केवल माया गर्ने ‘असल’ आमाबुबा हुनुभन्दा नानीहरूलाई जीवनकला सिकाउने ‘कुशल’ अभिभावक बन्नु आजको आवश्यकता हो
What you should know
काठमाडौंको एउटा नाम चलेको निजी विद्यालयमा कक्षा २ पढ्ने ७ वर्षे आरभको नतिजा र व्यवहार हेरेपछि उनका बुवाआमा स्तब्ध भए । ‘तपाईंहरूको बच्चामा एकाग्रताको चरम कमी छ, कक्षामा ध्यान दिँदैन र घरका लागि दिएका प्रयोगात्मक परियोजनाहरू पनि कहिल्यै पूरा हुँदैनन्,’ शिक्षकले ‘शिक्षक–अभिभावक चौतारी’ मा यसो भनिरहँदा तिनको टाउको लाज र चिन्ताले निहुरिएको थियो ।
उनीहरूले छोराको उज्यालो भविष्यका लागि महँगो शुल्क, ठूलो भवन र अंग्रेजी माध्यमको वातावरण हेरेर विद्यालय त छानेका थिए, तर त्यही विद्यालय अहिले उनीहरूका लागि दैनिक तनावको मुख्य कारण बनेको थियो । विद्यालयले आफ्नो नतिजा राम्रो देखाउन साना बच्चालाई पनि अत्यधिक गृहकार्य र कठिन गृह–परियोजनाको बोझ दिन्थ्यो, जसलाई पूरा गराउन आरभकी आमा आफैं हरेक रात ‘अंशकालीन शिक्षक’ बन्न बाध्य थिइन् ।
वास्तवमा, यो समस्या आज सहरी जीवन, एकल परिवार र कामकाजी अभिभावकत्वको बढ्दो चपेटाका कारण सहर–सहरमा मौलाइरहेको छ । आजका आमाबुवा बच्चा जन्मिएलगत्तै शिशु–सहार केन्द्र (डेकेयर) वा प्रारम्भिक बाल–विकास केन्द्र (प्रि–स्कुल) मा पूर्ण रूपमा निर्भर हुनुपर्ने बाध्यता छ । सहरी जीवनको व्यस्ततामा एउटा तीतो सत्य लुकेको छ– आजका बच्चाले अभिभावकभित्र केवल संरक्षक मात्रै होइन, वास्तविक आमाबुवा खोजिरहेका हुन्छन् । तर विडम्बना, उनीहरू कि त शिशु–स्याहार केन्द्रको कोठामा बन्द हुन्छन् कि अरू कसैको नौलो काखमा ओतिएका । यो उनीहरूको एउटा गहिरो भावनात्मक खोजी हो, जुन प्यास मेटाउन आमाबुवा आफैं तिनको सामीप्यमा हुनु र सँगै समय बिताउनु अत्यावश्यक हुन्छ ।
आजको आधुनिक शिक्षा प्रणाली फेरिएको छ । प्रयोगात्मक सिकाइ, प्रविधिको प्रयोग र अनलाइन कार्यको बाहुल्यता छ । यो बदलिँदो प्रणालीमा चौबीसै घण्टा अभिभावकको प्रत्यक्ष सहभागिता खोजिन्छ । यहींनिर आजका आमाबुवा ‘असल अभिभावक’ र ‘कुशल अभिभावक’ को चेपुवामा छन् । हिजोको समय र शिक्षा प्रणाली बिल्कुलै फरक थियो । पुरानो शिक्षा प्रणाली निकै सीधा, सरल र रैथाने हुन्थ्यो, जहाँ कण्ठ गर्ने र परीक्षामा धेरै अंक ल्याउनेमा मात्रै जोड दिइन्थ्यो । र, अभिभावकले विद्यालयमा भर्ना गरिदिएपछि बाँकी काम शिक्षककै हुन्थ्यो । त्यो समयका बालबालिका संयुक्त परिवारको ओतभित्र हुर्कन्थे, जहाँ आमाबुवा काममा जाँदा पनि हजुरबुवा, हजुरआमा, काकाकाकी वा फुपूहरूको प्रत्यक्ष निगरानी र काख उपलब्ध हुन्थ्यो । पुराना पुस्ताका ती बालबालिकाहरू विद्यालयबाट फर्किएपछि कुनै महँगा यन्त्र वा दृश्य–पटमा भुल्दैनथे, बरु आँगनमा माटो, ढुंगा, डन्डीबियो वा चंगा उडाएर दौंतरीहरूसँग प्राकृतिक रूपमा सामाजिक सीप र सहकार्य सिक्थे । त्यतिबेला न गृहकार्यको यति विघ्न बोझ हुन्थ्यो, न आमाबुवाले रातभरि बसेर परियोजना कार्य नै बनाइदिनुपर्थ्यो ।
