अंग्रेजीको प्रभाव र स्थानीय भाषा महत्त्व

भाषा हराउनु भनेको त्यससँग जोडिएको कथा, जीवनशैली र पुस्तौंदेखि सञ्चित सामूहिक स्मृति पनि हराउनु हो । त्यसैले अंग्रेजी नजान्नेलाई कम आँक्ने र आफ्नै भाषालाई कमजोर ठान्ने प्रवृत्तिलाई हामी कसरी बुझ्ने ?

असार २२, २०८३

प्रेरणा सुवेदी

The influence of English and the importance of local languages

What you should know

मेरो बाबा नेपाली शिक्षक हुनुहुन्थ्यो । अलिअलि फुर्सदका बेला धरान वरपर पुरेत्याइँ पनि गर्नुहुन्थ्यो । मतलब, बाबालाई संस्कृत भाषासँग पनि लगाव थियो ।

भाइ जन्मिएपछि हाम्रो घरको वातावरण बिस्तारै बदलिँदै थियो । घरमा पहिले जस्तो सामान्य नेपाली भाषामा मात्र कुराकानी हुँदैनथ्यो । स–साना विषयलाई पनि अंग्रेजीमा अनुवाद गरेर बाबा हामीलाई बुझाउने गर्नुहुन्थ्यो । अंग्रेजीमै बोल्न लगाउनुहुन्थ्यो । सामान्य प्रश्न सोध्दा पनि अंग्रेजीमा सोध्न भन्नुहुन्थ्यो । हामी अलमलिन्थ्यौं, हाँस्थ्यौँ, र कहिलेकाहीँ झर्किन्थ्यौं पनि । त्यति बेला मलाई बाबा स्वयं नेपाली शिक्षक भएर पनि अंग्रेजी बोल्न लगाएकामा अनौठो लाग्थ्यो ।

मैले कक्षा ७ सम्म अंग्रेजी माध्यममा पढें । बोर्डिङमा सानैबाट अंग्रेजी बोल्न प्राथमिकता दिइन्थ्यो । वा भनौं,  नेपाली नबोल्न भनिन्थ्यो । नेपालीमा बोल्दा जरिवाना तिर्नुपर्थ्यो । सायद यही बुझेर होला, बाबाले अभ्यासका निम्ति घरैबाट अंग्रेजी अभियान सुरु गर्नुभयो । पारिवारिक जमघटमा आफन्तहरू भेला भएका बेला पनि बाबा हामीलाई अंग्रेजी बोल्न हौस्याउनुहुन्थ्यो । हामी टुटेफुटेको अंग्रेजी बोल्थ्यौं, उच्चारण बिग्रिन्थ्यो, वाक्यमा आधा नेपाली र आधा अंग्रेजी मिसिन्थ्यो । कसैले ठट्टा गर्थे, कसैले तेर्सो नजर लगाउँथे । तर हामी ज्ञानी भएर बाबाको कुरा मान्दै ‘ब्रोकन अंग्रेजी’ मै बरबराइरहन्थ्यौं ।

भाषाको ज्ञान हुन अत्यावश्यक रहेछ भन्ने कुरा मैले भर्खरै गरेको वैदेशिक भ्रमणपछि अझै प्रस्टसँग बुझें । म जर्मनी गएकी थिएँ । त्यहाँको बसाइका क्रममा भाषा केवल सञ्चारको माध्यम मात्र नभई नयाँ संस्कृति, समाज र मानिससँग जोडिने महत्त्वपूर्ण सेतु पनि रहेछ भन्ने विषय अझ गहिरोसँग महसुस गरेर फर्किएँ ।दिनहरू बित्दै गए । अंग्रेजीमै बोल्न अलिअलि जान्न थालियो । तर, बिस्तारै हामी नेपालीमा अर्थ लगाउन बिर्संदै गयौं । विद्यालयमा साथीहरूलाई हाम्रो बाबा नेपाली शिक्षक हो भन्ने थाहा थियो । त्यसैले केही नेपाली अर्थ लगाउन परे उनीहरू मलाई सोध्ने गर्थे । मैले नजान्दा ‘नेपाली शिक्षककी छोरी भएर यत्ति पनि आउन्न’ भन्दै गिज्याउने गर्थे । मलाई नआएको उत्तर बाबाभन्दा पनि ममीलाई सोध्ने गर्थें ।

आज अंग्रेजी नबोल्दा वा नबुझ्दा मानिस पूर्ण रूपमा पछि पर्छ भन्ने भाष्य बन्दै आएको छ । हामीसँग भएका मोबाइल, कम्प्युटर, दिनहुँ स्क्रोल गर्ने सामाजिक सञ्जाल– यी सबै ठाउँमा अंग्रेजीको प्रयोगले गर्दा आज यो भाषा संसारसँग जोडिने पासवर्डजस्तै बनेको छ । जापानी लेखकको विचारदेखि अफ्रिकी युवाको संघर्षसम्म, विश्वका विविध सन्दर्भ हामी एउटै स्क्रिनमा पाउँछौं । विदेशी सिनेमाका सबटाइटल पढेर पूरै सिनेमा नै बुझ्न पनि अंग्रेजीले ठूलो सहारा दिएको छ । यो वाक्य लेख्दै गर्दा मलाई भान भइरहेको छ कि हाम्रा धेरैजसो शब्दावली त केवल अंग्रेजीमा मात्र छन्, जुन आगन्तुक शब्द भएर आत्मसात् गर्न अत्यावश्यक भएका छन् । 

