बिरामी अस्पतालमा रोगसँगै डर, भविष्यको चिन्ता, अनगिन्ती प्रश्न र बाँच्ने आशा बोकेर पुग्छ । रिपोर्टले रोग देखाउन सक्छ, परीक्षणले निदान पुष्टि गर्न र औषधिले उपचार ! तर, उपचारको पहिलो अनुभूति संवादबाटै सुरु हुन्छ ।
What you should know
केही दिनअघि सामाजिक सञ्जालमा एउटा अनुभव पढें । सो अनुभवमा लेखक एवं अधिवक्ता दुर्गा कार्कीले केही वर्षयता आफू र परिवारका विभिन्न व्यक्ति स्वास्थ्य समस्याका कारण अनेक चिकित्सकसँग भेट्नुपरेको कुरा लेखेकी थिइन् । उनको गुनासो औषधिको प्रभावकारिताभन्दा संवादको अभावबारे थियो– प्रश्न सोध्दा झर्किने व्यवहार, परीक्षणको कारण स्पष्ट नपारिने अवस्था, रिपोर्ट बुझ्न खोज्दा हतारको अनुभूति ! कार्कीको स्टाटसको कमेन्ट खण्ड अझ अर्थपूर्ण थियो । त्यहाँ अन्य मानिसले पनि आफ्ना अनुभव थपिरहेका थिए– कथा फरक थिए, अनुभूति उस्तै ।
बिरामी भई अस्पताल पुग्ने मानिसले औषधि मात्रै खोजिरहेको हुँदैन । ऊ आफ्नो शरीरमा के भइरहेको छ ? बुझ्न चाहन्छ । उपचारको यात्रा रोग पत्ता लगाउनु मात्रै होइन, आफूभित्र भइरहेको परिवर्तन बुझ्ने प्रयास पनि हो । तर, हाम्रो स्वास्थ्य प्रणालीमा धेरै पटक उपचारको औपचारिक प्रक्रियाबाहिर यही बुझाइ छुट्छ । त्यसैले धेरै मानिसले चिकित्सकको ज्ञानमाथि होइन, संवादको अभावमाथि गुनासो गर्छन् ।
बिरामीलाई सबै उत्तर थाहा हुनु आवश्यक छैन, तर उसलाई किन कुनै परीक्षण भइरहेको छ ? सम्भावना के हुन् ? र, अबको बाटो कस्तो हुन सक्छ ? को सामान्य बुझाइ आवश्यक हुन्छ । कारण, सम्भावना र अवस्थाबारे जानकारी दिनु कुनै भाइभा डिफेन्ड गरेजस्तो कठिन परीक्षा होइन, न यसका लागि धेरै समय नै खर्चिनुपर्छ । बरु यही सानो प्रयासले बिरामीको विश्वास जित्छ र उसलाई ‘आफू केवल एउटा केस नम्बर होइन’ भन्ने अनुभूति दिलाउँछ । अन्ततः चिकित्सक–बिरामी सम्बन्धलाई अझ मानवीय, विश्वसनीय र अर्थपूर्ण बनाउँछ ।
यसैबीच उपचार खोज्ने तरिकामा पनि परिवर्तन देखिन थालेको छ । अस्पताल पुग्नुअघि मानिसहरू गुगलमा खोज्छन्, एआईसँग लक्षणबारे कुरा गर्छन् र त्यसपछि मात्रै चिकित्सककहाँ पुग्छन् । धेरैका लागि यो उपचारको पहिलो चरणजस्तै बनिरहेको छ । यसको अर्थ मानिसले चिकित्सकको विकल्प खोजेका होइनन् । बरु आफ्नो शरीरबारे प्रारम्भिक बुझाइ बनाउने, प्रश्नहरू व्यवस्थित गर्ने र कम डरका साथ अस्पताल पुग्ने प्रयास हो ।
एआईलाई हाम्रो पीडाको अनुभूति हुँदैन । हाम्रो स्वास्थ्यसँग उसको कुनै मानवीय सम्बन्ध पनि हुँदैन । तर उसले बीचमै रोक्दैन, झर्किंदैन र जति पटक सोधे पनि उत्तर दिन्छ । त्यसैले कतिपय मानिसले स्क्रिनसँग कुरा गर्दा आफू सुनिएको अनुभव गर्छन् ।
