किन गुम्दै छ परीक्षाको विश्वसनीयता ?

परीक्षामा प्राप्त ग्रेडमाथि विद्यार्थीको अविश्वास, नतिजाको विश्वसनीयतामा अभिभावकको शंका, ग्रेडको वैधतामा रोजगारदाताको प्रश्न र ग्रेड सिटमाथि विश्वविद्यालयको संशयले परीक्षा प्रणालीमा मात्रै असर गर्दैन, सम्पूर्ण शिक्षा प्रणालीको आधार नै कमजोर बनाउँछ ।

असार २९, २०८३

मेदिन लामिछाने

विद्यार्थीले परीक्षामा प्राप्त गरेको ग्रेडमा मात्रै टिकेको हुँदैन– परीक्षाको वैधता र विश्वसनीयता । जब विद्यार्थीले पाएको ग्रेडले उसको वास्तविक सिकाइ बोकेको हुन्छ, तब मात्रै परीक्षाको परिणामको वैधता र विश्वसनीयता बढ्छ । 

परीक्षाको वैधता र विश्वसनीयता समाजको विश्वासमा पनि टिकेको हुन्छ । समाजले कुनै बोर्डको प्रमाणपत्रलाई उच्च मूल्य र कुनै बोर्डको प्रमाणपत्रलाई न्यून मूल्य दिएको पाइन्छ । हरेक परीक्षाले सार्वजनिक विश्वास आर्जन गर्न सक्नुपर्छ । सार्वजनिक विश्वास आर्जन गर्न नसक्ने परीक्षाको विश्वसनीयता, निष्पक्षता र गुणस्तरमा जहिल्यै प्रश्न उठिरहन्छ । त्यस्ता परीक्षाले दिने प्रमाणपत्रलाई विश्वविद्यालय र रोजगारदाताले समेत विश्वसनीय मान्दैनन् । वैधता र विश्वसनीयता गुमाएको परीक्षाको नतिजाले समाजको शिक्षाप्रतिको भरोसालाई समेत प्रभाव पार्छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेपश्चात् नतिजालाई लिएर विद्यार्थीले असन्तुष्टि प्रकट गरिरहेका छन् । उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको, पुनरावलोकन प्रक्रिया पारदर्शी नभएको भन्दै विद्यार्थीले सडकदेखि सामाजिक सञ्जालसम्मै आवाज उठाइरहेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शन र उत्तरपुस्तिका पुनःपरीक्षणको मागलाई केवल असन्तुष्ट विद्यार्थीको प्रतिक्रिया मात्रै भनेर बुझियो भने घातक हुन्छ । विद्यार्थीको अहिलेको आवाजले राष्ट्रिय परीक्षा बोर्डप्रतिको सार्वजनिक विश्वास कमजोर हुँदै गएको संकेत गरेको छ । यो देशका लागि निकै सोचनीय विषय हो । किनकि यसले राष्ट्रिय परीक्षा बोर्डको विश्वसनीयता घटाउँछ, प्रमाणपत्रको वैधतामा प्रश्न खडा गर्छ । र, अन्त्यमा हाम्रो समग्र शिक्षा प्रणालीमाथि नै बाह्य जगत्को विश्वास गुम्न सक्छ ।  

शिक्षा तथा खेलकुद मन्त्रालयले यस वर्षको माध्यमिक तहको परीक्षाको नतिजा र परीक्षण दुवैमा उल्लेखनीय सुधार भएको जनाएको छ । परीक्षकलाई जिम्मेवार बनाएको कारण ग्रेडको प्रतिशत बढेको, छिटो नतिजा प्रकाशन गर्न सकिएको र इमानदारीपूर्वक उत्तरपुस्तिका परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको भनाइ आफ्नो ठाउँमा सही होला । 

