‘सामाजिक लोकतन्त्र’ को दायरा

पुँजीवादका विकृति–विसंगति नियन्त्रण तथा आर्थिक असमानता न्यूनीकरण गरी सामाजिक न्यायसहितको समतामूलक समाज स्थापना गर्नु लोकतान्त्रिक समाजवादको उद्देश्य हो । तर आर्थिक वृद्धि नगरी आर्थिक विकास, आर्थिक समानता र सामाजिक न्यायको सम्भावना न्यून भएकाले लोकतान्त्रिक समाजवादको आलोचना हुँदै आएको छ ।

असार १९, २०८३

गेजा शर्मा वाग्ले

The scope of 'social democracy'

What you should know

७–१२ असारमा सम्पन्न बहुचर्चित चितवन महाधिवेशनबाट रास्वपाले सामाजिक लोकतन्त्रलाई प्रमुख सिद्धान्तका रूपमा अनुसरण गर्ने दस्ताबेज पारित गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस प्रारम्भ भएको छ । सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएसँगै रास्वपा आधिकारिक रूपमा सामाजिक लोकतन्त्रवादी पार्टीका रूपमा रूपान्तरित भएको छ । नेपाली राजनीतिमा समाजवाद ‘स्थायी’ र ‘साझा’ सिद्धान्तजस्तै प्रतीत हुन्छ । कांग्रेस, एमाले, माओवादी (अहिले नेकपा) लगायत सबै पार्टीले समाजवादको गायत्री मन्त्र जप्दै आइरहेका छन् । कांग्रेसको लोकतान्त्रिक समाजवाद र एमालेको समाजवाद मार्गनिर्देशक सिद्धान्त नै भए । नेकपाको पनि समाजवाद नै प्रमुख राजनीतिक कार्यदिशा हो । समाजवादमय राजनीतिमा नयाँ र वैकल्पिक भनिएको रास्वपाले पनि स्थापना कालदेखि संवैधानिक समाजवाद अंगीकार गर्दै आएको थियो । तर महाधिवेशनबाट संवैधानिक समाजवाद त्यागेर सामाजिक लोकतन्त्र अनुसरण गरी रास्वपाले उल्लेखनीय नीतिगत ‘डिपार्चर’ गरेको छ । 

२१औं शताब्दीको ‘पोस्ट–आइडियोलोजी’ तथा ‘पोस्ट–ट्रुथ’ युगमा राजनीतिक सिद्धान्त, विचारधारा, वादको सान्दर्भिकता र औचित्य स्वयं बहसको विषय हो । हिजोसम्म सिद्धान्त, विचारधारा, वादका बारेमा नकारात्मक टिप्पणी गर्दै आएको रास्वपाले नै आज सैद्धान्तीकरण गरेपछि यसबारे बहस हुनु अस्वाभाविक भएन । त्यसैले सामाजिक लोकतन्त्र भनेको के हो ? अहिलेको लोकतन्त्र र सामाजिक लोकतन्त्रमा फरक छ कि छैन ? छ भने के फरक छ ? सामाजिक लोकतन्त्र र लोकतान्त्रिक समाजवादमा फरक छ कि छैन ? सामाजिक लोकतन्त्रमा कस्तो राजनीतिक तथा आर्थिक प्रणाली हुन्छ ? दुई लोकतन्त्रवादी पार्टी कांग्रेस र रास्वपाको सिद्धान्तमा फरक छ कि छैन ? छ भने के फरक छ ? भन्नेजस्ता जटिल र अनुत्तरित प्रश्नहरू उठेका छन् । त्यसैले यस्ता प्रश्नको उत्तर सैद्धान्तिक–वैचारिक आलोकबाट नै खोजिनुपर्छ ।

