परिवारबाट राज्यतर्फ सर्दै छ युवा–आकांक्षाको जिम्मेवारी

विगतमा भएको परिवारको बलियो भूमिका अब क्रमशः कमजोर बनेको छ नै । विगतमा सुरक्षाको छहारी दिने परिवार बिस्तारै इतिहास बनिरहेको छ ।

असार २६, २०८३

चेतन अधिकारी

The responsibility for youth aspirations is shifting from the family to the state

What you should know

संसारभर ११ जुलाईमा जनसंख्या दिवस मनाइँदै छ । जनसंख्याका विविध आयामका विषयमा छलफल गर्ने र त्यससँग सम्बन्धित मुद्दाहरूलाई प्रचारमा ल्याउने एउटा सन्दर्भमा जनसंख्या दिवस मनाउने गरिन्छ । विश्वमा भयावह रूपमा बढेको जनसंख्या र यसले निम्त्याउन सक्ने नकारात्मक परिणामको निराकरण गर्न सन् १९८९ बाट जनसंख्या दिवस मनाउन थालिएको हो । सन् १९४८ पछि जन्मिएको ‘बेबी बुमर’ पुस्ताका सन्तानले डाँडाकाँडा ढाक्दा विश्वको जनसंख्या अप्रत्याशित रूपमा बढेको थियो ।

संसारकै दम्पतीले त्यसबेलासम्म सन्तानलाई लगानी होइन, सम्पत्तिका रूपमा व्याख्या गर्थे र सोहीअनुसार धेरै बच्चा जन्माउँथे । तर, यसका नकारात्मक पाटाहरूको अनुमान गरेर चीनले सन् १९७१ बाटै ‘सिंगल बेबी पोलिसी’ लागू गरेको थियो । विकसित देशहरू जनसंख्या वृद्धिको ‘साइड इफेक्ट’ मा सजग त थिए नै । तथापि ११ जुलाई १९८७ मा विश्वको जनसंख्या ५ अर्ब पुग्यो । विश्वको जनसांख्यिक इतिहासमा ‘फाइभ बिलियन डे’ का रूपमा परिचित ११ जुलाईलाई संयुक्त राष्ट्रसंघले जनसांख्यिक मुद्दाको अति संवेदनशील मोडका रूपमा लियो । त्यसैकारण जनसंख्याको वृद्धिदरलाई नियन्त्रणमा राख्नुपर्ने मुख्य सोचाइसहित जनसंख्या दिवस मनाउन थालिएको हो । 

३७ वर्षअघि जनसंख्या वृद्धिदरलाई रोक्ने मुख्य उद्देश्यका साथ सुरु भएको विश्व जनसंख्या दिवसको प्राथमिकता अब बदलिएको छ । सन् १९९४ को जनसंख्या र विकासका लागि आयोजना गरिएको कायरो सम्मेलनपछि जनसंख्या नियन्त्रण शब्द गैरमानवअधिकारवादी कित्तामा पुग्यो । मानवअधिकारमैत्री शब्दका रूपमा ‘जनसंख्या व्यवस्थापन’ शब्द भित्रियो । यसबीचमा महिलाको प्रजनन अधिकार, युवाको अधिकार, बसाइँसराइ, खाद्य सुरक्षालगायतका विषय जनसांख्यिक मुद्दाका रूपमा उठे । अहिले जनसंख्या धेरै भयो कि थोरै भयो भन्ने बहसबाट विषय स्थानान्तरण भएको छ । बरु जनसंख्याको गुणस्तर, अवसर, अधिकार र जीवनस्तरमा केन्द्रित छ । यूएनले यस वर्षको विश्वव्यापी जनसांख्यिक नारा ‘भविष्यका लागि युवाका आशा र आकांक्षालाई साकार पारौं’ तय गरेको छ ।

युवाका आकांक्षा साकार पार्ने जिम्मेवारी कसको ?

