हामी कसरी प्लास्टिक खाइरहेका छौं ?

औसतमा हामी हरेक महिना करिब १५ ग्रामका दरले माइक्रोप्लास्टिक खाइरहेका हुन्छौं, जुन चार वटा बैंक कार्डको वा २ वटा पानीको बोटलको बिर्कोको तौल जत्तिकै हो । यी माइक्रोप्लास्टिकका कण मुख्य रूपले जल, वायु र खाद्य सामग्रीको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।

असार २९, २०८३

सुरेन्द्रकुमार प्रधान, रामचन्द्र पिया

हामीले दैनिकजसो प्लास्टिक खाइरहेका हुन्छौं । र, हाम्रो शरीरमा प्लास्टिकका स–साना कण पहिल्यैदेखि ठूलो मात्रामा जम्मा भइरहेको विषय हामीमध्ये अधिकांशलाई जानकारी नहुन सक्छ । आज हामी हाम्रा नांगा आँखाले देख्न नसकिने प्लास्टिकका अति मिहिन सूक्ष्म कण अर्थात् ‘माइक्रोप्लास्टिक एवं नानोप्लास्टिक’ बारे कुरा गर्नेछौं । 

माइक्रोप्लास्टिक १ मिलिमिटरभन्दा पनि मसिना हुन्छन् भने नानोप्लास्टिक ०.०००१ मिलिमिटरभन्दा  साना । बुझ्न सजिलोका लागि– माइक्रोप्लास्टिक मानव रौंभन्दा करिब ७० गुणा मसिनो हुन्छ भने नानोप्लास्टिक करिब ७ हजार गुणा मसिनो । सामान्यतया माइक्रोप्लास्टिक शब्दले नानो र माइक्रो दुवैलाई जनाउँछ ।

दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको निरन्तर घर्षण, जीर्णता र तापक्रमको प्रभावले धेरैजसो माइक्रोप्लास्टिकका सूक्ष्म कण उत्पन्न हुन्छन् । कच्चा तेलबाट निर्मित यी प्लास्टिकका वस्तु वातावरणमा सयौं वर्षसम्म अविघटित रूपमा रहिरहन्छन् । त्यसैले यी प्लास्टिक सामग्री दीर्घकालसम्म माइक्रोप्लास्टिकका स्रोत बनिरहन्छन् । फलस्वरूप माइक्रोप्लास्टिकले हाम्रो वरिपरिका लगभग सबै वस्तु (जस्तै हामीले पिउने पानी, सास फेर्ने हावा एवं खाने खाद्य सामग्री) लाई प्रदूषित बनाउँछ ।

माइक्रोप्लास्टिक शरीरमा कसरी प्रवेश गर्छ ?

सुन्दा अचम्म लाग्छ, तर औसतमा हामी हरेक महिना करिब १५ ग्रामका दरले माइक्रोप्लास्टिक खाइरहेका हुन्छौं, जुन चार वटा बैंक कार्डको वा २ वटा पानीको बोटलको बिर्कोको तौल जत्तिकै हो । यी माइक्रोप्लास्टिकका कण मुख्य रूपले जल, वायु र खाद्य सामग्रीको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।

नेपालमा प्लास्टिक बोटलबन्द मिनरल वाटर, प्लास्टिक जारको पानी, प्लास्टिकका गाग्री, बाल्टिन, पानी–ट्याङ्की आदिका पानी प्रयोग गर्ने चलन व्यापक बढिरहेको छ । एक अध्ययनअनुसार, सामान्यतया एक लिटरको प्लास्टिक बोटलबाट करिब २ लाख ४० हजार माइक्रोप्लास्टिकका कणसम्म निस्कन्छन् । तर, नेपालमा प्रयोग हुने प्लास्टिकका बोटलबाट केवल २ सय ३० देखि ३ सय ६५ माइक्रोप्लास्टिकका कण निस्केको पाइएको छ, जुन पानी पिउँदा हामी निल्ने गर्छौं । 

