कम्युनिस्ट पार्टीका स्वाभाविक संकट

सत्ता आरोहण गरेका कम्युनिस्ट पार्टी र नेतृत्व एजेन्डा र भूमिकाका हिसाबले दम्भी, निरंकुश र दक्षिणपन्थी शासकमा रूपान्तरित भए । जब कम्युनिस्ट पार्टी नै दक्षिणपन्थी भासमा डुब्न पुग्यो, त्यसले कम्युनिस्ट पार्टीको राजनीतिक अभीष्टकै हुर्मत लिन पुग्यो ।

असार २६, २०८३

जेबी विश्वकर्मा

The Natural Crises of the Communist Party

What you should know

नवयुवाको आन्दोलन र निर्वाचनपूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली अहंकार, दम्भ र निरंकुशताले मैमत्त थिए । पार्टीमा प्रश्न र आलोचना वर्जित थिए । ओलीको सनक नै एमालेको विचार बन्थ्यो । फरक विचार राख्ने नेता/कार्यकर्ता ओली दमनको सिकार हुन्थे । सिद्धान्तमा जनवाद भनिए पनि व्यवहारमा एकमनावाद र चरम व्यक्तिवाद हाबी थियो । वास्तवमा विचार, दृष्टिकोण, एजेन्डा र व्यवहारको कसीमा एमालेमा कम्युनिस्ट चरित्र बाँकी थिएन । एमाले मात्रै होइन, नेपालका अधिकांश कम्युनिस्ट पार्टीको हालत त्यस्तै छ ।

औचित्य पुष्टिको संकट बेहोरिरहेका नेपालका ठूला कम्युनिस्ट पार्टीलाई प्रतिनिधिसभाको निर्वाचनले अझ ठूलो संकटतिर धकेलिदिएको छ । कुनै बेला ६० प्रतिशतभन्दा धेरै जनमत पाएका कम्युनिस्ट यतिबेला २० प्रतिशत हाराहारीमा खुम्चिएका छन् । हुन त निर्वाचनको जनमतले मात्रै कम्युनिस्ट राजनीतिको अवस्थाको निर्धारण गर्न सकिँदैन, तथापि संसदीय राजनीतिमा पार्टी मूल्यांकनको आधार निर्वाचन परिणाम नै हो । २१ फागुनको निर्वाचन परिणामका आधारमा नेपालका सबैजसो कम्युनिस्ट पार्टी मतदाताबाट अस्वीकृत भएका छन् ।

संसदीय निर्वाचनमा जनताको साथ नपाएका कम्युनिस्ट पार्टीहरू बौरिने अवस्थामा देखिँदैनन् । ठूलो चोट र आघातबाट सन्नाटा छाएझैं कम्युनिस्ट पार्टीहरू जनताबाट अस्वीकृतको कारण खोज्ने, समीक्षा गर्ने र परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्ने हिम्मतसमेत देखाउन सकिरहेका छैनन् । पार्टीको आन्तरिक जीवनको समस्या हल गर्ने कुनै प्रयत्न नगर्ने कम्युनिस्ट पार्टीले राष्ट्रिय राजनीतिक संकटको समाधान गर्ने विचार निर्माण गर्ने सम्भावना नै रहेन । अर्कोतिर कम्युनिस्ट पार्टीले विगत दुई दशकभन्दा लामो समयदेखि राष्ट्रिय अर्थ–राजनीतिक परिवेशको सैद्धान्तिक, वैचारिक बहस गरेका छैनन् भने ती पार्टीसँग कुनै ठोस राजनीतिक एजेन्डा पनि छैनन् । नेपालको समग्र सामाजिक–आर्थिक रूपान्तरणको कुनै ठोस रणनीतिक योजना पनि कम्युनिस्ट पार्टीमा देखिँदैन । यस्तो अकर्मण्यतामा गुज्रिएका ठूला कम्युनिस्ट पार्टीबाट राष्ट्रिय अर्थराजनीतिक संकटको हल हुन सक्दैन ।

गौरवपूर्ण विरासत 
निरंकुश जहाँनिया राणा शासनविरुद्ध विद्रोहको राँको बालेर वि.सं. २००६ मा स्थापना भएको थियो, नेपाल कम्युनिस्ट पार्टी । सामन्ती निरंकुश राणा–शाही सत्ताको अन्त्य मात्रै होइन, कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनता, सार्वभौम नागरिक अधिकार, समानता र न्यायको पक्षमा दृढतापूर्वक संघर्षमा होमिएको थियो । श्रमजीवी वर्ग, मजदुर, किसान र उत्पीडित वर्ग र समुदायको मुक्तिका एजेन्डा कम्युनिस्ट पार्टीका प्राथमिकता थिए । जहाँनिया राणा शासनको अन्त्य गर्ने होस् वा निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष होस् । सामन्ती शोषण र दमनविरुद्ध जनताले गरेका धेरै विद्रोह र संघर्षको नेतृत्व कम्युनिस्टले नै गरेको इतिहास छ ।  

