कुनै समय विदेशी सहायतामै निर्भर बंगलादेश आज जलवायु–स्मार्ट प्रविधि, सहकारी र महिला नेतृत्वमार्फत दक्षिण एसियाकै सफल कृषि मोडल बन्दै छ।
What you should know
नेपाल र बंगलादेशबीच धेरै समानता छन्– जस्तो भौगोलिक अवस्था, प्राकृतिक विपद्को जोखिम, विकासशील अर्थतन्त्र र ग्रामीण सामाजिक संरचना । तर, सीमित स्रोतसाधन, अत्यधिक जनघनत्व र बारम्बार आउने प्राकृतिक विपत्तिका बाबजुद बंगलादेशले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाएको छ ।
कुनै समय गरिबी, भोकमरी र विदेशी सहायतामा निर्भर राष्ट्रका रूपमा चिनिएको बंगलादेश आज कृषि नवप्रवर्तन, उत्पादनमुखी सहकारी, जलवायु–स्मार्ट प्रविधि, महिला नेतृत्व र व्यवस्थित बजार प्रणालीमार्फत दक्षिण एसियाको सफल विकास मोडलका रूपमा परिचित हुँदै छ ।
हालै ‘हेफर प्रोजेक्ट नेपाल’ का सञ्चालक समितिको टोलीसँग ढाका, जशौर, गोडखाली र सलोङ्गा क्षेत्रमा गरिएको पाँचदिने अध्ययन भ्रमणपछि बंगलादेशको ग्रामीण विकास यात्रालाई नजिकबाट बुझ्न पाएँ । भ्रमणक्रममा अवलोकन गरिएका अभ्यासले स्पष्ट सन्देश दिए– बंगलादेशको सफलता कुनै संयोगको परिणाम होइन, बरु दूरदर्शी नीति, समुदायको सक्रिय सहभागिता, प्रभावकारी सहकारी प्रणाली, प्रविधिको उपयोग, महिला सशक्तीकरण र बजारसँगको सुदृढ सम्बन्धको प्रतिफल हो ।
भ्रमणको सबैभन्दा प्रभावकारी अनुभव जशौरस्थित गोडखाली फूल बजार थियो । यो केवल फूल किनबेच हुने बजार होइन, ग्रामीण आर्थिक रूपान्तरणको जीवन्त नमुना हो । हजारौं किसानले उत्पादन गरेका गुलाफ, रजनीगन्धा, जर्बेरालगायत फूल देशभर आपूर्ति गरिन्छन् । र, फूल नै हजारौं परिवारको जीविकोपार्जनको आधार बनेको छ । यसको सफलताको केन्द्रमा किसान स्वयंको स्वामित्वमा रहेको सहकारी प्रणाली छ, जसले उत्पादनदेखि संकलन, ग्रेडिङ, प्याकेजिङ, ढुवानी र बजारीकरणसम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गरेको छ । किसानले सामूहिक रूपमा मूल्य निर्धारण गर्ने भएकाले बिचौलियाको प्रभाव न्यून छ र उत्पादनको वास्तविक लाभ किसानकै हातमा पुग्छ ।
नेपालमा फूलको माग बर्सेर्नि बढ्दै गए पनि उत्पादन र बजारबीचको सम्बन्ध कमजोर छ । बजार अभावमा किसानका उत्पादन नष्ट हुने अवस्था छ भने उपभोक्ताले आयातित फूलका लागि महँगो मूल्य तिर्नुपरेको छ । नेपालले गोडखाली मोडलअनुसार उत्पादन क्षेत्रमै संकलन केन्द्र, चिस्यान गृह, प्रशोधन इकाइ तथा सहकारी बजार स्थापना गर्न सके ठूलो मात्रामा आयात प्रतिस्थापन गर्न सकिन्छ । यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै विदेश पलायन न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
बंगलादेशको अर्को प्रेरणादायी उदाहरण हो, सलोङ्गा मेघना महिला सहकारी । यस सहकारीमा १४ सयभन्दा बढी महिला आबद्ध छन् । कृषि, पशुपालन, बचत तथा ऋण परिचालनमार्फत महिलाको आर्थिक अवस्था सुधारिएको छ भने लाखौं टाकाको लगानी महिला उद्यममा परिचालित गरिएको छ । यसले महिलालाई केवल श्रमिकको भूमिकामा सीमित नराखी उद्यमी, आर्थिक निर्णयकर्ता र सामुदायिक नेतृत्वकर्ताका रूपमा स्थापित गरेको छ ।