भाषाको ज्ञान हुन अत्यावश्यक रहेछ भन्ने कुरा मैले भर्खरै गरेको वैदेशिक भ्रमणपछि अझै प्रस्टसँग बुझें । म जर्मनी गएकी थिएँ । त्यहाँको बसाइका क्रममा भाषा केवल सञ्चारको माध्यम मात्र नभई नयाँ संस्कृति, समाज र मानिससँग जोडिने महत्त्वपूर्ण सेतु पनि रहेछ भन्ने विषय अझ गहिरोसँग महसुस गरेर फर्किएँ ।

त्यहाँ बसुन्जेल, करिब ६ महिना मेरो एउटै बोल्ने माध्यम अनि आत्मविश्वासका साथ अघि बढ्न अंग्रेजी भाषाले साथ दियो । लाग्यो, भाषाले आफूलाई विश्वको ठूलो समुदायको सानो तर सचेत हिस्सा ठान्न पनि सिकाउँदो रहेछ । मैले त्यहाँकै भाषा सिक्ने प्रयास पनि गरें । तर, यति ठूलो भएर नयाँ भाषा सिक्दा त निकै गाह्रो हुने रहेछ । सानैबाट बाबाले जर्मन भाषा पनि बोल्न कर गरेको भए जर्मनीमा म अझै खुसी हुन्थें होला ।  जे होस्, जर्मनको भाषा र त्यसमाथिको शिष्टता देखेर म चकित भएँ । उनीहरूका धेरै शब्दहरू त कुनै अर्को भाषामा अनुवाद नै नहुँदो रहेछ ।

यता नेपाली समाजमा आज जो अंग्रेजीमा सहजै बोल्न सक्छ, उसलाई बढी शिक्षित र आधुनिक ठानिन्छ । मेरो बाबा त्यो बेला यही सामाजिक यथार्थ बुझ्नुहुन्थ्यो र त्यसैको हिस्सा पनि हुनुहुन्थ्यो । सायद आफ्ना छोराछोरी भाषाकै कारण कतै पछि नपरून् भन्ने चाहनुहुन्थ्यो । तर, यो सम्झनाभित्र एउटा असहज सत्य पाउँछु । सामान्य अवस्थामा कसैको टुटेफुटे अंग्रेजी सुन्दा, अलिक बढी अंग्रेजी आउनेले होच्याएर व्याकरण सच्याउने वा मजाक बनाउने प्रवृत्ति निकै बढ्दो छ ।

तर, त्यसैगरी नेपाली व्याकरण नमिल्दा भने हामी खासै वास्ता गर्दैनौं । जर्मनीमा अधिकांश मानिस अंग्रेजी बुझ्ने र बोल्न सक्ने भए पनि उनीहरू दैनिक जीवनमा जर्मन नै बोल्थे । जर्मनी मात्र होइन, युरोपका अन्य देशहरू घुम्न जाँदा पनि मैले मानिसले अंग्रेजीलाई पूर्ण रूपमा अपनाएका छैनन् भन्ने महसुस गरें । यसो विचार गर्दा लाग्छ, शक्तिशाली राष्ट्रको भाषा बिस्तारै अरू समाजमा श्रेष्ठताको प्रतीक बन्न पुग्दै छन् ।

नेपालमा विदेशी भाषा सिकाउने संस्थाहरू बढ्दै गइरहेका छन् । विश्वव्यापीकरणको समयमा देश छोडेपछि अंग्रेजी वा अन्य भाषा जान्नु आवश्यक पनि हुन्छ किनकि भाषा नजान्दा धेरै कठिनाइ भोग्नुपर्छ । तर, विदेशमा आफ्नै देशका मानिस भेट्दा र नेपाली बोल्दा पाइने खुसीले आफ्नै भाषाको महत्त्व झन् बढी महसुस गराउने रहेछ ।

संसारमा कम्तीमा पनि चार–पाँच वटा भाषा जान्ने मानिसहरू भेटिन्छन् तर हामी भने आफ्नै भाषालाई निम्नस्तरको ठानेर अरू कुरालाई अपनाउने होडबाजीमा छौं । अझ राष्ट्रिय भाषा नेपाली भए तापनि मौलिक स्थानीय तथा मातृभाषाहरू पछिल्ला युवा समूहमा क्रमशः ओझेलमा पर्दै गएका छन् । भाषा हराउनु भनेको त्यससँग जोडिएको कथा, जीवनशैली र पुस्तौंदेखि सञ्चित सामूहिक स्मृति पनि हराउनु हो । त्यसैले अंग्रेजी नजान्नेलाई कम आँक्ने र आफ्नै भाषालाई कमजोर ठान्ने प्रवृत्तिलाई हामी कसरी बुझ्ने ?

आज म बाबाको उबेलाको निर्देशनलाई फरक दृष्टिकोणले हेर्छु । हामी यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ विश्वव्यापीकरणले एकअर्कालाई कसरी बुझ्ने, कसरी अझ मानवीय संवेदना र सम्बन्ध बढाउने भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण बनेको छ । भाषाहरू सिक्न, विशेष गरी अन्तर्राष्ट्रिय भाषाहरूमा दक्ष भएर यही विश्वसँग जोडिन अत्यावश्यक छ । तर, त्यसै क्रममा आफ्नै भाषा, पहिचान र सांस्कृतिक आत्मसम्मानलाई कमजोर ठान्ने गल्ती भने हामीले कदापि गर्न हुँदैन ।

अब नेपालमा प्राथमिक तहदेखि नै स्थानीय तथा मातृभाषाहरूको अध्ययन–अध्यापनलाई थप व्यवस्थित रूपमा समावेश गर्न सके सायद मातृभाषाप्रतिको हाम्रो दृष्टिकोण अझ फराकिलो हुन्थ्यो कि ?

प्रेरणा सुवेदी काठमाडौं विश्वविद्यालयमा ‘मिडिया स्टडिज’ अध्ययनरत छिन्।

Link copied successfully