यस आलेखमा यो विषयमा प्रश्न उठान गर्न खोजिएको होइन । प्रश्न हो– विद्यार्थीको सिकाइलाई वैध र विश्वसनीय तरिकाले परीक्षण गरिएको छ कि छैन ? यो प्रश्न राष्ट्रिय परीक्षा बोर्डसँग मात्रै सम्बन्धित छैन । यसको सम्बन्ध आन्तरिक मूल्यांकन गर्ने शिक्षक र समग्र मूल्यांकन प्रणालीसँग पनि छ । त्यसैले सडक र सामाजिक सञ्जालमा उठेको यो बहसलाई फगत केही दिनको असन्तुष्टिका रूपमा मात्रै नहेरी परीक्षा र मूल्यांकनलाई रूपान्तरण गर्ने अवसरका रूपमा पनि हेरिनुपर्छ ।     

प्रश्न हो– विद्यार्थीको सिकाइलाई वैध र विश्वसनीय तरिकाले परीक्षण गरिएको छ कि छैन ? यो प्रश्न राष्ट्रिय परीक्षा बोर्डसँग मात्रै सम्बन्धित छैन । यसको सम्बन्ध आन्तरिक मूल्यांकन गर्ने शिक्षक र समग्र मूल्यांकन प्रणालीसँग पनि छ । हाम्रो सन्दर्भमा परीक्षा विद्यार्थीलाई श्रेणीकरण गर्ने र कक्षा चढाउने विषयसँग मात्रै जोडियो । विद्यार्थीको सिकाइसँग जोडिएन । विद्यार्थीले वर्षैभरि निर्माण गरेको ज्ञान र सिकेको सीपको परीक्षण तीन–घण्टे परीक्षा (तीनघण्टे परीक्षालाई रूपक अलंकारका रूपमा प्रयोग गरिएको छ) ले मापन गरियो भने त्यो विद्यार्थीका लागि न्यायसंगत हुँदैन । उनीहरूले वर्षभरि निर्माण गरेको ज्ञान र सिकेको सीपलाई सिकाइका धेरै प्रमाणद्वारा पुष्टि गर्नुपर्छ । त्यसका लागि परीक्षालगायत खोज कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, प्रस्तुति, कार्यसञ्चयिका, विद्यार्थीको सिकाइमा सहभागिता, उपस्थिति, प्रतिबिम्बन जस्ता मूल्यांकनका साधनको प्रयोग गरिनुपर्छ । तब मात्रै विद्यार्थीको वास्तविक सिकाइ मापन गर्न सकिन्छ । तोकिएको समयमा परीक्षा मात्रै लिएर विद्यार्थीको मूल्यांकन गरी सिकाइको ग्रेडिङ गरियो भने त्यसले विद्यार्थीको वास्तविक सिकाइ प्रतिबिम्बन गर्दैन । विद्यार्थीको वास्तविक सिकाइ प्रतिबिम्बन नगर्ने सिकाइको नतिजा वैध र विश्वसनीय हुँदैन ।  

हाम्रो राष्ट्रिय परीक्षाको मूल्यांकन तीनघण्टे परीक्षामा अत्यधिक निर्भर छ । विद्यालयलाई केही प्रतिशतमा आन्तरिक मूल्यांकन गर्ने छुट पनि दिइएको छ । समस्या बाह्य परीक्षा र आन्तरिक मूल्यांकन दुवैमा उत्तिकै छ । आन्तरिक मूल्यांकनको वैधता र विश्वसनीयतामा प्रश्न गर्ने ठाउँ प्रशस्तै छ । प्रायः सबै विद्यालयले ८० प्रतिशतभन्दा बढी नै अंक दिएको पाइन्छ । आन्तरिक मूल्यांकन र बाह्य मूल्यांकनबीच ग्रेडको फरक पत्याइनसक्नुको हुन्छ । विद्यालयबीच आन्तरिक  मूल्यांकनमा उल्लेखनीय असमानता  देखिन्छ । अधिकांश विद्यालयले आन्तरिक मूल्यांकनमा उदारता देखाएका हुन्छन् भने केही अपवादका विद्यालयले कडाइ गरेको पनि पाइन्छ । यसले समान सिकाइ स्तर भएका दुई विद्यार्थीले विद्यालय फरक भएकै आधारमा फरक ग्रेड प्राप्त गर्ने अवस्था सिर्जना भएको छ ।   