हाम्रो शरीरमा माइक्रोप्लास्टिक प्रवेश गराउने दोस्रो प्रमुख माध्यम हो– खाद्य पदार्थ । खाद्य पदार्थ प्याकिङ गर्ने प्लास्टिकजन्य सामग्री र खाद्यसामग्री बोक्ने प्लास्टिकका झोलाको व्यापक प्र्रयोगले पनि माइक्रोप्लास्टिकका कण सिधै हाम्रा खानेकुरामा मिसिन्छ । 

माइक्रोप्लास्टिक उदीयमान प्रदूषक हो र यसको पूर्ण स्वास्थ्य प्रभाव राम्ररी बुझिएको छैन । तर, बढ्दो वैज्ञानिक प्रमाणले देखाउँछ– मानव शरीरमा दीर्घकालीन रूपमा माइक्रोप्लास्टिक जम्मा भइरहनु र त्यसको निरन्तर सम्पर्कले स्वास्थ्यमा महत्त्वपूर्ण अनि स्थायी प्रभाव पार्न सक्छ ।भान्सामा व्यापक प्रयोगमा आइरहने प्लास्टिकका भाँडाकुँडा तथा अन्य उपकरणले पनि भान्साका खाद्य सामग्री प्रदूषित गर्छ । सजिलै बुझ्न सकिने उदाहरण हो– प्लास्टिकको अचानो (चपिङ बोर्ड) मा देखिने खस्रा सतहहरू । आधुनिक नेपाली भान्सामा चपिङ बोर्डको प्रयोग सामान्य भइसक्यो । निरन्तरको कटाइ, घिसाइले यसको सतहबाट प्लास्टिकका सूक्ष्म कण निस्कन्छ, जुन खानाको गाँससँगै हाम्रो शरीरमा प्रवेश गर्छ ।

मग, जग, कप, गिलास, प्लेटका साथै डाडुपन्युँ पनि प्लास्टिककै प्रयोग गर्ने व्यापक प्रचलन सुरु भइसकेको छ । विशेषगरी ननस्टिक भाँडा नकोतारियोस् भनी यस्ता प्लास्टिकका डाडुपन्युँ प्रयोग गरिन्छ, जसले अझ बढी जोखिम निम्त्याउँछ, किनकि यिनीहरू उच्च तापक्रममा छिट्टै घिसिन्छन् । प्रायःजसो होटल र रेस्टुरेन्टमा पुरानै प्लास्टिकका भाँडाकुँडा निरन्तर प्रयोगमा ल्याइन्छ, जसले प्रदूषणको जोखिम अझ बढाउँछ । 

हामीले फालेका प्रयोगहीन प्लास्टिकजन्य फोहोरको ठूलो अंश अन्ततः जलस्रोत (जस्तै नदीनाला, तालतलैया, कुवा, पोखरी आदि) मा पुग्छ । त्यही फोहोर प्लास्टिकबाट माइक्रोप्लास्टिक उत्पन्न भई पानीमा मिसिन्छ र प्रदूषित पार्छ । उदाहरणका लागि, बागमती नदीमा प्रतिलिटर पानीमा १ सयभन्दा बढी माइक्रोप्लास्टिक पाइएको छ । फेवातालको पानीमा पनि केही माइक्रोप्लास्टिक भेटिएका छन् । त्यसैले सामान्यतया माछा र समुद्री नुनमा पनि माइक्रोप्लास्टिक पाइएको छ ।

पानी, दाना र अन्य माध्यमबाट पनि माइक्रोप्लास्टिकका कण वन्यजन्तुको शरीरमा प्रवेश गर्छ । फलस्वरूप माइक्रोप्लास्टिक खाद्य शृंखलामा प्रवेश गर्छ । साथै हामीले उपभोग गर्ने अन्डा, माछा–मासु तथा दूध–दहीमा पनि यस्ता मिहिन माइक्रोप्लास्टिकका कण पाइएको छ । तसर्थ, माइक्रोप्लास्टिक–प्रदूषण घटाउने हाम्रो प्रयास पर्याप्त छैन । डेरी फार्म, कुखुरापालन र मासुका लागि पशुपालनमा पनि माइक्रोप्लास्टिक प्रदूषण कम गर्ने प्रयास गर्नुपर्छ ।