युवाका लागि पहिलो जिम्मेवार को हो– परिवार, आफैं वा राज्य ? संयुक्त परिवार र पितृसत्तात्मक परिवारमा हुर्किएको नेपाली पुस्ता अब एकल परिवारमा हुर्कंदै छ । एकल परिवारले व्यक्तिलाई पनि एकलकाँटे नै बनाइरहेको छ । हजुरबा पुस्ताबाट सर्ने रैथाने ज्ञान, सीप नाति पुस्तामा सर्न छोडेको छ । अर्थात्, हाम्रो पारिवारिक संरचनाले हजुरबा हजुरआमाहरूले नातिनातिनालाई रैथाने ज्ञान बाँड्ने अवसर पाउन छाडेका छन् भने नाति पुस्ताले त्यस्ता ज्ञान प्राप्तिका अवसर गुमाइरहेका छन् । जसकारण अहिले हुर्किरहेको युवा पुस्ता अघिल्लो पुस्ताभन्दा फरक ‘स्कुलिङ’ मा छ । परिवार, नरनातासँग उनीहरूको सम्बन्ध प्राविधिक मात्र हुन थालेको छ । उहिले एउटै घरमा १०/१२ जना सदस्य हुन्थे । व्यक्तिका लागि परिवार नै सर्वस्व हुन्थ्यो । उसको विद्यालय, स्वास्थ्य केन्द्र, हाटबजार, क्लब र मनोरञ्जन स्थल परिवार नै थियो । त्यसैले मानिस पूर्णतः परिवारमा आश्रित थियो । समयले परिवारलाई एउटा पौराणिक इकाइमा सीमित गरिदियो ।

 संयुक्त परिवार र पितृसत्तात्मक परिवारमा हुर्किएको नेपाली पुस्ता अब एकल परिवारमा हुर्कंदै छ । एकल परिवारले व्यक्तिलाई पनि एकलकाँटे नै बनाइरहेको छ । हजुरबा पुस्ताबाट सर्ने रैथाने ज्ञान, सीप नाति पुस्तामा सर्न छोडेको छ ।परिवारको भूमिका निर्वाह गर्न अनेक खालका सामाजिक संस्थाहरूको उदय भयो । परिवारको भूमिकाबाट पढाउने काम विद्यालयतिर स्थानन्तरित भयो । मनोरञ्जनको भूमिका क्लबहरूले लगे । बाबुआमाको स्याहारसुसारको जिम्मा वृद्धाश्रमलाई लगाइयो । बालबालिकालाई लोरी सुनाउने भूमिका हजुरआमालाई होइन, ‘चाइल्ड केयर सेन्टर’ लाई दिइयो । जसले गर्दा मानिसलाई अब परिवार अति आवश्यक पर्दाको आश्रयस्थलका रूपमा बदलिदियो । एउटा बलियो सामाजिक संस्थाका रूपमा रहेको यो इकाइ अब खण्डहर घरजस्तो अवस्थामा बदलिएको छ । यस्तो घर, जसको छानो उध्रिएको छ, वर्षौंदेखि लिपपोत छैन, आँगनमा झार पलाउन थालेका छन् । घरका निदाल र मूल थामहरूमा धमिरा लाग्न थालेका छन् । तपाईं–हामी हुर्केको परिवारको कल्पना गर्दा र परिवारको अहिलेको दृश्य वर्णन गर्दा स्वाभाविक रूपमा मानिस भावुक हुन्छन् नै । यति हुँदाहुँदै पनि आज र भोलिका युवाका आकांक्षा पूरा गर्ने गहन जिम्मेवारी भने यही परिवार नामको संरचनालाई नै छ । 

अधिकांश व्यक्तिको बालापन र किशोरपन परिवारसँगै बित्छ । बिहानीले दिनको संकेत गर्छ भनेजस्तै भविष्यमा कस्तो नागरिक बन्ने भन्ने विषय आजको बालकले कस्तो वातावरण पायो भन्ने विषयमा निर्भर रहन्छ । स्वभावैले प्रविधिको बढ्दो पहुँचका कारण हिजोको बालकले भन्दा आजको बालकले धेरै विषय सिक्न र देख्न पाएको छ । जसले उसलाई आफ्नो भविष्यको बाटो रोज्ने निर्णय गर्न पनि सहज बनाएको छ । तर आजको बालकले जति विषय सिकिरहेको छ, अधिकांश भर्चुअल माध्यमबाट सिकिरहेको छ । वास्तविक संसारबाट हाम्रा बालबालिका र परिवार टाढिँदै गएका छन् । जसले गर्दा भोलिका युवाको आकांक्षा पूरा गर्न परिवार र समुदायलाई चुनौती खडा भएको छ । परिवाररूपी संरचनाका नटबल्टु खुकुलो पार्ने एउटा महत्त्वपूर्ण माध्यम मानिसको अति गतिशीलता हो । अवसरको खोजी, भविष्यको चिन्ता र सुनिश्चितता तथा विश्वव्यापी रूपमा फैलिएको बसाइँसराइको माहोलले मानिस स्थिर छैनन् । परिवार स्थिर छैन । अनि परिवारका सदस्यहरू स्थिर छैनन् । जसले गर्दा परिवारले दिने ऊर्जा, परिवारबाट पाइने ज्ञान र परिवारबाट पाइने मनोरञ्जनबाट मानिसहरू विमुख हुँदै छन् । जसले कहीँ न कहीँ व्यक्तिको भविष्यमा आघात पारेको छ नै ।