तर, आजको आधुनिक शिक्षा प्रणाली फेरिएको छ । प्रयोगात्मक सिकाइ, प्रविधिको प्रयोग र अनलाइन कार्यको बाहुल्यता छ । यो बदलिँदो प्रणालीमा चौबीसै घण्टा अभिभावकको प्रत्यक्ष सहभागिता खोजिन्छ । यहींनिर आजका आमाबुवा ‘असल अभिभावक’ र ‘कुशल अभिभावक’ को चेपुवामा छन् । आजका आमाबुवा ‘असल अभिभावक’ त हुन्, तर यो जटिल संसारमा बच्चाको मनोविज्ञान बझ्ने, प्रविधिको प्रयोग सन्तुलन गर्ने र विद्यालयसँग सही सहकार्यको व्यावहारिक सीप भएको ‘कुशल अभिभावक’ बन्न चुकेका छन् । यसको मुख्य कारण आजको आधुनिक डिजिटल जीवनशैली अर्थात् ‘दृश्य–पट (स्क्रिन) को संसार’ र यसले बालबालिकाको मस्तिष्कमा पारिरहेको गम्भीर असर नै हो । बच्चाहरू आफैं बजार गएर आधुनिक यन्त्र वा स्मार्टफोन किन्दैनन्, बरु आमाबुवा नै सन्तानलाई ग्याजेट वा इन्टरनेटका सामग्री पहिलो पटक उपहार दिने वा भिडियो देखाएर फकाउने ‘पहिलो माध्यम’ बनिरहेका छन् ।
अत्यधिक दृश्य–पटको झुकावले बच्चाको कलिलो मस्तिष्कको प्राकृतिक विकास रोकिदिन्छ, जसकारण भाषा सिक्ने शैली, संवेगात्मक सन्तुलन र ध्यानकेन्द्रित गर्ने क्षमतामा गम्भीर ह्रास आउँछ । यसको प्रत्यक्ष असर विद्यालयको पढाइमा देखिन्छ । यही मार्गनिर्देशन, संयुक्त परिवारको स्नेह र सही रेखदेखको अभावमा बच्चाहरूमा अन्य गम्भीर नकारात्मक व्यवहार र बानी व्यहोरा पनि मौलाउन थाल्छन् । जब बच्चाले घर वा विद्यालयमा सही संस्कार, समय र गुणस्तरीय संवाद पाउँदैनन्, उनीहरूमा साथीलाई जिस्काउने, होच्याउने र मानसिक रूपमा सताउने खराब बानी देखिन्छ । कहिलेकाहीं उनीहरू इन्टरनेट, सामाजिक सञ्जाल वा वरपरको वातावरणबाट अश्लील वा अभद्र शब्द सिकेर परिवार र विद्यालयमा समेत अपमानजनक भाषा प्रयोग गर्छन् । यस्ता व्यवहारगत समस्या सुधार्न विद्यालय र घर दुवै पक्षले ‘संयुक्त रूपमा’ कदम चाल्नु आवश्यक हुन्छ ।
यो चक्रव्यूहमा आज अभिभावक मात्रै होइन, शिक्षक पनि उत्तिकै पेलिएका छन् । ‘अभिभावक पनि बोझिलो महसुस गर्छन्, शिक्षक पनि’ भन्ने भनाइ आजको शिक्षा क्षेत्रको तीतो सत्य बनेको छ । एकातर्फ अभिभावक कामको व्यस्तताबीच विद्यालयको आधा काम घरमै सरेकोमा थिचिएका छन्, अर्कोतर्फ शिक्षकलाई पनि पढाउने मात्रै होइन, प्रत्येक बच्चाको निरन्तर मूल्यांकन गर्ने, शिक्षण प्रतिवेदन बनाउने र सयौं अभिभावकका सन्देशको तत्काल जवाफ दिनुपर्ने मानसिक दबाब छ । यसरी दुवै पक्ष अत्यधिक कार्यबोझले थिचिएका कारण उनीहरूबीच हुनुपर्ने सुमधुर समन्वय ‘झमेला’ मा परिणत भइरहेको छ ।
