संशोधन गरिँदा संविधानवादको मर्म हेक्का राखियोस्

संविधान संशोधन कार्यदलले तयार गर्ने पत्रमा संविधानवादका मूल्य मान्यता र मर्ममा ठेस पुर्‍याउनु हुँदैन ।

असार २६, २०८३

टोपजंग बुढाथोकी

When amending, the spirit of constitutionalism must be kept in mind

What you should know

वर्तमान सरकार गठनलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयारी कार्यदल गठन भएको छ । कार्यदलको म्याद असार मसान्तसम्म छ । कार्यदलले विगत केही महिनादेखि विभिन्न राजनीतिक व्यक्ति तथा संविधान कार्यान्वयनमा प्रत्यक्ष जोडिएका प्रशासनिक एवं संवैधानिक कानुनका विज्ञ, कानुनविद्हरू, पूर्वन्यायाधीशहरू र अन्य सम्बद्ध निकायसँग परामर्श गरिरहेको छ ।

अहिले मूल प्रश्न भनेको के संविधान संशोधन कार्यदलले संविधानवादको मूल मर्मको सम्मान गर्ला ? संविधान संशोधनमा विचार गरिनुपर्ने संविधानवादका संशोधनीय विषय के के हुन् ? भन्नेजस्ता केही जिज्ञासा जनमानसमा छन् ।

संविधान राज्य व्यवस्था सञ्चालन गर्ने नियमहरूको मूल संग्रह हो । संविधानलाई कुनै पनि मुलुकको प्रमुख राजनीतिक तथा कानुनी दस्ताबेज पनि भनिन्छ । संविधानको सिद्धान्त र मूल्य मान्यतामा रही सरकारका गतिविधिहरू सञ्चालित हुनु नै संविधानवाद हो । संविधानको सम्मान, संवैधानिक मर्म र भावनाको पालना, लोकतान्त्रिक प्रणाली, नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्ने प्रणालीको विकास संविधानवादले गर्छ ।

नेपालको संविधान एउटा लोकतान्त्रिक संविधान हो, जसले संविधानवादका सिद्धान्त र मूल्यहरूलाई अंगीकार गरेको छ । यो जनताले आफ्ना प्रतिनिधिहरूबाट जनताका नाममा बनाएको संविधान पनि हो ।संविधानवाद प्रजातान्त्रिक शासनको आधार हो, जुन संविधानको दर्शन पनि हो । यसले उत्तरदायी शासन व्यवस्थाको परिकल्पना गर्छ । संविधानवाद सीमित सरकारको अवधारणा हो । सीमित सरकार भनेको कानुनको सीमामा बाँधिएको सरकार हो । जहाँ सरकार कानुनको सीमामा बाँधिएको हुन्छ, त्यहाँ नागरिकहरू स्वतन्त्र हुन सक्छन् । त्यसैले संविधानवादलाई प्रजातान्त्रिक शासन व्यवस्थाको गहनाका रूपमा लिने गरिन्छ । संविधानवाद स्वेच्छाचारिता र निरंकुशताविरोधी मत हो । यसले शक्ति प्रयोगका आधार र सीमा निर्धारण गर्छ र नागरिक अधिकारको पक्षपोषण गर्छ । त्यसैले संविधानवादलाई संविधानको आदर्श पनि भन्ने गरिन्छ ।

नेपालको संविधान एउटा लोकतान्त्रिक संविधान हो, जसले संविधानवादका सिद्धान्त र मूल्यहरूलाई अंगीकार गरेको छ । यो जनताले आफ्ना प्रतिनिधिहरूबाट जनताका नाममा बनाएको संविधान पनि हो । संविधानले संवैधानिक सर्वोच्चताको अवधारणालाई स्वीकार गर्नुका साथै राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने व्यवस्था गरेको छ । नागरिकमा ३१ वटा मौलिक हक अधिकारहरू प्रत्याभूत गरिएको छ, जसमा नागरिक तथा राजनीतिक अधिकारका अलावा आर्थिक तथा सामाजिक अधिकारसमेत समेटिएको पाइन्छ ।

संविधानमा तीन तहको कार्यपालिका, तीन तहको व्यवस्थापिका र न्यायपालिकामा शक्तिको पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको अवधारणालाई अंगीकार गरिएको छ । न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष रूपमा कार्य गर्न सक्ने गरी स्थापना गरिएको छ । नागरिक हक अधिकार संरक्षण गर्न सक्ने गरी असाधारण अधिकार तथा रिट क्षेत्राधिकार प्रदान गरेको छ । १३ वटा संवैधानिक निकायहरूलाई निगरानीमूलक भूमिका प्रदान गरिएको छ । सरकारलाई राजनीतिक तथा कानुनी रूपमा सीमित, नियन्त्रित र व्यवस्थित गर्ने प्रबन्ध गर्दै संविधानले राजनीतिक, आर्थिक एवम् सामाजिक रूपान्तरणको आधार प्रदान गरेको छ । नागरिक अधिकारलाई विस्तार गरी शासनमा जनताको अधिक सहभागिताको अपेक्षा राखेको छ । सरकारलाई जनताकेन्द्रित बनाउन मार्गनिर्देश गर्ने प्रयत्न वर्तमान संविधानले गरेको छ तर पनि संविधानको मर्मबमोजिम उपलब्धि प्राप्त हुन सकेन ।

संविधानले संविधानवादका मान्यता अंगीकार गरेको भए पनि यसका केही व्यवस्था संविधानवादको दृष्टिले टिप्पणीलायक छन् । जसलाई संविधान संशोधन कार्यदलले गम्भीरताका साथ लिनुपर्ने देखिन्छ । जहाँ महत्त्वाकांक्षी मौलिक हक र कार्यान्वयनमा उत्तरदायित्वको अभाव, न्याय परिषद्मा कानुनमन्त्री एवम् राजनीतिक प्रतिनिधित्व तथा संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थितिजस्ता विषयहरू संविधानवादसँग मेल खाँदैनन् । त्यसैगरी अविश्वासको प्रस्तावमा संघीय संसद् र प्रदेशसभामा लगाइएको सीमा संविधानवादको दृष्टिले आलोचनाको एउटा विषय हो । संसद् विघटनका लागि प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई लगाइएको सीमा अर्को बहसको विषय हो । अर्थ विधेयकबाहेकको सरकारी विधेयकमा लगाइएको सीमा तथा मौलिक हकहरूको कार्यान्वयनको पक्ष पनि संविधानवादको दृष्टिले आलोचना गर्न सकिने अन्य व्यवस्थाहरू हुन् ।

कुनै पनि संविधान आफैंमा पूर्ण हुँदैन । त्यसलाई लोकतान्त्रिक अभ्यास र संस्कृतिले पूर्ण बनाउँदै लैजानुपर्ने हुन्छ । तर त्यसको मलतब संविधानवादका मूल मर्मको विपरीत हुने गरी संविधान संशोधनका नाममा पूर्ण बनाउनुपर्छ भनिएको भने पक्कै होइन ।

अन्ततः संविधान संशोधन गर्नु भनेको संविधानमा भएका केही प्रावधानको सामान्य थपघट गरिनु मात्र पक्कै होइन, बरु नागरिकको सार्वभौम अधिकारको प्रयोग गरी समयसापेक्ष बनाउँदै र जनताको भावनाबमोजिम देशको भविष्य र कार्यदिशा तय गर्नु हो । त्यसैले संविधान संशोधन कार्यदलले तयार गर्ने पत्रमा संविधानवादका मूल्य मान्यता र मर्ममा ठेस पुर्‍याउनु हुँदैन । 

टोपजंग

Link copied successfully