समयमै बर्डफ्लु चिनौं, समस्या निदान गरिहालौं

बर्डफ्लु किसान वा कुखुरा व्यवसायीको समस्या मात्र होइन, यो जनस्वास्थ्य, पशु स्वास्थ्य र देशको अर्थतन्त्रसँग जोडिएको विषय पनि हो, त्यसैले अफवाह र डरका आधारमा होइन, सही जानकारी र सावधानीका आधारमा व्यवहार गर्नु आवश्यक छ

असार ११, २०८३

डा. मनोजकुमार शाही

Let's identify bird flu in time and diagnose the problem.

What you should know

बर्डफ्लुको खबर फैलिनेबित्तिकै धेरै उपभोक्तामा एउटा डर पैदा हुन्छ— कुखुराको मासु र अन्डा खान हुन्छ कि हुँदैन ? तर स्वास्थ्य तथा पशु स्वास्थ्य विज्ञहरूका अनुसार मासु र अन्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा बर्डफ्लुको भाइरस नष्ट हुने भएकाले यसमा डराइहाल्नुपर्दैन । तसर्थ बजारमा पाइने मासु र अन्डा राम्रोसँग पकाएर खाने बानी बसाल्नु नै सबैभन्दा सुरक्षित उपाय हो ।

कुखुरा फार्ममा काम गर्ने, मासु काट्ने वा बेच्ने व्यक्तिहरूले मास्क, पन्जा र बुट प्रयोग गर्ने तथा कामपछि साबुनपानीले राम्रोसँग हातखुट्टा धुने गरे संक्रमणको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । बर्डफ्लुबाट बच्न किसान र व्यवसायीले पनि विशेष सावधानी अपनाउन आवश्यक छ । कुखुरा फार्ममा जंगली चरा आउन नदिन जाली लगाउने, फार्ममा प्रवेश गर्ने मानिस र सवारीसाधनलाई निसंक्रमण गर्ने तथा सरसफाइमा ध्यान दिने कामले रोग फैलिनबाट रोक्न सघाउँछ ।

कुखुरा, चल्ला, दाना वा अन्डा ओसारपसार गर्ने सवारीलाई नियमित रूपमा सफा र निसंक्रमण गर्नुपर्छ । कुनै फार्ममा बर्डफ्लु देखियो भने हतारमा फेरि नयाँ कुखुरा थप्नुहुँदैन । रोग नियन्त्रण भएको कम्तीमा ४२ दिनसम्म कुनै नयाँ संक्रमण नदेखिएपछि मात्र पुनः पालन सुरु गर्नु सुरक्षित मानिन्छ । 

बर्डफ्लु किसान वा कुखुरा व्यवसायीको समस्या मात्र होइन । यो जनस्वास्थ्य, पशु स्वास्थ्य र देशको अर्थतन्त्रसँग जोडिएको विषय पनि हो । त्यसैले अफवाह र डरका आधारमा होइन, सही जानकारी र सावधानीका आधारमा व्यवहार गर्नु आवश्यक छ । समयमै जानकारी दिने, शंका लागेमा सम्बन्धित निकायलाई खबर गर्ने र आवश्यक सुरक्षा उपाय अपनाउने हो भने बर्डफ्लुको जोखिम नियन्त्रण गर्न सकिन्छ ।

विश्वव्यापी तथ्यांकअनुसार २० वर्ष (सन् २००४ देखि २०२३) को तुलनामा कुखुराको मासु र अन्डा उत्पादनमा करिब ९० प्रतिशतले वृद्धि भई कुल मासु उत्पादनमा कुखुराको मासुको हिस्सा सोही अवधिमा ३० बाट बढेर ४० प्रतिशत पुगेको छ ।

सोही अवधिमा नेपालमा अन्डाको उत्पादन ५८ करोड गोटा प्रतिवर्षदेखि एक अर्ब ६४ करोड गोटा र मासुको उत्पादन करिब १५ हजार टनबाट बढेर करिब २ लाख टन पुगेको छ । कुखुरा उद्योगले पोषण सुरक्षा मात्र नभई रोजगारी र न्यून आयस्तर भएका किसानको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार सन् १९७८ मा पन्छीमा मात्र देखिएको बर्डफ्लु पछि सन् १९९७ मा मानिसमा पहिलो पटक देखापरेको थियो । अहिले मानिस र पन्छीबाहेक गाई, बिरालो, कुकुर, बाघ, सिंह, स्याल, चिल, सुँगुरलगायत पशुमा पनि यो रोग देखिन थालेपछि झन् चासो र चिन्ता बढेको छ ।

