फुटबल एक बिजनेस ‘क्याटालिस्ट’ हो । विश्वकपका बेला विश्वभरै सेतो पृष्ठभूमिमा आकाशे धर्का भएको १० नम्बर अंकित वा नीलो, पहेँलो, रातो जर्सीको बिक्री बेहिसाब हुन्छ । स्पोर्ट किट, स्पोर्ट शु, व्यापारिक उद्देश्यका विज्ञापन, लाइभ टेलिकास्ट प्रसारण अधिकारदेखि सोभेनियरसम्म जोड्दा विश्वकपको हिसाबकिताब अरब, खरब डलरमा पुग्छ ।
What you should know
विश्वकप फुटबलको महामेला चलिरहँदा फ्यानहरू भोक, निद्रा, प्यास त्यागेरै आफ्नो टिम पछ्याइरहेका छन् । आफ्नो टोलीलाई सपोर्ट गर्दै जर्सी लगाएर डुल्नेहरूको कमी छैन । फ्यान फलोअरका लागि बेजोड व्यस्तताको समय छ, हारजित आकलनमा अनि सम्भाव्य गोल अन्तरको क्याल्कुलेसनमा । अझ रमाइलो त के भने चियापसल वा जमघटमा वादविवाद र चर्काचर्की चलिरहन्छ– रेफ्रीका निर्णय र हारजितको नतिजालाई लिएर ।
फुटबलको सुन्दरता के भने खेल जस्तोसुकै ठाउँमा पनि खेल्न सकिन्छ । डाँडाकाँडा, भीरपखेरामै पनि अलि फराक ठाउँ पाउने बित्तिकै दुइटा पोल गाडेर खेल्न मिलिहाल्छ । टीभीको स्क्रिनमा देखिएजस्तो बकाइदा १०० मिटर बाई ६४ मिटरको सुविधासम्पन्न स्टेडियम नै चाहिन्छ भन्ने छैन । खुला मैदानको मात्रै के कुरा ! मरुभूमिमै, समुद्री किनारमै, हिउँ भरिएको मैदानमा– जहाँकहीं खेल्न सकिन्छ ।
फुटबल एक अनुशासित र नियमसम्मत अभ्यास हो । मुख्यतः खुट्टा नै प्रयोगमा ल्याउनुपर्छ, अपवादका रूपमा गोलरक्षकका लागि हातको प्रयोग र अन्यका लागि हेडको प्रयोगबाहेक । फुटबल खेलका नियम अनगिन्ती छन्, यी सबै एकैदिन र एकै पटक बनेका होइनन् । सदियौंअघिदेखि बनाइएका नियम समयक्रममा कति हटाइए, कति अझै थपिँदै छ । पछिल्लो उदाहरण गोल्डेन गोलको अवसान र यो पटक हाइड्रेसन ब्रेककै लिउँ । भनिन्छ, नियमहरू तोडिनका लागि बनाइन्छन् । त्यसैले मैदानमा रेफ्रीको ध्यान एक इन्च तलमाथि हुनासाथ छेड्की लगाइहाल्ने, विपक्षीको जर्सी तानिहाल्ने, अँठ्याएर अक्कबक्क बनाइहाल्ने बदमासी छरपस्टि हाल्छ । त्यसैले खेल मैदानभित्रका बाइस खेलाडी, खेल टोलीहरूको डगआउट बक्सलाई अनुशासनमा बरकरार राख्न फुटबल जगत्मा इटालीका पियरलुइजी कोलिनाजस्ता रेफ्री पनि छन्, फुटबल इतिहासमा । अहिले त भीएआर भनी अल्ट्रासेन्सेटिभ चिप्सहरू राखेर गोल, अफसाइड अनि पेनाल्टीका नियममा उलटफेर ल्याइदिएको छ, उस्तै परे ट्रफी जित्ने अवसरलाई पनि । अहिले जस्तै भीएआर हुँदो हो त सन् १९८६ विश्वकपमा डियगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ को के हालत हुन्थ्यो ? कतै सन् १९८६ विश्वकप इंग्ल्यान्डको पोल्टामा पो पर्थ्यो कि ?
