शिक्षा सुधारमा पुरानै गल्ती

विद्यालय भवन मात्रै होइन, सक्षम पुस्ता निर्माणको महत्त्वपूर्ण स्थल हो । समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भ नै नबुझी शिक्षा नीति बनाउँदा व्यवहारमा त्यो सफल हुन सक्दैन ।

असार २५, २०८३

वीणा झा

The Same Old Mistakes in Education Reform

What you should know

 नेपालका केही सफल सामुदायिक विद्यालयको सफलताका रहस्य खोज्ने हो भने  तिनमा एउटा साझा अभ्यास भेटिन्छ– सक्षम शैक्षिक नेतृत्व, जिज्ञासु शिक्षक समूह  र सक्रिय अभिभावकको सहकार्य । 

नेपालको विद्यालय शिक्षाबारे छलफल हुँदा वा कुनै नीतिको खाका कोरिँदा एउटा महत्त्वपूर्ण स्थान जहिल्यै खाली भेटिन्छ । त्यो हो– दैनिक कक्षाकोठामा विद्यार्थीसँग समय बिताउने शिक्षकका बुझाइ, भोगाइ र समस्या पहिचानसँगै तिनका समाधानका उपायको खोजी । यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरेका तर स्थानीय विद्यालय, विद्यार्थी, अभिभावक र समुदायको सामाजिक–सांस्कृतिक धरातल अनि मनोवृत्ति नबुझेका विशेषज्ञका विचार महत्त्वपूर्ण हुन् कि विद्यालय शिक्षाको पिँधसँग जोडिएका शिक्षकका ? प्रश्न व्यक्तिको योग्यतासम्बन्धी होइन– शिक्षा सुधारको आधारभूत दर्शनसँग सम्बन्धित हो ।

विद्यालय शिक्षा कुनै प्रयोगशालामा गरिने वैज्ञानिक परीक्षण मात्रै होइन– एक सामाजिक प्रक्रिया हो, जसले समुदाय, संस्कृति, भाषा, परिवार, अर्थतन्त्र र स्थानीय आवश्यकतासँग प्रत्यक्ष सम्बन्ध जोड्छ । त्यसैले विद्यालय शिक्षा सुधारका नीति बनाउँदा वा पाठ्यक्रम निर्माण गर्दा वा शिक्षक तालिम डिजाइन गर्दा वा मूल्यांकन प्रणाली विकास गर्दा कक्षा–शिक्षकको अनुभव र बुझाइलाई केन्द्रमा राख्नु अपरिहार्य हुन्छ ।

विश्वविद्यालयको डिग्री, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवको आफ्नै महत्त्व छ । त्यसले नयाँ दृष्टिकोण, नवीन अभ्यास र तुलनात्मक अध्ययन प्रदान गर्छ । तर, कुनै पनि सिद्धान्त वा मोडल स्थानीय यथार्थसँग मेल नखाएसम्म प्रभावकारी हुन सक्दैन, त्यसमा पनि विद्यालय शिक्षा झनै जीवन र दैनिकीसँग जोडिएर बस्छ । त्यहाँ शिक्षक–विद्यार्थीबीच सम्मान, विश्वास र भावनात्मक सम्बन्ध जोडिन्छ । 

नेपालमा विद्यालय शिक्षासम्बन्धी नीति र पाठ्यक्रमसम्बन्धी तालिम कार्यक्रम अनि सुधार योजना तयार भए । तर, तीमध्ये धेरै प्रक्रियामा विद्यालयमा प्रत्यक्ष कार्यरत शिक्षकको सहभागिता सीमित रह्यो ।

