भूमि अधिकार, वित्तीय पहुँच, प्रविधि, नेतृत्व र बजारमा महिला किसानको समान अवसर सुनिश्चित नगरी कृषिको रूपान्तरण सम्भव छैन
What you should know
नेपाली किसानका लागि असार १५ वर्षभरिको आशा, श्रम र भविष्य रोप्ने दिन हो । हरेक वर्षको ‘राष्ट्रिय धान दिवस’ केवल उत्सवमै सीमित हुनुहुँदैन– यसले देशको कृषि, खाद्य सुरक्षा, किसानको जीवन, ग्रामीण अर्थतन्त्र र राष्ट्रिय विकासको दिशाबारे गम्भीर बहसको अवसर प्रदान गर्नुपर्छ ।
नेपालमा धान सबैभन्दा महत्त्वपूर्ण खाद्यान्न बाली हो । अधिकांश नेपालीको मुख्य भोजन चामल नै हो । यसले नेपालको कृषि कुल गार्हस्थ्य उत्पादनमा करिब २० प्रतिशत र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान पुर्याउँछ । नेपालमा करिब १४ लाख हेक्टरमा झन्डै ५९ लाख मेट्रिक टन धान उत्पादन हुन्छ भने नेपालको औसत धान उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर छ । हजारौं जातका धानको स्थायी ठेगाना नेपाल धानको अनुवांशिक स्रोतले सम्पन्न राष्ट्र हो ।
धान उत्पादनले देशका लाखौं किसान परिवारको जीविकोपार्जन मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र, खाद्य सुरक्षा, सामाजिक स्थिरता र सांस्कृतिक पहिचानसमेत निर्धारण गर्छ । त्यसैले धान उत्पादन बढाउने चर्चा गर्दा त्यसले किसानको जीवनमा कस्तो प्रभाव पारिरहेको छ ? यो प्रश्न पनि सँगै उठ्नुपर्छ ।
पछिल्ला केही दशकमा नेपालमा धान उत्पादन र उत्पादकत्वमा सुधार आएको छ । उन्नत जातका बीउ, केही क्षेत्रमा सिँचाइको विस्तार, कृषि अनुसन्धान, यन्त्रीकरण तथा किसानको अथक मिहिनेतले उत्पादन वृद्धि सम्भव छ । तर, उत्पादन बढ्नु र किसानको जीवनस्तरमा परिवर्तन आउनु एउटै विषय होइन ।
नेपालका अधिकांश धान किसान साना तथा सीमान्त किसान हुन् । उनीहरूको खेतीयोग्य जमिन सीमित छ भने मल, बीउ, विषादी, मजदुरी, सिँचाइ र कृषि उपकरणको लागत निरन्तर बढिरहेको छ । उत्पादन बढे पनि किसानको आम्दानी र बचत त्यसअनुसार बढ्न सकेको छैन । कतिपय अवस्थामा उत्पादन राम्रो भएको वर्ष बजार मूल्य घट्दा किसानले लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना हुन्छ । त्यसैले उत्पादनका तथ्यांक सकारात्मक देखिए पनि किसानको वास्तविक जीवनमा अपेक्षित परिवर्तन आउन सकेको छैन ।
कृषि विकासको मूल्यांकन केवल उत्पादन र उत्पादकत्वका आधारमा होइन, किसानको आय, जीवनस्तर र सम्मानका आधारमा पनि हुनुपर्छ । उत्पादन बढेको छ तर किसान ऋणमा डुबेको छ, उचित मूल्य पाएको छैन वा युवा कृषि छोडेर वैदेशिक रोजगारीतर्फ पलायन भइरहेका छन् भने त्यस्तो उत्पादन वृद्धिलाई दिगो मान्न सकिँदैन । त्यसैले अब हाम्रो कृषि नीतिको केन्द्रमा केवल उत्पादन होइन, उत्पादन गर्ने किसान हुनुपर्छ ।
धान उत्पादनलाई दिगो र किसानमुखी बनाउन न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन, समयमै सरकारी खरिद, किसान सहकारीको सुदृढीकरण, भण्डारण तथा प्रशोधन पूर्वाधारको विकास, कृषि प्रविधि, यन्त्रीकरण, वित्तीय सेवा र कृषि प्रसारलाई किसानको सहज पहुँचमा पुर्याउनु आवश्यक छ । धान उत्पादक किसानलाई कृषि उद्यमीका रूपमा विकास गरी मूल्य शृंखलामा किसानको हिस्सा बढाउन सकिए मात्रै उत्पादन वृद्धिको प्रत्यक्ष लाभ किसानको जीवनमा देखिनेछ ।
नेपालको कृषिले नयाँ चुनौती सामना गरिरहेको छ । जलवायु परिवर्तनका कारण वर्षा अनियमित बन्दै गएको छ । कतै लामो सुक्खा पर्छ, कतै अत्यधिक वर्षा भएर बाढी आउँछ । नयाँ रोग र किराको प्रकोप बढेको छ । उत्पादनको जोखिम प्रत्येक वर्ष बढिरहेको छ ।