समाधान 

हाम्रो जीवनशैली र खाद्य प्रणालीबाट माइक्रोप्लास्टिक पूर्णरूपमा हटाउने कुनै सरल समाधान छैन किनकि यो विश्वव्यापी समस्या हो । र, यसमा धेरै अन्तरसम्बन्धित कारक छन् । सौभाग्यवश, संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्था र विश्वका सरकारहरूले यस समस्यामा केही पहल गर्न थालेका छन् । उदाहरणका लागि, नेपालले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाहरूमा प्रतिबन्ध लगाएको छ । यस्ता कदम महत्त्वपूर्ण छन् । व्यक्तिगत तथा सामुदायिक स्तरका यस्ता प्रयासले पनि स्थानीय रूपमा माइक्रोप्लास्टिकका जोखिम मज्जैले घटाउन सक्छन्, जसले अन्ततः विश्वस्तरकै समस्या सम्बोधन गर्न योगदान पुर्‍याउँछ ।

सबैभन्दा प्रभावकारी रणनीतिमध्ये एक हो– दैनिक जीवनमा प्लास्टिकका सामग्रीको प्रयोग कम गर्नु । व्यक्तिगत पानीको बोटलका रूपमा काँच, धातु वा बाँसको प्रयोग गर्नु सरल, तर प्रभावकारी कदम हो । घरमा व्यावसायिक प्लास्टिक जारबाटै लामो समयसम्म पानी प्रयोग गर्नुको साटो पानीलाई धातु वा माटोको भाँडामा सारेर राख्नु राम्रो हुन्छ । सरकारी कार्यालय तथा संस्थाहरूले बैठकमा प्लास्टिक बोटलका पानीको साटो काँच वा स्टिलको गिलासमा पानी दिने प्रोटोकल अपनाउनु राम्रो हुन्छ ।

परम्परागत रूपमा हामी पानी र खानेकुरा भण्डारण गर्न धातु, काठ, बाँस र परालका भाँडा प्रयोग गर्थ्यौं । यी अभ्यास पुनः जीवित राख्नु वा निरन्तरता दिनुले प्लास्टिकमा निर्भरता घटाउँछ । उदाहरणका लागि, प्लास्टिकको सट्टा काठको चपिङ बोर्ड प्रयोग गर्दा खानेकुरामा माइक्रोप्लास्टिकको मात्रा उल्लेख्य रूपमा घट्न सक्छ । 

भान्साका धेरै प्लास्टिकका सामानलाई काँच, धातु, काठ वा माटोका विकल्पले प्रतिस्थापन गर्न सकिन्छ । प्लास्टिकका चम्चा, पन्युँ, डाडु र ननस्टिक पकाउने भाँडा (राइसकुकरसमेत) व्यापक रूपमा प्रयोग गरिन्छ । यस्तोमा काठको पन्युँ र डाडु सुरक्षित विकल्प हो । 

प्लास्टिकका सामान सस्ता र सजिलै उपलब्ध हुने कारण यसको प्रयोग बढिरहेको छ । तर, त्यसको विकल्पमा जनस्वास्थ्यमैत्री सामान प्रयोग गर्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले सरकारको हस्तक्षेप आवश्यक छ । प्लास्टिक उत्पादनमा कडा नियम, परम्परागत तथा दिगो उद्योगको प्रोत्साहन, दिगो विकल्पको अनुदान, पर्यावरणमैत्री उत्पादनमा सहुलियत र सार्वजनिक जागरण अभियानमार्फत सुरक्षित जीवनशैलीलाई प्रोत्साहन दिनुपर्छ ।