सामाजिक लोकतन्त्रको प्रस्तावना

सामाजिक लोकतन्त्रको दार्शनिक धरातल उदारवाद अर्थात् उदार लोकतन्त्र र उदार अर्थतन्त्र हो । हालसम्म विश्वमा प्रचलित प्रणालीभन्दा सामाजिक लोकतन्त्र उदार, उन्नत, बहुलवादी, समावेशी र नागरिकमुखी प्रणाली मानिन्छ । केवल राजनीतिक तथा आर्थिक दृष्टिले मात्रै होइन, सामाजिक, सांस्कृतिक, भाषिक, लैंगिक सबै दृष्टिले उदारवादका मूलभूत मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्छ । यो राजनीतिक धारका दृष्टिले उदारवादी, मार्गका दृष्टिले मध्यमार्गी, आर्थिक दृष्टिले उदारवादी, सामाजिक तथा सांस्कृतिक दृष्टिले बहुल र समावेशी अवधारणा हो । संवैधानिक उदारवाद, बहुलवाद, स्वतन्त्र न्यायपालिका, नागरिक सर्वोच्चता, शक्ति सन्तुलन र पृथकीकरण, विधिको शासन, उत्तरदायी सरकार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, मानवअधिकार सामाजिक लोकतन्त्रका मूलभूत सिद्धान्त हुन् ।

सामाजिक लोकतन्त्रमा नागरिकका अधिकार नैसर्गिक अधिकारका रूपमा राज्यद्वारा निःसृत गरिन्छ र अनतिक्रम्य अधिकारका रूपमा संवैधानिक प्रत्याभूति गरिन्छ । यो केवल प्रतिनिधिमूलक पद्धति मात्रै होइन, नागरिक पनि प्रत्यक्ष सहभागी हुने सहभागितामूलक पद्धति हो । यसले नागरिक सर्वोच्चताको सिद्धान्तलाई वास्तविक रूपमै आत्मसात् गरेको हुन्छ । त्यसैले सामाजिक लोकतन्त्रमा नागरिक वास्तविक रूपमा सार्वभौम र अधिकार सम्पन्न हुन्छन् । थोमस हब्स, जोन लक, जेएस मिल, रुसो, इम्यनुएल कान्ट, भोल्टेयरजस्ता उदारवादी सिद्धान्तका प्रणेताहरूको विचारबाट निःसृत सामाजिक लोकतन्त्रलाई अगस्ट बेबेल, एडवर्ड बर्नस्टिन, विल्हेल्म लिम्ब्कनेच्टलगायतका राजनीतिशास्त्रीहरूले सैद्धान्तीकरण गरेका थिए । सन् २००७ मा प्रकाशित राजनीतिशास्त्री थोमस मेयरले ‘थ्योरी अफ सोसल डेमोक्रेसी’ पुस्तकमा यसको दार्शनिक–सैद्धान्तिक आयामलाई थप सैद्धान्तीकरण गरेका छन् । राजनीतिशास्त्रले परिभाषित गरेको तथा हालसम्म विश्वमा अभ्यास गरिएका प्रणालीमध्ये सामाजिक लोकतन्त्र उत्कृष्ट प्रणाली भएको मेयरको निष्कर्ष छ ।

सन् २०२० मा फरेन पोलिसी जर्नलमा कोलम्बिया विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक शेरी बर्मनको ‘के सामाजिक लोकतन्त्रवादीहरूले पुनः एक पटक विश्व बचाउन सक्छन् ?’ नामक आलेख प्रकाशित भएको थियो । सामाजिक लोकतन्त्रका बारेमा लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएका बर्मनको निष्कर्ष छ– ‘पपुलिस्ट, उग्रराष्ट्रवादी, दक्षिणपन्थी, अनुदारवादी, वामपन्थी जस्तो विनाशकारी राजनीतिक ध्रुवीकरण र दुश्चक्रबाट लोकतन्त्र र नागरिकलाई बचाउन सामाजिक लोकतन्त्र अबको एक मात्र विकल्प हो ।’ अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायत उदार लोकतान्त्रिक देशहरू हुन् भने स्वीडेन, नर्वे, डेनमार्क, फिनल्यान्डलगायत सामाजिक लोकतन्त्रवादी ।

गगनले भित्र्याएको बहस 
समाजवादमय राजनीतिक परिदृश्यमा सामाजिक लोकतन्त्रको बहस कांग्रेस सभापति गगन थापाले भित्र्याएका हुन् । २०७८ मा कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा सामाजिक लोकतन्त्रलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा प्रस्ताव गर्दै गगनले आफ्नो दस्ताबेज सार्वजनिक गरेपछि यसबारे बहस हुँदै आएको छ । नेपालको लक्ष्य समुन्नत नेपाल भएको विचार व्यक्त गर्दै उक्त लक्ष्य हासिल गर्ने सैद्धान्तिक आधार सामाजिक लोकतन्त्र भएको दृष्टिकोण उक्त दस्ताबेजमा उल्लेख गरिएको छ । विगत ३५ वर्षदेखि लोकतान्त्रिक प्रणाली अनुसरण गर्दै आएको भए पनि सामाजिक लोकतन्त्रबारे सैद्धान्तिक अवधारणासहित गगनले जस्तो स्पष्ट दृष्टिकोण कुनै पनि पार्टी र नेताले सार्वजनिक गरेका छैनन् ।