केवल माया गर्ने ‘असल’ आमाबुवा हुनुभन्दा बच्चालाई जीवन जिउने कला सिकाउने ‘कुशल’ अभिभावक बन्नु आजको आवश्यकता हो । यो समस्याको वास्तविक समाधान तब मात्रै निस्कन्छ जब विद्यालय र घरबीचको दूरी मेटिएर दुवै पक्षको ‘जित’ हुने वातावरण बन्छ । शिक्षक र अभिभावक प्रतिस्पर्धी होइनन्, बरु एउटै डुंगाका दुई माझी हुन्, जसको साझा लक्ष्य बच्चाको सर्वांगीण विकास हो । यसका लागि विद्यालयले घरमा गर्न नसकिने खालका कठिन र बोझिला परियोजनाको भार दिनु हुँदैन भने अभिभावकले पनि व्यस्तताको बहानामा बच्चालाई प्रविधिको दास बनाउनु हुँदैन ।
आमाबुवाले आफ्नो दृश्य–पट (स्क्रिन टाइम) कम गरेर बच्चाका अगाडि सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्छ । जतिसुकै व्यस्त भए पनि दिनको कम्तीमा आधा घण्टा सञ्चारका साधन पूर्ण रूपमा बन्द गरेर बच्चासँग भुइँमा बसेर खेल्ने, कुरा सुन्ने वा कथा सुनाउने वातावरण बनाउनुपर्छ । घरमा खाना खाने ठाउँ र सुत्ने कोठामा आधुनिक प्रविधि निषेध गर्नुपर्छ ।
कुशल अभिभावक बन्न बच्चाको जीवनोपयोगी सीपमा आधारित पुरस्कारको ढाँचा र वास्तविक सीप विकासमा सही लगानी गर्नुपर्छ । प्रलोभनका रूपमा चकलेट, महँगा खेलौना वा कम्प्युटर गेम दिनुको साटो पुरस्कारलाई अनुभव र समयको उपहारसँग जोड्नुपर्छ । जस्तै राम्रो कामको कदरस्वरूप शनिबार सँगै पैदल यात्रा (हाइकिङ) जाने, पौडी खेल्न वा चित्र कोर्न सिकाउने वा भान्सामा सुरक्षित रूपमा सलाद काट्न र परिकार सजाउन सघाउने जिम्मेवारी दिने । यसले बच्चामा आत्मनिर्भरता, सही भाषाको छनोट र निर्णय गर्ने क्षमता बढाउँछ ।
महँगो विद्यालयको शुल्क तिर्नु वा भौतिक सुखसुविधा किनिदिनु मात्रै लगानी होइन, कुशल अभिभावकले बच्चालाई सानै उमेरदेखि गोजीखर्च व्यवस्थापन गर्ने आर्थिक साक्षरता सिकाउनुपर्छ, खेलौना बिग्रँदा वा साथीसँग झगडा हुँदा आफैं अघि सरेर सुल्झाइदिनुको साटो उनीहरूलाई नै सोच्न लगाएर समस्या आफैं सुल्झाउने सीपको विकास गराउनुपर्छ । र, बच्चा रिसाउँदा वा रुँदा आफू पनि नझर्किएर शान्त व्यवहारद्वारा भावना व्यवस्थापन गर्न सिकाउनुपर्छ ।
जब अभिभावकहरूले भौतिक सामानको साटो बच्चालाई आफ्नो समय, सीप, संयुक्त व्यावहारिक प्रयास र सही संस्कारको लगानी गर्छन्, तब विद्यालयको भार पनि कम हुन्छ र घरमा पनि शान्ति छाउँछ । यही नै आधुनिक शिक्षाको वास्तविक र सुन्दर समाधान हो ।