विद्यालय शिक्षा सुधारका नीति बनाउँदा वा पाठ्यक्रम निर्माण गर्दा वा शिक्षक तालिम डिजाइन गर्दा वा मूल्यांकन प्रणाली विकास गर्दा कक्षा–शिक्षकको अनुभव र बुझाइलाई केन्द्रमा राख्नु अपरिहार्य हुन्छ । नीति निर्माण गर्नेहरू, तालिम दिनेहरू, परियोजना सञ्चालन गर्नेहरू र परामर्शदाता संस्थाहरू प्रायः विद्यालयको वास्तविक जीवनबाट टाढै रहे । कतिपय अवस्थामा वर्षमा कुनै एक दिन मात्रै विद्यालय भ्रमण गर्ने, पुस्तकमा मात्रै समाज पढेका व्यक्तिलाई ‘शिक्षा विज्ञ’ का रूपमा प्रस्तुत गरियो । तर, विद्यालयको दैनिक संघर्ष, शिक्षकको कार्यभार, कक्षाकोठाभित्र विद्यार्थी संख्या, तिनका अवस्था अनि अभिभावकको अपेक्षा बुझ्ने अवसर उनीहरूलाई कमै प्राप्त भयो ।

यसको परिणाम आज देखिएको छ । धेरै शिक्षक तालिम व्यावहारिक समस्यासँग मेल खाँदैनन् । पाठ्यक्रम र मूल्यांकन प्रणालीबीच असन्तुलन छ । सिकाइ उपलब्धि सुधारका प्रयासले अपेक्षित परिणाम दिन सकेका छैनन् । त्यसैले बुझ्नुपर्ने पाटो यो हो– समस्या शिक्षकमा मात्रै होइन, शिक्षकको अनुभवलाई बेवास्ता गर्ने प्रणालीमा पनि छ ।

विश्वका सफल शिक्षा प्रणाली अध्ययन गर्दा एउटा साझा विशेषता भेटिन्छ । त्यहाँ शिक्षकलाई निर्देशन पालक वा कार्यान्वयनकर्ता मात्रै होइन– नीति निर्माण र सुधार प्रक्रियाको साझेदार पनि मानिन्छ । 

विद्यालय केवल भवन होइन, सक्षम पुस्ता निर्माण गर्ने महत्त्वपूर्ण स्थल हो । यदि कुनै समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भ नबुझी शिक्षा नीति बनाइन्छ भने त्यो कागजमा राम्रो देखिए पनि व्यवहारमा सफल हुँदैन ।

उदाहरणका लागि, रौतहटको विद्यालयका समस्या म्याग्दीका विद्यालयका समस्याभन्दा फरक हुन सक्छन् । हिमाली क्षेत्रका विद्यार्थीको सिकाइ चुनौती तराईका विद्यार्थीको भन्दा फरक हुन सक्छ । त्यसैले सबैका लागि एउटै समाधान प्रभावकारी नहुन सक्छ । समुदाय बुझ्ने शिक्षक र प्रधानाध्यापकले नै स्थानीय आवश्यकताअनुसार समाधान खोज्न सक्छन् । 

कुनै कन्सल्टेन्सी संस्था वा बाह्य विज्ञको भूमिका पूर्णरूपमा अस्वीकार गर्न सकिँदैन । उनीहरूले अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धान र प्राविधिक सहयोग उपलब्ध गराउन त सक्छन्, तर समग्रमा सिकाइ समस्याका समाधान पूर्णरूपमा दिन सक्दैनन् । तिनले सहायक भूमिका मात्रै निर्वाह गर्न सक्छन्, त्यसमा पनि यदि समस्याको सन्दर्भ र पृष्ठभूमिसहित सही बुझाइ भए मात्रै । कानुन निर्माण होस् वा शिक्षा नीति– अन्ततः त्यसको स्वामित्व स्थानीय समुदाय र कार्यान्वयनकर्तामै हुनुपर्छ । बाहिरबाट आयात गरिएको अवधारणा मात्रै पर्याप्त हुँदैन ।