फुटबलले खुसी र आनन्द मात्रै ल्याउँदैन । सन् १९७० मा विश्वकप छनोट खेलपछिको झगडा बल्झिई एल साल्भाडोर र होन्डुरसबीच १ सय घण्टासम्म युद्ध नै भएको थियो, सयौं मानिसको ज्यान जाने गरी । स्विट्जरल्यान्डमा आयोजित सन् १९५४ को विश्वकपमा ब्राजिल र हंगेरीबीचको खेल ‘ब्याटल अफ बर्न’ उपनाम पाउने गरी मारधाड भयो । हल्यान्ड र इंग्ल्यान्डबीच तथा क्लबस्तरमा रियल म्याड्रिड र बार्सिलोनाबीच त जानी दुश्मनी नै मानिन्छ । दोस्रो विश्वयुद्धका कारण सन् १९३८ पछि एकै पटक सन् १९५० मा फिफा विश्वकप आयोजना गर्न सम्भव भयो । विश्वकप आयोजनाको सुरुवातीदेखि नै अमेरिकी समर्थक नेटो र तत्कालीन सोभियत संघ समर्थक वार्सा खेमाका कारण एक देशले फुटबल आयोजना गर्दा अर्को टोली नजाने प्रथा जस्तै थियो ।
विश्वमा यस्ता अनेकन दुर्घटना हुन्छन् । २०८१ असोज १२ गतेको सिस्नेरीको भीषण पहिरोका क्रममा एन्फा एकेडेमीका ६ जना युवा खेलाडीको निधन भएको घटनालाई नेपाली फुटबलको कालो दिन मान्न सकिन्छ । नेपाली फुटबलको यस्तै नराम्रो दिनको प्रसंगमा २०४४ फागुन २९ गते हावाहुरी पछिको दशरथ रंगशाला काण्डलाई लिन सकिन्छ ।
फुटबललाई सगरमाथाकै बिम्ब मान्न सकिन्छ । प्रत्येक देश अनि खेलाडीका लागि आ–आफ्नै सगरमाथा हुँदोरहेछ । ब्राजिल, अर्जेन्टिना, फ्रान्सलाई विश्वकप जित्नु नै सगरमाथा आरोहणको सफल आरोहणसरह होला जबकि नेपालका लागि साफ च्याम्पियनसिप जित्न सक्नु उत्तिकै उपलब्धि हुन सक्छ । यस्तै कथा–व्यथा छ, कुनै देशका लागि महादेशीय कप जित्नु, कुनै टिमलाई च्याम्पियन्स लिग जित्नु, कसैलाई विश्वकपको समूह चरण पार गर्नु, कसैलाई जिल्ला वा नगर च्याम्पियन हुनु । यस्तै अवस्था छ, व्यक्तिगत खेलाडीका लागि ! कतिका लागि बेलोन डी ओर जित्न सक्नु नै सगरमाथा चढाइ हुन सक्छ भने कसैलाई खेल विशेषमा उत्कृष्ट खेलाडी घोषित हुन सक्नु ।
फुटबल एक बिजनेस ‘क्याटालिस्ट’ हो । सोच्नुस् त अहिले विश्वभर सेतो पृष्ठभूमिमा आकाशे धर्का भएको १० नम्बर अंकित जर्सीको बिक्री वितरण कति भएको होला ? अझ नीलो, पहेँलो, रातो जर्सीको बिक्री पनि उत्तिकै छ । स्पोर्ट किट, स्पोर्ट शु, व्यापारिक उद्देश्यका विज्ञापन, लाइभ टेलिकास्टको प्रसारण अधिकार, सोभेनियर यस्तै–यस्तै जोड्दा विश्वकपको हिसाब–किताब अरब, खरब डलरको बन्छ ।
अधिकतर फरवार्ड १० नम्बर नै लगाउन चाहन्छन्, सायद पेलेबाट सुरु भएको यो लिगेसी म्याराडोना, मेसी, मिसेल प्लाटिनी, जिनेदिन जिदान, रोनाल्डिनो, नेयमार हुँदै रोबर्टो बाज्जियोसम्म तन्किएको देखिन्छ ।
फुटबलको प्रसंगमा दुई–चार गोलरक्षकको नाम लिइएन भने अन्याय नै हुन्छ । एक तत्कालीन सोभियत संघका गोलरक्षक थिए, लेभ यासिन । उसको गोलकिपिङ कस्तो थियो भने कालो माकुरा उपनाम नै पाएका थिए । सम्झिनुस् त हलिउड फिल्म ‘स्पाइडरम्यान’ मा नायकको क्षमता । यासिनले पनि विपक्षीहरूलाई सन् १९५८, सन् १९६२ र सन् १९६६ को विश्वकपमा आछुआछु नै पारेका थिए । सन् १९९० को विश्वकपमा अर्जेन्टिनाका रेगुलर गोलरक्षक घाइते भएपछि प्रतिस्थापनका रूपमा सर्जियो गोइकोचिया आएका थिए । क्वार्टरफाइनल र सेमिफाइनलमा क्रमशः युगोस्लाभिया र आयोजक इटालीविरुद्धका टाइब्रेकरमा यस्तो जादुगरी गोलकिपिङ कला देखाइदिए कि झन्डै सन् १९९० को विश्वकप पनि अर्जेन्टिनाले नै जितेको थियो ।