जनसंख्या दिवसको नाराकै आधारमा भन्नुपर्दा पनि युवाले आफूले चाहेको जीवन, परिवार र भविष्य निर्माण गर्न सक्ने वातावरण बनाउनु वर्तमान परिवार संरचनाको दायित्व हो । त्यो दायित्व निर्वाह गर्ने वातावरण बनाइदिने काम राज्यको हो । परिवारको भविष्य निर्माण गर्नका लागि वर्तमानमा परिवार नै त्याग्नुपर्ने नेपाली युवाको बाध्यता हो । त्यही परिवार निर्माणका लागि बाबुआमालाई छोडेर हिँड्नु आम नेपालीको अर्को बाध्यता हो । परिवारको विषयमा पैरवी गरिरहँदा एकाघरका परिवारका सदस्य आज कहाँ–कहाँ छरिएका होलान् ? स्वदेश होइन, विदेशका पनि विभिन्न देशमा परिवार छरिएका छन् । जसले गर्दा पारिवारिक ममता कमजोर बनिरहेको छ । त्यही परिवारको भविष्य निर्माण गर्ने सपनाले केसम्म गरिरहेको छ नेपालीमा समाजमा ? छोरो कतार । बुहारी सहर ।

नातिनातिना होस्टल, बाबुआमा गाउँ– नेपालमा करिब एक चौथाइ परिवारले भोगिरहेको नियति हो, यो । गाउँका परिवारहरू अहिले युवाविहीन छन् । बूढाबूढीले धानेका छन्, परिवार । जसलाई  ‘युथ लेस र टुथ लेस भिलेज’ पनि भनिने गरेको छ । विगतमा भएको परिवारको बलियो भूमिका अब क्रमशः कमजोर बनेको छ नै । विगतमा सुरक्षाको छहारी दिने परिवार बिस्तारै इतिहास बनिरहेको छ । व्यक्तिप्रति परिवारको भूमिका कमजोर हुनु भनेको राज्यको भूमिका स्वतः बढ्नु हो । कमजोर पारिवारिक संरचनामा हुर्किरहेका युवाको भविष्य सुनिश्चित गरिदिने दायित्व अब राज्यको काँधमा थपिएको छ ।

६० प्रतिशत परिवार एकल : चार दशकमा हरेक परिवारमा दुई सदस्य घटे

नेपालमा घोषित रूपमा जन्मदर घटाउने आक्रामक नीतिका कारण बच्चाको संख्या समय अनुसार घटिरहेको छ । बसाइँसराइ र बाध्यताका कारण संयुक्त परिवारको चलन बिरानो हुँदै छ । एकल परिवारको संख्यामा उल्लेख्य वृद्धि भए पनि पारिवारिक द्वन्द्वका कारण त्यो पनि टुक्रिने क्रम रोकिएको छैन । यसै वर्षको तथ्यांकअनुसार पनि ४२ हजार जोडीले सम्बन्धविच्छेद गरेका छन् । यो क्रम बढ्दो अवस्थामा छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार संस्थागत परिवार (ब्यारेक, होस्टल, गेस्ट हाउस) आदिलाई अलग गरेर हेर्दा कुल परिवार संख्याको ६० प्रतिशत परिवार एकल छन् । ६० प्रतिशत एकल परिवारमा ४६.२ प्रतिशत जनसंख्याको बसेको छ । संयुक्त परिवार केवल ४० प्रतिशतमा सीमित भएको छ । यसको मुख्य कारण भनेको परिवारले विगतमा जस्तो मानिसका आवश्यकता पूरा गर्न नसकेर हो । मानिसका इच्छा र आकांक्षा अब परिवारको काबुभन्दा बाहिर गइरहेका छन् । चार दशकको अवधिमा हरेक परिवारमा कम्तीमा दुई जना सदस्य घटिसकेका छन् । २०३८ को जनगणनामा एक परिवारमा ६ जना सदस्य हुन्थे भने हाल ४ जनामा सीमित भएका छन् । सहरी क्षेत्र र बाह्य बसाइँसराइ उच्च भएका क्षेत्रमा त यो संख्या अझ न्यून छ । गण्डकी प्रदेशमा एक परिवारमा ३.७ जना मात्र सदस्य छन् ।

