अबको नेपाली डायस्पोरा रणनीति 

हिजोसम्म आफ्ना अधिकारका लागि सिंहदरबार र बालुवाटार ढकढक्याउने प्रवासीहरू अब ह्वाइटहाउस र डाउनिङ स्ट्रिटमा आफ्नो अधिकार र प्रभाव राख्छन् । यसलाई नेपालले जराहरूको अस्वीकृति होइन, पहुँचका रूपमा बुझ्नुपर्छ ।

असार ४, २०८३

मिलनजंग कटुवाल, त्रिभुवन पाण्डे

Future Nepali Diaspora Strategy

What you should know

जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गत महिना दुई दर्जनभन्दा बढी कर्पोरेट सीईओसहित एयर फोर्स वान चढेर चीन भ्रमणका लागि उडे, तब उनले कूटनीतिभन्दा माथिको सन्देश दिए । सामान्यतया सरकारी अधिकारी एवम् कूटनीतिज्ञकै बाहुल्यता रहने त्यस किसिमको भ्रमणमा यस पटक राजनीतिकसँगै व्यापारिक नेतृत्वसमेतको समानान्तर उपस्थितिले विश्वलाई नयाँ सन्देश दियो । ट्रम्पले राष्ट्र र राष्ट्रबीच मात्रै नभई बोर्डरुम र बोर्डरुमबीच पनि साझेदारी निर्माण गर्न खोजे । र, वर्तमान समयको कूटनीतिक साझेदारी पुँजी, लगानी अनि पारस्परिक आर्थिक हितको भाषामा बोलिन्छ भन्ने स्मरण विश्वलाई गराए । विश्व शक्तिराष्ट्रहरूका हकमा मात्रै होइन, नेपालजस्ता साना अर्थतन्त्रका हकमा पनि यो विषय उत्तिकै लागू हुन्छ र नेपालले यसबाट सिक्नुपर्छ । 

लामो समयदेखि नेपालले विश्वसामु मुख्यतः सहायता, रेमिट्यान्स र सद्भावनामा आधारित सम्बन्ध र सहकार्य कायम राख्दै आएको छ । दुई छिमेकी राष्ट्र भारत– चीनसँगै अमेरिका र बेलायतजस्ता पुराना मित्रराष्ट्रसँग पनि हाम्रो यसै किसिमको सम्बन्ध रहिआएको छ । तर, प्रविधिले जोडेको र अवसरका हिसाबमा विस्तारित आजको विश्वमा नेपालको भूगोल अनि अर्थतन्त्र हिजोभन्दा आज फैलिएको छ । नेपाली भूगोल र अर्थतन्त्रको निरन्तर विस्तार सम्भव बनाउन प्रविधि जति महत्त्वपूर्ण छ, डायस्पोरा पनि उत्तिकै महत्त्वपूर्ण छ/रहनेछ । हालै अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा पेस गरिएको २०८३/८४ को बजेट वक्तव्यमा सौम्य शक्तिको विस्तारमा डायस्पोराको सीप, पुँजी र सञ्जाल सदुपयोग गर्ने बुँदाले यो महत्त्वलाई सम्बोधन गर्न खोजेझैं देखिन्छ । 

नेपाल र गुगललाई सेवाले जोडेको छ । तर, गुगलमा कार्यरत नेपाली वैज्ञानिकले यो सम्बन्धलाई अझ विशेष बनाउन सक्छन् । सिंहदरबार र ह्वाइटहाउसलाई इतिहासले जोडेको छ । तर, दुबै देशसँग सम्बन्ध र सरोकार राख्ने नेपालीले सम्बन्धलाई थप सुसज्जित बनाउन सक्छन् । सहायता, रेमिट्यान्स र 

सद्भावनामा आधारित अन्तर्राष्ट्रिय सम्बन्धलाई सहकार्य, अवसर र समृद्धिमा आधारित बनाउन डायस्पोराको संस्थागत परिचालन आवश्यक छ । उनीहरूको सक्रियतालाई परिणाममुखी र प्रयासलाई समन्वित बनाउन नेपालका तर्फबाट संस्थागत सम्बोधन आवश्यक छ । राज्यका अघोषित दूत हुन् प्रवासी नेपाली, जो अन्तर्राष्ट्रिय लगानी र साझेदारीका निमित्त पुल बन्न सक्छन् । एयर फोर्स वानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने माध्यम बन्न सक्छन् । १० डाउनिङ स्ट्रिट र बालुवाटारलाई थप नजिक ल्याउने ‘एक्स फ्याक्टर’ बन्न सक्छन् । यसका लागि विस्तारित नेपालको पुनर्व्याख्या आवश्यक छ । 