यद्यपि स्थापनाकालदेखि नै लोकतान्त्रिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अख्तियार गर्दै आएको कांग्रेसमा भने गगनको प्रस्तावले नयाँ तरंग सिर्जना गरेको छ । कांग्रेसको परम्परागत वैचारिकी, भाष्य र नीतिभन्दा सामाजिक लोकतन्त्र केही पृथक् भएका कारणले यसबारे छलफल, विमर्श हुनु अस्वाभाविक भएन । तर कुनै पनि सिद्धान्त तथा विचार राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशअनुसार परिमार्जन, परिस्कृत र अद्यावधिक हुँदै जान्छन् । किनभने सिद्धान्त र विचारहरू समयानुकूल गतिशील तथा परिवर्तनशील हुन्छन् । सैद्धान्तिक–वैचारिक गतिशीलतामा नै त्यसको सान्दर्भिकता तथा भविष्य अन्तर्निहित हुन्छ । परिवर्तित राजनीतिक, आर्थिक, सामाजिक परिवेशमा कांग्रेसको सिद्धान्त र नीतिलाई समयानुकूल पुनःपरिभाषित र परिमार्जन गर्नु आवश्यक छ । त्यसैले यस्तो सैद्धान्तिक–वैचारिक बहसको आवश्यकता थियो र गगनले उपयुक्त समयमा सार्थक हस्तक्षेप गरेका छन् ।

सैद्धान्तिक–वैचारिक दृष्टिले रास्वपाले कांग्रेसलाई अनुसरण गर्न खोजेको देखिन्छ । लोकतान्त्रिक ‘कन्सिट्युएन्सी’ मा लोकतन्त्रवादी भएको ‘न्यारेटिभ’ का आधारमा नै रास्वपाले आफूलाई स्थापित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ। बीपीको विचार र लोकतान्त्रिक समाजवादबाट प्रशिक्षित र दीक्षित कांग्रेसजनहरूलाई यस्तो प्रस्ताव अन्तरविरोधपूर्ण पनि लाग्न सक्छ । तर बीपीको विचार, लोकतान्त्रिक समाजवाद र गगनको प्रस्ताव अन्तरविरोधपूर्ण होइन, परिपूरक छन् । बीपी यथास्थितिवादी र जडसूत्रवादी थिएनन्, गतिशील थिए । उनको विचार र नीतिमा पनि गतिशीलता थियो । गगनको प्रस्ताव बीपीकै वैचारिक विरासत हो । समतामूलक समाज निर्माण गर्ने बीपीको सिद्धान्तको परिमार्जित तथा उन्नत स्वरूप नै सामाजिक लोकतन्त्र हो । बीपी र गगन दुवैको सिद्धान्त, विचार र दस्ताबेजमा सर्वोच्च प्राथमिकतामा छन्– नागरिक, स्वतन्त्रता, लोकतन्त्र, उदारवाद, समुन्नति र समन्यायिक समाज । बीपीको वैचारिक विरासतलाई निरन्तरता दिँदै जनभावनाअनुसार थप सान्दर्भिक र समयसापेक्ष बनाउने उद्देश्यले पुनः व्याख्या र परिमार्जन गरी गगनले पूरक दस्ताबेज तयार गरेको देखिन्छ ।

रास्वपाको दस्ताबेजमा के छ ?