आधुनिक समाजमा मानिसहरू बिस्तारै सम्बन्धभन्दा प्रक्रियामा बदलिँदै गएका छन् । विद्यालयमा विद्यार्थी एउटा नतिजा बन्छ । कार्यालयमा कर्मचारी एउटा कार्यसम्पादन सूचकांक बन्छ । राज्यका लागि नागरिक एउटा तथ्यांक बन्छ । अस्पतालमा बिरामी एउटा केस बन्छ । परीक्षण, रिपोर्ट र जैविक सूचक उपचारका आधार बन्छन् तर त्यही प्रक्रियामा रोगसँग बाँचेको मानिसको कथा, डर र सामाजिक सन्दर्भ ओझेल पर्न सक्छ । समस्या चिकित्सकले बिरामीलाई देख्न नचाहेको होइन, चिकित्सा अभ्यासको संरचनाले रोगलाई मानिसभन्दा बढी देख्न सिकाएको हो ।
संवाद कुनै अतिरिक्त सौजन्यता होइन, उपचारको एउटा महत्त्वपूर्ण अंग हो । बिरामीले धेरै पटक चमत्कार खोजेको हुँदैन । उसले आफ्नो अवस्थाबारे एउटा स्पष्ट व्याख्या खोजेको हुन्छ ।तर, यो समस्या चिकित्सकको व्यक्तिगत कमजोरी मात्रै होइन । यो चिकित्सा प्रणालीका पेसागत र संरचनागत सीमाको पनि परिणाम हो । उनीहरू आफैं एउटा जटिल प्रणालीभित्र काम गरिरहेका हुन्छन् । चिकित्सा शिक्षा अत्यन्तै प्रतिस्पर्धात्मक, कठोर र मागपूर्ण छ, जसले वर्षौंको अध्ययन र निरन्तर मूल्यांकनमार्फत दक्ष चिकित्सक तयार पार्छ । चिकित्सा अध्ययनका विद्यार्थीलाई कठिन परिस्थितिसँग जुध्न, भावनात्मक रूपमा बलियो हुन सिकाइन्छ । यो शल्यक्रिया गर्ने वा आकस्मिक अवस्था सम्हाल्नेका लागि आवश्यक पनि हो । त्यसैले कारण आज चिकित्सा विज्ञानले असाधारण प्रगति गरेको छ । तर, विश्वभरि बढ्दो रूपमा अर्को प्रश्न पनि उठ्न थालेको छ– उत्कृष्ट चिकित्सक तयार पार्ने क्रममा बिरामीसँग संवाद गर्ने, उसको सामाजिक सन्दर्भ बुझ्ने र जटिल चिकित्सकीय जानकारी सहज भाषामा व्याख्या गर्ने सीपलाई पनि समान प्राथमिकता दिइएको छ कि छैन ?
अर्कोतर्फ नेपालमा विशेषज्ञ चिकित्सकको संख्या आवश्यकताभन्दा कम छ । सरकारी अस्पतालमा एकै दिनमा सयौं बिरामी हेर्नुपर्ने अवस्था सामान्य छ । सीमित जनशक्ति, प्रशासनिक जिम्मेवारी, कानुनी जोखिम र बढ्दो सामाजिक अपेक्षाबीच चिकित्सकहरू निरन्तर दबाबमा काम गरिरहेका छन् । यस्तो अवस्थामा समय सबैभन्दा दुर्लभ स्रोत बन्छ । र, समय अभाव हुँदा सबैभन्दा पहिले छुट्ने विषय नै संवाद हुन्छ, जबकि उपचारमा त्यसको महत्त्व कुनै परीक्षण वा औषधिभन्दा कम हुँदैन ।
चिकित्सा विज्ञान जैविक विज्ञान मात्र होइन, मान्छेसँग सम्बन्धित विज्ञान पनि हो । यही बुझाइका कारण पछिल्ला वर्षमा विश्वका धेरै चिकित्सा शिक्षालयले मानविकीलाई स्वास्थ्य शिक्षाको महत्त्वपूर्ण अंगका रूपमा समेट्न थालेका छन् । साहित्य, समाजशास्त्र, दर्शन, इतिहास, नैतिकता र मनोविज्ञानजस्ता विषयले भविष्यका चिकित्सकलाई रोग मात्रै होइन, रोगसँग बाँचिरहेको मानिसलाई पनि बुझ्न सहयोग गर्छन् । शरीर र समाजलाई छुट्टाछुट्टै होइन, एकअर्कासँग गाँसिएका यथार्थका रूपमा हेर्ने दृष्टि चिकित्सा अभ्यासका लागि पनि उत्तिकै आवश्यक बन्दै गएको छ ।