नेपाली डायस्पोराको पुनर्व्याख्या 

 विदेशमा जन्मिएका नेपाली मूलका दोस्रो तथा तेस्रो पुस्ताका युवालाई भाषा, संस्कृति र अवसरमार्फत नेपालसँग जोडिराख्न अहिल्यैबाट ठोस कदम अघि बढाउन सक्नुपर्छ । सन् १९९० को उदारीकरण, समानान्तर इन्टरनेटको बढ्दो पहुँच अनि प्रयोगले नेपाल र विश्वकै लागि नयाँ सम्भावनाको ढोका खोल्दै गयो । रोजगारी र अवसर खोज्दै भारत छिरिरहेको नेपालीको ठूलो संख्या बिस्तारै मध्य–पूर्व र खाडीका मुलुक जान सक्ने भयो । रेमिट्यान्सको पैसाले नेपाली समाज आफ्ना बालबच्चालाई बोर्डिङ स्कुलमा पठाउन सक्ने र तुलनात्मक रूपमा गुणस्तरीय शिक्षा दिन सक्ने बन्यो । क्रमशः हुर्किंदै गरेका नवयुवाहरू अध्ययन वा कामकै सिलसिलामा अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र युरोपका विकसित मुलुक छिर्न थाले । सन् १९९० मै अमेरिकाले ‘डाइभर्सिटी भिसा’ पनि घोषणा गरेपछि त्यहाँ नेपालीको पहिलो पुस्ता वैधानिक आप्रवासनसहित भित्रिन थाल्यो । आज सन् २०२६ सम्म आइपुग्दा अमेरिकामै जन्मिएका दोस्रो पुस्ताका नेपाली तयार भइसकेका छन् । यसरी विश्वभर फैलिएर नेपालको परिचय बाँड्ने, संस्कृति साट्ने, भाषा, चाडपर्व–कला प्रवर्द्धन गर्ने, लगानी–सहकार्यका अवसर खोज्ने, सदैव देशमा प्रगति र विकास चाहने डायस्पोराले नेपाली पहिचान अनि प्रभावको सिमानालाई थप विस्तार गरेको छ । हामी धेरैले डायस्पोरालाई बुझ्ने भावनात्मक यो कोण सही भए पनि बुझाइलाई यत्तिमै सीमित राखेर राज्यले डायस्पोरा नीति अंगीकार गरे त्यो भने अदूरदर्शी र वस्तुगत रूपमा अपूर्ण हुन जान्छ ।

आजसम्म गैरआवासीय नेपालीका रूपमा आफ्नो परिचय दिँदै आएका प्रवासी अब नेपाली–अमेरिकी, नेपाली–बेलायती, नेपाली–युरोपेली आदिसमेत भइसके । नेपाली मूलका धेरै मानिस आजका दिनमा विदेशी नागरिकता बोक्छन् र विशेषगरी नेपालीको दोस्रो पुस्ता विदेशमै जन्मे–हुर्केका पनि छन् । यसको अर्थ हो, हिजोसम्म आफ्ना अधिकारका लागि सिंहदरबार र बालुवाटार ढक्ढक्याउने प्रवासीले अब ह्वाइटहाउस र डाउनिङ स्ट्रिटमा समेत आफ्नो अधिकार र प्रभाव राख्छन् । यसलाई आफ्ना जराहरूको अस्वीकृति होइन, पहुँचका रूपमा बुझ्नुपर्छ ।

