा वर्षौं बिताउँछन् । धेरै परिवारका लागि शिक्षामा गरिएको लगानीको अन्तिम उद्देश्य अब केवल ज्ञान आर्जन होइन, त्यो अन्तर्राष्ट्रिय गतिशीलतामा लगानी हो । शिक्षा आफैंमा अन्तिम लक्ष्य कम र विदेश जाने माध्यम बढी बन्दै गएको छ । फलतः शैक्षिक उपलब्धिको अर्थ पनि बदलिँदै गएको छ । डिग्रीले अब नेपाली अर्थतन्त्रमा योगदान गर्ने तयारीभन्दा बढी अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्ने प्रमाणपत्रको रूप लिन थालेको छ । यस अर्थमा, आजको नेपालमा शिक्षा, सीप र पेसा आफैंमा अन्तिम गन्तव्य होइनन्– ती विदेश पुग्ने यात्राका ‘ट्रान्जिट’ बनेका छन् । युवाहरू पहिले आफ्नो करियर निर्माण गर्न होइन, भूगोल परिवर्तन गर्न तयार भइरहेका छन् । यो अवस्थामा परिवर्तन अर्थतन्त्रमा मात्र होइन, समाजको सामूहिक कल्पनामा पनि भइसकेको हुन्छ ।

यो रूपान्तरणले नेपाली समाजमा सफलताको मापदण्ड र सामाजिक प्रतिष्ठाको संरचनालाई पनि मौन रूपमा पुनः व्यवस्थित गरिरहेको छ । आज धेरै समुदायमा विदेश पुग्नु आर्थिक उपलब्धि मात्रै होइन, सामाजिक सफलताको सबैभन्दा बलियो प्रतीकमध्ये एक बनेको छ । कुनै युवाले भिसा पाएको खबरले कहिलेकाहीँ उत्कृष्ट शैक्षिक उपलब्धिभन्दा बढी उत्साह र गौरव पैदा गर्छ । आज धेरै परिवारमा अस्ट्रेलिया, क्यानडा, जापान वा अमेरिका पुगेको खबर गर्वका साथ सुनाइन्छ । विवाहका कुराकानीमा पनि विदेशमा रहेका वा विदेश जाने सम्भावना भएका युवायुवतीलाई प्राथमिकता दिइनु असामान्य रहेन । यसको उल्टो, नेपालमै बसेर भविष्य बनाउन खोज्ने युवाले प्रायः अर्को प्रश्नको सामना गर्नुपर्छ, ‘अहिलेसम्म यतै छौ ? विदेश जाने सोच छैन ?’ यी प्रश्नले जिज्ञासा होइन, समाजको बदलिँदो मूल्य प्रणालीलाई प्रतिविम्बित गर्छन् । 

आप्रवासन यति सामान्य भइसकेको छ कि विदेश जानु प्रगतिको स्वाभाविक बाटो मानिन थालेको छ, जबकि आफ्नै देशमा बस्ने निर्णय आफैं स्पष्टीकरण माग्ने विषय बन्न पुगेको छ । यसरी सफलताको अर्थ बिस्तारै पेसाले होइन, भूगोलले निर्धारण गर्न थालेको छ । यसरी नेपाली समाजमा सफलताको सामाजिक भाषासमेत फेरिएको छ । पहिले प्रतिष्ठाको परिचय पेसाले दिन्थ्यो, आज गन्तव्यले दिन थालेको छ । मानिस के गर्छ भन्नेभन्दा ऊ कहाँ छ भन्ने विषय बढी अर्थपूर्ण बन्दै गएको छ । सफलताको मापन क्रमशः योग्यता, सीप वा योगदानबाट सरेर भूगोलसँग गाँसिन थालेको छ । वास्तवमा समकालीन नेपालमा सफलताको पनि आफ्नै एउटा भूगोल निर्माण भएको छ ।

यी परिवर्तनले ‘ब्रेन ड्रेन’, ‘श्रम आप्रवासन’ वा ‘युवा पलायन’ का स्टेरियोटिपिकल अर्थ जनाउँछन्, मानिसको आवतजावत देखाउँछन् । तर, नेपाली समाजको सामूहिक कल्पनामा आएको गहिरो परिवर्तनलाई समात्न सक्दैनन् । नेपालले अब श्रम शक्ति मात्रै निर्यात गरिरहेको छैन– आफ्नो भविष्य निर्माण गर्ने पुस्तालाई पनि विदेश पठाइरहेको छ । देशले आफ्ना आकांक्षा, सम्भावना र सपनासमेत सीमापार पठाइरहेको सन्दर्भमा, ‘फलानालाई भोट हालेनौ भने पैसा पठाउँदिनँ’ भनी विदेशबाट छोराछोरीले यसपालिको चुनावमा घरमा बाआमालाई यसरी दिएको घुर्की, देश परिवर्तनको आकांक्षा थियो ।