संवाद कुनै अतिरिक्त सौजन्यता होइन, उपचारको एउटा महत्त्वपूर्ण अंग हो । बिरामीले धेरै पटक चमत्कार खोजेको हुँदैन । उसले आफ्नो अवस्थाबारे एउटा स्पष्ट व्याख्या खोजेको हुन्छ । किन यो परीक्षण आवश्यक छ ? अहिले किन निश्चित निष्कर्षमा पुग्न सकिएको छैन ? अब उपचारको अर्को चरण के हो ? भन्ने सामान्य जानकारीले पनि ठूलो मानसिक भार हलुका बनाउन सक्छ । कहिलेकाहीं रोग निको हुन समय लाग्छ, तर अन्योल कम हुन केही मिनेटको संवाद नै पर्याप्त हुन्छ ।
यद्यपि यो सम्बन्धलाई चिकित्सकको पक्षबाट मात्रै हेर्नु पनि पर्याप्त हुँदैन । हाम्रो समाजमा चिकित्सकलाई ‘भगवान्’ भन्ने चलन अझै बलियो छ । यो सम्मानको भाषा जस्तो सुनिए पनि यसले एउटा असहज दूरी सिर्जना गर्छ । चिकित्सकहरू सीमित समय, सीमित स्रोत र जटिल निर्णयबीच काम गर्ने पेसाकर्मी हुन् । उनीहरूलाई देवत्वमा राख्नु सम्मानजस्तो देखिए पनि अन्ततः मानवीय संवादकै सम्भावना घटाउने संस्कृतिको निर्माण हो । अर्कोतर्फ बिरामी पनि प्रश्न सोध्न हिच्किचाउँछ । आफ्नो शरीरबारे बुझ्न खोज्दा पनि कतिपयलाई असहज महसुस हुन्छ । तर, आजको शिक्षित र सूचनामा पहुँच भएको पुस्ता केवल औषधि खान चाहँदैन– आफ्नो उपचार प्रक्रियाको साझेदार बन्न चाहन्छ ।
यही अपेक्षा र पुरानो चिकित्सकीय संस्कृतिबीच अहिले नयाँ तनाव देखिन थालेको छ । यो स्वास्थ्य प्रणाली, चिकित्सा शिक्षा र हाम्रो सामाजिक सोचको संयुक्त परिणाम हो । समाधान पनि त्यत्तिकै साझा हुनुपर्छ । अस्पतालमा संवादका लागि छुट्याइने समयलाई उपचारको अभिन्न अंगका रूपमा स्वीकार गर्नुपर्छ । मेडिकल शिक्षामा मानविकी, सञ्चार सीप र बिरामीको सामाजिक सन्दर्भ बुझ्ने अभ्यासलाई वैज्ञानिक ज्ञानभन्दा कम महत्त्वको विषय मानिनु हुँदैन । बिरामीलाई पनि आफ्नो उपचारबारे प्रश्न सोध्ने अधिकार र जिम्मेवारी दुवै भएको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ । चिकित्सकलाई भगवान् होइन, जिम्मेवार र संवेदनशील पेसेवरका रूपमा सम्मान गर्ने सामाजिक दृष्टिकोण पनि उत्तिकै आवश्यक छ । चिकित्साको इतिहास हेर्दा उपचारमा विश्वास, संवाद र सम्बन्ध पनि उपचारका साधन थिए ।
अन्ततः बिरामी अस्पतालमा केवल एउटा शरीर लिएर प्रवेश गर्दैन– आफ्नो डर, परिवार, भविष्यको चिन्ता, अनगिन्ती प्रश्न र बाँच्ने आशा पनि सँगै बोकेर पुग्छ । रिपोर्टले रोग देखाउन सक्छ, परीक्षणले निदान पुष्टि गर्न सक्छ र औषधिले उपचार गर्न सक्छ । तर, उपचारको पहिलो अनुभूति धेरै पटक संवादबाटै सुरु हुन्छ । आधुनिक चिकित्सा विज्ञानले रोगसँग लड्ने असाधारण क्षमता हासिल गरिसकेको छ । अब त्यसलाई मानिसको कथा सुन्ने क्षमतासँग पनि जोड्न सकियो भने उपचार केवल सफल होइन, अझ पूर्ण, विश्वसनीय र मानवीय हुनेछ ।
