घरेलु श्रमिकको सम्मान र सुरक्षा

धेरै घरेलु श्रमिकले अझै पनि श्रम संरक्षण, सामाजिक सुरक्षा, पेसागत सुरक्षा तथा स्वास्थ्य, लिखित करार र हिंसा तथा उत्पीडनविरुद्ध उजुरी गर्ने संयन्त्रमा प्रभावकारी पहुँच पाएका छैनन् । न्यूनतम ज्यालाको दायरा अझै सबैभन्दा ठूलो कमजोरीका रूपमा रहेको छ ।

असार २६, २०८३

नुमान ओज्कान

Respect and Protection of Domestic Workers

What you should know

पन्ध्र वर्षअघि, जुन महिनाको एक घमाइलो दिनमा जेनेभामा विश्वभरका लाखौं घरेलु श्रमिकले लामो समयदेखि पाउनुपर्ने मान्यता प्राप्त गरे । अन्तर्राष्ट्रिय श्रम सम्मेलनले घरेलु श्रमिकसम्बन्धी महासन्धि, २०११ (नम्बर १८९) पारित गर्नु एउटा ऐतिहासिक उपलब्धि थियो । पहिलो पटक घरेलु कामलाई अन्य कुनै पनि कामसरहको कामका रूपमा मान्यता दिइयो, जसले अन्य रोजगारीका स्वरूपझैं समान अधिकार, संरक्षण र मर्यादा पाउनुपर्छ ।

घरेलु श्रमिकले परिवार, समाज र अर्थतन्त्रलाई टिकाइराख्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । उनीहरूले घर सफा गर्छन्, खाना पकाउँछन्, घरको रेखदेख गर्छन् र बगैंचाको हेरचाह गर्छन् । उनीहरूले बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको स्याहार गर्छन्, जसका कारण लाखौं मानिसलाई श्रम बजार र सामुदायिक जीवनमा सहभागी हुन सम्भव हुन्छ ।

तर, यति महत्त्वपूर्ण योगदानका बाबजुद घरेलु श्रमिकहरू विश्वकै सबैभन्दा कम मूल्यांकन गरिएका, कम संरक्षण पाएका र कम प्रतिनिधित्व भएका श्रमिकमध्ये पर्छन् । उनीहरूको ठूलो हिस्सा महिला छन् । धेरैजसो अनौपचारिक व्यवस्थामा काम गर्छन्, जहाँ श्रम अधिकार, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थलमा उनीहरूको पहुँच सीमित हुन्छ ।

अन्तर्राष्ट्रिय श्रम मापदण्डका रूपमा रहेको घरेलु श्रमिकसम्बन्धी महासन्धिले घरेलु श्रमिकलाई श्रमिकका रूपमा मान्यता दिँदै उनीहरू अन्य श्रमिकसरह समान अधिकार र संरक्षणका हकदार हुन् भन्ने आधार स्थापित गर्‍यो ।

महासन्धि पारित भएको पछिल्लो १५ वर्षमा केही प्रगति भएको छ । सन् २०२१ सम्म विश्वभर श्रम कानुनले समेटेका घरेलु श्रमिकको संख्या १५ प्रतिशत विन्दुले बढेको थियो । धेरै देशहरूले कानुनी संरक्षण विस्तार गरेका छन्, काम गर्ने अवस्थामा सुधार गरेका छन् र श्रमिक अधिकार कार्यान्वयन गर्ने संस्थाहरूलाई सुदृढ बनाएका छन् । तर यो प्रगति सबैसम्म पुगेको छैन ।

लाखौं घरेलु श्रमिक अझै पनि लामो कार्य घण्टा, न्यून ज्याला, असुरक्षित कार्य अवस्था र सामाजिक सुरक्षा प्रणालीबाट बहिष्करणको सामना गरिरहेका छन् । घरेलु कामको ठूलो हिस्सा अनौपचारिक भएकाले धेरै श्रमिक कार्यस्थलमा हुने चोटपटक, रोग, बिरामी र वृद्धावस्थाको गरिबीप्रति असुरक्षित छन् ।

