विद्यालय भवन मात्रै होइन, सक्षम पुस्ता निर्माणको महत्त्वपूर्ण स्थल हो । समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भ नै नबुझी शिक्षा नीति बनाउँदा व्यवहारमा त्यो सफल हुन सक्दैन ।
What you should know
नेपालका केही सफल सामुदायिक विद्यालयको सफलताका रहस्य खोज्ने हो भने तिनमा एउटा साझा अभ्यास भेटिन्छ– सक्षम शैक्षिक नेतृत्व, जिज्ञासु शिक्षक समूह र सक्रिय अभिभावकको सहकार्य ।
नेपालको विद्यालय शिक्षाबारे छलफल हुँदा वा कुनै नीतिको खाका कोरिँदा एउटा महत्त्वपूर्ण स्थान जहिल्यै खाली भेटिन्छ । त्यो हो– दैनिक कक्षाकोठामा विद्यार्थीसँग समय बिताउने शिक्षकका बुझाइ, भोगाइ र समस्या पहिचानसँगै तिनका समाधानका उपायको खोजी । यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरेका तर स्थानीय विद्यालय, विद्यार्थी, अभिभावक र समुदायको सामाजिक–सांस्कृतिक धरातल अनि मनोवृत्ति नबुझेका विशेषज्ञका विचार महत्त्वपूर्ण हुन् कि विद्यालय शिक्षाको पिँधसँग जोडिएका शिक्षकका ? प्रश्न व्यक्तिको योग्यतासम्बन्धी होइन– शिक्षा सुधारको आधारभूत दर्शनसँग सम्बन्धित हो ।
विद्यालय शिक्षा कुनै प्रयोगशालामा गरिने वैज्ञानिक परीक्षण मात्रै होइन– एक सामाजिक प्रक्रिया हो, जसले समुदाय, संस्कृति, भाषा, परिवार, अर्थतन्त्र र स्थानीय आवश्यकतासँग प्रत्यक्ष सम्बन्ध जोड्छ । त्यसैले विद्यालय शिक्षा सुधारका नीति बनाउँदा वा पाठ्यक्रम निर्माण गर्दा वा शिक्षक तालिम डिजाइन गर्दा वा मूल्यांकन प्रणाली विकास गर्दा कक्षा–शिक्षकको अनुभव र बुझाइलाई केन्द्रमा राख्नु अपरिहार्य हुन्छ ।
विश्वविद्यालयको डिग्री, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवको आफ्नै महत्त्व छ । त्यसले नयाँ दृष्टिकोण, नवीन अभ्यास र तुलनात्मक अध्ययन प्रदान गर्छ । तर, कुनै पनि सिद्धान्त वा मोडल स्थानीय यथार्थसँग मेल नखाएसम्म प्रभावकारी हुन सक्दैन, त्यसमा पनि विद्यालय शिक्षा झनै जीवन र दैनिकीसँग जोडिएर बस्छ । त्यहाँ शिक्षक–विद्यार्थीबीच सम्मान, विश्वास र भावनात्मक सम्बन्ध जोडिन्छ ।
नेपालमा विद्यालय शिक्षासम्बन्धी नीति र पाठ्यक्रमसम्बन्धी तालिम कार्यक्रम अनि सुधार योजना तयार भए । तर, तीमध्ये धेरै प्रक्रियामा विद्यालयमा प्रत्यक्ष कार्यरत शिक्षकको सहभागिता सीमित रह्यो ।
विद्यालय शिक्षा सुधारका नीति बनाउँदा वा पाठ्यक्रम निर्माण गर्दा वा शिक्षक तालिम डिजाइन गर्दा वा मूल्यांकन प्रणाली विकास गर्दा कक्षा–शिक्षकको अनुभव र बुझाइलाई केन्द्रमा राख्नु अपरिहार्य हुन्छ । नीति निर्माण गर्नेहरू, तालिम दिनेहरू, परियोजना सञ्चालन गर्नेहरू र परामर्शदाता संस्थाहरू प्रायः विद्यालयको वास्तविक जीवनबाट टाढै रहे । कतिपय अवस्थामा वर्षमा कुनै एक दिन मात्रै विद्यालय भ्रमण गर्ने, पुस्तकमा मात्रै समाज पढेका व्यक्तिलाई ‘शिक्षा विज्ञ’ का रूपमा प्रस्तुत गरियो । तर, विद्यालयको दैनिक संघर्ष, शिक्षकको कार्यभार, कक्षाकोठाभित्र विद्यार्थी संख्या, तिनका अवस्था अनि अभिभावकको अपेक्षा बुझ्ने अवसर उनीहरूलाई कमै प्राप्त भयो ।
यसको परिणाम आज देखिएको छ । धेरै शिक्षक तालिम व्यावहारिक समस्यासँग मेल खाँदैनन् । पाठ्यक्रम र मूल्यांकन प्रणालीबीच असन्तुलन छ । सिकाइ उपलब्धि सुधारका प्रयासले अपेक्षित परिणाम दिन सकेका छैनन् । त्यसैले बुझ्नुपर्ने पाटो यो हो– समस्या शिक्षकमा मात्रै होइन, शिक्षकको अनुभवलाई बेवास्ता गर्ने प्रणालीमा पनि छ ।
विश्वका सफल शिक्षा प्रणाली अध्ययन गर्दा एउटा साझा विशेषता भेटिन्छ । त्यहाँ शिक्षकलाई निर्देशन पालक वा कार्यान्वयनकर्ता मात्रै होइन– नीति निर्माण र सुधार प्रक्रियाको साझेदार पनि मानिन्छ ।