नेपालमा कृषि उत्पादनको मुख्य भार महिलाले बोके पनि वित्तीय पहुँच, सम्पत्तिमाथिको अधिकार र निर्णय प्रक्रियामा सहभागिता सन्तोषजनक छैन । सलोङ्गाको अनुभवले अवसर, पुँजी, सीप र नेतृत्व विकासको वातावरण उपलब्ध गराइयो भने महिलाहरू ग्रामीण अर्थतन्त्र रूपान्तरणका सबैभन्दा शक्तिशाली संवाहक बन्न सक्छन् भन्ने प्रमाणित गरेको छ ।
यस सहकारीद्वारा सञ्चालन गरिएको ‘मिल्क फर स्कुल’ कार्यक्रम विशेष अनुकरणीय छ । स्थानीय विद्यालयका विद्यार्थीलाई नियमित दूध उपलब्ध गराउने यस कार्यक्रमले एकातिर बालबालिकाको पोषण स्तर सुधार गरेको छ भने अर्कोतिर स्थानीय दुग्ध उत्पादक महिलाका लागि स्थायी बजार सिर्जना गरेको छ । नेपालमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमलाई स्थानीय दुग्ध, अन्डा, फलफूल तथा तरकारी उत्पादनसँग जोड्न सके विद्यालय, किसान र स्थानीय अर्थतन्त्र लाभान्वित हुनेछ ।
बंगलादेशमा सहकारीमार्फत सञ्चालन गरिएको सामूहिक पशु बिमा प्रणाली पनि अत्यन्तै प्रभावकारी देखियो । एउटा पशुको क्षतिले किसानलाई आर्थिक रूपमा धराशायी बनाउने जोखिम कम गर्न यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालमा कृषि बिमाको पहुँच अझै सीमित भएकाले सहकारीमार्फत समूहगत बिमा प्रणाली विस्तार गर्न सकिए कृषिप्रति आकर्षण र लगानी दुवै बढाउन सकिन्छ ।
बंगलादेशले जलवायु परिवर्तनलाई केवल चुनौतीका रूपमा होइन, अवसरका रूपमा उपयोग गरेको देखिन्छ । जशौर क्षेत्रमा विकसित ‘इको–भिलेज’ अवधारणाले जलवायु–स्मार्ट कृषिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीले उत्पादन लागत घटाएको छ, डिजेलमा निर्भरता कम गरेको छ र वातावरणीय प्रभाव पनि न्यून बनाएको छ । नेपालको तराई तथा मधेश क्षेत्रमा यस्ता सामूहिक सौर्य सिँचाइ प्रणाली विस्तार गर्न सकिए कृषि उत्पादनमा गुणात्मक वृद्धि सम्भव छ ।
अत्यधिक गर्मीबाट पशुधन जोगाउन निर्माण गरिएका आधुनिक गोठ, वैज्ञानिक पशुपालन र स्थानीय आवश्यकता अनुसार विकसित प्रविधिले उत्पादन वृद्धि र लागत नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएका छन् ।
बंगलादेश–मोडलको मूल दर्शनलाई नेपालको भूगोल, सामाजिक संरचना र विकास आवश्यकता अनुसार रूपान्तरण गर्न सकिन्छ । उत्पादनमुखी सहकारीमाथि प्राथमिकता दिँदै बचत तथा ऋणमा सीमित संरचनालाई उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्नुपर्छ । किसान र उपभोक्ताबीचको दूरी घटाउन कृषि हब स्थापना गर्नु आवश्यक छ । जलवायु–स्मार्ट कृषि, सौर्य सिँचाइ, आधुनिक पशुपालन, कृषि यन्त्रीकरण र महिला उद्यमशीलता लक्षित लगानी बढाउनुपर्छ । विदेशबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षित गर्न विशेष प्रोत्साहन नीति अवलम्बन गर्नु आवश्यक छ ।
राजनीतिक इच्छाशक्ति, स्पष्ट नीति, लगानीमैत्री वातावरण र समुदायको सक्रिय सहभागितासहित यस्ता सफल अभ्यासलाई नेपाली परिवेशअनुसार कार्यान्वयन गर्न सकिए ग्रामीण रोजगारी वृद्धि, कृषि उत्पादन विस्तार, महिला सशक्तीकरण, आयात प्रतिस्थापन, खाद्य आत्मनिर्भरता तथा विदेश पलायन न्यूनीकरणमा ऐतिहासिक उपलब्धि हासिल गर्न सकिन्छ ।