‘काठमाडौंमा आईटी कम्पनी चलाउन वातावरण बनाइदेऊ’ भनी नेपाल सरकार गुहार्ने प्रवासीकै छोराछोरी अहिले सिलिकन भ्यालीमा स्टार्ट–अप चलाउने भइसके । नेपालमा सुशासन र जिम्मेवारपूर्ण राजनीतिको वकालत गर्ने नेपाली र तिनकै छोराछोरी अब अमेरिका वा बेलायततिरकै नीतिनिर्माणमा सक्रिय भइसके । अमेरिकी स्पेस एजेन्सीदेखि इन्जिनियरिङसम्म, सिलिकन भ्यालीदेखि वाल स्ट्रिटसम्म, अनुसन्धानदेखि व्यापारसम्म विश्वभर छरिएका नेपालीले आ–आफ्नो ठाउँ र क्षेत्रमा परिचय बनाइरहेका छन् । विदेशीलाई मःम, वाइवाई र गुन्द्रुक चखाएर सांस्कृतिक सम्बन्ध गाँसिरहेका मात्रै होइनन्– ‘सिलिकन पिक्स’ बारे बुझाएर पनि नेपालको आर्थिक–वैज्ञानिक सम्भावनामाथि प्रचार गरिरहेका छन् । प्रवासमा रहेका नेपालीले व्यक्तिगत रूपमा ‘आफ्नो मातृभूमिका लागि केही न केही गरौं’ भन्ने चाहेकै हुन्छन् । तर, व्यक्तिगत चाहनालाई संस्थागत माध्यमद्वारा राष्ट्रिय डायस्पोरा रणनीतिसहित एकीकृत गर्न सके योगदान, सक्रियता र परिवर्तनलाई थप नतिजामुखी एवम् स्थायी बनाउन सकिन्छ । 

इजरायली र भारतीय डायस्पोराबाट पाठ 

भारत र इजरायलले विदेशमा रहेका आफ्ना नागरिकलाई कसरी राष्ट्रिय विकासको ‘रणनीतिक सम्पत्ति’ बनाउन सकिन्छ भन्ने विश्वव्यापी उदाहरण प्रस्तुत गरेका छन् । नेपालका लागि यी दुई देशको अनुभवबाट सिक्नुपर्ने मुख्य पाठ हो– डायस्पोरालाई केवल रेमिट्यान्सको स्रोत नभई ‘सौम्य शक्ति’ र विकासको साझेदारका रूपमा हेर्नु । भारतले आफ्नो नीतिमा ‘ब्रेन ड्रेन’ बाट ‘ब्रेन सर्कुलेसन’ अर्थात् प्रतिभा परिचालनतर्फ फड्को मारेको देखिन्छ । सन् २००० को सिंहवी समिति प्रतिवेदनपछि भारतले प्रवासी भारतीय दिवस, ओसीआई (प्रवासी भारतीय नागरिक) कार्ड र मन्त्रालयअन्तर्गत छुट्टै विभाग जस्ता संस्थागत ढाँचा खडा गर्‍यो । यसले सिलिकन भ्यालीदेखि स्वास्थ्य क्षेत्रसम्मका विज्ञलाई भारतमा लगानी र प्रविधि हस्तान्तरण गर्न प्रेरित गर्‍यो । प्रधानमन्त्री मोदीले सन् २०१४ यताका वर्षमा भारतीय डायस्पोरालाई भारत–अमेरिका सम्बन्ध पुनःसंरचनाको अग्रपंक्तिमा राखेका छन् । सन् २०२४ मा भारतको एनआरआई निक्षेप झन्डै ८ हजार करोड डलर पुग्नु र इन्डो–यूएस नागरिक परमाणु सम्झौतामा डायस्पोराले गरेको लबिइङले यसको आर्थिक र कूटनीतिक प्रभाव थप पुष्टि गर्छ । नेपालले यसबाट पाठ सिक्दै राष्ट्र निर्माणको साझा दायित्वका निमित्त विश्वभरका नेपाली विज्ञको ज्ञान, प्रतिभा, अनुभव र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्न सक्नुपर्छ । 