सैद्धान्तिक तथा वैचारिक दृष्टिले अस्पष्ट तथा द्विविधाग्रस्त रास्वपालाई प्रारम्भदेखि नै विचारविहीन पार्टीको आरोप लाग्दै आएको थियो । सायद यही वास्तविकतालाई आत्मसात् गरेर होला, २३ पृष्ठ लामो दस्ताबेजमा सभापति रविले विचारधाराका आधारमा सैद्धान्तीकरण गर्ने अधिकतम प्रयास गरेको देखिन्छ । सामाजिक लोकतन्त्रलाई मूल राजनीतिक सिद्धान्तको स्थापित गर्दै रास्वपालाई लोकतन्त्रवादी पार्टीका रूपमा स्थापित गर्न धेरै सिद्धान्त, सन्दर्भ र शब्द खर्च गरिएको छ । संवैधानिक समाजवाद विचारधाराका रूपमा अमूर्त भएकाले सामाजिक लोकतन्त्र मूल सिद्धान्त हुने उल्लेख गरिएको छ ।

दस्ताबेजअनुसार सामाजिक लोकतन्त्रका पाँच आधारस्तम्भ छन् । पहिलो हो, प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र । उदार अर्थनीति अनुसरण गरी राज्य र निजी क्षेत्रको सहकार्यमार्फत लगानीमैत्री वातावरण सिर्जना गरेर आर्थिक वृद्धि, रोजगारी, उद्यमशीलता, नवप्रवर्तनलाई प्रमुख प्राथमिकता दिइएको छ । बजार वा उदार अर्थतन्त्र र सामाजिक न्याय अन्तर्विरोधी होइन, परिपूरक तत्त्वका रूपमा प्रस्तुत गरिएको छ । दोस्रो हो, विधिको शासन । लोकतान्त्रिक प्रणालीको आधारभूत मूल्य र मान्यताअनुसार सर्वोच्चता संवैधानिक, स्वतन्त्र न्यायालय, विधिको शासनलाई राज्य सञ्चालनको सिद्धान्तका रूपमा उल्लेख गरिएको छ । तेस्रो हो, जनउत्तरदायी सरकार । सरकार जनताप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने जोड दिँदै जनताले सरकारलाई निरन्तर खबरदारी र निगरानी गर्नुपर्ने धारणा व्यक्त गरिएको छ । उत्तरदायित्व, पारदर्शिता र डिजिटल सुशासनलाई उच्च प्राथमिकता दिइएको छ । चौथो हो, लोककल्याणकारी राज्य । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा राज्यको दायित्व भएको उल्लेख गर्दै लोककल्याणकारी राज्यको वकालत गरिएको छ । यसैगरी पाँचौं आधारस्तम्भ हो, समन्यायिक समावेशी समाज । समान अवसरमा आधारित समन्यायिक र समावेशी समाज निर्माण गर्ने तर्क गर्दै कुनै समुदायको विशेषाधिकार वा कुनै समुदायको बहिष्करण नहुने उल्लेख गरिएको छ । 

समानता र भिन्नता

सामाजिक लोकतन्त्र (सोसल डेमोक्रेसी) र लोकतान्त्रिक समाजवाद (डेमोक्रेटिक सोसलिजम) का बीचमा केही समानता र केही भिन्नता छन् । सामाजिक लोकतन्त्र भनेको राजनीतिक प्रणाली हो भने लोकतान्त्रिक समाजवाद भनेको आर्थिक प्रणाली । उदार अर्थतन्त्र अनुसरण तथा पुँजीवादी अर्थतन्त्रलाई समेत उपयोग गर्दै आर्थिक वृद्धि, वातावरणमैत्री दिगो विकास, रोजगारी सिर्जना सामाजिक लोकतन्त्रका प्रमुख उद्देश्य हुन् । सामाजिक लोकतन्त्रमा राज्य र निजी क्षेत्र दुवैको भूमिका हुन्छ । तर निजी क्षेत्रको भूमिका प्रधान हुन्छ । राज्यले नीति निर्माण गर्छ, प्रभावकारी रूपमा नियमन गर्छ । कल्याणकारी नीति र प्रभावकारी नियमनमार्फत आर्थिक असमानता न्यूनीकरण गरी सामाजिक न्याय प्रत्याभूत गर्छ । तर राज्यले अनावश्यक हस्तक्षेप गर्दैन । केवल अधिकार र अवसरमा मात्रै समानता होइन, परिणाममा पनि समानता हुनुपर्छ भन्ने सामाजिक लोकतन्त्रको अर्थ–राजनीतिक सिद्धान्त हो । चौथो, औद्योगिक क्रान्तिको युगमा अन्य सबै अर्थतन्त्रभन्दा आर्थिक वृद्धि, गतिशील अर्थतन्त्र, रोजगारी, नवप्रवर्तन, लगानीमैत्री वातावरण, उद्यमशीलता पुँजीवादका सकारात्मक पक्ष छन् । तर आर्थिक वृद्धि र अर्थतन्त्र गतिशील भए पनि आर्थिक असमानता न्यूनीकरण गरी समतामूलक समाज स्थापना तथा सामाजिक न्याय प्रत्याभूत गर्न असफल भएको भनी पुँजीवाद तथा नवउदारवादको आलोचना हुँदै आएको छ ।