विकास अध्ययनका क्षेत्रमा लामो समयदेखि एउटा सिद्धान्त चर्चित छ– सम्बन्धित समुदायको सहभागिताबिना उनीहरूमाथि कुनै निर्णय प्रभावकारी हुँदैन । यो भनाइ विद्यालय शिक्षा क्षेत्रमा झन् बढी लागू हुन्छ । यो डिजिटल युगमा विश्वका उत्कृष्ट विश्वविद्यालयका अनुसन्धान, लेख, व्याख्यान र नीति–दस्ताबेज केही मिनेटमै प्राप्त गर्न सकिन्छ । एक पटक इन्टरनेटमा खोज्दा विश्वभरिका शिक्षा विज्ञको विचार पढ्न सकिन्छ । तर, एउटा गाउँको विद्यालयमा कार्यरत शिक्षकले १५ वर्षको अनुभवबाट हासिल गरेको ज्ञानचाहिँ गुगलमा पाइँदैन ।

कुन विद्यार्थी किन विद्यालय छोड्छ ? किन कतिपय विद्यार्थीले पाठ बुझेर पनि परीक्षा दिन सक्दैनन् ? कुन पाठलाई कहाँनिर कसरी दैनिक जीवनसँग जोडेर बुझाउन सकिन्छ ? किन अभिभावक विद्यालयसँग जोडिन चाहँदैनन् ? कुन स्थानीय अभ्यासले सिकाइमा सहयोग गर्छ ? यी प्रश्नको उत्तर दैनिक अभ्यासबाट मात्रै प्राप्त हुन्छ । त्यसैले शिक्षकको अनुभव पनि एउटा ज्ञान हो । र, कतिपय अवस्थामा त्यो ज्ञान कुनै अनुसन्धानपत्रभन्दा बढी उपयोगी हुन सक्छ ।

अबको बाटो
नेपालको विद्यालय शिक्षा सुधार गर्दा अब पुरानो गल्ती दोहोर्‍याउनु हुँदैन । नीति निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम, मूल्यांकन प्रणाली र शिक्षा सुधारसम्बन्धी सबै महत्त्वपूर्ण प्रक्रियामा विद्यालय अनि समुदायको पिँधको बुझाइ समेट्ने सुनिश्चितता गर्नैपर्छ । शिक्षा मन्त्रालय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय साझेदारले शिक्षकलाई केवल नीति कार्यान्वयनकर्ता होइन, सह–निर्माताका रूपमा स्वीकार गर्नैपर्छ ।

वास्तवमै विद्यालय शिक्षा सुधार गर्ने हो भने राज्यको लगानी मात्रै होइन, निगरानी र अपनत्वको अनुभूतिले आशाको सञ्चार पनि गर्नुपर्ने हुन्छ । केवल सभा, सेमिनार र गोष्ठीले दिने प्रमाणपत्रले शिक्षा सुधार्दैन, त्यसमा धरातलीय अनुभव पनि जोडिनैपर्छ । जब अन्तर्राष्ट्रिय ज्ञान र स्थानीय अनुभव एकअर्काका पूरक बन्छन्, तब मात्रै दिगो र प्रभावकारी सुधार सम्भव हुन्छ ।

अन्ततः विद्यालय शिक्षाको सबैभन्दा महत्त्वपूर्ण विज्ञ त्यो व्यक्ति हो, जसले विद्यार्थीको वास्तविकता बुझ्छ, समुदायको आवश्यकता महसुस गर्छ । र, दैनिक रूपमा सिकाइको प्रक्रियासँग जोडिएको हुन्छ ।

त्यसैले समस्या पहिचानदेखि समाधानसम्मका लागि समाजको पिँधलाई छलफल स्थल बनाइनुपर्छ । सुविधासम्पन्न होटलमा गरिने बौद्धिक विलासले विद्यालय शिक्षा सुधार हुन सक्दैन । यो त पुरानै अभ्यासको पुनरावृत्ति मात्रै हुन जान्छ ।

वीणा

Link copied successfully