हाम्रो राष्ट्रिय र स्थानीयस्तरको परीक्षामा उत्तरपुस्तिका परीक्षण रुब्रिक्सका आधारमा नभई परीक्षकको अनुभव र व्यक्तिगत बुझाइका आधारमा गरिन्छ । मार्किङ स्किम बनाइए पनि त्यसअनुसार परीक्षण गरिँदैन । यसरी उत्तरपुस्तिका परीक्षण गर्दा एउटै उत्तरलाई फरक परीक्षकले फरक अंक दिने सम्भावना स्वाभाविक बढ्छ । विद्यार्थीको लेखाइले भन्दा परीक्षकको बुझाइले ग्रेड निर्धारण हुन्छ । 

उत्तरपुस्तिका परीक्षण विशिष्ट पेसागत दक्षता आवश्यक पर्ने कार्य हो । उत्तरपुस्तिका परीक्षण गर्न परीक्षकको विषयगत ज्ञान आवश्यक हुन्छ, तर पर्याप्त हुँदैन । परीक्षणका मापदण्डको समान बुझाइ, उत्तर विश्लेषण गर्ने क्षमता, अंक वितरणमा एकरूपता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । उत्तरपुस्तिका परीक्षण सामान जोखेजस्तो वा वस्तु नापेजस्तो ठ्याक्कै जोख्न र नाप्न त सकिँदैन, तर मापनको फराकिलोपन कम गर्न सकिन्छ । त्यसैले यस्तो कार्यका लागि तालिम र प्रमाणीकरण आवश्यक हुन्छ ।  

परीक्षाको नतिजा प्रकाशनपश्चात् परीक्षार्थीलाई नतिजा चित्त नबुझे पुनरावलोकनको मौका दिइन्छ । पुनरावलोकन प्रक्रियाप्रति पनि परीक्षार्थीको व्यापक असन्तुष्टि देखिन्छ । धेरै विद्यार्थीको बुझाइमा पुनरावलोकनले मुख्यतः अंक गणना वा प्राविधिक त्रुटि मात्रै जाँच्ने काम गरेको हुन्छ । अहिलेको पुनरावलोकनको नतिजा हेर्दा प्रशस्त त्रुटि देखिन्छ र यसले परीक्षणमा हेलचेक््रयाइँ भएको पुष्टि पनि हुन्छ । पुनरावलोकनका लागि शुल्क लाग्ने हुनाले सबै पुनरावलोकन गर्न चाहने विद्यार्थीको पहुँच नहुन सक्छ । पुनरावलोकन गर्दा शुल्क लाग्ने नियम संसारैभर छ, तर पुनरावलोकन गर्दा ग्रेड परिवर्तन भयो भने शुल्क फिर्ता गरिन्छ । हाम्रोमा भने त्यस्तो नियम छैन । परीक्षकको गल्तीको सजाय विद्यार्थीले भोग्नुपर्ने अवस्था छ । यदि पुनरावलोकन गर्दा ग्रेड परिवर्तन भयो भने त्यसको क्षतिपूर्ति परीक्षकबाट भराउने नियम बनाउन सकिए त्रुटि कम गर्न सकिन्छ । 

अहिले हामीले दिएको परीक्षणबापतको भुक्तानी निकै कम छ । यसलाई बढाउनुपर्छ । एउटा परीक्षकले आठ घण्टामा कति उत्तरपुस्तिका परीक्षण गर्न सक्छ ? त्यो निर्धारण गरौं र सोही अनुसार भुक्तानीको व्यवस्था गरौं । अहिलेको ज्यालाले त चिया, खाजा र यातायात खर्च पनि उठ्दैन । अनि कसरी गुणस्तरीय परीक्षणको आशा गर्न सकिन्छ ?  

