फुटबल ज्वरो : एकतर्फी प्रेमको वैश्विक महाकुम्भ 

विश्वकप खेलिरहेका आफ्ना प्रिय खेलाडी र टिममाथि प्रेमको प्रमाण पेस गर्दा ठूलै सकसबाट गुज्रिन्छन् फ्यानहरू– मनपसन्द टिमको जर्सी लगाउनु, प्रतिद्वन्द्वी टोलीका समर्थकको खिल्ली उडाउनु, आवश्यक परे वादविवाद वा झगडासमेत गर्न पछि नहट्नु ! यी सब जब्बर फ्यानका प्रेम र समर्पणका अभिव्यक्ति हुन् ।

असार ११, २०८३

अस्मिता विष्ट

Football Fever: The Global Festival of One-sided Love

What you should know

विश्वकप–२०२६ को महाकुम्भ नियाल्दा विलियम शेक्सपियरको सुविख्यात कथन– ‘विश्व एक रंगमञ्च हो र मानिस त्यसका पात्र मात्रै हुन्’– झन् बढी सर्वकालिक र विश्वव्यापी शाश्वत सत्यझैं अनुभूत हुन्छ । भनिन्छ, यो ऐतिहासिक महोत्सवले विश्वका झन्डै पाँच अर्ब मानिसलाई आफ्नो मोहजालमा बाँधेको छ । विश्वकपले संसारलाई जोडेको छ, विभाजित पनि गरेको छ । 

विश्वका अधिकांश घरमा करिब–करिब उस्तै दृश्य देख्न सकिन्छ– निद्रा र भोक बिर्सिएर एकै ठाउँ जडवत् बस्ने, कहिले नङ टोक्ने, कपाल कन्याउने, निधार खुम्च्याउने वा मुठी कस्ने, चुकचुकाउने वा हर्ष–विषादका अनगिन्ती भाव प्रकट गर्ने । मानिसको यो समग्र मनोदशा आखिर केद्वारा निर्देशित छ ? यसको उत्तर आश्चर्यजनक छ– अमेरिका, मेक्सिको र क्यानडाका फुटबल मैदानहरूमा दौडिरहेका खेलाडीका खुट्टाका चाल र तिनका खुट्टाले नै निर्देशित एउटा सानो फुटबल !

लाग्छ, फुटबलको मोहिनीमा लट्ठिएका मानिस अहिले यस संसारमा घटिरहेका सम्पूर्ण घटना–परिघटनाबाट बेखबर छन् । हाम्रै देशमा पनि एकोहोरिएका छन् मानिसहरू । केही समयका लागि नै सही, फुटबलको रोमाञ्चकारी दुनियाँमा सयर गरिरहेका नेपालीले बिर्सिगएझैं लााग्छ, महँगीले घाँटी अँठ्याएको यथार्थ । फुटबलमा यतिसम्म मग्न भइगएका छन् मानिस कि– सामाजिक सञ्जालमा पक्ष र विपक्षको इजलास खडा गर्नेले संसद्मा चलेका बहसका विषयसमेत बिर्सिएका छन् । बाँदर मार्न हुने कि नहुने भन्ने विषयमा चलिरहेको बहस तिनका लागि अप्रासंगिक बनेको छ । सेल्टरमा आश्रय लिइरहेका सुकुमवासीको अवस्था कस्तो छ ?

त्यो अपडेट लिने फुर्सद तीसँग छैन । असार लागिसकेको छ, मनसुन कस्तो रहला भन्ने चिन्ताले पनि तिनलाई छोएकै छैन । विडम्बना के छ भने, प्रमुख आहार भात भएकालाई समेत मनसुनले धान उत्पादनमा पार्न सक्ने प्रभाव र चामलको मूल्यमा पार्ने असरप्रति कुनै चासो छैन । मानौं, अहिले तिनको सम्पूर्ण चेतना फुटबल मैदानमा दौडिरहेको एउटा सानो बलसँगै दौडिरहेको छ ।

रोचक विषय के छ भने सन् २०२६ को विश्वकपले प्रमाणित गरिदिएको छ– फुटबल खेल मात्रै होइन शान्ति, सहअस्तित्व र संवादको प्रतीक पनि हो । क्या गजबको जादु ! क्या गजबको ज्वरो ! क्या मादकता ! क्या राप ! कति बस्नु सधैं तनावमा ! कहिलेकाहीँ लाग्छ, मानिसलाई तनावबाट मुक्ति दिलाउने मुक्तिदाता हो प्रिय खेलाडी र टेलिभिजनको पर्दामार्फत ऊसँगको सानिध्य । सबै हद पारको आसक्ति ! त्यो पनि त्यस्तो व्यक्ति र टिमसँग, जसलाई जीवनमा कहिल्यै प्रत्यक्ष भेटेको–देखेको छैन । ती खेलाडीलाई आफ्ना लाखौं दिवाना–दिवानी यस संसारमा छन् भन्नेसमेत थाहा हुँदैन । एकतर्फी प्रेमको योभन्दा अनुपम उदाहरण अर्को के हुन सक्छ ?