आप्रवासी घरेलु श्रमिकका लागि यी चुनौतीहरू झनै जटिल हुन्छन् । प्रतिबन्धात्मक आप्रवासन नीति, भर्ना लागत, भाषागत अवरोध, रोजगारदातामाथिको निर्भरता र कानुनी हैसियत गुम्ने डरले उनीहरूलाई थप जोखिममा पार्छ ।

आज घरेलु श्रमिकको संरक्षण पहिलेभन्दा अझ बढी जरुरी भएको छ । जनसंख्याको वृद्धावस्था, परिवारको संरचनामा आएको परिवर्तन र श्रम शक्तिमा महिलाको बढ्दो सहभागिताका कारण घरेलु काम र स्याहार सेवाको माग तीव्र रूपमा बढिरहेको छ । यसैबीच, डिजिटल रूपान्तरण, जलवायु परिवर्तन र द्वन्द्वले श्रम बजारलाई पुनः आकार दिँदै नयाँ जोखिमहरू सिर्जना गरिरहेका छन् । निर्णायक कदम नचालिएमा विश्वभरका ७ करोड ५० लाखभन्दा बढी घरेलु श्रमिक खराब हुँदै गएको भर्ना प्रक्रिया र कार्य अवस्थाको जोखिममा पर्न सक्छन्, साथै बालश्रम र बाध्यकारी श्रमतर्फ उनीहरूको जोखिम पनि बढ्न सक्छ ।

लाखौं घरेलु श्रमिक अझै पनि लामो कार्य घण्टा, न्यून ज्याला, असुरक्षित कार्य अवस्था र सामाजिक सुरक्षा प्रणालीबाट बहिष्करणको सामना गरिरहेका छन् ।नेपालले घरेलु श्रमिकको मान्यतातर्फ महत्त्वपूर्ण प्रगति गरेको छ । श्रम ऐनले घरेलु कामलाई विशेष प्रकृतिको सेवाका रूपमा गरेको मान्यता, मुलुकी देवानी संहितामा न्यूनतम उमेर, अनिवार्य शिक्षा र रोजगारदाताका दायित्वसम्बन्धी व्यवस्था, दर्तामा स्थानीय तहको भूमिका तथा अनौपचारिक श्रमिकलाई हालै सामाजिक सुरक्षामा समेट्ने पहलले आईएलओ महासन्धि नम्बर १८९ सँग थप सामञ्जस्य कायम गर्ने आधार तयार गरेका छन् ।

यी सुधारहरूले नेपालमा घरेलु श्रमिकलाई श्रमिकका रूपमा थप संरक्षण र मान्यता दिने आधारशिला खडा गरेका छन् । तर घरेलु श्रमिकसम्बन्धी महासन्धिका मापदण्डको तुलनामा नेपालको कानुनी संरचनाको हालै गरिएको विश्लेषणले अझै महत्त्वपूर्ण खाडलहरू रहेको देखाउँछ । धेरै घरेलु श्रमिकले अझै पनि श्रम संरक्षण, सामाजिक सुरक्षा, पेसागत सुरक्षा तथा स्वास्थ्य, लिखित करार र हिंसा तथा उत्पीडनविरुद्ध उजुरी गर्ने संयन्त्रमा प्रभावकारी पहुँच पाएका छैनन् । न्यूनतम ज्यालाको दायरा अझै सबैभन्दा ठूलो कमजोरीका रूपमा रहेको छ ।

घरेलु श्रमिकहरू प्रायः अनौपचारिक व्यवस्थामा काम गर्छन्, जसले उनीहरूलाई शोषणप्रति असुरक्षित बनाउँछ र उनीहरूको अधिकार कार्यान्वयन गर्न कठिन बनाउँछ । बाल घरेलु श्रम, सामूहिक सौदाबाजीमा रहेका अवरोध, जातीय भेदभाव र आप्रवासी घरेलु श्रमिकले सामना गर्ने थप जोखिमबारे पनि चिन्ताहरू कायम छन् ।