आज नेपालको भविष्य केवल काठमाडौं, पोखरा वा विराटनगरमा मात्रै कल्पना गरिँदैन– सिड्नीका विश्वविद्यालयका कक्षाकोठामा, टोकियोका भाषा विद्यालयहरूमा, दोहाका निर्माणस्थलहरूमा, विश्वकप भइरहेका स्टेडियममा, टोरन्टोका अस्पतालहरूमा र युरोप तथा उत्तर अमेरिकाका विश्वविद्यालय र कार्यस्थलहरूमा पनि उत्तिकै गहिरोसँग कल्पना भइरहेको छ । नेपालको राजनीतिक सिमाना जहाँ समाप्त हुन्छ, त्यहाँबाट नेपाली समाजको कल्पना भने समाप्त हुँदैन । बरु, त्यहीँबाट यसको नयाँ भूगोल सुरु हुन्छ । राष्ट्रवादले नयाँ ठेगाना पाइसकेको छ ।

तर, हाम्रो सार्वजनिक बहस अझै पुरानै शब्दावलीभित्र अल्झिएको छ । आज नेपालको मूल प्रश्न केवल लाखौं युवा किन विदेशिए भन्ने होइन । वास्तविक प्रश्न त यो हो– जब एउटा राष्ट्रका सपना, आकांक्षा, लगानी र भावनात्मक सम्बन्धहरू आफ्नै सीमाभन्दा बाहिर निर्माण हुन थाल्छन्, तब त्यो राष्ट्रलाई हामी कसरी बुझ्ने ? राष्ट्रको भविष्य कहाँ लेखिँदै छ ? र, राष्ट्रवादको केन्द्र आखिर कहाँ रहन्छ ?

यी प्रश्नको उत्तर खोज्न हामीले राष्ट्रवादको एउटा स्थिर भौगोलिक ठेगाना हुन्छ भन्ने पुरानो मान्यतालाई पुनर्विचार गर्नैपर्छ । समकालीन नेपालले हामीलाई फरक कथा सुनाइरहेको छ । राष्ट्र नागरिकको जीवनबाट हराएको छैन, न राष्ट्रप्रतिको माया कमजोर भएको छ । बदलिएको विषय त्यो माया व्यक्त हुने ठाउँ हो, त्यो सम्बन्ध निर्माण हुने भूगोल हो र नेपाललाई कल्पना गर्ने दृष्टि हो । त्यसैले आजको नेपाल बुझ्न राष्ट्रवादलाई केवल सिमाना, नक्सा र भूगोलभित्र खोजेर पुग्दैन । हामीले त्यो दूरीभित्र पनि खोज्न सिक्नुपर्छ, जहाँ हजारौं किलोमिटर टाढा बसेका नेपालीले अझै आफ्नो भविष्य, पहिचान र  देशलाई एउटै भावनात्मक धागोले जोडिरहेका छन् ।

राज्यले हेरिरहेको पुरानो नक्सा
आजको नेपालको सबैभन्दा ठूलो विडम्बना यही हो– समाज धेरै अगाडि बढिसकेको छ तर राज्य अझै पुरानै नक्सामा राष्ट्रवाद खोजिरहेको छ । नेपाली समाजले आफ्ना आर्थिक सम्बन्ध, पारिवारिक जीवन, सामाजिक सञ्जाल, सांस्कृतिक अभ्यास र राजनीतिक चासोलाई सीमापार फैलाइसकेको छ । तर, राज्यको राष्ट्रवाद अझै सिमाना, नक्सा, झन्डा र नाराभित्रै सीमित छ । समस्या यी प्रतीकको महत्त्वमा होइन, समस्या यति मात्रै हो कि आजको समाजलाई ती प्रतीकले मात्रै व्याख्या गर्न सक्दैनन् ।

राज्यले विदेश गएका नेपालीलाई प्रायः दुई रूपमै देख्छ– रेमिट्यान्स पठाउने श्रमिक वा फर्किनुपर्ने नागरिक । तर, उनीहरू यति मात्रै होइनन्– नेपालका नयाँ राजनीतिक, आर्थिक र सांस्कृतिक पात्र पनि हुन् । उनीहरूले विदेशबाट नेपालको चुनाव नियालिरहेका छन्, सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसमा हस्तक्षेप गरिरहेका छन्, प्राकृतिक विपत्तिमा सबैभन्दा पहिले सहयोग जुटाइरहेका छन्, आफ्ना गाउँमा विद्यालय, पुस्तकालय र स्वास्थ्य संस्थामा लगानी गरिरहेका छन् । उनीहरू भौगोलिक रूपमा बाहिर भए पनि नेपालको सामाजिक जीवनभित्रै छन् । उनीहरू सीमापार बसेका नागरिक मात्रै होइनन्, सीमापार बसेको नेपाल पनि हुन्।