विद्यालय केवल भवन होइन, सक्षम पुस्ता निर्माण गर्ने महत्त्वपूर्ण स्थल हो । यदि कुनै समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भ नबुझी शिक्षा नीति बनाइन्छ भने त्यो कागजमा राम्रो देखिए पनि व्यवहारमा सफल हुँदैन ।
उदाहरणका लागि, रौतहटको विद्यालयका समस्या म्याग्दीका विद्यालयका समस्याभन्दा फरक हुन सक्छन् । हिमाली क्षेत्रका विद्यार्थीको सिकाइ चुनौती तराईका विद्यार्थीको भन्दा फरक हुन सक्छ । त्यसैले सबैका लागि एउटै समाधान प्रभावकारी नहुन सक्छ । समुदाय बुझ्ने शिक्षक र प्रधानाध्यापकले नै स्थानीय आवश्यकताअनुसार समाधान खोज्न सक्छन् ।
कुनै कन्सल्टेन्सी संस्था वा बाह्य विज्ञको भूमिका पूर्णरूपमा अस्वीकार गर्न सकिँदैन । उनीहरूले अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धान र प्राविधिक सहयोग उपलब्ध गराउन त सक्छन्, तर समग्रमा सिकाइ समस्याका समाधान पूर्णरूपमा दिन सक्दैनन् । तिनले सहायक भूमिका मात्रै निर्वाह गर्न सक्छन्, त्यसमा पनि यदि समस्याको सन्दर्भ र पृष्ठभूमिसहित सही बुझाइ भए मात्रै । कानुन निर्माण होस् वा शिक्षा नीति– अन्ततः त्यसको स्वामित्व स्थानीय समुदाय र कार्यान्वयनकर्तामै हुनुपर्छ । बाहिरबाट आयात गरिएको अवधारणा मात्रै पर्याप्त हुँदैन ।
विकास अध्ययनका क्षेत्रमा लामो समयदेखि एउटा सिद्धान्त चर्चित छ– सम्बन्धित समुदायको सहभागिताबिना उनीहरूमाथि कुनै निर्णय प्रभावकारी हुँदैन । यो भनाइ विद्यालय शिक्षा क्षेत्रमा झन् बढी लागू हुन्छ । यो डिजिटल युगमा विश्वका उत्कृष्ट विश्वविद्यालयका अनुसन्धान, लेख, व्याख्यान र नीति–दस्ताबेज केही मिनेटमै प्राप्त गर्न सकिन्छ । एक पटक इन्टरनेटमा खोज्दा विश्वभरिका शिक्षा विज्ञको विचार पढ्न सकिन्छ । तर, एउटा गाउँको विद्यालयमा कार्यरत शिक्षकले १५ वर्षको अनुभवबाट हासिल गरेको ज्ञानचाहिँ गुगलमा पाइँदैन ।
कुन विद्यार्थी किन विद्यालय छोड्छ ? किन कतिपय विद्यार्थीले पाठ बुझेर पनि परीक्षा दिन सक्दैनन् ? कुन पाठलाई कहाँनिर कसरी दैनिक जीवनसँग जोडेर बुझाउन सकिन्छ ? किन अभिभावक विद्यालयसँग जोडिन चाहँदैनन् ? कुन स्थानीय अभ्यासले सिकाइमा सहयोग गर्छ ? यी प्रश्नको उत्तर दैनिक अभ्यासबाट मात्रै प्राप्त हुन्छ । त्यसैले शिक्षकको अनुभव पनि एउटा ज्ञान हो । र, कतिपय अवस्थामा त्यो ज्ञान कुनै अनुसन्धानपत्रभन्दा बढी उपयोगी हुन सक्छ ।
अबको बाटो
नेपालको विद्यालय शिक्षा सुधार गर्दा अब पुरानो गल्ती दोहोर्याउनु हुँदैन । नीति निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम, मूल्यांकन प्रणाली र शिक्षा सुधारसम्बन्धी सबै महत्त्वपूर्ण प्रक्रियामा विद्यालय अनि समुदायको पिँधको बुझाइ समेट्ने सुनिश्चितता गर्नैपर्छ । शिक्षा मन्त्रालय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय साझेदारले शिक्षकलाई केवल नीति कार्यान्वयनकर्ता होइन, सह–निर्माताका रूपमा स्वीकार गर्नैपर्छ ।
वास्तवमै विद्यालय शिक्षा सुधार गर्ने हो भने राज्यको लगानी मात्रै होइन, निगरानी र अपनत्वको अनुभूतिले आशाको सञ्चार पनि गर्नुपर्ने हुन्छ । केवल सभा, सेमिनार र गोष्ठीले दिने प्रमाणपत्रले शिक्षा सुधार्दैन, त्यसमा धरातलीय अनुभव पनि जोडिनैपर्छ । जब अन्तर्राष्ट्रिय ज्ञान र स्थानीय अनुभव एकअर्काका पूरक बन्छन्, तब मात्रै दिगो र प्रभावकारी सुधार सम्भव हुन्छ ।
अन्ततः विद्यालय शिक्षाको सबैभन्दा महत्त्वपूर्ण विज्ञ त्यो व्यक्ति हो, जसले विद्यार्थीको वास्तविकता बुझ्छ, समुदायको आवश्यकता महसुस गर्छ । र, दैनिक रूपमा सिकाइको प्रक्रियासँग जोडिएको हुन्छ ।
त्यसैले समस्या पहिचानदेखि समाधानसम्मका लागि समाजको पिँधलाई छलफल स्थल बनाइनुपर्छ । सुविधासम्पन्न होटलमा गरिने बौद्धिक विलासले विद्यालय शिक्षा सुधार हुन सक्दैन । यो त पुरानै अभ्यासको पुनरावृत्ति मात्रै हुन जान्छ ।