महामारीबाट बच्ने मुख्य उपाय भनेको भाइरसलाई छिटो नियन्त्रणको विधिमार्फत पन्छीमा सीमित राख्ने र अन्य पशु र मानिसमा संक्रमण हुन नदिई म्युटेसन वा स्वरूप परिवर्तनलाई न्यूनीकरण गर्ने नै हो ।

पन्छीमा बर्डफ्लुका कारण करिब शतप्रतिशत मृत्युदर छ । हालसम्म पशुपन्छीबाट मात्र मानिसमा यो रोग सरेको र सर्ने दर एकदमै न्यून पाइएको छ । मानिसबाट मानिसमा बर्डफ्लु संक्रमण भएको प्रमाण भेटिएको छैन । हालसम्म विश्वभर करिब ९ सय जनामा बर्डफ्लुको संक्रमण भएको र तीमध्ये करिब ५० प्रतिशतको मृत्यु भएको देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । 

नेपालमा परेको प्रभाव 

२०६५ पछिका १८ वर्षमध्ये पछिल्ला ३ बाहेक हरेक वर्ष यो रोग नेपालमा देखिएको छ । यस अवधिमा करिब ३४ लाख पन्छी र ५५ लाख अन्डा नष्ट गरिएको छ । बर्डफ्लुका कारण हालसम्म नेपालमा एक जनाको मृत्यु भएको छ । ४ चैत २०८२ यता देशका विभिन्न ११ जिल्लामा देखिएको बर्डफ्लुका कारण करिब साढे ५ लाख पन्छी नष्ट गरिएको देखिन्छ ।

पछिल्लो समय बर्डफ्लुका कारण जावलाखेलस्थित चिडियाखानाका केही पन्छी र जंगली जनावर मरेका छन् । 

बर्डफ्लु रोग नियन्त्रण नियमावली, २०७८ अनुसार नेपालमा यो रोग फैलिएपछि नियन्त्रणको काम गरिन्छ । यसका लागि संक्रमित पन्छी मात्र मारिँदैन, वरिपरिको संक्रमित पन्छीसँग लसपस भएका वा हुन सक्ने सबै पन्छी, अन्डा, दाना, सोत्तरलगायत वस्तु नष्ट गरी निसंक्रमण गरिन्छ । जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य मन्त्रालय र वन्यजन्तुसँग सम्बन्धित निकायसँग समन्वयमा मानिस, वन्यजन्तु र पन्छीमा रोग अन्वेषणका कार्यक्रम सञ्चालन गर्ने र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसारमा रोक लगाउने काम पनि गरिन्छ ।

नेपालमा बर्सेनि जस्तो बर्डफ्लु, लम्पी स्किन, खोरेत, अफ्रिकन स्वाइनफ्लु, इन्टेरोटक्सिमियालगायत पशुमा सरुवा रोग देखापर्ने गरेका छन् । जसका कारण किसानको अर्बौंको आर्थिक नोक्सानी हुने गरेको छ ।

यी रोग नियन्त्रण गर्ने दायित्व संघको भएको, पशु सेवा विभागको चेन अफ कमान्ड स्थानीय तहसम्म टुटेको र संघीय दायित्व हुँदाहुँदै पनि प्रदेशस्तरमा पशु महामारी नियन्त्रणको प्रयोगशालाबाहेक कुनै पनि संरचना छैन । २०५५ सालमा बनेको पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई समयसापेक्ष संशोधनमा ढिलाइ हुनु प्रमुख नीतिगत र संरचनागत समस्या हुन् ।

विगतमा देखिएको लम्पी स्किन रोगले मात्र ७९ अर्ब बराबरको आर्थिक नोक्सानी भएको अनुमान थियो । विश्व बैंक र एसियाली विकास बैंकले समेत लम्पी स्किन रोगका कारण नेपालको आर्थिक वृद्धिमा संकुचन आउने प्रक्षेपण गरेको थियो ।

तसर्थ प्रारम्भिक निदानलाई छिटो गरी समयमै नियन्त्रण गर्ने, त्यसका लागि किसानको नजिक रोग नियन्त्रणका संयन्त्र स्थापना तथा क्षमता विकास गर्ने, यथेष्ट प्राविधिक जनशक्ति तथा बजेट व्यवस्थापन र चेन अफ कमान्डमा रहने गरी केन्द्रदेखि स्थानीय तहसम्मको संरचनागत र कानुनी व्यवस्था सुधार अहिलेको प्रमुख विषय हो ।

डा. शाही कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक हुन् ।

Link copied successfully