आन्तरिक मूल्यांकनको अभ्यास अरू देश र अन्य शैक्षिक कार्यक्रममा पनि छ । आन्तरिक मूल्यांकनलाई हाम्रोमा जस्तो बिना मोडरेसन स्वीकार गरिन्न । आन्तरिक मूल्यांकनको नमुना मोडरेसन गर्दा विद्यालयले प्रदान गरेको ग्रेडभन्दा बढी आयो भने सबै विद्यार्थीको ग्रेड वृद्धि गरिन्छ, कम आयो भने सबैको ग्रेड घटाइन्छ । आन्तरिक मूल्यांकनमा देखाइएको उदारता वा कठोरतालाई समायोजन गरिन्छ । मूल्यांकनमा अब मोडरेसन र परीक्षक प्रमाणीकरण सुरु गर्न ढिला गर्नु हुँदैन । यसले परीक्षाको नतिजालाई विश्वसनीय र वैध बनाउन मद्दत गर्छ । आन्तरिक मूल्यांकनको मोडरेसन र बाह्य परीक्षाको उत्तरपुस्तिका प्रमाणीकरण गरिएका परीक्षकद्वारा परीक्षण नै अहिले विद्यार्थीले उठाएको आवाजको सम्बोधन गर्ने एउटा बाटो हो ।  

जसले उत्तरपुस्तिका परीक्षण गर्छ, उसलाई आवश्यक मापदण्ड पूरा गरेपछि मात्रै परीक्षणमा लगाउने, निश्चित संख्यामा उत्तरपुस्तिका परीक्षण गरेपछि त्यसको पनि विशिष्ट परीक्षकद्वारा मोडरेसनपश्चात् परीक्षण वैध र विश्वसनीय भएको निर्क्योल गर्ने, अनि मात्रै थप उत्तरपुस्तिका परीक्षण गर्न दिने व्यवस्था भए परीक्षाको नतिजामा आममानिसको विश्वास बढ्छ । क्याम्ब्रिजको ए लेभल र  आईबी डिप्लोमा कार्यक्रमको नतिजालाई अभिभावक, समाज, विश्वविद्यालय र रोजगारदाताले बिनाप्रश्न स्वीकार गर्ने कारणमध्येको मूल कारण यही हो । 

नेपालको मूल्यांकन प्रणालीलाई विश्वसनीय, निष्पक्ष र सिकाइ केन्द्रित बनाउने यो अवसर हो । देशैभर एउटै पाठ्यक्रम छ, तर परीक्षा र परीक्षणको विधि अनि प्रक्रिया एउटै छैन । देशैभरका परीक्षकले समान उपलब्धिलाई समान रूपले बुझ्न अनि साझा मूल्यांकन मापदण्ड विकास गर्न सके अहिले देखिएको समस्या हल हुनेछ । आन्तरिक मूल्यांकनमा मोडरेसन र बाह्य मूल्यांकनमा प्रमाणीकरण गरिएका परीक्षकद्वारा उत्तरपुस्तिका परीक्षण तथा विशिष्ट परीक्षकद्वारा नियमित परीक्षकको सुपरिवेक्षणको काम अघि बढाएर मात्रै यो काम गर्न सकिन्छ ।  

उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षक र सम्परीक्षकको क्षमता विकास गर्नुपर्छ । उत्तरपुस्तिका परीक्षण अतिरिक्त काम होइन । र, यो फुर्सदको समय सदुपयोग गर्ने काम पनि होइन । यो भविष्य निर्माण गर्ने काम हो । यस्तो विशिष्ट कार्य बिनाप्रमाणीकरण र तालिम गर्नु/गराउनु उचित हुँदैन । अब परीक्षक र सम्परीक्षकलाई प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्नैपर्छ । उत्तीर्ण सीमारेखामा रहेका वा उच्च प्रभाव पार्ने उत्तरपुस्तिकामा दोस्रो र सम्परीक्षकद्वारा पुनःपरीक्षण गर्ने व्यवस्था लागू भए नतिजाको विश्वसनीयता बढाउन सकिन्छ । हरेक परीक्षकलाई १० वटा उत्तरपुस्तिका परीक्षण गर्न दिने र सम्परीक्षकले १० मध्ये एक उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने, त्यसरी परीक्षण गर्दा फरकपनको एउटा रेञ्ज तोक्ने र त्यो रेञ्जबाहिर गएको देखिए अन्य दुई र सम्परीक्षकद्वारा पुनःपरीक्षण अनि प्रमाणित भए पहिलो परीक्षकलाई तत्काल निलम्बनको व्यवस्थाबाट परीक्षणको लापरबाही हटाउन सकिन्छ । यसले नतिजाको विश्वसनीयता बढाउन मद्दत गर्छ । 

विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने, मूल्यांकनको आधार बुझ्न पाउने, आवश्यक परे उत्तरपुस्तिका पुनःपरीक्षण गर्न पनि पाउने व्यवस्था गर्नुपर्छ । यो प्रणाली जति पारदर्शी बनाउन सकियो त्यति कम विवादास्पद हुन्छ । किनकि विश्वास परिणामबाट होइन, प्रक्रियाबाट निर्माण हुन्छ । नतिजालाई जति विश्वसनीय बनाउन सकियो, त्यति यसको सामाजिक रूपमा वैधता पनि बढाउन सकिन्छ । 

यस लेखमा छलफल गरिएका परीक्षा रूपान्तरणका उपाय कार्यान्वयन राष्ट्रिय परीक्षा बोर्डले मात्रै गर्न सक्दैन । यसको अगुवाइ शिक्षा तथा खेलकुद मन्त्रालयले लिनुपर्छ र मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, विश्वविद्यालयका शिक्षाशास्त्र संकायहरू, शिक्षक तालिम केन्द्र र विद्यालयहरूसँगको सहकार्यबाट मात्रै सम्भव छ । यसमा अझै शिक्षक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयको भूमिका अहम् हुन्छ । विश्वविद्यालयले विषयवस्तु सँगै आधुनिक मूल्यांकन विधि, रुब्रिक्स निर्माणको ज्ञान र सीप, सिकाइ उपलब्धि विश्लेषण तथा प्रमाणमा आधारित मूल्यांकन अभ्यासमा दक्ष अनि दीक्षित विद्यार्थी उत्पादन गर्नुपर्छ । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन संस्थाबाट सिकाइको गुणस्तर सुनिश्चित गर्ने संस्थाका रूपमा रूपान्तरण हुनु आवश्यक छ । मूल्यांकनको विश्वसनीयता, वैधता, निष्पक्षता र गुणस्तरको निरन्तरताको निगरानी गर्नु पनि बोर्डको जिम्मेवारी बन्नुपर्छ । 

आज सामाजिक सञ्जाल र सडकमा उठेको प्रश्न अनि आवाज केही विद्यार्थीको नतिजाको मात्रै होइन, राज्यकै परीक्षा प्रणालीको विश्वासको प्रश्न हो । परीक्षामा प्राप्त ग्रेडलाई विद्यार्थीले विश्वास गर्न सकेनन्, नतिजाको विश्वसनीयतामा अभिभावकले शंका गर्न थाले, ग्रेडको वैधतामा रोजगारदाताले प्रश्न गर्न थाले र ग्रेड सिटको विश्वसनीयतामा विश्वविद्यालयले संशय राखे भने त्यसको असर परीक्षा प्रणालीमा मात्रै पर्दैन, सम्पूर्ण शिक्षा प्रणालीको आधार नै कमजोर बनाउँछ ।

त्यसैले राज्यले यस्ता आवाजलाई नतिजामा चित्त नबुझाउने सीमित विद्यार्थीको तात्कालिक प्रतिक्रियाका रूपमा मात्रै हेर्नु हुँदैन, परीक्षा प्रणाली सुधारको अवसरका रूपमा पनि स्वीकार गर्नुपर्छ । यसलाई परीक्षाको नतिजा कसरी वैध र विश्वसनीय बनाउने भन्ने मौकाका रूपमा ग्रहण गर्नुपर्छ । 

मेदिन

Link copied successfully