सन् १९९० को विश्वकपमा धेरैथोक भयो, अहिलेको विश्वकपमा जस्तै । १९९० को विश्वकपमै इटालीका गोलरक्षक वाल्टर जेंगाले लगातार ५ खेल अर्थात् ५१७ मिनेटसम्म क्लिनसिट राखेको कीर्तिमान यसै विश्वकपमा स्पेनका गोलरक्षक उनाई सिमोनले तोडेका छन् । त्यसबेला अर्का नमुना गोलकिपर थिए– कोलम्बियाका रेने हिग्युइटा, जो आफ्नो गोलपोस्ट, डीबक्सको के कुरा सेन्टरसम्मै आइपुग्थे । एक पटक त भयो के भने करिब–करिब सेन्टरमै यस्तै हिरोगिरी देखाइरहेका बेला विपक्षी टोलीका उनै रोजर मिल्लाले चिलले चल्ला छोपेझैं बल आफ्नो नियन्त्रणमा लिएर हिग्युइटाकै गोलपोस्टतिर बल अगाडि बढाइरहँदा हिग्युइटा भने पछि–पछि पछ्याउँदै थिए ।
फुटबल कीर्तिमानहरूको स्तम्भ पनि हो । यहाँ १९३० देखि विभिन्न देश अनि खेलाडीले आ–आफ्नो नाम खोप्न अनवरत प्रयासरत छन् । विश्वकप फुटबलको मात्रै कुरा गर्दा हालसम्म आठ देशले, त्यसमध्ये आयोजक भएर ६ देशले, कतिपय देशले फरक महादेशमा, कतिपय देशले उपाधि रक्षा गरेर र कतिपय साविक विजेता भई समूह चरणबाट घरफिर्ती भए ।
तर, यो पटक मेसी, क्रिश्चियानो रोनाल्डो, किलियन एमबाप्पे, लामिने यामाल व्यक्तिगत तवरमा मात्र खेल्न आएका होइनन्, आ–आफ्नो नाममा झन्डा गाड्न आएझैं प्रतीत भइरहेको छ । मेसीले कतिपय रेकर्डहरू ट्याटु हानेसरह दीर्घकालीन (अर्थात् लामो अवधिसम्म तोड्नै नसक्ने खालका) कीर्तिमान स्थापित गरेर जान खोज्दै छन् । लाग्छ, उसलाई एमबाप्पे र रोनाल्डोले काउकुती लगाइरहेछन् ।
फुटबल प्रेमिल आशक्ति पनि हो । सन् १९८६ विश्वकपदेखि हो– नेपालीहरूले विश्वकप फुटबल हेर्न थालेको, काठमाडौंका सीमित दर्शकले । त्यो बेला पनि मेक्सिकोमै विश्वकप फुटबल आयोजना भएको थियो । र, विजेता बने– डियागो म्याराडोना प्रेरित अर्जेन्टिना । त्यसबेलाको भावभङ्गी कस्तो थियो भने तत्कालीन पश्चिम जर्मनी पुँजीवादीको द्योतक जस्तै थियो भने अर्जेन्टिना सीमान्तकृत । नेपालीको अर्जेन्टिनासँग ‘गोरु बेचेको साइनो’ पनि थिएन, छैन तर प्रेममा ‘फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भनेझैं त्यसबेलादेखि नै नेपाली दर्शकको अर्जेन्टिनाप्रतिको फ्यानगिरी बरकरार छ । त्यसो त फकल्यान्डको टापुको घटना सम्झिने हो भने नेपालीले अर्जेन्टिनासँग दुस्मनी पो मोल्नुपर्ने । त्यसैले पनि भनिएको होला ‘इभ्रिथिङ इज फेयर इन लभ एन्ड वार’ ।
साना राष्ट्र तर बिग ड्रिम ! बेलाबेला अन्डरडग टोलीको हालीमुहाली सन् १९९० को विश्वकपमै साविक विजेता अर्जेन्टिनालाई गुमनाम अफ्रिकी मुलुक क्यामरुनका रोजर मिल्लाले पहिलो खेलमै धुरुक्कै पारिदिए । रोजर मिल्लाले अप्रत्याशित तबरमा गोल गरेर खेलमैदानमा गई सेलेब्रेसन गरेको दृश्य अझै लाखौं दर्शकलाई ताजै छ । यस्तै हालत बनाइदियो सन् २००२ को विश्वकपमा साबिक विजेता फ्रान्सलाई सेनेगलले । यो पटक पनि केप भार्डेले स्पेन, उरुग्वे अनि अर्जेन्टिना, कंगोले इंग्ल्यान्ड, पाराग्वेले जर्मनी, मोरक्कोले नेदरल्यान्ड, नर्वेलार्ई आइभरी कोस्टले, बेल्जियमलाई सेनेगलले ओठ–तालु सुकाइदिएको थियो ।
विश्वकप फाइनलमा आफूले समर्थन गरेको टोली टाइब्रेकरबाट, गोल्डेन गोलबाट र उपाधिबाट विमुख हुँदा फ्यानको मुटु नै चरक्क हुन्छ । तर, निचोरिएको मुटुसँगै ‘पख् अर्को पालि देखाइदिउँला’ भन्ने आशाकै कारण डिप्रेसनमै पुगिहाल्दनन् फ्यानहरू । र, ती अर्को पालिका लागि जर्सी साँचेर राख्छन् । आखिर फुटबलको सुन्दरता नै यही हो ।