विविध कारणले नेपालका परिवार संक्रमणमा छन् । हरेक चार घरमध्ये एक घरका कोही न कोही सदस्य वैदेशिक रोजगारीमा छन् । त्यस्तै हरेक चार घरमा कोही न कोही सदस्य स्वदेशमा भए पनि घरबाहिर बसेका छन् । देख्दा परिवार एउटै छ तर उनीहरूको बसोबास अनेक ठाउँमा छरिएको छ । कहाँ बस्ने, के गर्ने भन्ने विषयको छलफल परिवारभित्र हुन छोडेको छ । हातमा भएको प्रविधिको प्रयोग गरेर मानिसहरू निर्णय लिन्छन् । त्यही साधनले परिवारमा संवादहीनता बढाएको छ । परिवारको संरचना एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्दै छ । अर्थात् नेपाली समाज पारिवारिक संक्रमणमा छ । यस्तो अवस्थालाई अमेरिकी जनसंख्याविद् आरल्यान्ड थोरटन र समाजशास्त्री थोमस फ्रिकले ‘फेमेली मोड अफ सोसल अर्गनाइजेसन’ बाट ‘नन फेमेली मोड अफ सोसल अर्गनाइजेसन’ को यात्रा भनेका छन् । उनीहरूले सन् १९९० तिर चितवनका केही समुदायहरूमा परिवारको भूमिका कसरी फेरिँदै छ भनेर अध्ययन पनि गरेका थिए । अध्ययनले परिवारभन्दा बाहिरको संस्थामा सम्पर्क भएका युवाहरूमा विवाह, लैंगिक भूमिका, स्वतन्त्र निर्णयको रुचि र परम्परागत सोचमा व्यापक परिवर्तन देखिएको निष्कर्ष निकालेका थिए ।  

परिवार र राजनीतिको सम्बन्ध 

परिवारको सदस्य नै राजनीतिक दलको सदस्य, नेता, मन्त्री वा प्रधानमन्त्री हो । त्यसैले परिवारमा उसले पाएको वातावरणले भविष्यमा उसले निर्वाह गर्ने भूमिकाको स्पष्ट खाका तय गरेको हुन्छ । अघि चर्चा गरियो, बसाइँसराइले परिवारको भूमिका फैलाउने वा साँघुरो बनाउने काम गरिरहेको छ । यसले परिवारसँगै राजनीतिको भूमिकालाई पनि फेरबदल गरिरहेको छ । जब परिवारको एउटा सदस्यले घर छोड्छ, उक्त ठाउँमा घरको एक सदस्य मात्र घट्दैन । राजनीतिक दलको एउटा सदस्य घट्छ । दलको सदस्य घटेको मात्र होइन, निर्वाचनको निर्णायक एउटा मत पनि घटेको हो । यसैगरी परिवारका सदस्यहरू बाहिरिँदै गर्दा उद्गमस्थलमा ज्येष्ठ नागरिक मात्र हुनेछन् भने सहर वा गन्तव्य स्थलमा युवाहरूको बाहुल्य हुन्छ । ज्येष्ठ नागरिकको बाहुल्य भएको ठाउँमा राजनीतिक दलको गतिविधि  कमजोर हुन्छ । त्यस ठाउँको प्रतिनिधित्व स्वतः घट्छ । अनि त्यस ठाउँमा राजनीतिक पहुँच र स्रोतको सम्भावना पनि सीमित हुँदै जान्छ । जब परिवारको भूमिका कमजोर हुन्छ, त्यहाँ राज्यको भूमिका स्वभावैले बढ्नुपर्ने हुन्छ । जस्तै छोराबुहारी घरबाहिर वा देशबाहिर रोजगारीका लागि निस्किएपछि त्यस ठाउँका ज्येष्ठ नागरिकको हेरचाहमा राज्यले लगानी बढाउनुपर्छ । उनीहरूको स्वास्थ्य उपचारमा पनि राज्यको उपस्थिति देखिनुपर्छ । 

अन्त्यमा 
बसाइँसराइका कारण सिर्जित परिवारका सजिला अप्ठ्यारामा तीनै तहका सरकारको चासो रहनु जरुरी छ । परिवार व्यवस्थित भए मात्र समुदाय र राज्य व्यवस्थित हुने हो । अर्कोतिर युवाले चाहेको जीवन, परिवार र भविष्य निर्माणका लागि वातावरण बनाइदिने काम राज्यकै हो । सुन्दर परिवार निर्माणको सपनामा त्यही परिवारलाई छोडेर विदेशिनुपर्ने बाध्यता अन्त्य भएपछि मात्र युवाले भविष्यमा सुन्दर परिवारको सिर्जना गर्न सक्छन् । 

चेतन अधिकारी जनसंख्या र बसाइँसराइमा विद्यावारिधि गर्दै छन्

Link copied successfully