लोकतान्त्रिक प्रक्रियाबाट समाजवाद स्थापना गर्ने विचारधारालाई लोकतान्त्रिक समाजवाद भनिन्छ । लोकतान्त्रिक समाजवादमा मिश्रित वा उदार अर्थतन्त्र अनुसरण गरिन्छ, जहाँ राज्य, सहकारी र निजी क्षेत्रबीच सहकार्य हुन्छ । तर राज्यको भूमिका प्रधान हुन्छ । पुँजीवादका विकृति–विसंगति नियन्त्रण तथा आर्थिक असमानता न्यूनीकरण गरी सामाजिक न्यायसहितको समतामूलक समाज स्थापना गर्नु लोकतान्त्रिक समाजवादको उद्देश्य हो । कल्याणकारी राज्य र व्यापक सामाजिक सुरक्षाको अवधारणाअनुसार आर्थिक समानता र सामाजिक न्याय प्रत्याभूत गरिन्छ । आर्थिक वृद्धि लोकतान्त्रिक समाजवादको उद्देश्य भए पनि आर्थिक वृद्धिभन्दा आर्थिक समानता र सामाजिक न्यायलाई प्राथमिकता दिइन्छ । तर आर्थिक वृद्धि नगरी आर्थिक विकास, आर्थिक समानता र सामाजिक न्यायको सम्भावना न्यून भएकाले लोकतान्त्रिक समाजवादको आलोचना हुँदै आएको छ । 

सभापति गगनको नेतृत्वमा मध्यमार्गी कांग्रेस लोकतान्त्रिक समाजवादबाट सामाजिक लोकतन्त्रतर्फ उन्मुख हुन चाहेको देखिन्छ । २०४८ देखि नै कांग्रेसले उदार लोकतन्त्र र उदार अर्थतन्त्र अनुसरण गरी सामाजिक लोकतन्त्रलाई आत्मसात् मात्रै होइन, अभ्यास पनि गर्दै आएको छ । तर दस्ताबेजमा सामाजिक लोकतन्त्र उल्लेख गरे पनि रास्वपा पुँजीवाद र नवउदारवादतर्फ उन्मुख भएको देखिन्छ । रास्वपा र कांग्रेसका बीचमा आधारभूत भिन्नता यही नै हो । स्मरणीय छ, लोकतान्त्रिक समाजवाद र समाजवादमा पनि मौलिक रूपमा भिन्नता छ । समाजवाद भनेको मार्क्सवादी तथा कम्युनिस्ट विचारधारा हो, जहाँ अर्थतन्त्र पूर्ण रूपमा राज्य नियन्त्रित हुन्छ । नेपालमा समाजवाद ‘पुण्य’ र उदारवाद तथा पुँजीवाद ‘पाप’ हो भन्ने अतिरञ्जित र नकारात्मक भाष्य प्रचलित छ । बुर्जुवा लोकतन्त्र, दलाल पुँजीवादको निन्दा र भर्त्सनाबाट प्रारम्भ गरी दानवीकरण गर्दै भाषण, लेख र अन्तर्वार्ताको अन्त्य गर्नु कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूको नित्य कर्म र धर्म भएको देखिन्छ । लोकतन्त्रको निन्दा र भर्त्सना गर्न दलाल पुँजीवाद कम्युनिस्टहरूको स्थायी थेगो भएको छ ।

तर वास्तविकता के हो भने नवउदारवाद वा पुँजीवादका नाममा नियमनरहित अनियन्त्रित बजारवाद तथा कम्युनिस्ट समाजवादका नाममा राज्य नियन्त्रित अर्थतन्त्र दुवै असफल भइसकेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादले पनि अपेक्षाकृत आर्थिक विकास गरी समतामूलक समाज स्थापना गर्न सकेन । त्यसैले उदारवादी मूल्य–मान्यतामा आधारित राज्य र निजी क्षेत्रको सन्तुलनकारी भूमिकामा अन्तरनिहित मिश्रित अर्थतन्त्र र उदार अर्थनीति नै अबको विकल्प हो । सामाजिक न्यायसहितको दिगो र मानव विकासमा आधारित उदार अर्थनीति, समावेशी आर्थिक वृद्धि र न्यायोचित वितरण उपयुक्त नीति हो । किनभने, नेपालको सबैभन्दा ठूलो चुनौती अर्थनीतिका साथै आर्थिक असमानता, समावेशी आर्थिक वृद्धि र रोजगारी हो ।