इजरायलले पनि आफ्नो डायस्पोरालाई पछिल्ला वर्षहरूमा नकारात्मक रूपमा बाहिरिएका भन्नुको सट्टा राष्ट्रको विस्तार र सुरक्षाको आधार मान्न थालेको छ । अक्टोबर ७ को घटनापछि इजरायली डायस्पोराले सेनाका लागि उपकरण जुटाउने, विश्वभर पैरवी गर्ने कार्यमा असाधारण भूमिका खेलेको छ । यसबाट नेपालले सिक्नुपर्ने मुख्य पाठ हो– भावनात्मक सम्बन्धलाई दिगो लगानी र कूटनीतिक प्रभावमा बदल्नु । भारतझैं उच्चस्तरीय समिति बनाएर डायस्पोराका अपेक्षाहरू सम्बोधन गर्ने र इजरायलझैं संकटका बेला उनीहरूको विशेषज्ञता उपयोग गर्ने संयन्त्र निर्माण गर्नु आवश्यक छ । डायस्पोरालाई ‘संख्या’ का रूपमा मात्रै नभई ‘शक्ति’ का रूपमा पहिचान गरी नेपालको उच्च शिक्षा, प्रविधि, लगानी र पर्यटन प्रवर्द्धनमा ‘ब्रान्ड एम्बेसडर’ का रूपमा परिचालन गर्न सक्नुपर्छ । हाम्रो रणनीति डायस्पोराको नागरिक अधिकार र लगानी सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई राष्ट्रिय मूलधारमा एकीकृत गर्ने हुनुपर्छ । यसमा डायस्पोराको पनि कर्तव्य बन्छ संगठित हुने, राजनीतिक रूपमा संलग्न हुने, आर्थिक सेतुहरू बनाउने र साझा हिततर्फ अग्रसर हुने ।

अबको बाटो 

अस्ट्रेलियामा झन्डै दुई लाख नेपाली हुँदाहुँदै वा बेलायतसँग झन्डै २ सय वर्ष पुरानो सम्बन्ध हुँदाहुँदै किन आजसम्म हामीबीच प्रधानमन्त्रीस्तरीय भेटघाट वा कुनै ठोस व्यापारिक साझेदारी हुन सकेन ? यो प्रश्न राज्यतर्फ मात्रै नभई डायस्पोरातर्फ पनि फर्किन्छ । उपहार र शुभकामना साट्ने कूटनीतिबाट हामी किन अवसर साट्ने कूटनीतितर्फ अघि बढ्न सकेनौं ? हामीले कूटनीतिक टेबलमा आर्थिक विकास र आपसी हितका मुद्दालाई प्राथमिकताका साथ अघि सार्न सके अन्तर्राष्ट्रिय सम्बन्धले पनि पक्कै नयाँ उचाइ लिने थियो । 

यस विषयमा डायस्पोराको रचनात्मक भूमिका रहन सक्छ । गैरआवासीय नेपाली संघ, उद्योग वाणिज्य महासंघ र सक्रिय सामुदायिक संस्थाले अन्तर्राष्ट्रियस्तरमा नेपालको ‘ब्रान्डिङ’ र लगानीका लागि पैरवी गर्न सक्छन् । एआई, क्वान्टमलगायत प्रविधि विकास र प्रभावले विश्व चकित भइरहँदा विश्व नियाल्ने हाम्रो आँखीझ्याल बन्न सक्छ– डायस्पोरा । विदेशमा जन्मिएका नेपाली मूलका दोस्रो तथा तेस्रो पुस्ताका युवालाई भाषा, संस्कृति र अवसरमार्फत नेपालसँग जोडिराख्न अहिल्यैबाट ठोस कदम अघि बढाउन सक्नुपर्छ । प्रवासमा बसेर देशलाई माया गर्ने लाखौं नेपाली सांगठनिक रूपमा देशको दूत बनेर अन्तर्राष्ट्रिय समन्वयका लागि सेतु बन्न सके साँचो अर्थमा ‘जहाँ नेपाली त्यहाँ नेपाल’ नारा सिद्ध हुनेछ । नेपालको परराष्ट्र सम्बन्ध अनि अन्तर्राष्ट्रिय लगानीका लागि राज्यको संस्थागत समन्वय र डायस्पोराको एकीकृत प्रयास नै अबको बाटो हुनुपर्छ ।

मिलनजंग कटुवाल ‘नेसनल पोलिसी फोरम’ का संस्थापक हुन् ।

त्रिभुवन पाण्डे गैरआवासीय नेपाली संघका युवा अभियन्ता हुन् ।

Link copied successfully