आफ्ना टिमप्रति दर्शकको त्याग र समर्पण देख्दा लाग्छ, फुटबल मानिसलाई प्रेमको पाठ सिकाउनै उत्पन्न गरिएको खेल हो । आफ्नो प्रेमको साँचोपन प्रमाणित गर्न उनीहरू कुनै पनि हदसम्म पुग्न तयार हुन्छन् । प्रेमको प्रमाण पेस गर्दा कम सकसबाट गुज्रिँदैनन् फ्यानहरू ! मनपसन्द टिमको जर्सी लगाउनु, जर्सी लगाएको तस्बिर सामाजिक सञ्जालमा गर्वका साथ सार्वजनिक गर्नु, प्रतिद्वन्द्वी टोलीका समर्थकको खिल्ली उडाउनु, आवश्यक परे उनीहरूसँग वादविवाद वा झगडासमेत गर्न पछि नहट्नु– यी सब जब्बर फ्यानका प्रेम र समर्पणका अभिव्यक्ति हुन् । प्रिय खेलाडीको देवत्वकरण गर्नु र प्रतिद्वन्द्वी टोलीका सानातिना कमजोरीलाई पनि बढाइचढाइ प्रस्तुत गर्नु फुटबल प्रेमको अर्को रोचक पाटो हो । 

तर, यो महाउत्सवको सराहनीय पक्ष के हो भने फ्यानहरूको समर्पणमा कुनै स्वार्थ हुँदैन । सायद त्यसैले फुटबलप्रतिको प्रेम संसारकै सबैभन्दा निःस्वार्थ र एकतर्फी प्रेममध्ये एक हो । केही साताकै लागि किन नहोस्, फुटबलले मानिसलाई पीडा, चिन्ता र विभाजन बिर्साएर एकै भावनाको डोरीमा बाँधिदिन्छ । 

मानिस दुःख–पीरबाट मुक्तिमार्ग खोजिरहेका छन् हजारौं वर्षदेखि । त्यही खोजको परिणामस्वरूप मानिसले साहित्य लेख्यो, संगीत सिर्जना गर्‍यो, नृत्यको अभ्यास गर्‍यो, चित्र बनायो, चलचित्र निर्माण गर्‍यो, तपस्वी बन्यो, ध्यान गर्‍यो । यी सबैबाट आनन्द प्राप्त गर्न चाहनेले केही न केही आर्थिक लगानी गर्नैपर्छ । तर, फुटबल फरक छ । घरमा एउटा टेलिभिजन भए पुग्छ, संसारकै सबैभन्दा ठूलो खेल–महोत्सवको आनन्द आफ्नै बैठक कोठा वा शयन कक्षबाट लिन सकिन्छ । यही सहज पहुँचले फुटबललाई सायद विश्वकै सर्वाधिक लोकप्रिय खेल बनाएको हुनुपर्छ ।

इन्साइक्लोपिडिया ब्रिटानिकाका अनुसार, आधुनिक फुटबलको विकास उन्नाइसौं शताब्दीमा बेलायतबाट भएको हो । त्यसपछि खेलका नियम क्रमशः व्यवस्थित हुँदै गए र फुटबल विश्वभर फैलिन थाल्यो । सन् १९०४ मा पेरिसमा फिफा स्थापना भएपछि फुटबलले अन्तर्राष्ट्रिय संस्थागत स्वरूप प्राप्त गर्‍यो । त्यसपछि विश्वभर एउटै नियम र संरचनाअनुसार प्रतियोगिता सञ्चालन हुन थाले ।

यसैको निरन्तरतास्वरूप सन् १९३० मा उरुग्वेमा पहिलो ‘फिफा विश्वकप’ आयोजना गरियो । त्यस प्रतियोगितामा केवल तेह्र राष्ट्र सहभागी थिए । आज भने यही प्रतियोगिता हरेक चार वर्षमा आयोजना हुने विश्वकै सबैभन्दा लोकप्रिय खेल महोत्सव बनेको छ, जसले अर्बौं दर्शकलाई एकै भावनाको डोरीमा बाँध्छ । ब्रिटानिकाका अनुसार, हरेक संस्करणमा अर्बौं टेलिभिजनमा दर्शकले हेर्ने विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगितामध्ये एक हो– विश्वकप ।

फुटबलप्रेमीहरू गर्व महसुस गर्दा हुन् यो देखेर कि– फुटबल अब केवल एउटा खेल रहेन, मनोरञ्जन मात्रै पनि रहेन । यो त विश्वभर छरिएका करोडौं मानिसका साझा भावना, सामूहिक उत्साह, क्षणिक मुक्ति र निःस्वार्थ प्रेमको उत्सव बनिसकेको छ ।

रोचक विषय के छ भने सन् २०२६ को विश्वकपले प्रमाणित गरिदिएको छ– फुटबल खेल मात्रै होइन शान्ति, सहअस्तित्व र संवादको प्रतीक पनि हो । राजनीतिक तनाव र सैन्य टकरावको वातावरणबीच पनि अमेरिका र इरानले विश्वकपबाट आफूलाई अलग राख्ने निर्णय गरेनन् । यसले एउटा गहिरो सन्देश दिएको छ– यो विश्वकपले साझा मानवीय मञ्च निर्माण गरेको छ, जुन राष्ट्रिय स्वार्थ, राजनीतिक मतभेद र कूटनीतिक तनावभन्दा माथि छ । त्यहाँ प्रतिस्पर्धा हुन्छ तर वैरभाव हुँदैन । 

त्यति मात्रै होइन, सम्बन्धमा बेला–बेला चिसोपन देखिए पनि अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा सन् २०२६ फिफा विश्वकप आयोजना गरेर विश्व शान्तिको पक्षमा सकारात्मक सन्देश पनि दिए । र, फुटबलप्रेमीलाई गौरवान्वित बनाए । यसपालिको विश्वकपले तीन फरक राष्ट्र, तीन फरक राजनीतिक–सामाजिक परिवेश भईकन पनि एउटै उद्देश्यमा जुट्ने अवस्था निर्माण गरेको छ । शान्ति र सहकार्यमा विश्वास गर्नेका लागि यो आफैंमा आशा जगाउने घटना हो । फुटबलले सायद यही सिकाउँछ– प्रतिस्पर्धा गर तर सम्बन्ध नतोड ! जितको उत्सव मनाऊ तर मानवता नबिर्स !

उज्वेकिस्तान, केप भर्डे, डेमोक्रेटिक रिपब्लिक अफ कंगोजस्ता तुलनात्मक रूपमा कम विकसित  राष्ट्रले पनि विश्वमञ्चमा प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको देख्दा नेपालीले पनि कुनै दिन आफ्नै देशका खेलाडी विश्वकप–मैदानमा बल गुडाएको सपना देख्न थालेका छन् । विश्वकप हेरिरहेका दर्शकले, खेलाडीले महसुस गरेका छन्, विश्वकप प्रतिस्पर्धाको मञ्च मात्रै होइन– सपना देख्न, त्यो सपनामा विश्वास गर्न र संघर्ष गर्न प्रेरणा भर्ने सकारात्मक ऊर्जाको अथाह स्रोत पनि हो ।

यो ऊर्जाको प्रभाव कति शक्तिशाली हुन्छ भन्ने एउटा उदाहरण हालै चर्चामा आएको घटनाले देखाउँछ । केप भर्डेका गोलकिपर भोझिन्हा (जोसिमार डियास) की आमाले प्रारम्भमा अमेरिकाको भिसा प्राप्त गर्न नसकेपछि आफ्नो छोराको विश्वकप यात्रा प्रत्यक्ष हेर्न वञ्चित भएकी थिइन् । यो समाचार विश्वभर व्यापक रूपमा फैलियो र लाखौं फुटबलप्रेमीको सहानुभूति बटुल्यो । त्यसपछि अमेरिकी अधिकारीले उनको भिसा प्रक्रिया टुंग्याए । र, अन्ततः उनी छोराको खेल हेर्न अमेरिका पुगिन् । एक आमाको पीडा, एक खेलाडीको सपना र करोडौं फुटबलप्रेमीको भावनाले प्रशासनलाई समेत पुनर्विचार गर्न बाध्य बनाएको यो घटनाले फुटबल र फुटबल प्रेमको अद्भुत शक्ति उजागर गर्छ ।

यस्ता मीठा–मीठा घटनाबीच पनि यस विश्वकपका केही प्रसंगले विश्व फुटबलप्रेमीको मन खिन्न बनाएको छ । विशेषगरी राजनीतिक तनाव र कूटनीतिक असहजताका कारण इरानका खेलाडी र समर्थकले अन्तर्राष्ट्रिय यात्रामा कठिन प्रक्रिया, लामो जाँच र कागजी झन्झटको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा यो विश्वकपमा उनीहरूले प्रत्येक पटक खेलमा सहभागी हुन आउँदा लामो यात्रा मात्रै गर्नुपरेको छैन, इमिग्रेसनको झन्झटिलो प्रोसेसबाट पनि गुज्रिनुपरेको छ ।

यदि राष्ट्र–राष्ट्रबीचको सम्बन्ध सहज र सौहार्दपूर्ण हुन्थ्यो भने खेलाडीहरू (यो विश्वकपमा–इरानी खेलाडीहरू) यस्ता अतिरिक्त कठिनाइबिनै खेलमा मात्रै केन्द्रित हुन पाउने थिए । यही कारण फुटबलप्रेमी कामना गरिरहन्छन्, प्रार्थना गरिरहन्छन्– विश्वकप चलिरहँदा कम्तीमा केही समयका लागि भए पनि राष्ट्रिय राजनीति र कूटनीतिक तिक्तता पृष्ठभूमिमै हराओस् अनि त्यहाँ बाँकी रहोस्– केवल खेल, खेल भावना र मानवताको साझा उत्सव ।

अस्मिता

Link copied successfully