खाना खानुअघि खानेकुरा धुँदा माइक्रोप्लास्टिक प्रदूषण २०—४० प्रतिशतले घट्न सक्छ । तर नुन, अन्डा, बटर, घिउ र दूधजस्ता केही खानेकुरा सजिलै धुन सकिँदैन । यस्ता अवस्थामा विकल्प अपनाउन सकिन्छ– समुद्री नुनको सट्टा हिमाली नुन प्रयोग र बटरको सट्टा वनस्पतिको तेल प्रयोग । यसबाहेक, निम्न गुणस्तरको ननस्टिक भाँडाकुँडाको सट्टा परम्परागत भाँडाकुँडालाई प्रोत्साहन दिनुपर्छ किनकि केही ननस्टिक कोटिङमा पीटीएफई र बीपीए हुन्छ, जसले खानेकुरामा ठूलो मात्रामा माइक्रोप्लास्टिक छोड्छ । स्वास्थ्य जोखिमका कारण धेरै विकसित देशले बीपीएयुक्त ननस्टिक भाँडाकुँडाहरू प्रतिबन्ध लगाइसकेका छन् ।

माइक्रोप्लास्टिक नाङ्गो आँखाले देखिँदैन र यसलाई खाँदा तत्काल स्वास्थ्य समस्या केही देखिँदैन । त्यसैले विकासशील देश (जस्तै– नेपाल) का सामान्य नागरिकलाई यसको जोखिम बुझाउन कठिन हुन्छ । 

स्वास्थ्य प्रभाव 

मुख्य रूपमा खानेकुरा र पेय पदार्थबाट माइक्रो तथा नानोप्लास्टिक हाम्रो शरीरमा प्रवेश गर्छन् । यिनीहरूको आकार अत्यन्तै सानो भएकाले रक्त प्रवाह हुँदै शरीरका विभिन्न अंगमा पुग्छ । उदाहरणका लागि, माइक्रोप्लास्टिकका कण मान्छेका प्रोस्टेट ग्रन्थीका ट्युमरमा पनि भेटिएका छन् । यिनीहरू अपाच्य हुन्छन् वा शरीरबाट सजिलै बाहिर निस्कँदैनन्, त्यसैले हाम्रो शरीरमा लामो समयसम्म रहिरहन्छन् ।

माइक्रोप्लास्टिक विभिन्न आकार र रूपमा पाइन्छ । चिल्ला, गोलाकार कणहरू सामान्यतया कम हानिकारक मानिन्छन् भने तिखा वा नङ्ग्राजस्ता किनार भएका कणले रक्त प्रवाह र तन्तुहरूमा शारीरिक क्षति र जलन निम्त्याउन सक्छ । तिनीहरू साँघुरा रक्तनलीमा अड्किन सक्छन्, जसले रक्तचाप बढाउन र हृदयाघातको जोखिम बढाउन सक्छ । तन्तुमा लामो समयसम्म रहँदा आन्तरिक रक्तस्राव, सुजन निम्त्याउन सक्छ र क्यान्सरको जोखिम बढाउन सक्छ । शरीरमा माइक्रोप्लास्टिकजस्ता बाह्य कण लामो समयसम्म जम्मा हुँदा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । 

यसबाहेक, माइक्रोप्लास्टिकले रोगाणुहरूको वाहक एवम् प्रजनन स्थलका रूपमा काम गर्न सक्छ, जसले एन्टिबायोटिक प्रतिरोधको उच्च जोखिम निम्त्याउँछ । माइक्रोप्लास्टिकमा पाइने केही रासायनिक यौगिक (जस्तै पीएफएएस, बीपीए र फ्थालेट्स) नपुंसकता र मोटोपनजस्ता स्वास्थ्य जोखिमसँग जोडिएका छन् ।

माइक्रोप्लास्टिक उदीयमान प्रदूषक हो र यसको पूर्ण स्वास्थ्य प्रभाव राम्ररी बुझिएको छैन । तर, बढ्दो वैज्ञानिक प्रमाणले देखाउँछ– मानव शरीरमा दीर्घकालीन रूपमा माइक्रोप्लास्टिक जम्मा भइरहनु र त्यसको निरन्तर सम्पर्कले स्वास्थ्यमा महत्त्वपूर्ण अनि स्थायी प्रभाव पार्न सक्छ ।

सुरेन्द्रकुमार

रामचन्द्र

Link copied successfully