पछिल्ला केही दशकमा नेपालमा धान उत्पादन र उत्पादकत्वमा सुधार आएको छ । उन्नत जातका बीउ, केही क्षेत्रमा सिँचाइको विस्तार, कृषि अनुसन्धान, यन्त्रीकरण तथा किसानको अथक मिहिनेतले उत्पादन वृद्धि सम्भव छ । अर्कोतर्फ, खेतीयोग्य जमिन निरन्तर घटिरहेको छ । उर्वर कृषि भूमि आवास, सडक र अन्य पूर्वाधारमा रूपान्तरण भइरहेको छ । जमिन खण्डीकृत हुँदै छ । उत्पादन लागत बढेकाले साना किसानका लागि चुनौती थपिएको छ । युवाको विदेश पलायनका कारण गाउँमा श्रमशक्ति कम हुँदै छ । त्यसैले पुरुषको वैदेशिक रोजगारी बढेसँगै धानखेतीमा महिलाको योगदान असाधारण छ । धान उत्पादनको मुख्य जिम्मेवारी महिलाको काँधमा आएको छ । नर्सरी तयार गर्ने, रोपाइँ गर्ने, गोडमेल गर्ने, कटानी गर्ने, सुकाउने, भण्डारण गर्ने तथा अर्को वर्षका लागि बीउ सुरक्षित राख्ने अधिकांश काम महिलाले नै गर्छन् ।
तर, महिलाको योगदान अझै पर्याप्त रूपमा मूल्यांकन गरिएको छैन । धेरै महिला किसानको आफ्नै नाममा जमिन छैन । कृषि ऋण, तालिम, प्रविधि, बिमा र सरकारी सेवामा उनीहरूको पहुँच सीमित छ । उत्पादन वृद्धि दिगो बनाउन महिला किसानलाई कृषि नीतिको केन्द्रमा राख्नैपर्छ । भूमि अधिकार, वित्तीय पहुँच, प्रविधि, नेतृत्व र बजारमा महिला किसानको समान अवसर सुनिश्चित नगरी कृषिको रूपान्तरण सम्भव छैन ।
नेपालको कृषि अब परम्परागत ज्ञान र आधुनिक विज्ञानको संयोजनबाट अगाडि बढ्नुपर्छ । जलवायु सहनशील धानका जात, गुणस्तरीय बीउ, समयानुकूल कृषि प्रविधि, जैविक विविधतामा आधारित पर्यावरणीय कृषि, युवा र महिलामैत्री यन्त्रीकरण, डिजिटल सूचना प्रणाली र कृषि प्रसार सेवाको प्रभावकारी प्रयोग आवश्यक छ ।
युवालाई कृषिमा आकर्षित गर्न सम्मानजनक आम्दानी, प्रविधिमा पहुँच, स्टार्टअप सहयोग, सहुलियत ऋण र बजारको सुनिश्चितता जरुरी छ । यदि कृषि लाभदायक र सम्मानजनक पेसा बन्न सकेन भने युवालाई कृषिमा आकर्षित गर्न र भविष्यमा उत्पादन कायम राख्न कठिन हुनेछ ।
अबको बाटो : उत्पादनसँगै किसानको समृद्धि
नेपाल सरकारले मनाउँदै आएको राष्ट्रिय धान दिवसले नयाँ सन्देश दिनुपर्छ । केवल उत्पादन बढाउने होइन, उत्पादन गर्ने किसानको जीवन बदल्ने राष्ट्रिय अभियान सुरु गर्नुपर्छ । त्यसका लागि केही आधारभूत सुधार आवश्यक छन् ।
कृषि भूमिको संरक्षण गर्नुपर्छ । सिँचाइ प्रणाली विस्तार गर्नुपर्छ । गुणस्तरीय बीउ र मल समयमै उपलब्ध गराउनुपर्छ । कृषि अनुसन्धानमा लगानी बढाउनुपर्छ । जलवायु अनुकूल र दिगो कृषि प्रविधिको विस्तार गर्नुपर्छ । किसान अधिकार र त्यसमा पनि महिला किसानका अधिकार सुनिश्चित गर्नुपर्छ । युवा कृषकलाई प्रोत्साहन गर्नुपर्छ । किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य पाउने व्यवस्था गर्नुपर्छ । भण्डारण, प्रशोधन र बजार पूर्वाधारमा सार्वजनिक तथा निजी लगानी बढाउनुपर्छ ।
यी सुधारले उत्पादन मात्रै बढाउँदैन, किसानको जीवनस्तरमा पनि प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछन् ।
राष्ट्रिय धान दिवस नेपाली किसानका लागि हिलोमा रमाउने दिन मात्रै होइन, किसानको श्रमलाई सम्मान गर्ने, कृषि नीतिको समीक्षा गर्ने र भविष्यको दिशा तय गर्ने दिन पनि हो । नेपालले खाद्य सुरक्षामा दिगो सफलता हासिल गर्न उत्पादन वृद्धि अपरिहार्य छ । तर, उत्पादन वृद्धि मात्रै पर्याप्त छैन । त्यसको लाभ किसानसम्म पुग्नुपर्छ । किसानको आय, सम्मान, सामाजिक सुरक्षा र जीवनस्तरमा सुधार आउनुपर्छ ।
किसान कमजोर भए उत्पादन कमजोर हुन्छ, उत्पादन कमजोर भए खाद्य सुरक्षा र खाद्य सम्प्रभुता कमजोर हुन्छ । त्यसैले राष्ट्रिय धान दिवसको सबैभन्दा ठूलो सन्देश हुनुपर्छ– दिगो कृषिमा आधारित हुँदै धानको उत्पादन र उत्पादकत्व बढाऔं, धान उत्पादन गर्ने किसानको जीवन समृद्ध बनाऔं । उत्पादन अनि किसानको समृद्धि सँगसँगै अघि बढे मात्रै नेपालको कृषि वास्तवमै दिगो, आत्मनिर्भर, समुन्नत बन्न सक्छ । त्यसपछि मात्रै नेपाल कृषिमा आत्मनिर्भर र खाद्यसम्प्रभु हुन सक्छ ।