राजनीतिक व्यवस्था परिवर्तनका लागि भएका विगतका सबैजसो संघर्षमा कम्युनिस्ट पार्टीहरूको योगदान र बलिदानी छ । निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि भएको आन्दोलनदेखि गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष राज्य निर्माणको आन्दोलनमा कम्युनिस्ट पार्टीले योगदान गरेका छन् । ती आन्दोलन, क्रान्ति र संघर्षमा जनताको व्यापक साथ र समर्थन रहेको थियो । जनताको साथकै कारण विगतका कम्युनिस्ट क्रान्ति र संघर्षले उचाइ लिएका थिए र एक हदसम्म राजनीतिक व्यवस्था परिवर्तनका साथै सामाजिक–सांस्कृतिक रूपान्तरणको प्रयास भएका थिए । स्वाभाविक रूपमा नेपालको राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलन कम्युनिस्ट पार्टीले मात्रै गरेका होइनन्, ती संघर्षमा लोकतान्त्रिक, प्रगतिशील र अन्य वामपन्थी शक्तिको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका थियो । यद्यपि, देशलाई गणतन्त्र र संघीय व्यवस्थामा रूपान्तरण गर्न मूलतः तत्कालीन माओवादी र अन्य कम्युनिस्ट पार्टीकै भूमिका बलियो थियो ।

कम्युनिस्ट पार्टीले जनतासमक्ष गरेका वाचा र प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्न नसकेका कारण नेपालका ठूला कम्युनिस्ट पार्टी अस्तित्व रक्षाको प्रश्नको सामना गरिरहेका छन् । समाजको क्रान्तिकारी आर्थिक–राजनीतिक रूपान्तरणको वाचा, सर्वहारा, श्रमजीवी, गरिब र सीमान्तीकृत समुदायका मुक्तिको सपनालाई संसदीय कम्युनिस्ट नेतृत्वले सत्ता र शक्ति प्राप्तिको भर्‍याङ बनाए । जनताको बलिदानीबाट सत्तामा पुगेका कम्युनिस्ट नेतृत्व बिचौलिया, दलाल र पुँजीपतिको स्वार्थको सारथि बन्न पुगे । वास्तवमा सत्ता आरोहण गरेका कम्युनिस्ट पार्टी र नेतृत्व एजेन्डा र भूमिकाका हिसाबले दम्भी, निरंकुश र दक्षिणपन्थी शासकमा रूपान्तरित भए । जब कम्युनिस्ट पार्टी नै दक्षिणपन्थी भासमा डुब्न पुग्यो, त्यसले कम्युनिस्ट पार्टीको राजनीतिक अभीष्टकै हुर्मत लिन पुग्यो । अन्ततः कम्युनिस्ट पार्टी र नेतृत्वले संघर्षको गर्विलो इतिहासलाई नै धुलिसात पारिदिए ।

संकटका आयाम 

नेपालमा कम्युनिस्ट पार्टी र आन्दोलन संकटग्रस्त अवस्थामा छ । संसदीय राजनीतिमा संलग्न कम्युनिस्ट पार्टी निर्वाचनको परिणामसँगै छट्पटी र बिलखबन्दी अवस्थामा छ भने संसदीय व्यवस्थाविरुद्धकै संघर्षमा रहेका कम्युनिस्ट पार्टीहरूले पनि राष्ट्रिय राजनीतिक संकट हल गर्ने स्तरमा हस्तक्षेप गर्न सकेका छैनन् । विशेषतः नेपालका ठूला कम्युनिस्ट पार्टीको संकटको कारण र आयामबारे यहाँ चर्चा गरिएको छः

नेपालमा राजनीतिक दर्शन, विचार र दृष्टिकोणबारे कम्युनिस्ट पार्टीमा बहस र छलफल हुने गरेको देखिन्थ्यो । ती पार्टीभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई हेर्ने दृष्टिकोण, संघर्षको रणनीति र कार्यनीतिजस्ता विषयमा सघन विमर्श र बहस हुने गर्थ्यो । ठूला कम्युनिस्ट पार्टीले एकातिर आफैंले विकास गरेका राजनीतिक दृष्टिकोण र विचारको कार्यान्वयन गरेनन् भने अर्कोतिर समय र परिस्थितिअनुसार आवश्यक नवीन विचार, दृष्टिकोण र योजना निर्माण गर्न सकेनन् । विश्व पुँजीवादको प्रभाव, नेपालमा अभ्यास भइरहेको नवउदारवादी अर्थतन्त्र र उपभोक्तावादी अर्थतन्त्रलाई चुनौती दिने वैचारिकी कस्तो हुने ? देशका श्रमजीवी, गरिब, मजदुर, किसान र उत्पीडित वर्ग र समुदायको मुक्तिको वैचारिक दृष्टिकोण के हुने ? समानता र न्याय सुनिश्चित हुने राज्य संरचना कस्तो हुने ? सामाजिक–सांस्कृतिक क्षेत्रमा रहेका समस्या कसरी हल गर्ने ? जस्ता विषयमा कम्युनिस्ट पार्टीले नवीन विचार निर्माण गर्न सकेनन् । पार्टीले स्वीकार गरेको सैद्धान्तिक विचारको कार्यान्वयन नगर्नु र परिवेशअनुरूप नयाँ विचारको विकास गर्न नसक्नु कम्युनिस्ट पार्टीको मुख्य संकट र समस्या हो ।

संसदीय निर्वाचनमा जनताको साथ नपाएका कम्युनिस्ट पार्टीहरू बौरिने अवस्थामा देखिँदैनन् । ठूलो चोट र आघातबाट सन्नाटा छाएझैं कम्युनिस्ट पार्टीहरू जनताबाट अस्वीकृतको कारण खोज्ने, समीक्षा गर्ने र परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्ने हिम्मतसमेत देखाउन सकिरहेका छैनन् । कम्युनिस्ट पार्टीले सामूहिक नेतृत्वका विश्वास गर्छ । तर, नेपालको ठूला कम्युनिस्ट पार्टीको मूल नेतृत्व सामूहिकतालाई स्वीकार गर्दैन । व्यक्ति नै सर्वेसर्वा हुने, नेतृत्वमाथिको प्रश्नलाई वर्जित गर्ने, नेतृत्वको विचार, दृष्टिकोण र शैलीमाथिको टिप्पणीकर्तामाथि कारबाहीको डन्डा चलाउने र देवत्वकरणको अपेक्षा गर्ने प्रवृत्ति कम्युनिस्ट नेतृत्वमा देखिन्छ, जुन कम्युनिस्ट चरित्रकै बर्खिलापमा छ । अर्कोतिर, ठूला कम्युनिस्ट पार्टीको नेतृत्व युवा अवस्थादेखि नै पार्टीको नेतृत्वमा छन् । पार्टीमा युवा र सक्षम नेतृत्व विकास गर्ने र नेतृत्व हस्तान्तरण गर्ने परिपाटीलाई कम्युनिस्ट पार्टीले पूर्णतः अस्वीकार गरेका छन् । इतिहासले देखाउँछ कि कम्युनिस्ट पार्टीले गरेका सबैजसो संघर्ष र क्रान्तिको नेतृत्व युवा पुस्ताकै नेतृत्वमा भएको थियो । नयाँ र युवा नेतृत्व तयार नगर्ने र सदावहार एउटै व्यक्तिले पार्टीको नेतृत्व कब्जा गरिरहने प्रवृत्तिले पनि कम्युनिष्ट पार्टीलाई ओरालो यात्रामा धकेलिरहेको छ ।   

कम्युनिस्ट पार्टीको मुख्य काम श्रमजीवी, गरिब, किसान, मजदुर र सीमान्तीकृत वर्ग, लिंग र समुदायमाथि हुँदै आएको शोषण, दमन र अत्याचारको अन्त्य गर्नु हो । समानता र न्यायमा आधारित सामाजिक–राजनीतिक र आर्थिक व्यवस्था लागू गर्नु हो । तर, क्रान्तकारी आन्दोलनबाट स्थापित ठूला कम्युनिस्ट पार्टीको मुख्य ध्यान सत्ता प्राप्तिमा केन्द्रित हुन पुग्यो । जनताका मुद्दाको पूर्ण बेवास्ता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्वको ध्यान र शक्ति सत्ता, शक्ति र स्रोत प्राप्तिमा केन्द्रित हुन पुग्यो । सत्तादेखि सत्तासम्मको रणनीतिले पार्टीका निश्चित नेतृत्वले त फाइदा पायो, तर आम जनताका सपना र अपेक्षामाथि धोकाधडी मात्रै हुन पुग्यो । यति मात्रै होइन, नेतृत्वको चाकडी र दलाली गर्ने व्यक्तिले सत्ताको चरम दुरुपयोग गरे भने इमानदार नेता/कार्यकर्ता निरन्तर उपेक्षामा पर्ने परिस्थिति बन्यो । कम्युनिस्ट आन्दोलनलाई सत्ता प्राप्तिको भर्‍याङ बनाउने तर सत्तामा पुगेपछि जनताका आर्थिक–सामाजिक रूपान्तरण गर्नेभन्दा दलाल र पुँजीपतिको स्वार्थपूर्तिको केन्द्र बनेका कारण नेपालका ठूला कम्युनिस्ट पार्टीलाई जनताले सबक सिकाएका हुन् ।

कम्युनिस्ट पार्टीको आधारभूत एजेन्डा वर्ग संघर्ष हो । उत्पीडित वर्ग र समुदायमाथि राज्यबाट ऐतिहासिक रूपमा हुँदै आएको विभेद, बहिष्करण, शोषण, दमन र अत्याचारविरुद्ध सशक्त संघर्ष गर्नु कम्युनिस्ट पार्टीको दायित्व हो । यति मात्रै होइन, पुँजीवादी दमन र वित्तीय उत्पीडनविरुद्ध संघर्ष गर्नु र राज्यलाई श्रमजीवी वर्ग र समुदायको अधिकारप्रति जवाफदेही बनाउनु पनि हो । तर, नेपालका कम्युनिस्ट पार्टीहरू जनताका आधारभूत एजेन्डाबाट निकै टाढा पुगिसकेका छन् । भ्रष्टाचारमुक्त र समावेशी सुशासन कम्युनिस्ट पार्टीको एजेन्डा थिए तर ती पार्टीको नेतृत्व नै भ्रष्टाचार र अनियमिततामा सामेल छन् । सहकारी, लघुवित्त र मिटरब्याजपीडित श्रमजीवी जनताले न्यायका लागि निरन्तर संघर्ष गर्दै आइरहेका छन् । वालेन्द्र शाह नेतृत्वको सरकारले भूमिहीन सुकुमवासीको हुर्मत लिइरहेको छ । संरक्षण गर्नुपर्ने राज्यबाटै आतंकित भएर बाँचिरहनुपरेको छ । सत्ताको बन्दुकसँग प्रतिरोध गरिरहेको यो वर्ग र समुदायको आन्दोलनप्रति कम्युनिस्ट पार्टी गुमनाम छन् । दलित भएकै कारण कोठाभाडामा भएको विभेदविरुद्ध डेढ महिनादेखि दीपा नेपालीलगायत समूह न्यायको माग गर्दै सत्याग्रहमा बसेको छ । अन्तरजातीय विवाहकै कारण व्यक्ति हत्याको शृङ्खला चलिरहेको छ । यस्ता गम्भीर मुद्दाप्रति ठूला कम्युनिस्ट पार्टीको कुनै चासो र चिन्ता छैन ।

आदिवासी जनजाति, उत्पीडित जातजाति वर्ग र समुदायले भाषिक, सांस्कृतिक सभ्यताको पहिचान र सम्मानको माग गर्दै आन्दोलन गरेको लामो समय भइसक्यो । आदिवासी जनजाति, मधेशी, थारूलगायत उत्पीडित समुदायको पहिचान र सम्मानसहितको संघीयता स्थापित हुन सकेन । तथापि, उत्पीडित समुदायको पहिचान, आत्मसम्मान र मुक्तिसँग जोडिएको संघीयताको हुर्मत लिने काम भइरहेको छ । तर, कम्युनिस्ट पार्टीहरू यस्ता गम्भीर विषयमा कुनै विचार निर्माण गर्दैनन्, प्रतिरोध गर्दैनन् । 

नेपाली समाजमा जातजाति, लिंग, वर्ग र समुदायको विविधता छ । कम्युनिस्ट पार्टीहरूले यो यथार्थ स्वीकार गरेका छन् । विशेषगरी क्रान्तिकारी राजनीतिक आन्दोलन र उत्पीडित समुदायको संघर्षले समावेशी राजनीतिक सिद्धान्तलाई स्थापित गरेका छन् । समानुपातिक समावेशी सिद्धान्त स्वीकार गर्ने कम्युनिस्ट पार्टीको मुख्य नीति निर्माण गर्ने कमिटीमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिमलगायत सीमान्तीकृत समुदायको अर्थपूर्ण समानुपातिक प्रतिनिधित्व गरिनुपर्थ्यो । तर, पितृसत्ता र जात व्यवस्थाविरुद्ध लड्नुपर्ने कम्युनिस्ट पार्टीको नेतृत्व नै पुरुषवादी र प्रभुत्वशाली वर्ग तथा समुदायको दबदबाबाट मुक्त छैन । त्यसैले नीति, संरचना र व्यवहारलाई नै समावेशी बनाउन नसक्नु र ती एजेन्डालाई पार्टीको प्राथमिक एजेन्डा नबनाउनु पनि कम्युनिस्ट पार्टीप्रति जनविश्वास कमजोर हुनुको कारण हो । 