यी निष्कर्षहरूले एउटा महत्त्वपूर्ण वास्तविकता उजागर गर्छन्– मान्यता पहिलो महत्त्वपूर्ण कदम हो तर यसलाई कार्यान्वयन, अनुगमन र सुधारसँग जोडिनुपर्छ, जसले घरेलु श्रमिकले अन्य सबै श्रमिकसरह समान अधिकार र संरक्षण पाउने सुनिश्चित गरोस् । त्यसैले सुधारको अबको चरण केवल मान्यतामा सीमित नभई कार्यान्वयनयोग्य अधिकार, ठोस योजना र कार्यतर्फ केन्द्रित हुनुपर्छ ।

प्रगति भए पनि अबको प्रश्न हो– आगामी १५ वर्षमा परिवर्तनलाई कसरी तीव्र बनाउने ? नेपालका लागि अगाडि बढ्ने बाटो स्पष्ट छ । घरेलु श्रमिकलाई उनीहरूको कामको वास्तविकता झल्काउने र उनीहरूका अधिकारलाई सम्मान गर्ने व्यापक कानुनी तथा नीतिगत संरचनामार्फत पूर्ण रूपमा मान्यता र संरक्षण दिनुपर्छ । यसमा स्पष्ट र सुसंगत कानुनी परिभाषा, स्थानीय तहमा दर्ता हुने लिखित करार, न्यूनतम ज्याला, कार्य घण्टा, अतिरिक्त समयको काम, विश्राम र बिदामा समान व्यवहार तथा सामाजिक सुरक्षा, मातृत्व संरक्षण र पेसागत सुरक्षा तथा स्वास्थ्यमा प्रभावकारी पहुँच समावेश हुनुपर्छ ।

बाल घरेलु श्रमिक, आवासीय घरेलु श्रमिक र नेपाली आप्रवासी घरेलु श्रमिकका लागि विशेष सुरक्षा उपाय आवश्यक छन् । यसमा स्वदेश फिर्तीको अधिकार, कागजात रोजगारदाताले राखिराख्ने कार्यविरुद्धको संरक्षण र बलियो अनुगमन संयन्त्र समावेश हुनुपर्छ । घरेलु श्रमिकले संगठित हुन, प्रतिनिधित्व पाउन र सामाजिक संवादमा अर्थपूर्ण रूपमा सहभागी हुन पाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । यी उपायहरू केवल कानुनी सुधार मात्र होइनन्, यी मर्यादा, समानता र मर्यादित काममा गरिने लगानी हुन् ।

यी लक्ष्यहरू अघि बढाउन घरेलु श्रमिकसम्बन्धी महासन्धिको अनुमोदन अझै पनि केन्द्रीय महत्त्वको विषय हो । तर अनुमोदन यात्राको अन्त्य होइन । यो लोकतान्त्रिक प्रतिबद्धता हो– घरेलु श्रमिकहरू अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायको संरचनाभित्र पर्छन् भन्ने प्रतिज्ञा हो ।

त्यसैले यो वार्षिकोत्सव केवल स्मरणको अवसर होइन, कार्यका लागि आह्वान पनि हो । हालको प्रगतिको गतिले हेर्दा विश्वभरका सबै घरेलु श्रमिकले पर्याप्त श्रम संरक्षण पाउन अझै ८५ वर्ष लाग्न सक्छ । यो अत्यन्तै लामो समय हो ।

घरेलु श्रमिक हाम्रो अर्थतन्त्रका आधारस्तम्भ हुन् । उनीहरूले अत्यावश्यक स्याहार सेवा प्रदान गर्छन्, जसले करोडौं महिला र पुरुषलाई काम, परिवार र सामुदायिक जीवनमा सहभागी हुन सक्षम बनाउँछ । उनीहरूले पाउनुपर्ने अधिकार र संरक्षणका लागि उनीहरूलाई अझै दशकौं कुर्न लगाउनु हुँदैन ।

घरेलु श्रमिक स्वयंले मर्यादित कामको बलियो आधार पाउने सुनिश्चित गर्ने समय यही हो । हाम्रो सामूहिक कल्याण त्यसैमा निर्भर छ ।

नुमान

Link copied successfully