त्यसैले प्रश्न अब केवल ‘युवा किन विदेशिए ?’ होइन । त्यो प्रश्न धेरै पटक सोधिसकियो । आजको गम्भीर प्रश्न अर्कै छ– राष्ट्रले नागरिकलाई कहाँ भेट्छ ? केवल सीमाभित्र, कि सीमापार पनि ? यदि लाखौं नेपालीको दैनिकी, श्रम, लगानी, सम्झना र भविष्य सीमापार फैलिएको छ भने के राष्ट्रको कल्पना पनि त्यही अनुपातमा विस्तार हुनु पर्दैन ? राज्यले अझै भूगोललाई स्थिर मानेर राष्ट्रलाई बुझिरहेको छ, जबकि समाजले धेरैअघि नै राष्ट्रलाई गतिशील बनाइसकेको छ ।

त्यसैले आजको नेपालको विभिन्न संकट आप्रवासनको कारण मात्रै होइन, राष्ट्रवादको परम्परागत विचारले पनि हो । हामीले राष्ट्रलाई नागरिकको बसोबाससँग जोडेर बुझ्यौं तर नागरिकहरू राष्ट्रलाई आफ्नो सम्बन्धसँग जोडेर बाँचिरहेका छन् । एउटा नेपाली सिड्नीमा बस्न सक्छ, कर अस्ट्रेलियालाई तिर्न सक्छ तर आफ्ना आमाबुबाको उपचार, गाउँको विद्यालय, स्थानीय निर्वाचन र नेपालको भविष्यप्रति उसको चिन्ता उत्तिकै जीवित हुन सक्छ । राष्ट्रसँगको सम्बन्ध अब केवल भौतिक उपस्थितिले निर्धारण गर्दैन– त्यसलाई स्मृति, उत्तरदायित्व, भावनात्मक लगाव र निरन्तरको संलग्नताले पनि निर्माण गर्छ ।

यसको अर्थ युवा पलायनलाई सामान्य ठान्नुपर्छ भन्ने होइन । बरु यसको अर्थ ठीक उल्टो हो । यदि एउटा समाजमा आफ्नै देशमा बस्नुभन्दा विदेशिनु बढी तर्कसंगत निर्णय बन्न थाल्छ भने त्यो युवाको असफलता होइन, राज्यको असफलता हो । राष्ट्रवादको रक्षा केवल सीमा सुरक्षाले गर्दैन, त्यसका लागि त्यस्तो समाज निर्माण गर्नुपर्छ, जहाँ नागरिकले आफ्नो भविष्य देशभित्रै कल्पना गर्न सकून् । देशप्रेम छोटामीठा भाषणले उत्पन्न हुँदैन– त्यसलाई न्यायपूर्ण संस्था, विश्वसनीय शासन, सम्मानजनक रोजगारी र भविष्यप्रतिको आशाले टिकाइराख्छ ।

त्यसैले आजको नेपालको सबैभन्दा ठूलो चुनौती राष्ट्रवादलाई पुनःपरिभाषित गर्नु हो । यदि बेनेडिक्ट एन्डरसनले राष्ट्रलाई ‘कल्पित समुदाय’ भनेका थिए भने, आजको नेपालले त्यो कल्पनाको भूगोल बदलिएको देखाइरहेको छ । नेपाल अब केवल आफ्नो नक्साभित्र बस्ने मानिसहरूको साझा समुदाय मात्रै होइन– संसारैभर छरिएका नेपालीको पनि साझा सामाजिक संसार हो । नेपालको राजनीतिक सिमाना जहाँ समाप्त हुन्छ, नेपालको सामाजिक जीवन त्यहाँ समाप्त हुँदैन ।

सायद आजको नेपालको सबैभन्दा ठूलो सत्य यही हो– राष्ट्रवाद कमजोर भएको छैन, उसको भूगोल बदलिएको छ । नेपालको नक्सा उही छ । तर, नेपाललाई कल्पना गर्ने भूगोल अब सीमाभन्दा धेरै पर फैलिएको छ ।

सीपी समाजशास्त्रमा विद्यावारिधि गरेका अर्यालले समाज र राजनीतिक वृहत आयाममाथि लेख्छन् ।

Link copied successfully