कुनै बेला सामन्तवादको अन्त्य गर्ने र गणतन्त्र स्थापना गर्ने मुद्दा कम्युनिस्ट पार्टीको मुख्य मुद्दा थियो । संविधानसभाको निर्वाचनबाट राज्यको पुनःसंरचना त्यस्तै महत्त्वपूर्ण एजेन्डा थियो । संविधान निर्माणसँगै समाजवादी व्यवस्था निर्माण सबैजसो पार्टीको एजेन्डा बन्यो । तर, समाजवादी व्यवस्था निर्माणबारे ठूला कम्युनिस्ट पार्टीले कहिल्यै बहस र विमर्श गरेनन् । नेपालमा खोजिएको समाजवाद कस्तो हो ? धनी झन्–झन् धनी हुने तर गरिब जति श्रम गरे पनि जीविका चलाउनै नसक्ने अवस्थामा देशका लागि कस्तो अर्थतन्त्रको आवश्यकता हुन्छ ? दैनिक २५ सय युवा वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन्, देशमा रोजगारी सिर्जना गर्ने विधि के हुन्छन् ? समाजमा अहिले पनि जातजाति, लिंग र पहिचानका आधारमा विभेद छन् । यस्ता विभेद अन्त्य गर्ने समाजवादी व्यवस्था कस्तो हुन्छ ? यस्ता विषय नेपालका कम्युनिस्ट पार्टीको छलफलको एजेन्डासमेत बन्न सकेका छैनन् । जब जनताले आफ्नो समस्या हल हुने सपनाको प्रतिबिम्ब पार्टीहरूमा देख्दैनन्, तब स्वाभाविक रूपमा जनताले साथ छोड्छन् । नेपालका ठूला कम्युनिस्ट पार्टीका वैचारिक र व्यावहारिक संकट यिनै हुन् ।

बिलाउने कि जाग्ने ? 
संसारभरि फैलिएको दक्षिणपन्थी राजनीति नेपालमा पनि तीव्र गतिमा वेगवान् छ । वालेन्द्र शाह नेतृत्वको सरकार गरिब, श्रमजीवी वर्ग र समुदायमाथि निरन्तर दमनमा उत्रिएको छ । अर्थमन्त्री पुँजीपतिलाई धनी बनाउने महाअभियानमा छन् । राजनीतिक संघर्षबाट प्राप्त संघीयतामाथि सत्तारूढ पार्टीले धावा बोलिरहेको छ । यति मात्रै होइन, सरकार समानुपातिक समावेशी सिद्धान्तकै बर्खिलाप हुने नीति निर्माणमा अग्रसर छ । सरकारको नियुक्तिलाई मात्रै हेर्ने हो झने तथाकथित मेरिटोत्रेसीको नाममा समानुपातिक समावेशी सिद्धान्तको धज्जी उडाइँदैछ । भारतको मोदी सरकारले जस्तै धर्मनिरपेक्षतामाथिको प्रहारलाई तीव्रता दिएका छन् ।

देशलाई दक्षिणपन्थी निरंकुशतातर्फ जानबाट रोक्न र जनताले प्राप्त गरेका उपलब्धिको रक्षाका लागि पनि नेपालमा वामपन्थी र कम्युनिस्ट शक्तिको आवश्यकता छ । तर, अहिलेको ठूला कम्युनिस्ट पार्टीको विचार, दृष्टिकोण र नेतृत्वबाट कम्युनिस्ट पार्टीमा आमूल रूपान्तरण सम्भव छैन । त्यसैले बदलिँदो राष्ट्रिय संकटलाई हल गर्ने नयाँ राजनीतिक वैचारिकी, नयाँ नेतृत्व र योजनासहितको कम्युनिस्ट पार्टी रूपान्तरित हुन सकेनन् भने कम्युनिस्ट पार्टीको मृत्युलाई कसैले रोक्न सक्दैन । 

जेबी सामाजिक–राजनीतिक अध्येता विश्वकर्मा कान्तिपुरका स्तम्भकार हुन् ।

Link copied successfully