कांग्रेस र रास्वपामा फरक

सैद्धान्तिक–वैचारिक दृष्टिले रास्वपाले कांग्रेसलाई अनुसरण गर्न खोजेको देखिन्छ । लोकतान्त्रिक ‘कन्सिट्युएन्सी’ मा लोकतन्त्रवादी भएको ‘न्यारेटिभ’ का आधारमा नै रास्वपाले आफूलाई स्थापित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ । सैद्धान्तिक–वैचारिक आयामबाट विश्लेषण गर्दा कांग्रेस र रास्वपाका बीचमा केही समानता छन् । किनभने दुवै लोकतन्त्रवादी पार्टी हुन् । तर दस्ताबेजमा उल्लेख गरे पनि रास्वपा कति लोकतन्त्रवादी हो ? कति सामाजिक लोकतन्त्रवादी हो ? यसको अग्निपरीक्षा बाँकी नै छ । कांग्रेस र रास्वपाको दस्ताबेजमा राजनीतिक धारका दृष्टिले केही समानता देखिए पनि समावेशी लोकतन्त्र, बहुलता, संघीयता, अर्थतन्त्र, सामाजिक न्याय, समावेशीकरणका दृष्टिले मौलिक रूपमा फरक देखिन्छ । समावेशी लोकतन्त्र, बहुलता, संघीयता, अर्थतन्त्र, सामाजिक न्याय, समावेशीकरणका सिद्धान्त, मूल्य र मान्यतालाई रास्वपाले आत्मसात् गर्न सकेको देखिँदैन । 

दस्ताबेजमा जेसुकै लेखिए पनि रास्वपाको नीति र एजेन्डा तथा सरकारको नीति, कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा रास्वपा पपुलिस्ट, अनुदार, पुँजीवादी र मध्य–दक्षिणपन्थी पार्टी भएको देखिन्छ । तर सामाजिक लोकतन्त्रवादीको आवरण दिइएको छ । सामाजिक लोकतन्त्रलाई आस्था र सिद्धान्तभन्दा पनि आवरण र रणनीतिका रूपमा उपयोग गर्न खोजेको देखिन्छ । रास्वपाका दस्ताबेज र घोषणापत्रहरू स्वयंमा विरोधाभास र अन्तरविरोधपूर्ण छन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेशसभा खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, गैरदलीय स्थानीय सरकारजस्ता विवादित प्रस्तावले अन्ततः बहुलवादी, समावेशी लोकतन्त्र, संघीयता, समावेशीकरणको सिद्धान्तलाई कमजोर बनाई अनुदार र अधिनायकवादी प्रणालीको सूत्रपात गर्ने अभीष्ट देखिन्छ ।

सुशासन, भ्रष्टाचार, डेलिभरीबारे कांग्रेसप्रति अनन्त प्रश्न छन् । त्यसको सजाय पनि यो निर्वाचनमा पाइसकेको छ । तर इतिहासको हरेक कालखण्डमा कांग्रेस लोकतन्त्रको पहरेदार भएको छ र हरेक अग्निपरीक्षामा लोकतन्त्रवादी पार्टीका रूपमा स्थापित भएको छ । कांग्रेसका प्रतिस्पर्धी र आलोचकहरूले समेत उक्त वास्तविकतालाई आत्मसात् गरेका छन् । किनभने लोकतन्त्र, सामाजिक लोकतन्त्र, विचारधारा, सिद्धान्त भनेको दस्ताबेज, भाषण र प्रोपोगान्डा होइन, पार्टीको इतिहास, नीति, एजेन्डा, कार्यशैली र संस्कार हो । त्यसैले कांग्रेस र रास्वपा तथा लोकतन्त्र र सामाजिक लोकतन्त्रको त्यही कसीमा परीक्षण गरिनुपर्छ । 

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully