स्वास्थ्य सपार्न महँगो मूल्य तिरेर फलफूल खाएको आत्मरतिमा रमाइरहेका हामीले स्वास्थ्य सपारिरहेका छौं या बिगारिरहेका ? फलफूल होस् वा अनाज, तरकारी, दूध वा जुनै खाद्य सामग्री– उद्योगीले जानीजानी मानव स्वास्थ्यमा हानिकारक रसायन/विषादी मिसाएको पुष्टि हुन्छ भने त्यो जनस्वास्थ्यविरुद्धको गम्भीर अपराध हो ।
What you should know
हाम्रा फलफूल
एक साताअघि २ सय पचास रुपैयाँ दर्जनमा गाउँको झपरीझैं देखिने केरा किनेको थिएँ । खाँदा लोकल स्वाद त परैको कुरा, केराको जात जनिने न्यूनतम स्वादसमेत थिएन । कलिलो केरालाई कुनै रसायनको माध्यमबाट जबरजस्ती पाकेजस्तो बनाई बजार ल्याइएको प्रस्टै बुझिन्थ्यो । केही दिनअघि ‘विषादीरहित’ लेखिएको प्रतिष्ठित स्टोरबाटै किनेको मालदह आँप भेट्नुबाट फतक्कै कुहिएर अधिकांश खेर गयो ।
साताभित्रैका यी दुई अनुभवले बजारमा उपलब्ध हाम्रा फलफूल कति गुणस्तरीय छन् ? सोच्न बाध्य बनायो । आयुर्वेद होस् या आधुनिक स्वास्थ्य विज्ञान, दुवैले मानव स्वास्थ्यका लागि फलफूलको अपरिहार्यता जनाएका छन् । त्यसैले मूल्य महँगो हुँदाहुँदै पनि आमनेपालीको फलफूलप्रतिको लगाव पछिल्लो समय बढ्दै गएको छ । तर, नेपाली बजारमा पाइने धेरै किसिमका फलफूल विषादी मिसिएर उपभोक्ताका घर भित्रिने अवस्था विद्यमान छ ।
सामान्यतया आकर्षक, चम्किला र बेमौसममा बजार भित्रिने फलफूल विषादी, रसायन अनि अन्य कृत्रिम तत्त्वका कारण बढी अस्वस्थकर हुने विषयमा विज्ञहरूले सजग गराएका छन् । तर, मौसमभित्रकै फलफूल पनि विषादीरहित नभएको माथि उल्लेखित केरा र आँपको प्रसंगबाट प्रस्ट हुन्छ । बाह्रै महिना मौसमी फलफूलझैं बजारमा उपलब्ध हुने स्याउको अवस्था झन् नाजुक छ । बाहिरी सतहमा टल्किने लेपन, स्टिकर टाँसिएको भागमा इन्जेक्सनको खत, अस्वाभाविक गुलियो स्वाद, किनेको केही दिनमै फतक्कै कुहिने अवस्था आँखैले देखिने कैफियत हुन् । अन्य रसायनको प्रयोग केवल प्रयोगशालाबाट पत्ता लाग्ने विषय भए । ‘प्रोगेसिभ सस्टेनेबल डिभलपर्स नेपाल’ ले काठमाडौंलगायत अन्य स्थानका बजारबाट स्याउ र केराका नमुना भारतको प्रयोगशालामा परीक्षण गर्दा सबै केरामा अत्यधिक मात्रामा विषादी र एउटै स्याउमा ७ प्रकारसम्मका अलग–अलग विषादी प्रयोग भएको निष्कर्ष निकालेको थियो । प्रश्न उब्जिन्छ– स्वास्थ्य सपार्न महँगो मूल्य तिरेर फलफूल खाएको आत्मरतिमा रमाइरहेका हामीले वास्तवमा स्वास्थ्य सपारिरहेका छौं या बिगारिरहेका छौं ?
सन्तोषजनक छैनन् तरकारी
नेपाली भान्सामा भित्रिने तरकारी पनि पूर्ण स्वस्थकर नहुने परीक्षणले देखाएका छन् । गत हिउँदकै कुरा गरौं– रायोको सागमै ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको र त्यसले कलेजोमा प्रत्यक्ष असर पुर्याउने भन्दै केन्द्रीय कृषि प्रयोगशालाको परीक्षणले खान अयोग्य ठहर्याएको थियो । अन्नबाली, तरकारी तथा फलफूलमा विशेषज्ञले निर्धारण गरेबमोजिम विषादी प्रयोग गर्नुपर्ने किसानको बाध्यता नकार्न सकिँदैन । विषादी प्रयोग ३५ प्रतिशतभन्दा कम भए खानयोग्य, ४५ प्रतिशतसम्मको प्रयोगमा केही दिन राखेर खान सकिने र त्योभन्दा माथि भए खान नमिल्ने भनी सीमा निर्धारण गरिएको छ । तर, विषादी प्रयोगमा सिफारिस गरिएको निर्धारित समय, मात्रा र तरिकालाई बेवास्ता गर्दा बजारमा समस्याग्रस्त तरकारी तथा कृषि उपज आपूर्ति भइरहेका छन् ।
दुग्ध पदार्थको गुणस्तर
गत हिउँदकै कुरा गरौं– रायोको सागमै ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको र त्यसले कलेजोमा प्रत्यक्ष असर पुर्याउने भन्दै केन्द्रीय कृषि प्रयोगशालाको परीक्षणले खान अयोग्य ठहर्याएको थियो । नेपालमा पोषणसम्बन्धी विभिन्न निकायले प्रतिव्यक्ति वार्षिक ९१ देखि ९२ लिटर दूध तथा दुग्ध पदार्थ सेवन गर्न सिफारिस गरेको छ । सिफारिसको तुलनामा प्रतिव्यक्ति औसत उपभोग वार्षिक ७२–७८ लिटर मात्रै रहेको भन्दै सरकारी निकायबाट दुग्ध सेवन बढाउन प्रचारात्मक सन्देश प्रवाह भइरहेको छ । तर, उपभोक्ताको घरघरमा आपूर्ति हुने दूध स्वस्थकर छैन । दुग्ध पदार्थको गुणस्तरलाई लिएर सरकारी स्वामित्वको दुग्ध विकास संस्थानदेखि कैयौं निजी डेरी पटक–पटक दोषी देखिएका छन् ।
विशेषतः दूधमा मानव स्वास्थ्यलाई हानि पुर्याउने हानिकारक रसायन मिसाइएका तथ्य सरकारी प्रयोगशालाबाटै पुष्टि भएका छन् । दुग्ध उद्योगको प्रदूषित वातावरणदेखि दुध ओसारपसार गर्ने ट्याङ्कर, क्यान, पाउचलगायत सामानको उचित सरसफाइ अभाव, दूषित पानी प्रयोग, कृत्रिम दूध उत्पादन र आपूर्तिसम्मका कैफियतमा डेरी दोषी पाइएको छ । प्रदूषित पानी, दूषित वातावरण र राम्ररी सफा नगरिएका भाँडाकुँडाका कारण दिसामा पाइने कोलिफर्म जीवाणुसमेत दूधमा पाइएको धेरै पटक पुष्टि भएको छ ।
साथै दूध फाट्नबाट जोगाउन, चिल्लो र बाक्लो देखाउन, लामो समय टिकाउन अखाद्य तत्त्व (जस्तै कास्टिक सोडा, युरिया मल, लुगा धुने डिटरजेन्ट पाउडर, पाम आयल) मिसाएर डेरी उद्योगहरूले मानव स्वास्थ्यविरुद्ध आपराधिक कार्यसमेत गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । केहीअघि मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनमा भक्तपुर, काभ्रे, रूपन्देही र मकवानपुरका कतिपय डेरी उद्योगमा यस्तै कार्य भएको पाइनु आमउपभोक्ताका लागि चिन्ता र राज्यका लागि गम्भीर चुनौतीको विषय हो ।
खाद्य शुद्धतामा नेपालको कानुनी व्यवस्था
नेपालको संविधान– २०७२ मा खाद्य शुद्धता भनी प्रत्यक्ष उल्लेख नगरे पनि खाद्य सुरक्षा र गुणस्तरीय खाद्य प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । धारा ३५ (स्वास्थ्यको हक), धारा ३६ (खाद्यसम्बन्धी हक) र धारा ४४ (उपभोक्ताको हक) ले नागरिकको खाद्य शुद्धताको हकलाई संवैधानिक आधार प्रदान गर्छन् । यसअन्तर्गत पनि धारा ४४ ले ‘प्रत्येक व्यक्तिलाई गुणस्तरीय वस्तु र सेवा पाउने तथा गुणस्तरहीन वस्तु र सेवाबाट क्षति पुगेमा क्षतिपूर्ति पाउने हक’ व्यवस्था गरी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन– २०८१ र उपभोक्ता संरक्षण ऐन–२०७५ लगायत कानुन लागू भएका छन् ।
उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ३ मा ‘प्रत्येक उपभोक्ताले गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार हुन्छ’ भनिएको छ । उपदफा २ को खण्ड ‘ङ’ ले ‘मानव जीउ–ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार’ सुनिश्चित गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन– २०८१ अनुसार, दूषित मिसावटयुक्त वा मानव स्वास्थ्यमाथि हानि पुर्याउने खाद्य पदार्थ उत्पादन, भण्डारण, वितरण वा बिक्रीमा निषेध गरिएको छ । यी कानुनमा उपभोक्ताको गुणस्तरीय र शुद्ध खाद्य प्राप्त गर्ने अधिकार कतैबाट कुण्ठित नहुने यदि भइहाले कानुनी प्रक्रियामार्फत दोषीलाई जरिवानादेखि कैद सजाय तथा उपभोक्ताले क्षतिपूर्ति पाउने क्रममा आवश्यक पर्ने सबै प्रावधान समेटिएका छन् । तर, कानुनको अर्थपूर्ण कार्यान्वयन हुन नसक्दा समस्या अन्त्य हुँदैन ।
जनस्वास्थ्यविरुद्ध अपराध
दुग्ध होस् वा अनाज, तरकारी, फलफूल वा जुनै खाद्य सामग्री– उद्योगीले जानीजानी मानव स्वास्थ्यमा हानिकारक रसायन/विषादी मिसाएको पुष्टि हुन्छ भने त्यो जनस्वास्थ्यविरुद्धको गम्भीर अपराध हो । खाद्यवस्तुको गुणस्तरबारे अनुगमन गर्ने आधिकारिक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग आफूले बजार अनुगमन गरिरहेको, तर समस्याको तुलनामा पर्याप्त विशेषज्ञ, प्रयोगशाला तथा कर्मचारी अभावमा सफलता हासिल गर्न नसकेको स्वीकार गरिरहेको छ ।
मुलुकभित्र प्रत्येक व्यक्तिलाई गुणस्तरीय खाद्यवस्तुको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी राज्यको हो । बजारमा नियमित अनुगमन/मूल्यांकन, विशेषज्ञ उत्पादनमा वृद्धि, गुणस्तरीय प्रयोगशाला विस्तार, प्रभावकारी उजुरी सुनुवाइ प्रक्रिया, दोषीलाई कानुनबमोजिम दण्डमा सुधार गर्नैपर्छ । हाम्रो देशमा आधुनिक प्रयोगशालाको अभाव छ, विशेषज्ञ सीमित छन्, भौगोलिक विकटताले प्रविधिगत सेवा देशैभरि छिटो विस्तार गर्न कठिन छ– त्यस्तोमा स्रोतमै खाद्य शुद्धता कायमका लागि स्थानीय सरकारलाई अधिकारसहित बढी जिम्मेवार र जवाफदेही बनाउनु उत्तम हुन सक्छ । आफ्ना क्षेत्रका उद्योग, कृषि फार्म, डेरी, मिल, गोदाममा स्थानीय सरकारले जिम्मेवारीसाथ निगरानी बढाउने हो र देखिएका समस्या त्यहीँ समाधान गर्ने अधिकार प्रत्यायोजित हुने हो भने देशमा उत्पादित खाद्यवस्तुमा विषादीको समस्या स्रोतमै टुंगिन्छ ।
